कार्यक्रमको उद्देश्य के हो ? लक्ष्य के हो ? उपलब्धि के हो ? यसबाट लाभान्वित हुने जनसंख्या कति हो जस्ता विविध विषयको मापन गर्ने केही इन्डिकेटर नै तयार गरिँदैन ।
What you should know
हामीलाई आफू आफूजस्तै हुन लाज लाग्छ । सानो भइन्छ कि, अरूले केही भनेर हेपिहाल्छन् कि भन्ने नमीठो भ्रम छ । जुन भ्रमले वास्तविकतालाई लुकाएर सकिनसकी औपचारिक बन्दा सबैलाई आनन्द लाग्छ । विकास चाहे त्यो व्यक्तिको होस् वा देशको– हरेकले राम्रो काम गरेपछि हुने कुरा हो । एकछिन तडकभडक गरेर छाँट पार्दैमा, आफ्नै हैसियतसमेत बिर्सिएर ढोंगी बन्दैमा यसले राम्रो उपलब्धि हासिल हुन सक्दैन ।
एक पटक हाम्रो दिनचर्यामा गहिरो अध्ययन गर्न आवश्यक छ । जुनसुकै निकायले, जस्तासुकै कार्यक्रम सञ्चालन गर्दासमेत औपचारिकता निर्वाह गर्ने सवालमा फजुल खर्च बढाएको छ । समयको सही सदुपयोग कम भएको छ । कार्यक्रम गर्नुको उपलब्धि हासिल हुन सकेको छैन । यसको प्रमुख कारण भनेको हामीले सञ्चालन गर्ने जुनसुकै कार्यक्रमको एउटै र उस्तै औपचारिक खाकाले गर्दा हो ।
कार्यक्रमको उद्देश्य के हो ? लक्ष्य के हो ? उपलब्धि के हो ? यसबाट लाभान्वित हुने जनसंख्या कति हो जस्ता विविध विषयको मापन गर्ने केही इन्डिकेटर नै तयार गरिँदैन । अर्कोतिर कार्यक्रम गर्दा अध्यक्ष को हुने, प्रमुख अतिथि कसलाई बोलाउने, अतिथिहरू को–को र कति जना, क–कसलाई बोल्न दिने, कार्यक्रमको उद्घाटन कसरी गर्ने, अतिथिलाई खादा, ब्याज कस्ता र कसले लगाइदिने, स्वागत भाषण कसले गर्ने, खाजा के खुवाउने, आसनग्रहणको पोर्टफोलियो कसरी मिलाउने, कार्यक्रम सञ्चालन कसले गर्ने, धन्यवाद मन्तव्य कसले दिनेजस्ता कुराको चाँजोपाँजो मिलाएर सोहीअनुसार कार्यक्रम गरेपछि उपलब्धिमूलक भएको हो भन्ने हाम्रो कमजोर मानसिकता छ ।
एनजीओ र आईएनजीओहरूले गर्ने कार्यक्रमसमेत धेरै औपचारिक हुने गरेका छन् । जसले ठूल्ठूला होटलमा राम्रो सेवा, सुविधा दिएर, मीठो भोजनका साथमा लामो प्रतिवेदन लेखेर कार्यक्रम सम्पन्न भएको मान्ने चलन छ ।जुनसुकै कार्यक्रमको उपलब्धि आसनग्रहण, चियापान र समापनलाई मान्ने प्रवृत्ति छ । कार्यक्रम सम्पन्न गर्ने सवालमा, बजेट खर्च गर्ने सवालमा एउटा मान्छेको औचित्यहीन लामो भाषण कतिन्जेल सुनिरहने ? अतिथिलाई स्वागत गर्ने नाममा कहीँकतै प्रयोगमा नआउने खादा लगाउने, एउटै मान्छेको घाँटीमा पचासभन्दा बढी खादा झुन्ड्याइदिने अनि माला लगाउने नाममा एउटा मान्छेको गलामा अरू पाँच–सात जना मान्छेको सहयोगमा सत्तरी केजीको माला अड्याइदिने काम त अति भएन र ?
मानसम्मान, आदर–सत्कार गर्नुपर्छ तर त्यो आफ्नो र देशको क्षमताअनुसार गर्ने हो । सरकारी बजेट भनेको आमनागरिकको साझा पर्स हो । यसको खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यता पुष्टि हुन सक्नु जरुरी छ । औपचारिकतामा रमाउने सवालमा फजुल खर्च गर्ने छुट हामी कसैलाई पनि छैन ।
हरेक कार्यक्रम सञ्चालन गर्नुभन्दा पहिला औपचारिकताको खाका होइन कि कार्यक्रम गर्नुको उद्देश्य, लक्ष्य, उपलब्धि, लाभान्वित संख्या, दिगो विकासमा सहयोग, सामाजिक न्यायको अवस्थालगायतका विषयको खाका बनाएर परिणाम हासिल हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
अलि–अलि औपचारिक हुनैपर्ने खालका कार्यक्रममा समेत प्रयोगमा आउने नेपाली उत्पादन खादाको ठाउँमा रुमाल दिन सक्छौं । सत्तरी केजी मालाको ठाउँमा फूलको एउटै थुँगाले स्वागत गर्न सक्छौं ।
अहिले हामीले गर्ने गरेका औपचारिक कार्यक्रममा प्रमुख अतिथि समयमा नआउने, आफू आएपछि हतार छ भनेर कार्यक्रमको उद्घाटन गर्ने र विषयवस्तुभन्दा बाहिर गएर आफूले जानेका र आफूलाई लागेका वाहियात लामा भाषण छाँट्ने अनि हतार–हतार अर्को कार्यक्रममा पुग्ने । जसलाई प्रमुख अतिथिका रूपमा सम्मान दिएर बोलाइन्छ, उसैलाई सम्बन्धित विषयका बारेमा केही पनि थाहा नहुने अनि प्रमुख अतिथि हुने र एकछिन कार्यक्रमको उद्घाटन सत्रको समयसम्म समेत बस्ने फुर्सद नहुने, अरूले बोलेका कुरा नसुन्ने, आफूले स्वागत ग्रहण गर्ने, मायाको चिनो बोक्ने अनि कुलेलम ठोक्ने– यो त अति भएन र ? प्रमुख अतिथि हुनुको मर्यादासमेत उल्लंघन भएन र ? तसर्थ, अहिलेको औपचारिकताको भुलभुलैया क्रमशः हटाउँदै र घटाउँदै लैजानुपर्छ । कार्यक्रमको उद्देश्य र लक्ष्यबमोजिम आमनागरिकले उपलब्धि हासिल गरेको अनुभूति गर्न सक्नुपर्छ ।
एनजीओ र आईएनजीओहरूले गर्ने कार्यक्रमसमेत धेरै औपचारिक हुने गरेका छन् । जसले ठूल्ठूला होटलमा राम्रो सेवा, सुविधा दिएर, मीठो भोजनका साथमा लामो प्रतिवेदन लेखेर कार्यक्रम सम्पन्न भएको मान्ने चलन छ । जहाँ सहभागी हुने सदस्यहरूसमेत अलिक पढे–लेखेका, सम्पन्न वर्गका हुन्छन् भने अर्कोतिर जुन समूहका नाममा कार्यक्रम सञ्चालन गरिन्छ, सो समूहलाई आफ्नो कार्यक्रम छ भने जानकारी नै दिइँदैन अर्थात् उनीहरूलाई बोलाइँदैन । अबको समय औपचारिक भुलभुलैयामा भुल्ने होइन । अतिथि सत्कार भन्दै मञ्च सजावटमा फजुल खर्च गर्ने पद्धति रोक्नैपर्छ । अनावश्यक भद्दा आसनग्रहण, उपलब्धिविहीन मन्तव्य, विकासविहीन कार्यक्रमको गन्तव्य अब हटाउनैपर्छ ।
अब कार्यक्रम सञ्चालन गर्नुभन्दा पहिला यसको तथ्यांकीय रूपमा उपलब्धि हासिल गर्ने स्पष्ट इन्डिकेटर तयार गरौं । अहिलेको लम्बेतान औपचारिकता सबै छोडौं । कार्यक्रमकेन्द्रित भएर कार्यक्रम सञ्चालन गरौं । जसमा मञ्च सजावट, प्रमुख अतिथि, आसनग्रहणजस्ता अनावश्यक सबै कुरा हटाऔं । सरोकारवाला विज्ञहरूको राय, परामर्श, छलफल लिखित रूपमै संकलन गरौं । कार्यक्रमको प्रकृति हेरेर अनलाइन कार्यक्रमसमेत सहज रूपमा गर्न सकिन्छ । जब कार्यक्रमको उद्देश्यलाई फोकस गरेर कार्यक्रम सञ्चालन गरिन्छ, तब सकारात्मक नतिजा प्राप्त गर्न सहज पनि हुन्छ ।
