विकासवाद के हो ?

‘हामी विकासवादी हौं’ भन्ने वाक्यको मूल्य त्यतिबेला प्रमाणित हुन्छ, जब विकास भाषण होइन, प्रणाली बन्छ । प्रणाली परिणाम बन्छ । र, परिणाम नागरिकको दिनचर्यामा र अनुभवमा परावर्तित हुन्छ ।

असार १७, २०८३

भोजराज पौडेल

What is evolution?

What you should know

प्रधानमन्त्री वालेन्द्र शाहले रास्वपाको पहिलो महाधिवेशनमा ‘हामी विकासवादी हौं’ भनेर दिएको भाषणलाई मैले यो सरकारको अर्थ–राजनीतिक मार्गचित्रको संकेतका रूपमा बुझेको छु । प्रधानमन्त्री पदको शपथग्रहणपछि पंक्तिकारले ‘बालेनोमिक्स’ भन्ने शब्द अगाडि सारेको थियो (‘बालेनोमिक्स’ को प्रतीक्षा, कान्तिपुर, फागुन २८, २०८२) । सार्वजनिक बहसमा यो शब्द कतै प्रशंसाको भाषामा त कतै व्यंग्यको भाषामा चल्यो । अहिले आएर त्यसको विस्तारित रूप ‘विकासवाद’ हो त भन्ने हुन सक्छ । यस आलेखमा ‘के ‘बालेनोमिक्स’ को विस्तारित रूप विकासवाद हो ?’ भन्ने विषयमा चर्चा गर्नेछु ।

सरकारले आगामी पाँच वर्षभित्र ७ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने र अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरको आकारमा पुर्‍याउने लक्ष्य सार्वजनिक रूपमा राखेको छ । यो लक्ष्य प्राप्तिको प्रक्रिया कस्तो हुन्छ भन्नेमा आम चासो छ । लक्ष्य प्राप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न त छँदै छ । लक्ष्य पूरा नहुनु केवल सरकार र रास्वपाको असफलता मात्र होइन । यो नागरिकको भरोसामाथि प्रहार पनि हो ।

पाँच वर्ष लगातार उच्च उत्पादकता, स्थिर नीतिगत वातावरण र बाह्य सन्तुलन कायम रहने अवस्था नभई यो लक्ष्य सम्भव हुँदैन । अझ, यदि आर्थिक वृद्धि आयातमा आधारित उपभोगले मात्र धकेलियो भने व्यापार घाटा बढ्छ, विदेशी मुद्रा दबाबमा पर्छ र अर्थतन्त्र ठूलो बनाउने लक्ष्य झनै कठिन हुन्छ । त्यसैले रास्वपाको विकासवाद आर्थिक वृद्धिको ‘अंक देखाउने’ होइन, उत्पादन र प्रतिस्पर्धाबाट ‘मुलुक निर्माण गर्ने’ सिद्धान्तमा उभिनुपर्छ ।

