नेपालमा लामो समयदेखि 'चिनियाँ सालक' भनिँदै आएको सालक वास्तवमा चिनियाँ नभएर 'हिमाली सालक' भएको पुष्टि । मध्य नेपालको नमुनामा मात्र आधारित निष्कर्ष अपूर्ण भएकाले वास्तविक चिनियाँ सालकको अस्तित्व पहिल्याउन देशव्यापी आनुवंशिक अध्ययन अपरिहार्य
What you should know
हालै पोखरा विश्वविद्यालयका उपप्राध्यापक नारायण कोजुले आफ्नो सामजिक सञ्जालमा एउटा पोस्ट सेयर गरे । आनुवंशिक विषयसँग सम्बन्धित एउटा लेख सेयर गरेका रहेछन् । आनुवंशिक विषय उसै पनि रोचक र नयाँ हुने नै भयो । लेख पढ्दै गएपछि मेरो ध्यान तानियो ।
नहोस् पनि किन, प्रसिद्ध नेचर जर्नलको कम्युनिकेसन बायोलोजीमा प्रकाशित भएको वैज्ञानिक आलेख थियो । उक्त अनुसन्धानको मुख्य लेखक कोजु आफैं थिए । आनुवंशिक क्षेत्रका धेरै अनुसन्धानकर्ताहरू यसमा सह-लेखकका रूपमा संलग्न थिए ।
अनुसन्धानको निष्कर्ष नेपालका लागि महत्त्वपूर्ण छ । नेपालमा कालो सालक भनेर चिनिने चाइनिज प्यांगोलिन अब सो नाममा रहने छैन । कोजुसहितका अनुसन्धानकर्ताहरूको अध्ययनले उक्त जीव फरक प्रजाति भएको प्रमाणित गर्यो । अर्थात्, नेपालमा चिनियाँ सालक भनेर चिनिँदै आएको प्रजातिले 'हिमाली सालक' नाम पाएको छ । यसको वैज्ञानिक नामचाहिँ 'मनिस अरिता' हो ।
नेपालमा सालकको वर्तमान अवस्था
नेपालमा कालो सालक र तामे सालक गरी दुई प्रजातिका सालक पाइन्छन् । कालो सालक आईयूसीएनको रेड लिस्टमा अति संकटापन्न (क्रिटिकल्ली इन्डेन्जर्ड ) सूचीमा छ । हालै प्रकाशित अनुसन्धानले यही सालकलाई हिमाली सालक प्रमाणित गरेको हो । तामे सालक भनेर चिनिने इन्डिनय प्यांगोलिन भने संकटापन्न सूचीमा सूचीकृत छ ।
अनुसन्धानकर्ताहरूले धेरै समयदेखि नै चाइनिज प्यांगोलिनभित्र दुई फरक आनुवंशिक समूह रहेको पत्ता लगाएका थिए । तर तीनको आनुवंशिक रूपमा पुष्टि हुन भने समय लागेको थियो । नेपाल, भुटान, उत्तरपूर्वी भारत र दक्षिण तिब्बत क्षेत्रमा पाइने सालक अलग प्रजाति बनेको छ । चीन र दक्षिणपूर्वी एसियामा पाइने सालक मात्र वास्तविक 'चाइनिज प्यांगोलिन' हो ।
सालक खबटा(कत्ला) भएको स्तनधारी जीव हो । निशाचर प्रजातिसमेत मानिने यो जीव विशेष गरे कमिला र धमिरा खाने गर्छ । यसको लामो जिब्रोले धमिरा र कमिलालाई खाइदिएर प्रकृतिमा सन्तुलन मिलाउन भूमिका खेल्छ । विशेष गरेर चोरी शिकारी र यसका खबटाका लागि मानिसहरूले मार्ने गर्छन् ।
यो सालकलाई पहिला मनिस अरिता नै भनिएको थियो । तर पछि यसलाई बिर्सियो । प्रसिद्ध बेलायती अनुसन्धानकर्ती एवं कूटनीतिज्ञ ब्रायन हड्सनले सबैभन्दा पहिला यसको नमुना संकलन गरेका थिए । नेपालका प्रकृति, वनस्पति तथा वन्यजन्तुको अध्ययन गर्ने क्रममा करिब ९ हजारभन्दा बढी नुमनाहरू हड्सनले आजभन्दा करिब २ सय वर्षअघि संकलन गरेर बेलायत पठाएका थिए ।
उनले संकलन गरेका ती नमुनाहरू लन्डनको नेचरल हिस्ट्री म्युजियममा आज पनि सुरक्षित छन् । हड्सन काठमाडौंमा बेलायती आवासीय प्रतिनिधिका रूपमा बस्दा यो सालकको नमुना संकलन गरेका थिए । उक्त सालकलाई उनले सुरूमा मनिस अरिता नै नाम दिएका थिए । तर पछि अनुसन्धानकर्मीहरूले यो नाम बिर्सिए । यसलाई चाइनिज प्यांगोलिन एउटा उपप्रजाति मात्रै मानिययो ।
हडसनले सन् १८३६ तिर संकलन गरेको सालकको नमुना लन्डनकै संग्रहालयमा रह्यो । करिब २ सय वर्षदेखि यो नमुना संकेत नम्बर हो BNHM 43.1.12.85 हो ।
वैज्ञानिक अन्योल र निरूपण
करिब २ सय वर्षपछि अर्थात सन् २०२५ मा एउटा अनुसन्धान छापियो । हिमाली क्षेत्रमा पाइने सालकलाई पूर्ण रूपमा नयाँ प्राजति ठानियो । यसलाई 'मनिस इन्डो-बर्मानिका' नाम दिइयो । सालक अनुसन्धानकर्मीहरूबीच यसले ठूलो बहस र भ्रम निम्त्यायो । के नेपाल र म्यानमारमा पाइने सालकहरू साँच्चै नयाँ प्रजाति थिए ? वा यिनीहरू पहिल्यै हड्सनले सन् १८३६ मा नाम दिएकै प्रजाति थिए त ?
त्यसको एक वर्षपछि अर्थात् सन् २०२६ मा नेचर जर्नलमा प्रकाशित अनुसन्धानले उत्तर दियो । नयाँ अध्ययनले सबै भ्रमहरूलाई निवारण गरिदिएको छ । हड्सनले संकलन गरेकै पुरानो नमुनाबाट आनुवंशिक जानकारी निकालियो । उक्त नमूनाको डिएनए अहिलेको हिमाली सालकसँग हुबुह मिल्यो ।
र, यसमा इन्टरनेसनल कोड अफ जुलोजिकल नोमेनक्लेचर(आईसीजेडएन)को नियम लागू भयो । यो संस्थाले संसारभरका जीवजन्तुहरूको वैज्ञानिक नामकरण गर्दा पालना गर्नुपर्ने नियम बनाउँछ । यसले नाममा भएको अन्योलतालाई पनि कानुनी रूपमा हटाइदिन्छ । यसैको नियम बमोजिम ‘ल अफ प्रायोरिटी’ लागू भयो । यो नियमअनुसार दुई नाम एउटै प्रजातिको भएमा पुरानो नाम मान्य हुन्छ । त्यसैले हडसनले सन् १८३६मा दिएको नाम मनिस अरिता आधिकारिक भयो ।
दुई शताब्दी पुरानो डीएनएले खोलिदिएको राज
अनुसन्धानमा वैज्ञानिकहरू निष्कर्षमा पुग्न आधुनिक प्रविधिको प्रयोग गरेका छन् । हड्सनले संकलन गरेको १९०वर्ष पुरानो सालकको पुरानो नमुनाबाट हड्डी र दाँतबाट डीएनए निकालियो । यो काम निकै नै गाह्रो थियो । पुरानो नमुनाहरूमा डीएनए प्राय: बिग्रिएका हुन्छन् ।
अनुसन्धानकर्मीहरूले टुक्रिएको डीएनएलाई जोडेर जनवारको आनुवंशिक नक्सा बनाउने नेक्स्ट जेनेरेस सिक्वेन्सिङ (एनजीएस) प्रविधिको प्रयोग गरे । र, जिनोमिक्स गरियो । अर्कोतर्फ नेपाल र भारतका जीवित सालकबाट रगत,तन्तु तथा कोषिकालगायत अन्य नमुना संकलन गरियो ।
हालसालै संकलन गरिएका नमुना र पुरानो हड्सनले संकलन गरेका नमुनासँग तुलाना गरियो । र नतिजामा दुवै नमुना आनुवंशिक एउटै समूहका निस्किए । करिब दुई शताब्दी पुरानो एउटा संग्रहालयको नुमनाले आधुनिक वैज्ञानिक निर्णयको आधार बनाइदियो ।
हिमाली सालक र कालो सालकलाई छुट्याउन भने केही गाह्रो हुन सक्छ । यी दुवै प्रजाति सामान्य रूपमा उस्तै देखिन्छन् । तर यसको शरीरको नाम, पुच्छरको लम्बाइ,कानको आकार,खोपडी, कत्लाको रंग र आकारमा भिन्नता पाइएका छन् । यी भिन्नता प्रयोगशालामा मात्र पत्ता लगाउन सकिने अनुसन्धानमा उल्लेख छ । कसैले फिल्डमा काम गर्दा यी दुई प्रजातिलाई छुट्याउन निकै नै गाह्रो हुने अनुसन्धानमा उल्लेख छ । नयाँ अध्ययनमा यी दुईवटा समूह उद्विकास(इभोलुसन)का क्रममा झन्डै १८ लाख वर्षअघि अलग भएका थिए ।
सम्भावना र चुनौती दुवै
नेपालमा पाइने धेरैजसो सालक प्रजाति सामुदायिक वनहरूमा अभिलेख गरिएका छन् । संरक्षित क्षेत्रबाहिर मुख्य गरी सामुदायिक वनहरूमा यिनीहरूको उपस्थिति बढी छ । मुलुकमा अहिले २३ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूह क्रियाशील छन् । केही समूहले सालक संरक्षणमा उदाहरणीय काम पनि गरेका छन् । जसअन्तर्गत सालकको उपस्थिति अभिलेख गर्ने, गस्ती गर्ने, पासो हटाउने जस्ता समुदायमा आधरिक चोरीशिकारी नियन्त्रण इकाई पनि गठन भएका छन् ।
सालकको यो नयाँ प्रजातिबारे हामरो लिखितहरुमा पुरानै चाइनिज प्यांगोगोलिन लेखिएको छ । वनका कार्ययोजना र नीतिहरू समयक्रम अनुसार परिमार्जन हुँदै जान्छ । नयाँ प्रजाति हो भन्ने प्रमाणित भएपछि समुदायका सदस्यहरूलाई यसबारे जानकारी दिइनुपर्छ ।
हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा तामे सालक र कालो सालक मात्रै उल्लेख छ । यो ऐन विशेष प्रजातिको वैज्ञानिक नाममा आधारित छ । यदि नेपालमा भेटिने सालक हिमाली सालक मात्रै हुन् चाइनिज सालक होइनन् भन्ने पुष्टि भयो भने कानुनी जटिलता आउन सक्छ । ऐनको अनुसूचीमा उल्लेख नभएको प्रजातिमाथि अदालतमा मुद्दा चलाउँदा प्राविधिक रूपमा तस्कर तथा अपराधीहरू उम्किन सक्छन् ।
यसको समाधानका लागि ऐनको अनुसूची १ लाई संशोधन गरी मनिस अरिता लाई स्पष्ट रूपमा समावेश गर्न जरुरी देखिन्छ । दीर्घकालीन समाधानका लागि ऐनले सम्पूर्ण सालक वंश नै संरक्षित घोषणा गर्नु उपयुक्त हुन्छ । यसो गरे भविष्यमा कुनै नयाँ प्रजाति भेटिए पनि कानुनमा खेल्ने ठाउँ रहँदैन । साइटिस कानुनमा भने राहत छ । सबै सालक प्रजाति पहिल्यै अनुसूची १ मा सूचीकृत छन् । साथै, Manis spp. भन्ने साझा सूचीले पनि यस वंशका सबै प्रजाति समेट्छ ।
यो अध्ययनसँगै फोरेन्सिक विज्ञानको महत्त्व नेपालमा बढाएको छ । नेपालको फरेन्सिक विज्ञानले पनि अद्यावधिक खोजेको छ । हाम्रो देशका प्रयोगशालाहरूको हालको आनुवंशिक तथ्यांक भण्डार पुरानो वर्गीकरणमा आधारित छ ।
जफत गरिएको सालकको खबटा वा मासु कुन प्रजातिबाट आयो भनी छुट्याउन अब नयाँ आनुवंशिक रिफरेन्स डेटा आवश्यक पर्छ । त्यो उपलब्ध भयो भने मात्र अदालतमा प्रमाण बलियो हुन्छ र चोरी शिकारी नियन्णत्रमा पनि सहयोग पुग्छ ।
नयाँ अनुसन्धानको खाँचो
यो अध्ययनले मुख्यतः मध्य नेपालको नमुनामा आधारित रही निष्कर्ष निकालेको छ । यसले साल पाइने नेपालका अन्य भूगोल, चीन सीमानजिकका जिल्लाहरूको अवस्था स्पष्ट पार्दैन । ताप्लेजुङ, संखुवासभा, इलाम र पाँचथर जस्ता जिल्लाहरू भौगोलिक रूपमा चीनसँग नजिक छन् । यी क्षेत्रमा साँचो चिनियाँ प्यांगोलिनको सानो जनसंख्या अझै बाँकी रहन सक्छ । यी जिल्लाहरू पहिलेदेखि नै वन्यजन्तु तस्करीको मार्गका रूपमा चिनिन्छन् । त्यसैले थप आनुवंशिक अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
अध्ययनले नेपाललाई सालकको उपस्थिति मात्रै नभएर तिनको आनुवंशिक पहिचान पनि परीक्षण गर्नुपर्ने बाटो देखाएको छ । हाम्रो सीमावर्ती जिल्लाहरूबाट सालकका खबटा वा अन्य नमुना संकलन गरेर अध्ययन गर्नुपर्ने देखिन्छ ।
यदि पूर्वी नेपालमा साँचो चिनियाँ प्यांगोलिन भेटियो भने नेपालले दुवै प्रजाति छुट्याएर संरक्षण गर्नुपर्ने हुन्छ । भेटिएन भने हाम्रो नीति र कानुन एउटै प्रजातिमा केन्द्रित गर्न सकिन्छ । यद्यपि यी विषयमा अनुसन्धान नगरी अनुसूची संशोधन र राष्ट्रिय कार्ययोजनालाई अन्तिम रूप दिनु हतारो हुनेछ । यो प्रजातिको पुनः पहिचानले हाम्रो मुलुकमा अध्ययन तथा अनुसन्धानको नयाँ सम्भावना खोलेको छ ।
