विद्युत् उपभोग र निर्यात् बढाउने सरकारी रणनीतिको प्रतीक्षा

प्रशस्त सम्भावना बोकेको जलविद्युतलाई कुशल व्यवस्थापन गर्न र अधिकतम लाभ लिनबाट हामी वञ्चित भइरहेका छौं । तसर्थ सरकारले विद्युत् उत्पादन, प्रसारण, उपयोग, व्यापारजस्ता विविध पक्षलाई ध्यान दिएर आफ्नो रणनीति तयार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

असार १९, २०८३

सम्पादकीय

Waiting for government strategy to increase electricity consumption and exports

What you should know

नेपालमा जलविद्युत्को सम्भावनाको जति चर्चा हुने गरेको छ, त्यसैअनुसार प्रतिफल भने प्राप्त हुन सकेको छैन । बेलाबखत राजनीतिक नेतृत्वले नेपालमा उत्पादित विद्युत् बेचेरै धनी हुने सपना पनि देखाउने गरेका छन् । विद्युत् बेच्ने काममा आंशिक सफलता प्राप्त भए पनि त्यसले देशलाई नै धनी बनाउन धेरै सहयोग पुर्‍याउन सकेको छैन । सरकारका नीतिकै कारण नागरिक विद्युत् उपभोगमा उत्साहित हुन सकेका पनि छैनन् ।

बर्खायाममा बरु विद्युत् उत्पादन नै घटाउनका लागि विद्युत् प्राधिकरणले प्रवर्द्धकलाई भन्ने गरेका छन् । यी सबै पक्षलाई एकै ठाउँमा राख्ने हो भने, विद्युत् क्षेत्र नै समग्रमा विरोधाभासबाट व्यतीत भइरहेको देखिन्छ । अर्थात्, प्रशस्त सम्भावना बोकेको जलविद्युत्लाई कुशल व्यवस्थापन गर्न र अधिकतम लाभ लिनबाट हामी वञ्चित भइरहेका छौं । तसर्थ सरकारले विद्युत् उत्पादन, प्रसारण, उपयोग, व्यापारजस्ता विविध पक्षलाई ध्यान दिएर आफ्नो रणनीति तयार गर्नुपर्ने आवश्यकता देखिन्छ । 

प्राधिकरणले प्रसारणलाइन वा सबस्टेसनको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई ‘कन्टिन्जेन्सी’ मा राख्ने गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीका अनुसार हाल ३० भन्दा बढी आयोजना ‘कन्टिन्जेन्सी’ मा छन् । मर्स्याङ्दी करिडोरको प्रसारणलाइन अभावका कारण दोर्दी–१, माथिल्लो दोर्दी ‘ए’, चेपे खोला, दोर्दी खोला, सुपर दोर्दी, न्यादी खोलालगायतका आयोजना लामो समयदेखि ‘कन्टिन्जेन्सी’ मा छन् ।

बिजुली खपत कम र उत्पादन बढी हुने तथा प्रसारणलाइन र सबस्टेसनको क्षमता नपुग्नेजस्ता कारणले गर्दा बर्सेनि वर्षायाममा प्राधिकरणले ‘कन्टिन्जेन्सी’ रहेका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ । अहिले पनि विद्युत् प्राधिकरणले प्रसारणलाइन तयार नभएको, सबस्टेसनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र मागभन्दा बढी विद्युत् उत्पादन भएकाले प्रणाली (ग्रिड) को स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत् आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ । यद्यपि, ‘कन्टिन्जेन्सी’ मा नरहेका आयोजनालाई समेत उत्पादन घटाउन निर्देशन दिइएको छ ।

हाल नेपालको अधिकतम ‘पिक लोड’ करिब २२ सय मेगावाट छ । भारत र बंगलादेशतर्फ करिब १२ सय मेगावाट निर्यात गर्ने स्वीकृति प्राधिकरणले पाएको छ । निर्यात र खपत गरी ३४ सय मेगावाट पुग्ने भए पनि राष्ट्रिय ग्रिडमा जडित क्षमता करिब ४३ सय मेगावाट पुगेकाले झन्डै ९ सय मेगावाट बिजुली खेर जाने अवस्था छ । यस्तो अवस्थामा उत्पादन घटाउने रणनीति लिइएको छ, जसको मारमा ‘कन्टिन्जेन्सी’ मा रहेका वा नरहेका आयोजना पर्ने गरेका छन् । किनकि, प्राधिकरणले भनेअनुसार गर्दा आयोजनालाई पूर्ण क्षमतामा चलाउन पाइँदैन । यस्तो भइरहँदा नेपालमा बिजुली खेर जाने स्थिति बन्दै गएको छ । अब पनि बलियो पूर्वाधार निर्माण नगर्ने र विद्युत् उपयोग र व्यापारको रणनीति पनि अख्तियार नगर्ने हो भने हामीले थप हानि बेहोर्दै जाने निश्चित छ ।

