किसानमैत्री बलियो नीति नहुँदा अप्ठ्यारो बेलामा किसानहरू एक्लै परेका छन् । ठूलो लगानीको प्रतिफल प्राप्त नहुँदा तत्कालीन लगानी मात्रै डुब्दैन, त्यसलाई पूर्ति गरेर पहिलेको स्थितिमा आउन लामो समय लाग्छ ।
What you should know
बेलाबखतमा फैलिने थरीथरीका प्रकोपले स्वास्थ्यमा जोखिमका साथसाथै आर्थिक चक्र पनि बिथोलिदिन्छ । यतिबेला फैलिँदै गरेको बर्डफ्लुले पनि मानिसको ज्यानमा जोखिम थपेको छ । कुखुरापालक किसानले भने स्वास्थ्यमा जोखिमका साथसाथै आर्थिक क्षति पनि भोग्नुपरेको छ । बर्डफ्लुको पछिल्लो लहरमा मानवीय क्षति नभए पनि कुखुरामा संक्रमण पुष्टि भएको छ ।
यसबाट कुखुरापालक किसान पीडित बनेका छन् । अर्कोतर्फ, कागमा पुष्टि भएको संक्रमणले बर्डफ्लुको जोखिम थपिने सम्भावना पनि छ । यसर्थ, मानिसले बर्डफ्लु संक्रमणबाट जोगिन सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ । खासगरी कुखुरापालक किसान अतिरिक्त सचेत हुनुपर्छ । उनीहरूलाई पर्ने आर्थिक क्षतिप्रति सरकार संवेदनशील बन्नुपर्छ । राहत उपलब्ध गराएर किसानलाई आर्थिक भारको दबाब न्यूनीकरण गर्न सहयोग गर्नुपर्छ । मुख्यतः बर्डफ्लुविरुद्धको लडाइँलाई सरकार र नागरिकको साझा अभियान बनाउनुपर्छ ।
बर्डफ्लुको पछिल्लो लहर चैत ४ मा पूर्वबाट सुरु भएको हो । झापा, मोरङ, सुनसरीमा देखिएको यो प्रकोप डेढ महिनापछि मात्रै नियन्त्रणमा आयो । बारा, महोत्तरी, चितवन र नवलपरासीमा पनि बर्डफ्लु देखिएको थियो । काठमाडौं उपत्यकामा जेठको मध्यबाट सुरु भएको बर्डफ्लु संक्रमणको विस्तार ललितपुरस्थित चिडियाखानासम्म पुगिसकेको छ ।
समग्रमा, चैतयता ११ जिल्लाका ८२ ठाउँमा बर्डफ्लुको प्रकोप देखिएको छ । यस अवधिमा ७ लाख ५० हजार हाराहारी पन्छी र करिब १० लाख ९० हजार अन्डा नष्ट गरिएका छन् । दानासमेत अढाई लाख केजी नष्ट हुँदा किसानको क्षति करिब ७० करोड रुपैयाँभन्दा माथि हुन आउने पशु सेवा विभागको भनाइ छ । यो तथ्यांकले नै बर्डफ्लुको बढ्दो प्रभाव र त्यसले किसानलाई पारिरहेको असर अनुभूति गर्न सकिन्छ ।
जुनसुकै प्रकोपमा मानिसको सुरक्षा नै मुख्य विषय हो । यसका लागि व्यक्तिगत रूपमा सचेत बन्नु अनिवार्य हुन्छ । बर्डफ्लु संक्रमित चराचुरुंगी तथा पक्षीबाट मात्रै मानिसमा सर्छन् । यसर्थ, संक्रमणको सम्भावना रहेका चराचुरुंगी तथा पक्षीको सम्पर्कबाट परै रहने प्रयत्न गर्नुपर्छ । खासगरी कुखुरासँग प्रत्यक्ष रूपमा काम गर्ने व्यक्ति, कुखुरापालक किसान, फार्ममा काम गर्ने श्रमिक, व्यापारी बढी जोखिममा हुन्छन् ।
उनीहरूले सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ । अहिले बसाइँ सरेर आउने चरा तथा स्थानीय कागमा समेत बर्डफ्लु संक्रमण पुष्टि भएका छन् । तसर्थ, त्यस्ता चरा मरेको अवस्थामा भेटिए असुरक्षित तबरले छुने गर्नु हुँदैन । खासगरी बालबालिकालाई टाढै राख्नुपर्छ । त्यस्तै, संक्रमणको बढी जोखिममा रहेका वा नरहेका सबैलाई लक्षित गर्दै सुरक्षाका मापदण्डका विषयमा सूचना जारी गरेर पनि सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।
बर्डफ्लुको संक्रमण देखिएमा उच्च ज्वरो आउनेदेखि मांसपेशी दुख्ने लगायतका समस्या देखिने चिकित्सकहरूले बताउने गरेका छन् । जोकोही बर्डफ्लु संक्रमणको सम्भावना रहेका चराचुरुंगी तथा पक्षीको सम्पर्कमा आएमा र त्यस्ता लक्षण देखिएमा चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ ।
मासुलाई राम्ररी पकाएर मात्रै खानुपर्छ । त्यसो त, कुनै पनि प्रकोप फैलिएका बेलामा गलत जानकारी र सूचना पनि फैलिएको हुन्छ । त्यसले मानिसलाई आवश्यकताभन्दा बढी चिन्तित तुल्याउने गर्छ । त्यसैले नागरिकले चिकित्सकद्वारा प्रवाह गरिएका सूचना मात्रै पत्याउनुपर्छ । त्यसैअनुसार आफ्नो आनीबानीलाई संयमित तुल्याउनुपर्छ ।
बर्डफ्लु संक्रमणको अर्को पक्ष किसानले भोग्नुपरेको आर्थिक क्षतिसँग पनि जोडिएको छ । नेपालका कृषि तथा पशुपक्षीपालन सधैं जोखिमपूर्ण छ । किनकि यसको प्रतिफल सधैं अनिश्चित हुने गरेको छ । किसानमैत्री बलियो नीति नहुँदा अप्ठ्यारो बेलामा किसानहरू एक्लै परेका छन् । ठूलो लगानीको प्रतिफल प्राप्त नहुँदा तत्कालीन लगानी मात्रै डुब्दैन, त्यसलाई पूर्ति गरेर पहिलेको स्थितिमा आउन लामो समय लाग्छ । अप्रत्यक्ष असर धेरै हुन्छन् ।
किनकि, फार्म बन्द हुँदा नयाँ कुखुरा पालन सम्भव हुँदैन, त्यसले सम्भावित आम्दानी र नाफा गुम्छ, जुन अर्को अर्थमा क्षति नै हो । कतिपय अवस्थामा किसानले आर्थिक क्षति व्यवस्थापनका लागि पेसा नै बदल्न बाध्य भएका पनि पाइन्छन् । त्यसैले सरकारले कृषि तथा पशुपन्छी पालन पेसा असुरक्षित छैन भनेर किसानलाई विश्वास दिलाउने यस्तै बेलामा हो । यसर्थ अहिले बर्डफ्लु संक्रमणले क्षति बेहोरेका किसानलाई सरकारले उचित सम्बोधन गर्नुपर्छ ।
पशु सेवा विभागले किसानको क्षति करिब ७० करोड पुगिसकेको बताएको छ । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहतसम्बन्धी मापदण्ड २०७९ अनुसार किसानले सरकारबाट क्षतिपूर्ति पाउनेछन् । क्षतिपूर्ति बजारमूल्यअनुसार निर्धारण हुने उल्लेख छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई राहत दिइने व्यवस्था छ ।
यसर्थ ७० करोडलाई क्षति मान्ने हो भने पनि साढे ५२ करोड राहत दिनुपर्ने हुन्छ । तर पशु सेवा विभागका अनुसार, चालु आर्थिक वर्षमा किसानलाई राहत उपलब्ध गराउने शीर्षकमा जम्मा २ करोड रुपैयाँ मात्र विनियोजन भएको छ । यद्यपि, बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि सरकारले ५० करोड विनियोजन गरेको छ । अब राहत यथाशक्य चाँडो प्राप्त हुनुपर्छ । त्यसक्रममा किसानले अनावश्यक हैरानी पाउनुहुँदैन ।
