सय दिनमा कस्तो बन्यो प्रधानमन्त्रीको छवि ?

प्रधानमन्त्री आफ्ना नियन्ता र ‘काम’ को थुप्रोका अगाडि घुँडो टेकेर निहुरिनुभएको छ । तर, नेपाली जनताको प्रधानमन्त्रीका रूपमा उहाँलाई कसैको अगाडि निहुरिने छुट छैन । उहाँले टाउको उठाएर सबै सत्यसँग साक्षात्कार गर्नुपर्छ ।

असार २१, २०८३

किशोर नेपाल

What has become of the Prime Minister's image in 100 days?

What you should know

 राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले संघीय गणतन्त्र नेपालको प्रधानमन्त्रीको पदभार सम्हाल्नुभएको एक सय दिन बितेको छ । यस अवधिमा देशमा धेरै ठूला उथलपुथल भएका छन् । सबैभन्दा पछिल्लो उथलपुथल हो– हरियो रंग पोतिएका साझा यातायातका सार्वजनिक बसहरू अब नीलो रंगमा सजिनेछन् । नीलोलाई शान्तिको रंग मानिन्छ । नेपालको झन्डाको किनारको रंग नीलो छ । वालेन्द्र सरकारले नीलो रंगको सम्मान गरेर हरिया रंगका बसहरूमा नीलो पोत्न लागेको हो भने यसलाई उचित नै मान्नुपर्ला ।

नीलो आकाशले ढाकिएको नेपालको राजधानी सहरमा कुनै समय हरियो रंगको महिमा थियो । काठमाडौं कृषि कर्मका लागि प्रसिद्ध थियो । काठमाडौं उपत्यकाका फाँटहरूमा उब्जिने तरकारी र अन्नपातले राजधानी सहरलाई आत्मनिर्भर बनाएको थियो । बिस्तारै काठमाडौं सहरले चोला फेर्‍यो । उपत्यकाका उर्वर फाँटहरूमा ठूला–ठूला सरकारी भवन र निजी आवास बन्न थाले । सहरको आधुनिकीकरणसँगै यसको मौलिक चरित्र बदलियो । काठमाडौं अन्तर्राष्ट्रिय सहरका रूपमा विकसित हुँदै गयो । बेला–बेलामा देशको राजधानी काठमाडौंबाट काभ्रे जिल्लाको ऐतिहासिक सहर बनेपा वा नुवाकोट जिल्लाको बट्टारमा सार्ने विचार चर्चामा नआएको होइन । तर, त्यो सम्भव थिएन । काठमाडौंको ‘राजकीय’ छवि मनमोहक थियो ।

त्यति बेलाका शासक–प्रशासकहरूले, जानेर वा नजानेर, काठमाडौं सहरमा बचे–खुचेका हरित संस्कृतिको महत्त्व स्थापित गर्न हरियो रंगको जगेर्ना गरे । सहरमा चल्ने साझा यातायातका बसहरूलाई हरियो रंगले सिंगारियो । प्रतीकात्मक हिसाबले भए पनि, हरियाली जोगाउन ठाउँ–ठाउँमा ठूलासाना पार्कहरूको निर्माण भयो । काठमाडौं सहरले व्यापारिक ‘मल’ संस्कृति अपनाएको छ । अहिले जमाना बदलिएको छ ।

देशको सत्ता र सरकार चलाउन ‘मैले सक्छु’ भनेकै भरमा नेपालमा बारम्बार प्रधानमन्त्री फेरिएका छन् । ‘अरूले गर्न सकेनन्, मैले गर्न सक्छु’ भन्नेहरू अहिलेको बहुमत प्राप्त राष्ट्रिय पार्टीभित्रै प्रशस्त भेटिन्छन् ।जेन–जीका नाममा काठमाडौं सहरले विध्वंसको सामना गर्‍यो । यो विध्वंस सुनियोजित थियो भन्नेमा कुनै शंका छैन । यही पृष्ठभूमिको आडमा ‘अदृश्य’ शक्ति जुर्मुरायो । त्यसपछि सुरु भएको अभूतपूर्व राजनीतिक खेलमा स्थापित राजनीतिक शक्तिका विभिन्न समूहबीच आपसमा घात–प्रतिघातको खेल सुरु भयो । मुख्य रूपले कांग्रेस, एमाले, माओवादी र विभिन्न खेमामा बाँडिएका दलहरूमा तीव्र विचलन र स्खलन सुरु भयो । दलका नेतामा दूरदृष्टिको अभाव देखियो । उनीहरूले जेन–जीका नाममा भएको ‘विद्रोह’ लाई सामान्य रूपमा लिएको देखियो । जेन–जी विद्रोह स्वतन्त्र थियो कि निर्देशित ? नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यसको निर्क्योल गरेका थिएनन् । तर, विशेष अधिवेशनका नाममा उनीहरूले पार्टी सत्तामाथि आफ्नो ‘कव्जा’ जमाए । उनीहरूलाई निर्वाचन आयोग, सर्वोच्च अदालत जस्ता संस्थाबाट मान्यता प्राप्त भयो । यसपछि तथ्यहरू खुल्दै गए ।