यतिबेला सरकारले केही कामलाई प्राथमिकता दिनु जरुरी छ । पहिलो, हाम्रा विद्युत् पूर्वाधार निकै कमजोर अवस्थामा छन् । प्रसारणलाइन वा सबस्टेसनको अभाव छ । उत्पादित विद्युत्लाई वितरण गर्न सक्ने प्रणाली नहुने हो भने विद्यत् खेर गइरहनेछ । यसर्थ, प्रसारणलाइन वा सबस्टेसनमा सुधार सरकारको प्राथमिकतामा हुनुपर्छ । दोस्रो, विद्युत् उपभोग बढाउने नीति लिनुपर्छ । नेपालमा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल तथा मट्टीतेलजस्ता वस्तुको आयात अधिक छ ।

बिजुली खपत कम र उत्पादन बढी हुने तथा प्रसारणलाइन र सबस्टेसनको क्षमता नपुग्नेजस्ता कारणले गर्दा बर्सेनि वर्षायाममा प्राधिकरणले ‘कन्टिन्जेन्सी’ रहेका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ ।यसले व्यापार घाटा बढाउन त भूमिका खेलेको छ नै, वातावरणीय प्रदूषण पनि बढाएको छ । त्यसले स्वास्थ्य सेवामा लागत पनि बढाएको छ । तर, खाना पकाउन वा सार्वजनिक/निजी सवारीसाधन सञ्चालनमा विद्युत्को प्रयोगलाई प्रेरित गर्न सक्दा विद्युत् उपभोग पनि बढ्ने र आयात प्रतिस्थापन पनि हुन सक्थ्यो । वैदेशिक मुद्रा पनि बचत हुन्थ्यो । भान्सा वा सडकको विद्युत् उपयोगले मात्रै ठूलो फरक पार्न त सक्दैन तर त्यसले केही सहयोग भने पुर्‍याउने निश्चित छ ।

तेस्रो, उद्योगधन्दा खोल्ने र विद्युत् उपभोग हुने स्थिति निर्माण गर्नुपर्छ । यद्यपि, यो देशमा लगानीको वातावरण बनाउने बृहत् विषयसँग जोडिएको छ । त्यसमा सरकारहरूले उल्लेखनीय सुधार गर्न नसकेको भनेर लामै समयदेखि आलोचना भइरहेको छ । अस्थिर सरकार र नीतिगत अस्थिरताका कारण आन्तरिक वा बाह्य लगानी फस्टाउन नसकेको विश्लेषण हुँदै आएको छ ।

तर २१ फागुनको निर्वाचनपछि बलियो र स्थिर सरकार गठन भएको छ । यसले नीतिगत स्थिरता लिने अपेक्षा पनि छ । अब आवश्यक सुधार गरेर लगानीका लागि वातावरण बनाउनुपर्छ । देशमा ठूला उद्योग खुले भने नेपालमा उत्पादित विद्युत्को नेपालमै उपभोग हुने स्थिति बन्छ । उद्योगहरूलाई सहुलियतमा विद्युत् उपलब्ध गराएर उत्पादन बढाउन सकिन्छ ।

चौथो, विद्युत् निर्यातको स्थायी विकल्प तयार गर्नुपर्छ । अहिले भारत र बंगलादेशतर्फ करिब १२ सय मेगावाट निर्यात गर्ने स्वीकृति प्राधिकरणले पाएको छ । तर नेपालसँग थप विद्युत् निर्यात गर्ने क्षमता छ । त्यसका लागि ती देशसँग कूटनीतिक पहलकदमी गर्नुपर्छ । बढीभन्दा बढी विद्युत् बेच्न सक्ने स्थिति निर्माण गर्नुपर्छ । पाँचौं, बिजुली खेर जान नदिन निजी क्षेत्रलाई व्यापार गर्न दिनुपर्ने माग पनि हुँदै आएको छ ।

अहिले निजी क्षेत्रले विद्युत् उत्पादन गरे पनि प्राधिकरणलाई मात्रै बेच्न पाइन्छ र प्राधिकरणले मात्रै त्यस विद्युत्लाई अन्यत्र बेच्न पाउँछ । यसर्थ, निजी क्षेत्रलाई नै बेच्न दिने हो भने उनीहरूले नै बजार खोज्थे र बेच्थे । त्यसबाट राज्यले राजस्व पाउँथ्यो । तर, एकातिर प्राधिकरणले पर्याप्त बजार सिर्जना पनि गर्न नसक्ने र अर्कोतर्फ निजी क्षेत्रले बजार खोजेर बेच्न पनि नपाइने स्थितिको सुरक्षित विकल्प तयार गर्नुपर्छ ।

अहिलेकै स्थितिलाई निरन्तरता दिने हो भने अर्बौं लगानी गरिएको विद्युत् आयोजनाको उत्पादन खुच्याउनुपर्ने स्थिति कायमै रहन्छ । त्यो लगानीकर्ता, उपभोक्ता वा सरकार कसैको पक्षमा पनि हुनेछैन । तसर्थ, राज्यको नीति यस्तो हुनुपर्छ, जसले हाम्रो सम्भावनाको क्षेत्रबाट अधिकतम लाभ लिन सकियोस् । त्यसले स्वयं र अन्य क्षेत्रको पनि सम्भावनालाई बढाओस् । यस्तै नीति र रणनीतिको प्रतीक्षामा नेपालको जलविद्युत् क्षेत्र छ । खासगरी आन्तरिक उपभोगदेखि निर्यातलाई बढाउने नीति लिइनुपर्छ । पहलकदमी गरिनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully