महिलाले पनि निर्धक्कसँग यातायात चढ्ने वातावरण बनाउने कि केही महिला जनसंख्याले निःशुल्क सेवा पाउने लोकप्रियतावादी कार्यक्रम ल्याउने ?
What you should know
महिलाको सशक्तीकरण, सुरक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक आत्मनिर्भरताका लागि भनेर सरकारले विभिन्न कार्यक्रम ल्याएको छ । महिलाको सुरक्षित र सहज सार्वजनिक यातायातका लागि काठमाडौंमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा पनि गरिएको छ ।
उता स्थानीयस्तरमा पनि बालविवाह न्यूनीकरणका लागि भनेर बर्दिबास नगरपालिकाले त्यहाँका मुसहर समुदायका दम्पतीका लागि प्रोत्साहनस्वरूप पचास हजार दिने योजना ल्याएको थियो । पछि फेरि २० वर्ष पुगेर विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ दिने नीति पनि घोषणा गरेको छ ।
विश्वमै पनि महिलाका विभिन्न अवस्थाहरू तुलनात्मक रूपमा पुरुषको भन्दा कमजोर रहेका तथ्यहरू छन् नै । नेपालमा बालिका, किशोरी तथा महिलाको विकासमा अवरोध छन् । कुपोषण र पोषणयुक्त खानाको अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच, किशोरावस्था तथा महिनावारीसम्बन्धी पर्याप्त जानकारीको कमीले देखिने समस्या, बालविवाह र यसबाट स्वास्थ्यमा पर्न सक्ने समस्यालगायत यौन तथा लैंगिक हिंसाका घटना दैनिक घटिरहेका हुन्छन् ।
त्यस्तै, महिलाका सामाजिक विकासका बाधाहरूमा पितृसत्तात्मक सोच र सामाजिक संरचना, विभिन्न प्रथा, शिक्षामा असमान पहुँच, घरेलु हिंसा र सामाजिक असुरक्षा, निर्णय प्रक्रियामा महिलाको न्यून सहभागिता पनि हुन् । रोजगारीका अवसर सीमित हुनु, सम्पत्ति र आर्थिक स्रोतमा पहुँच नहुनु, उद्यम गर्नका लागि पनि ऋण तथा वित्तीय सेवामा कम पहुँच हुनुले पनि महिलालाई स्वतन्त्रतापूर्वक बाँच्नका लागि कठिन भइरहेको छ । राज्यबाट उपलब्ध विभिन्न अवसरको जानकारी नहुँदा, पहुँच नहुँदा तथा अवसर नै नपाउँदा पक्कै पनि महिलाको आत्मविश्वास र नेतृत्व विकासमा असर परेको छ ।
यी र यस्ता विविध समस्यासँग पौंठेजोरी खेल्दै जीवन निर्वाह गरिरहेका महिलालाई लक्षित गरेरै त होला, सरकारले विभिन्न कार्यक्रम तथा योजना प्रस्तुत गर्ने गरेको छ । तर यी योजनाहरू महिलाका माग नै हुन् या नेतृत्व तहमा बसेका व्यक्तित्वको अवधारणा हो भन्नेचाहिँ यकिन गर्न सकिँदैन । हालसालै सरकारले महिलाका लागि भनेर निःशुल्क नीलो बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।
सार्वजनिक यातायातमा महिलाप्रति हुने दुर्व्यवहारहरू दैनिक समाचार बनेर आइरहेकै हुन्छन् । खराब मानसिकता भएका, यौन तथा मनोरोगी मानिसहरूले बाटोघाटोमै एक्लै, एकान्त पारेर महिला तथा किशोरीलाई दुर्व्यवहार गरिरहेकै छन् । यातायात, सार्वजनिक स्थल, कार्यस्थल, बाटोघाटो तथा डिजिटल प्लाटफर्ममा दुर्व्यवहार भइरहेका हुन्छन् । मनमा म कतै कुनै यौनजन्य या आपराधिक दुर्व्यवहारमा पो पर्ने हो कि भन्ने डरको घर बोकेर हिँड्नुपर्यो भने पक्कै पनि महिलाको स्वतन्त्र र आलोचनात्मक अनि निडर चेतनाको विकासमा नै बाधा नपुग्ला भन्न सकिन्न ।
समाजका एक वर्गबाट हुने हिंसा र दुर्व्यवहारबाट महिलाको संरक्षण गर्नका लागि राज्यले गर्नुपर्ने काम के होला त ? महिला निःशुल्क यातायात, महिला विद्यालय, महिला कलेज, महिलाका लागि छुट्टै कार्यालय ? या, यस्तै–यस्तै ? यो सवाल निकै गहनताका साथ उठिरहेको छ, आजको समयमा ।
महिला हेरचाह र सेवाकी प्रतिमूर्ति हुन्, त्यसैले पुरुष वा समग्र राज्यको जिम्मेवारी भनेको उनीहरूको सुरक्षा र संरक्षण गर्नुपर्छ भन्ने मान्यता छन् । महिलाको चौबिसै घण्टा निगरानी गरिनुपर्ने जिम्मेवारी र बाध्यता छ, हाम्रो पितृसत्तात्मक पारिवारिक संरचनालाई ।
श्रीमती, दिदीबहिनी वा आमालाई आफूले सुरक्षा दिनुपर्छ भन्ने मनोदशा बोक्ने पुरुष पनि समाजमा छन् । यी सब हाम्रा सिकाइ, हुर्काइ र समाजले दिएका जिम्मेवारीका कारण नै उब्जिएका बानी या चलनहरू हुन् । यसले एकातिर महिला विचराको भावमा हुन्छन् भने पुरुषहरू अतिरिक्त बोझको शक्तिसहित बाँचिरहेका हुन सक्छन् ।
के महिलालाई छुट्टै सुरक्षा चाहिएको हो ? महिलाका सवाल तथा समस्या अनगिन्ती छन् भनेर माथि उल्लेख गरिसकिएको छ । रकम दिएर प्रोत्साहन गर्ने कि चेतना विकासमा लगानी गर्ने ? यो विषय भने सोचनीय छ । महिलालाई पछाडि नै छोड्ने सुरक्षा र संरक्षण नीतिले पक्कै पनि महिलाले समस्याको जरो पत्ता लगाउन सक्दैनन्् । हो, विशेष अवस्थामा अल्पकालीन रूपमा महिलाका लागि छुट्टै सहुलियतका कार्यक्रमले केही सकारात्मक काम भने गर्ला ।
संरक्षणको अवधारणालाई रूपान्तरित तरिकाबाट हेरिएन भने हामीले महिलावादी, समाजवादी तथा वर्गीय दृष्टिकोणले लैंगिक सवाललाई अगाडि लैजानै मुस्किल पर्ने देखिन्छ । सवाल हो– महिलालाई पुरुष अभिभावकत्व वा वीरतापूर्ण सुरक्षा आवश्यक पर्ने आश्रितका रूपमा व्यवहार गर्ने ? या, सामाजिक सुरक्षा सदैव चाहिने कमजोर समूहका रूपमा ? कि, महिला पुरुष सहअस्तित्वको नियमबाट चल्ने मानव बनाउने ?
महिलाले महिला मात्र हुने ठाउँहरू जस्तै– शौचालय, आश्रयस्थल, विद्यालयको महिनावारी प्याड फेर्ने छुट्टै कोठा, कार्यालयमा स्तनपान गराउने छुट्टै कोठाको माग राख्न सक्छन् । यो महिलाका लागि भिन्न अवस्थाको कुरा भयो । तर कामकाजी महिला, सपिङ गर्न निस्केका महिला, सिनेमा हेर्न निस्केका महिलालाई छुट्टै र निःशुल्क यातायात सेवा काठमाडौंका महिलाको मागभित्र खासै पर्दैनन् कि π
विभिन्न महिलावादी अध्ययनहरूले देखाउँछन्– छुट्टै सुविधा उपलब्ध गराउनु एउटा अस्थायी वा सतही समाधान मात्र हो । यसले सार्वजनिक स्थलमा महिलाहरू किन असुरक्षित छन् भन्ने अन्तरनिहित समस्याको समाधान गर्दैन । सुरक्षाको दायित्व महिलामाथि सुविधा थपेर होइन, बरु अपराधीहरूलाई अपराध गर्नबाट रोक्नेतर्फ सक्रिय हुँदा परिणाममुखी हुन सक्छ । यस्ता छुट्टै र निःशुल्क सेवा कसका लागि ? गरिब, ट्रान्सजेन्डर, अपांगता भएका व्यक्ति वा अरू कसका लागि ? हरेक कुराको घाटा–नाफा तौलिरहेको सरकारले महिलाले पैसा तिरेरै निर्धक्कसँग यातायात चढ्ने वातावरण बनाउने कि केही महिला जनसंख्याले निःशुल्क सेवा पाउने लोकप्रियतावादी कार्यक्रम ल्याउने ?
महिलाका हकमा गर्नुपर्ने काम थुप्रै छन् । त्यस क्रममा महिलाका वर्ग, जाति, भूगोल, आर्थिक अवस्था, रोजगारी, शिक्षा, जनचेतनालाई नै प्राथमिकता दिएर योजना बनाउने तथा कार्यान्वयन गर्नुपर्ने हुन्छ । प्रविधिको जमानामा साइबर कानुनलाई बलियो र व्यावहारिक बनाउनुपर्छ । यातायात क्षेत्र, कार्यस्थल, सार्वजनिक स्थलहरू महिलामैत्री बनाउन सकिन्छ । राज्यले महिलाको उत्पीडनको अवस्थालाई मध्यनजर गर्दै सहुलियत सुविधाहरूको विस्तार भने गर्न सक्छ ।
लेखक तथा साहित्यकार चन्द्रप्रकाश बानियाँ आफ्नो सामाजिक सञ्जालमा महिलालाई निःशुल्क, छुट्टै नीलो बसको सन्दर्भमा आफ्नो विचार व्यक्त गर्दै भन्छन्– महिलाका लागि अलग्गै यात्रा सुविधा दिने सरकारले कुनै दिन बुर्का लगाउनुपर्ने आदेश जारी गर्यो भने आश्चर्य नमान्दा हुन्छ । यो आशय भनेको महिलालाई पनि स्वाभिमानी, आत्मनिर्भर, निडर र स्वतन्त्र हुनबाट रोक्छ कि भन्ने नै होला ।
राजनीतिक विश्लेषक तथा लेखक आहुतिले महिलाका लागि छुट्टै सहुलियतको सट्टा महिला र पुरुषबीचमा उन्नतस्तरको लोकतान्त्रिक र समझदारी तथा सम्मानपूर्वक व्यवहार बढाउँदै लैजानुपर्ने चेतना विकास गर्नुपर्नेछ भन्ने विचार व्यक्त गरेका छन् । अवश्य पनि यो भनाइ सारमा व्यावहारिक लाग्छ । छुट्टैको अवधारणा पुरानो चेतना भएकाले महिला–पुरुषसहितको चेतनायुक्त समाजको परिकल्पना वर्तमानको माग हो र यसअनुसारकै कार्यक्रम र योजना सरकारको प्राथमिकतामा पर्नुपर्छ । बरु महिलालाई के आवश्यक हो, महिलाका समस्या के–के हुन् भन्ने विषयमा भुइँ तहदेखिकै महिलालाई समेटेर अनुसन्धानात्मक तरिकाले नीति तथा योजना बनाइयो भने महिलाको आवश्यकताका खाँटी विषय आउँथे कि ?
