सरकारले गुणस्तरीय नीति, विश्वविद्यालयले समयसापेक्ष पाठ्यक्रम र समाजले सकारात्मक दृष्टिकोण विकास गर्न सके मानविकी शिक्षा विद्यार्थीको आकर्षणको केन्द्र बन्नेछ । समृद्ध, समावेशी र लोकतान्त्रिक नेपाल निर्माणका लागि मानविकी शिक्षाको सुदृढीकरण आजको अपरिहार्य आवश्यकता हो ।
What you should know
हाल स्नातक तह प्रथम वर्षमा भर्ना कार्यक्रम सुरु भइरहेको छ । कक्षा १२ पास भएसँगै कोही विदेश जाने तयारीमा छन्, कोही नेपालमै अध्ययन गर्ने भनी विभिन्न कलेजतिर बुझ्न हिँडेका छन् । स्नातक तहमा विज्ञान–व्यवस्थापनमा विद्यार्थी संख्या राम्रै देखिन्छ । मानविकी र शिक्षाशास्त्र संकायमा विद्यार्थी आकर्षण घट्दै गएको विषय अहिले शैक्षिक बहसको केन्द्र बनेको छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या समग्र रूपमा बढ्दै गए पनि मानविकी संकायको हिस्सा क्रमशः घटिरहेको छ ।
उच्च शिक्षासम्बन्धी प्रतिवेदनका अनुसार, व्यवस्थापन संकायमा विद्यार्थीको आकर्षण सबैभन्दा बढी छ भने मानविकी संकायमा विद्यार्थीको अनुपात निरन्तर घट्दो छ । विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदनले पनि व्यवस्थापन र अन्य संकायको तुलनामा मानविकी संकायमा विद्यार्थीको आकर्षण कमजोर हुँदै गएको संकेत गरेको छ । केही वर्षअघिसम्म उच्च शिक्षामा मानविकीको हिस्सा उल्लेखनीय भए पनि पछिल्ला वर्षमा यसको अनुपात घट्दै गएको छ ।
विश्वका प्रतिष्ठित विश्वविद्यालयले अन्तरविषयक शिक्षामा जोड दिँदै मानविकी र प्रविधिलाई एकसाथ अघि बढाउने नीति अवलम्बन गरेका छन् । कृत्रिम बुद्धिमत्ता, डिजिटल रूपान्तरण, जलवायु परिवर्तन, लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका जटिल प्रश्न समाधान गर्न मानविकीको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ । तर, नेपालमा मानविकी पढ्ने विद्यार्थीको संख्या क्रमशः घट्दै जानु चिन्ताजनक छ ।
नेपालमा मानविकी शिक्षाप्रतिको आकर्षण घट्नुका मुख्य कारणमा रोजगारसँग कमजोर सम्बन्ध रहेको धारणा, समयानुकूल पाठ्यक्रमको अभाव, करिअर काउन्सेलिङको कमी, अनुसन्धान तथा इन्टर्नसिपका सीमित अवसर र सामाजिक सोच प्रमुख छन् । धेरै अभिभावक र विद्यार्थीले मानविकीलाई ‘रोजगारी कम हुने’ विषयका रूपमा बुझ्छन्, जबकि वास्तविकता फरक छ ।
आज मानविकी संकायका स्नातक र स्नातकोत्तरहरू सार्वजनिक प्रशासन, विकास क्षेत्र, सञ्चार, पत्रकारिता, नीति अनुसन्धान, स्थानीय सरकार, सामाजिक विकास, अन्तर्राष्ट्रिय संस्था, शिक्षण, परामर्श, कूटनीति तथा अनुसन्धानजस्ता विविध क्षेत्रमा सफलतापूर्वक कार्यरत छन् । समाजलाई गहन रूपमा बुझ्ने दक्षता, क्षमता मानविकी पढेका विद्यार्थीसँग बढी हुन्छ । समाजको वास्तविक अवस्थाबारे उनीहरू बढी जानकार हुन्छन् । आर्थिक, सामाजिक, सांस्कृतिक तथा धर्मसंस्कारलगायतका विषयको सामाजिक–वैज्ञानिक महत्त्वसम्मका पक्षबारे मानविकी संकायका विद्यार्थीले बुझ्ने, अध्ययन गर्ने मौका पाएका हुन्छन्, जसकारण उनीहरूलाई समाजको वास्तविक स्वरूपबारे जान्ने मौका मिल्छ ।
अब मानविकी शिक्षामा विद्यार्थीको आकर्षण बढाउन संरचनात्मक सुधार अपरिहार्य छ । पहिलो, पाठ्यक्रमलाई डिजिटल युगअनुकूल बनाउनुपर्छ । समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, इतिहास, भाषा, दर्शन, मनोविज्ञानलगायतका विषयमा डेटा विश्लेषण, सार्वजनिक नीति, कृत्रिम बुद्धिमत्ता, डिजिटल अनुसन्धान, सञ्चार प्रविधि, परियोजना व्यवस्थापन र उद्यमशीलता समावेश गर्नुपर्छ । दोस्रो, प्रत्येक कार्यक्रममा फिल्डवर्क, सामुदायिक अध्ययन, इन्टर्नसिप र अनुसन्धान अनिवार्य बनाउनुपर्छ । तेस्रो, विश्वविद्यालय, सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य गरी रोजगारीसँग जोडिएका कार्यक्रम विस्तार गर्नुपर्छ । अबको शिक्षा श्रम र रोजगारीसँग जोडिनुपर्छ, त्यसो भए मात्रै देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन हुन्छ ।
मानविकी संकाय विषयका लागि समाज नै ल्याब हो । यहाँ मानवीय सम्बन्ध, एैंचोपैंचो, रीतिथिति, चाडपर्वले मानिसको जीवनलाई सही दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेल्छन् । हाल समाजमा विभिन्न विकृति देखिनुमा मानविकी तथा समाजशास्त्र संकाय पढ्ने विद्यार्थी संख्या कम हुनु पनि हो । त्यसैगरी विद्यालय तहदेखि नै प्रभावकारी करिअर काउन्सेलिङ आवश्यक छ । विद्यार्थीलाई मानविकी अध्ययनपछि उपलब्ध हुने विविध पेसागत अवसरको जानकारी दिन सके उनीहरूले केवल सामाजिक दबाबका आधारमा होइन, रुचि र क्षमताअनुसार विषय छनोट गर्न सक्नेछन् ।
मानविकी संकायमा समाजशास्त्रको महत्त्वबारे केही चर्चा गरौं । समाजलाई बुझ्न, यसबारे जान्न समाजशास्त्रले महत्त्वपूर्ण भूमिका खेलेको छ । समाजशास्त्रले समाज सुहाउँदो, व्यावहारिक उपायको पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । विभिन्न जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, संस्कृति, समुदायबारे गहन अध्ययन गर्ने कार्य समाजशास्त्रको मुख्य क्षेत्र हो । स्कुल तहमा सामाजिक अध्ययन, सामाजिक शिक्षा, नैतिक शिक्षाको माध्यमबाट जीवनोपयोगी सीप सिकाउने गरिन्छ । कलेज तहमा समाजशास्त्रका माध्यमबाट सामाजिक–व्यावहारिक ज्ञान दिइन्छ । आज समाजमा नैतिक मूल्य, मान्यता र परम्परागत ज्ञान, सीप सिकाउने विषयको आवश्यकता छ, जुन समाजशास्त्रले पूरा गर्छ ।
हाल समाजशास्त्रको क्षेत्र पनि क्रमशः बढ्दै गएको देखिन्छ । समाज जति आधुनिकतातर्फ अगाडि बढछ, उति नै धेरै सामाजिक समस्या नजानिँदो तरिकाले बढ्छ । त्यसैले हरेक विधा तथा विभागमा समाजशास्त्रको आवश्यकता महसुस गरी धेरै संकायमा (चाहे नर्सिङ होस् वा वन विज्ञान वा बीबीएम) समाजशास्त्रलाई पढ्नैपर्ने विषयका रूपमा राखिएको छ । समाजशास्त्रले नै समाजको गुदी विषय बुझ्न मद्दत गर्छ । समस्याको गहन अध्ययन र यसको समाधानका लागि विभिन्न उपाय पत्ता लगाउँछ । समाजले आधुनिकताको पछ्यौरी ओढिरहँदा अनेक समस्या तीव्र रूपमा बढदै गएका छन् । ती समस्याको जरो कारण पत्ता लगाई त्यसलाई तिनीहरूले नै सहज र सरल रूपमा समाधान गर्न सक्ने खालको वातावरण पनि समाजशास्त्रले बनाउँछ ।
स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहमा समाजशास्त्र विषय आकर्षणको केन्द्र बन्न पुगेको छ । स्नातकोत्तर वा माथिल्लो तहमा, जुनसुकै विषय वा संकायले पनि समाजशास्त्र विषय पढ्न पाउने हुनाले समाजशास्त्रप्रति विद्यार्थीको आकर्षण बढेको छ । पहिले अन्य विषय पढेकाहरूले पछि समाजशास्त्रको आवश्यकता महसुस गरी पाका उमेरका मानिस पनि समाजशास्त्र विषय पढ्न आएका भेटिन्छन् । त्यसैले एउटै कक्षामा युवादेखि पाका उमेरका व्यक्ति सँगै पढिरहेका भेटिन्छन् । उनीहरू कक्षाका कोर्सबाहेक आफ्ना कार्यक्षेत्रका ज्ञान, अनुभव एकअर्कालाई साटासाट गर्छन् । त्यसैले कक्षाले सैद्धान्तिक ज्ञान प्रदान गर्छ भने अन्य अनौपचारिक छलफल, चिया गफ र अनौपचारिक भेटघाटमा व्यावहारिक ज्ञान साटासाट हुने गर्छ ।
त्यसैले मानविकीलाई कमजोर विकल्पका रूपमा होइन, भविष्य निर्माण गर्ने बौद्धिक आधारका रूपमा पुनःस्थापित गर्ने समय आएको छ । यदि सरकारले गुणस्तरीय नीति, विश्वविद्यालयले समयसापेक्ष पाठ्यक्रम, रोजगारीका अवसर र समाजले सकारात्मक दृष्टिकोण विकास गर्न सके मानविकी शिक्षा पुनः विद्यार्थीको आकर्षणको केन्द्र बन्न सक्छ । समृद्ध, समावेशी र लोकतान्त्रिक नेपालको निर्माणका लागि मानविकी शिक्षाको सुदृढीकरण आजको अपरिहार्य आवश्यकता हो ।