विशेष अधिवेशनका नाममा कांग्रेसमा भएको यो अघोषित विभाजनको प्रभावको असर अन्य राजनीतिक दलहरूमा पर्नु अस्वाभाविक थिएन । कांग्रेसको विभाजनसँगै एमाले र माओवादीमा पनि त्यही खेल सुरु भयो । जेन–जी आन्दोलनका नाममा आएको भीडले कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरूलाई अपमानित गर्‍यो । पार्टीका अन्य नेताले पनि नराम्रो ‘बेइज्जती’ खेप्नुपर्‍यो । विशेष अधिवेशनका नाममा स्थापित भएको कांग्रेसको नेतृत्वले यी घटनाहरूमा कुनै चासो दिएको देखिएन । विशेष अधिवेशनबाट स्थापित भएका नेताहरू कसैमा पनि विस्थापित नेताहरूमा किञ्चन सद्भावना रहेको देखिएन ।

जेन–जी विद्रोह र प्रमुख राजनीतिक दलहरूभित्रका ‘रगडा’ हरूको पृष्ठभूमिमा भएको चुनावमा कांग्रेस, एमाले र माओवादी लगायतका दलहरूले अपमानजनक पराजय भोग्नुपर्‍यो । विशेष अधिवेशनपछि ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारा बोकेर चुनाव लड्न पुगेका कांग्रेसका नेताहरूलाई रवि लामिछानेको नेतृत्वमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले पराजित गरिदियो । 

आफ्नो लोकप्रियताप्रति विश्वस्त रहेर कांग्रेसको झन्डा ओढेर चुनाव लडन सर्लाही पुगेका गगन थापालाई जनताले पत्याएनन् । उनको पराजयले उनैले आयोजना गरेको ‘विशेष अधिवेशन’ को धज्जी उडायो । गगन र विश्वको चञ्चल राजनीतिले कांग्रेस बाहिरका शक्तिहरूलाई मजबुत बनाउन ठूलो मद्दत गर्‍यो । खास गरेर, सामाजिक सञ्जालको प्रयोगमा विशेषज्ञता प्राप्त गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले सामाजिक सञ्जाललाई बलियो हतियारका रूपमा प्रयोग गरे । कांग्रेसका गगनले आफ्नो राजनीतिक कौशल र विविध सम्बन्धहरूलाई महत्त्वपूर्ण मानेको देखियो ।

 संसदीय चुनावमा झन्डै दुईतिहाइ मतले विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले प्रधानमन्त्रीमा नियुिक्तपछि देखाउनु भएको व्यवहार अत्यन्त अस्वाभाविक रहेको छ । संसदीय पद्धति अनुसार, राष्ट्रपतिलाई आफ्नो सरकारको नीति र कार्यक्रम वाचन गर्न निम्त्याउने वालेन्द्रले स्वयं राष्ट्रपतिले वाचन गर्दागर्दै आफ्नो आसनबाट उठेर संसद् बैठकबाट बाहिरिनु आफैंमा अभद्र व्यवहार थियो । वालेन्द्रले नेपालको संविधान अनुसार भएको चुनावको रणभूमिमा विजय हासिल गर्नु भएको थियो । संविधानको मर्यादा तोड्ने अधिकार उहाँलाई थिएन । प्रधानमन्त्रीले यो कुरा नबुझ्नुभएको थिएन । तर, संसद्मा उहाँको यो व्यवहारबारे खासै प्रश्न उठेको देखिएन । प्रश्न उठाउने जेहेनदार व्यक्तिहरू संसदीय चुनावमा हारेकाले पनि यस्तो भएको हुनुपर्दछ । चुनाव जितेर शक्तिशाली ओहोदामा पुग्नेबित्तिकै आफू सर्वशक्तिसम्पन्न भएको सोच्ने प्रवृत्तिलाई हाम्रो देशको राजनीतिक विडम्बना नै मान्नुपर्छ ।

प्रधानमन्त्री वालेन्द्रले प्रधानमन्त्री भएको एक सय दिनभित्र के के काम गर्नुभयो ? यस कुरामा जनताले चासो राख्नु अस्वाभाविक होइन । देशको नेताका रूपमा प्रधानमन्त्रीले लिएको निर्णयका बारे जनतामा चासो रहनु स्वाभाविक हो । सामाजिक सञ्जाल र नियमित समाचारपत्रहरूमा उहाँका कामकारबाहीका चर्चा हुने गर्छन् । जनताको यो जिज्ञासा पूरा गर्नु प्रधानमन्त्रीका सहयोगीहरूको कर्तव्य हो । तर, अहिले त्यस्तो देखिएको छैन । विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई सामूहिक दर्शन भेटका लागि बोलाउनु ठूलो काम होइन ।

अथवा, आफ्ना साथी–संगातीहरूलाई बोलाएर उनीहरूसँग राय–सल्लाह लिनु नै कुनै महत्त्वपूर्ण काम होइन । कामका नाममा सरकारी कर्मचारीहरूलाई जथाभावी गिजोल्न खोज्नु पनि काम होइन । प्रधानमन्त्रीले आफ्ना सहयोगीहरूमार्फत जनताको भावना बुझ्नु र तदनुरूप समस्याको समाधान निकाल्नु उहाँको कर्तव्य हो । तर, प्रधानमन्त्री वालेन्द्रले आफ्नै अग्रसरतामा काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासी हटाउनुभयो । तर, तिनको पुनर्वासको अझै टंगो लागेको छैन । वालेन्द्र नेतृत्वको सरकारको बनोट हेर्दा यसमा सबैजसो हुनेखाने वर्गका व्यक्तिहरू समावेश देखिन्छन् ।

तर, प्रधानमन्त्रीले तिनलाई आफ्ना दायित्वप्रति जिम्मेवार बनाएको देखिँदैन । यो पक्कै पनि सुखद कुरा होइन । नेपालमा अहिले संघीय गणतान्त्रिक व्यवस्था छ । हिजोको व्यवस्था होइन, यो । यसलाई कसले औंला ठड्याउँछ ? भन्ने भावमा नेताहरू कुर्लिएका देखिन्छन् । तर, २४ भदौको संकटले अहिलेसम्म सबैलाई हाराबारा खेलाएको छ । प्रधानमन्त्री बालेनको मुखारविन्दबाट वचन र भावहरू त प्रकट भइरहेका छन् । तर, त्यसमा कारणहरू निहित रहेका छैनन् । यो कुरा के हो त ? यस्तो किन भएको छ ? प्रधानमन्त्री वालेन्द्रले सोच्नुभएको छ त ? 

देशको सत्ता र सरकार चलाउन ‘मैले सक्छु’ भनेकै भरमा नेपालमा बारम्बार प्रधानमन्त्री फेरिएका छन् । ‘अरूले गर्न सकेनन्, मैले गर्न सक्छु’ भन्नेहरू अहिलेको बहुमत प्राप्त राष्ट्रिय पार्टीभित्रै प्रशस्त भेटिन्छन् । प्रधानमन्त्री बन्न इच्छुक व्यक्तिको मनमा त्यस्तो कुरा गर्ने ‘दुस्साहस’ किन उत्पन्न हुन्छ ? प्रधानमन्त्री वालेन्द्रको मनमा पनि त्यस्तो कुरा उठेको हुन सक्छ । सबै देशका आ–आफ्नै समस्या हुन्छन् । कुनै प्रधानमन्त्रीले चाहँदैमा देशको आर्थिक वृद्धिदर रातारात बदलिन सक्दैन । 

प्रधानमन्त्रीको वरिपरि जम्मा भएका स्वार्थ समूहको समर्थनले हुने–खाने र गर्ने–गराउने केही होइन । जुन वर्गको व्यक्ति वा जातिको हातमा मुलुकको डाडु–पन्यु हुन्छ, त्यसले आफ्नो वर्गीय हितबाहेक अरू कसैको हितमा केही गर्न सक्दैन । 

अहिलेको नेपालमा यही अवस्था विद्यमान रहेको छ । नेपालमा आज कांग्रेस, एमाले, माओवादी र मधेशका दलहरूको नेतृत्वको स्थिति अस्पष्ट छ । पुराना पार्टीका नेताहरूको अवस्था मच्चियो, मच्चियो, थच्चियो जस्तो देखिएको छ । उनीहरूका अगाडि रहेका कुनै परिकल्पना कामलाग्दो अवस्थामा देखिँदैनन् ।

प्रधानमन्त्री वालेन्द्रका बारेमा जनताले यतिखेर जे–जे भ्रमहरू पालेका छन्, त्यो पाल्न दिनुपर्छ । किनभने, भ्रमहरूले सामान्य मानिसका लागि जीवनदायी शक्तिको काम गर्छन् । प्रधानमन्त्री शाह कलाकार हुनुहुन्छ, गायक कलाकार । उहाँको ‘र्‍याप’ गायकी, उहाँको झपक्क पालेको दाह्री र उहाँको कामकाजी शैली महानताको प्रतीक बनिसकेका छन् । प्रधानमन्त्रीले आफ्नो महानता कसरी जोगाउनुहुनेछ ?

यो उहाँको निजी चिन्ता मात्र होइन । प्रधानमन्त्रीका रूपमा उहाँले आफ्नो कामको प्राथमिकता तोक्नुभएको छैन । किनभने, प्रधानमन्त्रीका लागि आफ्नो कामको प्राथमिकता तोक्नु त्यति सजिलो छैन । काम एउटा भए पो प्राथमिकता तोक्नु ? अहिले उहाँ आफ्ना नियन्ता र ‘काम’ को थुप्रोका अगाडि घुँडो टेकेर निहुरिनु भएको छ । तर, नेपाली जनताको प्रधानमन्त्रीका रूपमा उहाँलाई कसैको अगाडि निहुरिने छुट छैन । उहाँले टाउको उठाएर सबै सत्यसँग साक्षात्कार गर्नुपर्छ । 

किशोर किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully