यसले नेपालीको पहिचानलाई सकारात्मक विस्तार गर्न सहयोग पुर्याउने गरेको छ । साथसाथै, नेपाली ज्ञान र सीपबाट धेरै देशका नागरिक लाभान्वित हुने स्थिति पनि निर्माण भएको छ ।
What you should know
नेपालका राष्ट्रिय तथा स्थानीयस्तरका कतिपय योजना तथा कार्यक्रममा विदेशी सहयोग जोडिने गरेको छ । विदेशीकै अग्रसरतामा कतिपय कार्यक्रम सञ्चालन भइरहेका हुन्छन् । त्यसैले धेरैलाई लाग्छ– नेपाल र नेपाली विदेशीको आर्थिक तथा प्राविधिक सहयोग लिन अभिशप्त छन् । तर यो सत्यको एउटा पाटो मात्रै हो । धेरै नेपाली नागरिकले विश्वका धेरै देशमा सञ्चालन भइरहेका साना–ठूला आयोजनामा नेतृत्वदायी प्राविधिक सहयोग पुर्याउने गरेका छन् ।
आर्थिक, प्राज्ञिक, सामाजिक कार्यक्रममा जोडिएका नेपालीको संख्या झन् ठूलो छ । विकल्पहीन श्रमिकका रूपमा होइन, क्षमतावान् र सीपयुक्त नागरिकका रूपमा उनीहरूले कार्यकुशलता देखाएका छन् । यसले नेपालीको पहिचानलाई सकारात्मक विस्तार गर्न सहयोग पुर्याउने गरेको छ । साथसाथै, नेपाली ज्ञान र सीपबाट धेरै देशका नागरिक लाभान्वित हुने स्थिति पनि निर्माण भएको छ । विश्वभर छरिएका आफ्ना नागरिकलाई कूटनीतिक पुँजीका रूपमा प्रयोग गर्ने रणनीति अख्तियार गर्न सक्ने हो भने नेपालले धेरै लाभ लिन सक्नेछ ।
नेपाल जस्तै भौगोलिक विकटता भएका र आवतजावतमा कठिनाइ भोग्नुपरेका मुलुक धेरै छन् । कम लगानीमै निर्माण पूरा गर्न सकिने भएकाले उनीहरूका लागि पनि झोलुंगे पुल एउटा अनिवार्य विकल्प हो । त्यसैले नेपालको अनुभव विश्वका लागि पछ्याउन मिल्ने उपलब्धि हो ।सन्दर्भ हो– सिन्धुपाल्चोकमा हुर्किएका पदम गुरुङ र अन्य विशेषज्ञ, जो यतिबेला विभिन्न देशमा पुल निर्माणका काममा योगदान गरिरहेका छन् । बाल्यकालमा आफैं तुइनबाट यात्रा गर्न बाध्य गुरुङ यतिबेला झोलुंगे पुल निर्माणमार्फत विभिन्न देशका समुदायलाई सुरक्षित आवतजावतको सुविधा उपलब्ध गराउन सक्रिय छन् । त्यसो त, स्विस विकास संस्था हेल्भेटासले सञ्चालन गरेको झोलुंगे पुल कार्यक्रममा सन् १९९६ मा आबद्ध भएपछि गुरुङले नेपालभर सयौं झोलुंगे पुल निर्माणमा योगदान दिएका छन् ।
त्यसपछि उनले बुरुन्डी, क्यामरुन, इथियोपियालगायत विभिन्न देशमा पुगेर इन्जिनियरहरूलाई तालिम दिने, सरकारलाई प्राविधिक परामर्श उपलब्ध गराउने तथा दुर्गमका समुदायलाई आफूले बाल्यकालमा भोगेका समस्याहरू समाधान गर्न सहयोग गरिरहेका छन् । नेपालले हासिल गरेको अनुभवलाई संस्थागत रूप दिने उद्देश्यले सन् २००८ मा हेल्भेटासले (साउथ–साउथ कोअपरेसन युनिट) स्थापना गर्यो, जसलाई अहिले ट्र्याक–फोर–चेन्ज नामले चिनिन्छ । यसैमार्फत पुल निर्माण र सम्बन्धित देशलाई पुल निर्माणका लागि सक्षम बनाउने काम भइरहेको छ ।
झोलुंगे पुल विस्तारबाट नेपाल स्वयं लाभान्वित देश हो । हेल्भेटासले सन् २०२३ मा आफ्नो प्रत्यक्ष सहयोग बन्द गर्दासम्म नेपालभर ११ हजारभन्दा बढी झोलुंगे पुल निर्माण भइसकेका थिए । यी पुलबाट दैनिक १० लाखभन्दा बढी मानिसले आवतजावत गर्ने गरेका छन् । विभिन्न अध्ययनले यस्ता पुल बनेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति दर १६ प्रतिशतले बढेको र गर्भावस्थामा महिलाको स्वास्थ्य सेवामा पहुँच ३१ प्रतिशतले वृद्धि भएको देखाएका छन् ।
मानिसमा सुरक्षाको अनुभूति बढेको, उत्पादकत्व बढेको जस्ता अनेकौं पक्षमा पुलका योगदानलाई बुझ्न सकिन्छ । खासगरी झोलुंगे पुल त्यस्ता दुर्गम ठाउँमा बनाइन्छ, जहाँ एउटा पुलको अभावमा मानिसले कष्टकर जीवन बिताउनुपरिरहेको हुन्छ । तुइन जस्ता विकल्प प्रयोग गर्दा असुरक्षा र आर्थिक भार बेहोर्नुपरिरहेको हुन्छ । त्यसैले झोलुंगे पुलको निर्माण जनजीवनलाई सुरक्षा र सहजता थप्ने विशिष्ट योगदान पनि हो । राज्य, सरोकारवाला निकाय वा सीपयुक्त जनशक्तिको दायित्व हो ।
नेपाल जस्तै भौगोलिक विकटता भएका र आवतजावतमा कठिनाइ भोग्नुपरेका मुलुक धेरै छन् । कम लगानीमै निर्माण पूरा गर्न सकिने भएकाले उनीहरूका लागि पनि झोलुंगे पुल एउटा अनिवार्य विकल्प हो । त्यसैले नेपालको अनुभव विश्वका लागि पछ्याउन मिल्ने उपलब्धि हो । किनकि, नेपालको मोडल सरल, मापदण्डमा आधारित र किफायती ठानिन्छ । यसै वर्षको सुरुआतमा तान्जानियाका सरकारी अधिकारीहरूको टोली झोलुंगे पुल कार्यक्रमलाई नजिकबाट अध्ययन गर्न नेपाल आएको थियो ।
उनीहरूले काठमाडौंदेखि पोखरासम्मको यात्रा गर्दै विभिन्न ठाउँमा झोलुंगे पुलहरूको अवलोकन गरेका थिए । गुरुङ जस्ता नेपाली सहयोगमा इथियोपियाभर २ सय ७२ वटा झोलुंगे पुल निर्माण भइसकेका छन् । पुलको संख्या एकातिर छ, स्थानीय क्षमता अभिवृद्धि त्योभन्दा ठूलो उपलब्धिका रूपमा स्थापित छ । किनकि, अहिले इथियोपियाली इन्जिनियरहरू प्रत्येक परियोजनाका लागि नेपाली विज्ञमा निर्भर हुनुपर्दैन । इथियोपियाका इन्जिनियरहरू बाह्य सहयोगबिना नै १
सय २० मिटरसम्म फैलिएका स्टिल ट्रस र झोलुंगे पुलको डिजाइन तथा निर्माण गर्न सक्षम भइसकेका छन् । झोलुंगे पुल निर्माणमा आत्मनिर्भर हुने स्थिति बनेको छ ।
झोलुंगे पुल निर्माणमा बलियो मोडल स्थापित गर्न सक्नु नेपालको सबल पक्ष हो । थप सबल पक्ष विशेषज्ञता उत्पादन हुनु हो र त्यस्ता विशेषज्ञले विश्वका कुनाकाप्चामा पुगेर त्यहाँका नागरिकको यात्रालाई सुरक्षित, सजिलो र छोटो बनाउनु हो । यसले सम्बन्धित देश र लाभान्वित नागरिकले नेपालप्रति राख्ने धारणामा पक्कै पनि सकारात्मक भाव विकास हुनेछ । यो बलियो कूटनीतिक शक्ति पनि हो । यसलाई नेपालको आर्थिक, शैक्षिक, सामाजिक पक्षको विकासका लागि उपयोग गर्न सकिन्छ ।
अर्कोतर्फ, नेपालको विशेषज्ञता र प्रविधि विभिन्न देशमा विस्तार हुन सहयोग पुग्छ भने सम्बन्धित देशका भौगोलिक बनावट र माटोको प्रकृति जस्ता पक्षले दिने अनुभवले त्यस्तो विशेषज्ञतालाई थप परिपक्व बनाउँदै लैजान्छ । सस्तो श्रमका लागि विदेशिन बाध्य नेपालीलाई पनि यो प्रसंगले सीप, दक्षता र विशेषज्ञताको कति महत्त्व हुन्छ भन्ने पनि सन्देश दिन्छ ।