नेपालको इतिहासले विकासवादका लागि दुईथरी पाठहरू सँगसँगै दिएको छ– दृष्टि र चेतावनी । पृथ्वीनारायण शाहको दिव्योपदेशमा भेटिने आत्मनिर्भरता, स्रोत–संरक्षण र बाह्य शक्तिसँग सावधानीपूर्वक सम्बन्धको आग्रहलाई आजको भाषामा अनुवाद गर्ने हो भने त्यो ‘रणनीतिक स्वाधीनता’ र ‘घरेलु उत्पादन क्षमता’ को चेतावनी हो । तर इतिहासको अर्को पाटोले पनि पाठ दिन्छ । राणा कालखण्डमा आधुनिकताको झिल्का देखिए पनि शक्ति संरचना एकीकृत र एकांकी हुँदा अवसर सीमित रह्यो र विकासले नागरिक जीवनलाई रूपान्तरित गर्न सकेन । पञ्चायतकालमा ‘विकास’ राज्यको आधिकारिक शब्द बन्यो । तर केन्द्रीकृत योजना र आदेश–आधारित प्रशासनले स्थानीय जवाफदेहिता, प्रतिस्पर्धा र नवप्रवर्तनलाई अपेक्षित ठाउँ दिन सकेन । २००७, २०४६ र २०६२/६३ का परिवर्तनहरूले राजनीतिक अधिकारको दायरा बढाए । तर ‘आर्थिक राज्य’ को क्षमतामा उल्लेख्य उपलब्धि हुन सकेन । परियोजना कार्यान्वयन, पारदर्शी सार्वजनिक खरिद, नियमको निश्चितता, न्याय, सक्षम नियमन लगायतका क्षेत्रमा कमजोरीहरू रहे । र, ती दोहोरिइरहे । त्यसैले आज ७ प्रतिशत आर्थिक वृद्धिदर र १०० अर्ब अमेरिकी डलर बराबरको अर्थतन्त्रका लक्ष्यहरू अगाडि सार्नु भनेको मुलुकको इतिहाससँग एउटा वाचा गर्नु हो । अब विकासलाई केवल भाषणको शक्ति होइन, राज्यको प्रणालीगत क्षमताको प्रमाण बनाउनुपर्छ । राणाकालको जस्तो एकांकी र पञ्चायतको जस्तो लालित्यपूर्ण नहोस् भनेर राज्य स्वयं नै सचेत रहनुपर्छ । 

विश्व विकासवादको साहित्यले नेपाललाई कुनै ‘रेडिमेड नोट’ दिँदैन । तर यसले सही प्रश्न सोध्ने आँखीझ्याल भने दिन्छ । वाल्ट रोस्टो (१९१६–२००३) ले विकासलाई विभिन्न चरणहरूको यात्राजस्तो देखाउँदै ‘टेक–अफ’ को अवधारणा दिएका थिए । त्यसले नेतृत्वलाई उड्ने सपना दिन्छ । तर नेपालमा समस्या प्रायः विमानको इन्जिनभन्दा ‘रनवे’ हो । अस्थिर नियम, अनिश्चित नीति, अनुमतिमा ढिलाइ, ठेक्का विवाद र कमजोर न्याय प्रणालीले गर्दा धेरै समस्या छन् । रनवे समथर नहुँदा जहाजले गति लिन सक्दैन । आर्थर लुइस (१९१५–१९९१) को दृष्टिले कृषिबाट उद्योग क्षेत्रतर्फ श्रम सर्ने प्रक्रियालाई विकासको इन्जिन मान्यो । नेपालमा त्यो श्रम सर्ने ठूलो बाटो उद्योगतर्फ होइन, विदेशतर्फ खुल्यो । जसले रेमिट्यान्समा आधारित उपभोग बढायो । तर घरेलु उत्पादन आधार कमजोर रह्यो । ड्यानी रोड्रिकले एकै खालको नीतिले सबै ठाउँमा काम गर्दैन भन्दै देशले आफ्नै मुख्य अवरोध पहिचान गरेर त्यसमै केन्द्रित सुधार गर्नुपर्ने कुरा गरेका छन् । नेपालका मुख्य अवरोधहरू अत्यन्त ठोस छन् । विकासवादले यी अवरोधहरूमा सिधा प्रहार नगरीकन ७ प्रतिशतको गति र १०० अर्बको आकार दुवै हुन सक्दैन ।

विकासवादको मेरुदण्ड संस्थागत सुधार हुनुपर्छ । अमेरिकी अर्थशास्त्री डगलस नर्थ (१९२०–२०१५) ले संस्थालाई ‘खेलका नियम’ भनेका छन् । नियम स्पष्ट र स्थिर भए लगानी बढ्छ, जोखिम घट्छ, उत्पादकता बढ्छ । नेपालमा नियम धेरै ठाउँमा विवेकाधीन, अनिश्चित वा पहुँच–आधारित भएको अनुभूति रहिरह्यो । यसले गर्दा निजी क्षेत्र र नागरिक दुवैले राज्यलाई भरोसा गर्न सकेनन् । ड्यारोन एसेमोग्लु र जेम्स ए. रोबिन्सनले ‘समावेशी संस्था’ बिना समृद्धि दिगो हुन सम्भव छैन भने । नेपाली सन्दर्भमा यसको अर्थ कर, ठेक्का, अनुमति, वित्त र न्याय लगायतमा केही समूहको मात्र पहुँच रह्यो । यस सन्दर्भमा विकास ‘औसत’ मा देखिएला, तर ‘विस्तार’ मा देखिँदैन । विस्तार नभएको विकास दीर्घकालमा अस्थिर बन्छ । त्यसैले विकासवादको केन्द्रमा निष्पक्ष प्रतिस्पर्धा, नियमको समान कार्यान्वयन र सार्वजनिक संस्थामा पारदर्शिता राख्नु अनिवार्य छ ।

तर विकासलाई अंक र संस्थामा मात्र सीमित गर्दा त्यसको मानवीय अर्थ खुम्चिन्छ । त्यो खुम्चिएको विकासले अन्ततः राजनीतिक वैधता पनि कमजोर बनाउँछ । अमर्त्य सेनले विकासलाई ‘क्षमता विस्तार’ भनेर परिभाषित गरेका छन् । मानिसले आफ्नो जीवनमा के बन्न र के गर्न सक्छ भन्ने अवसर बढ्नु नै विकास हो । नेपालमा विकासवाद सफल हुनु भनेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढ्नु मात्र होइन, विद्यालयमा सिकाइको गुणस्तर सुध्रिनु, स्वास्थ्य सेवामा गरिबको पहुँच हुनु, नागरिकले सेवा पाउनु र युवाले देशमै भविष्य देख्नु हो । कार्ल पोलान्यी (१८८६–१९६४) ले बजारलाई समाजभन्दा माथि राख्दा समाजले प्रतिक्रिया गर्छ भनेका छन् । नेपालमा पनि यदि विकासले असमानता, पहुँच–केन्द्रित अवसर र क्षेत्रीय विभाजन बढायो भने विकासवाद आफैं विरोधको केन्द्र बन्छ । त्यसैले बालेनोमिक्सले ‘गति’ र ‘न्याय’ लाई एउटै यात्राका दुई पांग्रा बनाउनुपर्छ । नत्र एउटा पांग्रा मात्रले देश अगाडि बढ्दैन ।

नेपाली साहित्यले विकासको ‘मानव’ पक्षलाई अत्यन्त स्पष्ट भाषामा राखेको छ । भानुभक्तले ज्ञानलाई जनभाषामा उतारेर पहुँच बढाए । यो शिक्षा र समावेशीकरणको विकासवादी आधार हो । देवकोटाको ‘मुनामदन’ ले परदेशिने बाध्यताको पीडा र घरभित्रको संरचनात्मक अभाव देखायो । आज त्यो कथा भावनामा मात्र होइन, तथ्यांकमा छ । युवा विदेशिएका छन्, श्रम घट्दो छ, खेतीपाती छैन, परिवारको सामाजिक संरचना बदलिएका वा भत्किएका छन् । र, अर्थतन्त्र रेमिट्यान्समा आधारित उपभोगमा अड्किएको छ । विकासवादले जवाफ दिनुपर्ने केन्द्रीय यही प्रश्न भनेको देशमै सम्मानजनक रोजगारी किन छैन भन्ने हो । बीपी कोइरालाले लोकतन्त्रलाई जीवन–पद्धति भने । त्यसको अर्थ विकास पनि नागरिकको दैनिक जीवन अनुभव हो । विकासवादको अर्थ अन्ततः नागरिकको समय, श्रम र गरिमाको संरक्षण हो ।

अब ७ प्रतिशत वृद्धिको ‘इन्जिन’ हरू मुलुकमा कहाँ छन् भन्ने प्रश्नमा आऔं । पहिलो इन्जिन कृषि उत्पादकता हो । कृषि केवल परम्परा होइन । यो रोजगारी, खाद्य सुरक्षा र आयात प्रतिस्थापनको आधार हो । विकासवादी नीति भनेको अनुदान बाँड्ने सूची होइन । यो भनेको सिँचाइ, जलस्रोत व्यवस्थापन, बीउ–प्रविधि, मल र उपकरणको भरोसायोग्य आपूर्ति, भण्डारण/चिस्यान केन्द्र, कृषि बिमा, बजार सूचना र प्रशोधन उद्योगमार्फत मूल्य–शृंखला बनाउनु हो । कृषि उत्पादकता बढ्दा आयातित खाद्यवस्तुको निर्भरता घट्छ । जसले गर्दा ग्रामीण आम्दानी बढ्छ र घरेलु मागमा सुधार हुन्छ । तर कृषिमा सुधार ‘किसान’ मात्रको सबाल होइन । भूमिको अवस्था, लजिस्टिक्स, सहकारी/समूहको सुशासन र बजारमा बिचौलिया संरचनाको सुधार पनि हो । किसानलाई लाभग्राही होइन, उद्यमीको रूपमा सम्मान गर्ने नीतिबिना कृषि सुधार टिक्दैन । दिगो कृषिबिना व्यापक रोजगारीमा आधारित आर्थिक वृद्धि सम्भव हुँदैन ।

दोस्रो इन्जिन ऊर्जा रूपान्तरण हो । विशेषगरी जलविद्युत् र त्यससँग जोडिएको प्रसारण/वितरण क्षमता । नेपालमा जलविद्युत् ‘सम्भावना’ भनेर बोल्ने परम्परा छ । तर सम्भावनाको कुराले मात्र आर्थिक आकार दिँदैन । उत्पादन, खपत र मूल्य–शृंखलामा प्रयोग भएको ऊर्जा नै आर्थिक आकार हो । प्रसारणलाइन, वितरण प्रणालीको सुधार, चुहावट नियन्त्रण, उद्योगलाई स्थिर र सस्तो आपूर्ति र घरायसी ऊर्जा रूपान्तरण (विद्युतीय चुलो, विद्युतीय यातायात) ले मात्र लागत संरचना बदल्छ । ऊर्जा रूपान्तरणले आयातित पेट्रोलियममा निर्भरता घटाएर विदेशी मुद्रा बचत गर्न सक्छ । यसले १०० अर्ब डलरको लक्ष्यतर्फ जाने बाटोमा सबैभन्दा ठोस सहयोग दिन सक्छ ।

तेस्रो इन्जिन पर्यटन र सेवा अर्थतन्त्र हो । तर यसलाई ‘आगमन संख्या’ को मापनबाट बाहिर निकालेर ‘प्रतिपर्यटक आम्दानी’, सेवा गुणस्तर र स्थानीय लाभमा ल्याउनुपर्छ । हिमाल, संस्कृति र प्रकृति हाम्रो पुँजी हो । तर पुँजीलाई सस्तोमा बेचेर होइन, गुणस्तर बढाएर र दिगो व्यवस्थापन गरेर मात्र समृद्धि हुन्छ । पर्यटन क्षेत्रमा वातावरणीय व्यवस्थापन, फोहोर व्यवस्थापन, सुरक्षित ट्रेल/यात्रा पूर्वाधार, स्थानीय समुदायको हिस्सेदारी र उच्च मूल्य–सेवामा जोड दिनुपर्छ । साथै डिजिटल सेवा भुक्तानी प्रणाली, ई–कमर्स, लजिस्टिक्स र सरकारी सेवा प्रवाहले लेनदेन लागत घटाउँछ, समय बचत गराउँछ र उत्पादकता बढाउँछ । 

चौथो इन्जिन उद्योग र साना–मझौला उद्यम हुन् । दिगो आर्थिक वृद्धि र रोजगारीको आधार प्रायः यिनै क्षेत्रले डोर्‍याउँछन् । तर उद्योग विकासका लागि भवन वा ‘घोषणा’ पर्याप्त हुँदैन । नियमको निश्चितता, पूर्वाधार (ऊर्जा, सडक, इन्टरनेट), वित्त पहुँच, गुणस्तर मापदण्ड र प्रतिस्पर्धी बजार चाहिन्छ । उद्यमीले व्यवसाय चलाउनभन्दा व्यवसाय सुरु गर्नमै धेरै समय–ऊर्जा खर्चिनुपर्ने अवस्था विकासवादी राज्यसँग मेल खाँदैन । राज्यले उद्यमलाई शंकाको दृष्टिले होइन, उत्पादन र रोजगारीको साझेदारको दृष्टिले हेर्नुपर्छ । तर यसको अर्थ नियमन हटाउनु भनेको होइन । नियमनलाई सरल, स्पष्ट, अनुमान गर्न सकिने र भ्रष्टाचाररहित बनाउनु हो । जोशेफ शुम्पेटरले भनेझैं नवप्रवर्तन र प्रतिस्पर्धाबिना उत्पादकता बढ्दैन । त्यसैले नयाँ व्यवसाय जन्मने, पुराना व्यवसाय आधुनिक हुने र बजारमा एकाधिकार/कार्टेल नजम्ने वातावरण निर्माण गर्नु विकासवादको अनिवार्य अंग हो ।

यी सबै इन्जिनहरू चलाउने ‘इन्धन’ सार्वजनिक वित्त र सुशासन हो । यहींनेर मुलुकले बारम्बार कमजोर प्रदर्शन गरेको छ । पुँजीगत खर्च ढिलो हुनु, ठेक्का विवादले परियोजना अड्किनु, लागत बढ्नु र गुणस्तरमा सम्झौता हुनु लगायतले विकासलाई कागजको योजना बनाइदिन्छ । ‘बालेनोमिक्स’ विकासवादी हो भने सरकारको वार्षिक बजेट ‘खर्च गर्ने कला’ को फेहरिस्त होइन, ‘परिणाम दिने प्रणाली’ को दस्तावेज बन्न सक्नुपर्छ । परियोजना छनोट लागत–लाभ, रोजगार प्रभाव, समयसीमा र मर्मत–सम्भारको योजनासहित हुनुपर्छ । सार्वजनिक खरिदमा पारदर्शिता र प्रतिस्पर्धा हुनुपर्छ । ठेक्का व्यवस्थापनमा प्राविधिक क्षमता र कडाइ हुनुपर्छ । र, सम्पन्न भएपछि कार्यसम्पादनको सार्वजनिक प्रतिवेदन हुनुपर्छ । कर प्रणालीमा पनि आधार फराकिलो, दर न्यायोचित र करछली नियन्त्रण प्रभावकारी हुनुपर्छ । यसमा बालेनका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पनि परीक्षण हुनेछ ।

बाह्य सन्तुलन विकासवादको केन्द्रमा रहन्छ । आयात बढेर, व्यापार घाटा बढेर र विदेशी मुद्रा दबाब बढेर अर्थतन्त्र ‘ठूलो देखिनु’ भनेको काँचो समृद्धि हो । लक्ष्यतर्फ जान निर्यात (वस्तु र सेवा) विस्तार, पर्यटन आम्दानी वृद्धि, ऊर्जा रूपान्तरणबाट आयात घटाउने र रेमिट्यान्सलाई उपभोग मात्र होइन, उत्पादन/उद्यमतर्फ मोड्ने संरचना आवश्यक छ । रेमिट्यान्स आजको यथार्थ हो । तर विकासवादी रणनीतिले त्यसलाई ‘असहाय निर्भरता’ होइन, ‘उत्पादक पुँजी’ बनाउने उपाय खोज्नुपर्छ । सुरक्षित बचत साधन, साना उद्यम वित्त, सीप–आधारित पुनरागमन र स्थानीय उत्पादनसँग जोडिने अवसरहरू बढाउनुपर्छ । बाह्य ऋण लिँदा पनि प्रश्न ‘कति ल्यायौं ?’ होइन, ‘कसरी तिर्छौं ?’ हुनुपर्छ । ऋणले विदेशी मुद्रा आर्जन गर्ने क्षमता बढायो भने मात्र त्यो विकासवादी साधन हुन्छ । नत्र भविष्यको बोझ बन्छ । अफ्रिकी मुलुक जाम्बियाको अनुभव हेर्न सकिन्छ । अनुत्पादक ऋणले मुलुकको नीति स्वतन्त्रता खुम्च्याउँछ । दिव्योपदेशको सावधानीलाई आजको भाषामा यसरी भन्न सकिन्छ– निर्भरता बढाउने विकास अन्ततः विकासको विरोधी बन्छ ।

सबैभन्दा कठिन विषय निरन्तरता हो । नेपालमा नीतिगत अस्थिरता, प्राथमिकता फेरबदल र परियोजनाबीचमै अड्किने समस्या पुरानो हो । ७ प्रतिशत वृद्धि पाँच वर्ष निरन्तर राख्नु भनेको ‘प्रदर्शन’ होइन, ‘अनुशासन’ हो । कानुनी निश्चितता, नीति स्थायित्व, संघीय संरचनामा केन्द्र–प्रदेश–स्थानीय तहबीचको स्पष्ट भूमिका विभाजन र मापनयोग्य सूचकका आधारमा सार्वजनिक जवाफदेहिता लगायतमा सरकारले अनुशासनका साथ काम गर्‍यो भने सम्भव हुन पनि सक्छ । विकासवादी प्रधानमन्त्रीको परिचय समयले दिनेछ । मुलुकलाई चाहिएको घोषणा होइन, डेलिभरी हो । समाजले खोजेको लोकप्रियता होइन, विश्वसनीयता हो ।

त्यसैले ‘बालेनोमिक्स’ को विस्तारित रूप विकासवादलाई अन्ततः तीन वटा सर्तमा बाँध्न सकिन्छ– उत्पादन बढाउने साहस, नियम सुधार्ने अनुशासन र नागरिकको गरिमा बढाउने नैतिकता । ७ प्रतिशत वृद्धि र १०० अर्ब डलरको लक्ष्य सम्भावनाको सीमाभित्र पर्छ । तर त्यो सम्भव तब मात्र हुन्छ, जब वृद्धि आयात–आधारित चमकबाट होइन, कृषि–ऊर्जा–पर्यटन/सेवा–उद्योगका इन्जिनहरूबाट आउँछ । जब संस्था र नियम कानुनले निजी क्षेत्रलाई डर होइन, भरोसा दिन्छ । र, जब विकासको उपलब्धि शिक्षा, स्वास्थ्य, रोजगारी, र सेवाको गुणस्तरमा नागरिकले प्रत्यक्ष महसुस गर्छ । 

‘हामी विकासवादी हौं’ भन्ने वाक्यको मूल्य त्यतिबेला प्रमाणित हुन्छ, जब विकास भाषण होइन, प्रणाली बन्छ । प्रणाली परिणाम बन्छ । र, परिणाम नागरिकको दिनचर्यामा र अनुभवमा परावर्तित हुन्छ ।

भोजराज पौडल विकास अर्थशास्त्री हुन्। उनले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास-साझेदारसँग विभिन्न मुलुकको आर्थिक विकास र नीतिगत सुधारका क्षेत्रमा काम गरेका छन्।

Link copied successfully