कसरी ध्वस्त पारियो सामुदायिक विद्यालय ?

दशकौंदेखि शिक्षा सेवा आयोगमार्फत स्थायी नियुक्ति नगरीकनै योग्य व्यक्ति पाखा लगाएर राजनीतिक भागबन्डामा वा घूस खाएर राहत, निजी स्रोत अनि करारका शिक्षक नियुक्त गर्ने प्रवृत्तिले सामुदायिक विद्यालयको शिक्षा सत्यनाश पारेको छ । 

असार १६, २०८३

भोला पासवान

How was the community school demolished?

What you should know

विनाशको धरातलीय यथार्थ

नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । ‘आधारभूत शिक्षा नि:शुल्क र अनिवार्य हुनेछ, माध्यमिक शिक्षा नि:शुल्क हुनेछ’ भन्ने संवैधानिक प्रत्याभूति राज्यले दिएको छ । तर, आजको यथार्थ फरक छ– देशैभर लगभग ७० लाख विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । तिनका लागि वार्षिक करिब २ सय ११ अर्ब रुपैयाँ शिक्षामै खर्च हुन्छ । तर, परिणाम ? सामुदायिक विद्यालयका ४–५ कक्षासम्मका आधा विद्यार्थी कखरा, १–२–३ देखि एबीसीडीसम्म पनि राम्रोसँग जान्दैनन् । यो दुर्दशा विद्यालयमा मात्रै सीमित छैन– उच्च शिक्षाका विश्वविद्यालयमा पनि शैक्षिक क्यालेन्डर पालना नहुने र  परीक्षामा व्यापक अनियमितता हुने गरेको छ । फलस्वरूप ‘पढे–लेखेका’ तर श्रम बजारको मागअनुसार कामै नलाग्ने मानिसको भीड उत्पादन गरिँदै छ ।

How was the community school demolished?

महत्त्वपूर्ण तथ्य

न विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर पालना हुन्छ, न परीक्षा नियमित ! फलस्वरूप देशले ‘पढे–लेखेका’, तर श्रम बजारको मागअनुसार कामै नलाग्ने मानिसको भीड उत्पादन गर्दै छ । सामुदायिक विद्यालयमा भर्ना संख्या निरन्तर घट्दो छ । शिक्षा मन्त्रालयको रिपोर्ट– २०८२ अनुसार ४० प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा पूर्णकालीन प्रधानाध्यापक छैनन् । नेपालका सामुदायिक विद्यालयमा जम्मा १ लाख ८० हजार १ सय ३ शिक्षक छन् । यीमध्ये ८९ हजार २ सय १४ (करिब ४९ प्रतिशत) मात्रै स्थायी शिक्षक हुन् । बाँकी ९० हजार ८ सय ८९ शिक्षक राहत, निजी स्रोत, करार र अन्य अस्थायी प्रकृतिका छन् ।

दशकौंदेखि शिक्षा सेवा आयोगमार्फत स्थायी नियुक्ति नगरेर, योग्य व्यक्तिलाई पाखा लगाएर राजनीतिक भागबन्डामा र घूस खाएर राहत, निजी स्रोत र करारका शिक्षक नियुक्त गर्ने प्रवृत्तिले सामुदायिक विद्यालयको शिक्षा सत्यनाश पारेको छ । अर्कोतर्फ, राज्यले योग्य जनशक्ति नै नभएर अस्थायीको सहारा लिनुपरेको हो भन्ने तर्क गर्ने ठाउँ कतै देखिँदैन । शिक्षक सेवा आयोगको विगत चार वर्ष (आव २०७९/८० देखि २०८२/८३ सम्म) को तथ्यांक हेर्ने हो भने माध्यमिक र निम्नमाध्यमिक दुवै तह गरी शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि कुल ७ लाख ४६ हजार १ सय २ जना युवाले दरखास्त दिएका थिए । तीमध्ये कडा प्रतिस्पर्धा पार गर्दै १ लाख ५२ हजार ८४ जना योग्य जनशक्ति उत्तीर्ण भई प्रमाणपत्र लिएर बसेका छन् । यस तथ्यांकले बजारमा शिक्षणका लागि इजाजत प्राप्त डेढ लाखभन्दा बढी दक्ष जनशक्ति जुनसुकै बेला सेवा गर्न तयारी अवस्थामा रहेको प्रमाणित गर्छ । यति ठूलो संख्यामा लाइसेन्स प्राप्त र प्रतिस्पर्धी युवा सडकमा बेरोजगार भइरहँदा, विद्यालयमा भने आधाभन्दा बढी शिक्षक अस्थायी र राहतकै भरमा टिकाइराख्नु नीतिगत विचलन र राज्यको व्यवस्थापकीय उदासीनताको पराकाष्ठाबाहेक केही हुन सक्दैन ।

एसईई परीक्षाफलको समीक्षा

२०७१ देखि एसएलसीलाई एसईई भन्न थालियो । हरेक वर्ष कक्षा १० को यो परीक्षामा करिब ५ लाख नियमित र आंशिक विद्यार्थी सहभागी हुन्छन् । देशैभर करिब २ हजार परीक्षा केन्द्र रहन्छन् ।

केही वर्षयता परीक्षामा उत्तीर्ण प्रतिशत सुधारिएको देखिन्छ । तर, सामुदायिक र निजी विद्यालयको परिणाममा ठूलो खाडल छ । सामुदायिक विद्यालयको उत्तीर्ण दर सधैं निजी विद्यालयभन्दा निकै न्यून रहन्छ । ‘राष्ट्रिय विद्यार्थी उपलब्धि मूल्यांकन’ अनुसार, कक्षा ८ का एक तिहाइ विद्यार्थीको गणितमा न्यूनतमस्तरको ज्ञान छ भने कक्षा ५ का आधाभन्दा बढी विद्यार्थी नेपालीमा शुद्ध वाक्य लेख्न जान्दैनन् ।

आन्तरिक मूल्यांकनमा मनपरी

विद्यालयहरूले आन्तरिक मूल्यांकनमा ‘ए–प्लस’ वा ‘ए’ दिने तर अन्तिम परीक्षामा ती विद्यार्थी ३५ प्रतिशत नै ल्याउन नसकी फेल हुने प्रवृत्ति व्यापक छ । यो तथ्य विद्यार्थीको मार्कसिट हेर्दै थाहा हुन्छ । यो अनियमितता रोक्न नयाँ कानुन बनाउनु पर्दैन, सम्बन्धित प्रधानाध्यापकलाई ग्रेड रोक्ने अन्य कारबाहीको व्यवस्था भएका विद्यमान कानुन कार्यान्वयन गरे पुग्छ ।

सामुदायिक विद्यालयको दयनीय अवस्थाको कारण

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर किन दयनीय छ ? यसका मुख्य कारण निम्न छन् :

क) राजनीतिक हस्तक्षेप र ‘सुपर हेड मास्टर’ को हालीमुहाली

सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापकभन्दा शक्तिशाली राजनीतिक दलका ‘सर’ हुन्छन्, जसले हेडमास्टरलाई पनि नियन्त्रण गर्छन् । स्थानीय नेताको हस्तक्षेपमा शिक्षक नियुक्ति, सरुवा र पदस्थापन गरिन्छ । यो विशेषगरी मधेशमा ‘सुपर हेड मास्टर’ प्रणालीका रूपमा व्यापक छ ।

How was the community school demolished?

ख) अयोग्य र अस्थायी शिक्षकको बाहुल्य

आधाभन्दा बढी शिक्षक राहत, निजी स्रोत वा करारका छन्, जसको योग्यता र जवाफदेहिता छैन । योग्यता परीक्षण गरेर, सेवा आयोग पास गरेर नियुक्त भएका होइनन् यस्ता शिक्षक । राजनीतिक पार्टी, निजी पहुँच, घूस आदिका आधारमा शिक्षक बनेकाको योग्यतामाथि प्रश्न उठ्नु स्वाभाविक हो । निजी विद्यालयमा पनि कतिपय ठाउँमा कक्षा १० पास गरेकाले कक्षा ८–९–१० सम्मै पढाउने गरेको पाइन्छ ।

ग) कक्षामा विद्यार्थीको न्यून उपस्थिति

भर्ना भएकामध्ये आधाजति विद्यार्थी कहिल्यै कक्षामा उपस्थित हुँदैनन् । तराईमा यस्तालाई ‘स्लिपिङ’ विद्यार्थी भनिन्छ । कक्षामा नआएर आन्तरिक मूल्यांकनमा मात्रै ‘हाजिर’ हुनेहरू छन् । 

यसको ज्वलन्त उदाहरण केही दिनअघिको एउटा शुक्रबार सप्तरीका दुई स्थानीय तह (विष्णुपुर गाउँपालिका र कञ्चनरूप नगरपालिका) का ९ वटा सामुदायिक विद्यालयमा गरिएको स्थलगत अनुगमनको तथ्यांकले छर्लङ्ग पार्छ । अनुगमन गरिएका विद्यालयहरूमा कुल २ हजार २ सय ८ जना विद्यार्थी सामुदायिक रजिस्टरमा दर्ता (भर्ना) भएको भेटियो । तर, शुक्रबारको त्यो दिन कक्षाकोठामा केवल १ हजार ३ सय १३ जना मात्रै उपस्थित थिए । यसले देखाउँछ– कुल भर्ना भएका बालबालिकामध्ये ४०.५४ प्रतिशत विद्यार्थी अर्थात् झन्डै आधा ‘स्लिपिङ’ अवस्थामा छन्, जो केवल कागजमा सीमित छन् तर विद्यालयको चौघेराभित्र पाइलै टेक्दैनन् । यो तथ्यांकले प्रमाणित गर्छ– कञ्चनरूप नगरपालिकाका विद्यालयहरूमा ‘स्लिपिङ’ विद्यार्थीको दर अझ भयानक छ, जहाँ ४३.९४ प्रतिशत विद्यार्थी कक्षामा अनुपस्थित रहेर केवल आन्तरिक मूल्यांकन र मार्कसिटको पर्खाइमा बसेका छन् । विष्णुपुर गाउँपालिकामा पनि झन्डै ३९ प्रतिशत विद्यार्थी विद्यालय आउँदैनन् ।

How was the community school demolished?

यी तथ्यांकले स्पष्ट पार्छ– तराईका रैथाने दलित, सीमान्तकृत र ज्यालादारीमा आश्रित विपन्न परिवारका बालबालिका घरायसी बाध्यता र चेतनाको अभावले विद्यालय आउनै छाडेका छन् । नाम रजिस्टरमा रहने तर कक्षाकोठा सधैं रित्तै रहने यो ‘स्लिपिङ’ रोगले अन्तत: सामुदायिक शिक्षाको गुणस्तरलाई दिनानुदिन सरकारी अनुदान पचाउने माध्यम मात्रै बनाइरहेको छ ।

घ) परीक्षामा व्यापक अनियमितता

‘सेन्टरसेटिङ’, ‘फ्ल्याप’ र कापी जाँचमा अनियमितताले नपढेकाले पनि पास हुने मौका पाउँछन् । एउटै परीक्षा केन्द्रका अधिकांश विद्यार्थीको उत्तर एउटै भए पनि सबैलाई पास गराउने प्रवृत्ति छ ।

ङ) दोहोरो भर्ना र गैरकानुनी अभ्यास

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको पूर्ण जिम्मेवारी स्थानीय तहको एकल अधिकार सूचीमा राखेको छ । तर, विडम्बना ! स्थानीय जनप्रतिनिधि स्वयं सामुदायिक विद्यालयको अवस्था सुधार्न गम्भीर देखिएका छैनन् । देशका औंलामा गन्न सकिने केही सामुदायिक विद्यालयले उदाहरणीय कार्य गरे पनि संख्यात्मक रूपमा त्यो नगण्य छ ।

अहिले देशैभरि एउटा नयाँ प्रकृतिको शैक्षिक अपराध संस्थागत भइरहेको छ, त्यो हो– ‘दोहोरो भर्ना र कागजी विद्यार्थी’ । हुने–खाने र पहुँचवाला परिवारले आफ्ना बालबालिकालाई महँगो शुल्क तिरेर निजी (बोर्डिङ) विद्यालयमा पढाउँछन् । तर, सरकारी सेवा–सुविधा र छात्रवृत्ति हत्याउन तथा एसईईमा सरकारी कोटाको फाइदा लिन उनीहरू बालबालिकाको नाम सामुदायिक विद्यालयको (एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली) मा दर्ता गराउँछन् । निजीमा पढ्ने तर सामुदायिक विद्यालयबाट परीक्षा दिने यो प्रवृत्ति कानुनी अपराध मात्रै होइन, समग्र समाज र राष्ट्रकै भविष्यमाथिको ठूलो घात हो ।

अर्कोतर्फ, अनुमतिबिना कक्षा थप गर्ने निजी विद्यालयको दादागिरी उत्तिकै छ । कक्षा ५ वा ६ सम्म मात्रै सञ्चालनको अनुमति लिएका कतिपय निजी विद्यालयले अवैध रूपमा कक्षा १० सम्म पढाइरहेका छन् । यो गैरकानुनी हर्कत लुकाउन उनीहरूले माथिल्लो कक्षाका विद्यार्थीलाई नजिकैको सामुदायिक विद्यालयमा ‘कागजी–भर्ना’ गराएर परीक्षा दिन लगाउने गरेका छन् ।

यस महाअपराधमा स्वयं जनप्रतिनिधि, सामुदायिक विद्यालयका व्यवस्थापन समिति, शिक्षक र स्थानीय शक्ति संरचनामा पकड भएका व्यक्तिको बलियो साँठगाँठ (नेक्सस) छ । आफ्नो ‘भोटबैंक’ गुम्ने र चुनाव हारिने डरले धेरैजसो स्थानीय नेतृत्व यो शैक्षिक माफियातन्त्रमाथि हात हाल्न र नियमन गर्न डराइरहेका छन् ।

च) शिक्षामा राष्ट्रिय लगानीको दुरुपयोग

२५ हजार ६ सय २३ सामुदायिक विद्यालयमध्ये ४ सय २२ विद्यालयलाई मात्रै ‘मोडलस्कुल’ बनाउने कार्ययोजना अवैज्ञानिक छ । विद्यालय शिक्षामा वार्षिक १ सय ४५ अर्ब रुपैयाँको लगानी सदुपयोग नभएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले देखाएको छ । 

उच्च शिक्षाको उस्तै हालत

त्रिभुवन विश्वविद्यालय नेपालकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । सन् १९५९ मा स्थापना भएको यो विश्वविद्यालयमा हाल ४ लाख ६० हजार ६ सय ३२ विद्यार्थी र ७ हजार ८ सय ३८ शिक्षक छन् । यसको बजेट २६.१६९ अर्ब रुपैयाँको छ । यो विश्वविद्यालयले ‘गिनिज वर्ल्ड रेकर्ड’ पनि राखेको छ– एउटै दीक्षान्त समारोहमा ७३ हजारभन्दा बढी विद्यार्थीले डिग्री पाएको रेकर्ड । तर, यही विश्वविद्यालयमा अरू पनि कीर्तिमान छन् :

– ३ वर्षको पढाइ सक्न ५ वर्ष लगाइन्छ । शैक्षिक क्यालेन्डर पालना हुँदैन ।

– एमबीएस (व्यवस्थापन) को सीएमएटी परीक्षामा एक पटक पर्याप्त विद्यार्थी नपाएर दुई पटक लिनुपरेको थियो । 

– विद्यार्थी नभएर एमबीएम कार्यक्रम बन्द भएको थियो ।

– एमबीए मार्केटिङ र एमबीए कर्पोरेट लिडरसिप ७५ प्रतिशत क्षमतामा मात्रै सञ्चालित छन् ।

– २१ वटा आंगिक क्याम्पस मर्जरको सम्भावनामा छन् ।

– पाठ्यक्रम पुरानो र श्रम बजारको मागअनुरूप छैनन् ।

How was the community school demolished?

जागिरे विद्यार्थीका बदमासी

नेपालमा सरकारी जागिरमा कार्यरत हजारौं व्यक्ति एकै समय एउटा कार्यालयमा हाजिर हुँदै सयौं किलोमिटर टाढाका निजी कलेजमा पनि ‘नियमित विद्यार्थी’ भएर प्रमाणपत्र हात पार्दै छन् । विश्वविद्यालयका नियम कानुनअनुसार, कक्षामा कम्तीमा ७० प्रतिशत उपस्थिति अनिवार्य छ । यसका लागि गरिन्छ यो गैरकानुनी काम :

– जागिरमा माथिल्लो तहको प्रमाणपत्र आवश्यक पर्छ,

– कुनै निजी कलेजमा नाम लेखाउने,

– कक्षामा कहिल्यै नगई परीक्षामा मात्रै ‘सेन्टरसेटिङ’ मार्फत पास हुने

भ्रष्टाचारको यो प्रमाण खोज्न एक साताभन्दा बढी लाग्दैन । जागिरेको ‘जागिर अवधि’ र ‘प्रमाणपत्रको मिति’ मिलाएर जाँच्दा सबै खुल्छ । दसौं हजार यस्ता ‘नक्कली’ डिग्रीधारी सरकारी सेवामा छन् । खोजेर कारबाही गर्ने काम सरकारकै हो । 

परीक्षामा अनियमितता

विश्वविद्यालय र आंगिक/सम्बन्धन प्राप्त कलेजका परीक्षामा व्यापक अनियमितता हुने गरेको छ :

– अधिकांश निजी कलेजमा ‘होमसेन्टर’ दिइन्छ, आफ्नै परिसरमा परीक्षा, त्यसपछि नतिजा स्वाभाविक रूपमा उच्च भइहाल्छ ।

– ‘सेन्टर–सेटिङ’ र ‘फ्ल्याप’ को चलन व्यापक छ, सरकारले छद्म रूपमा अनुगमन गर्नुपर्छ । 

– कापी जाँच र ‘स्क्रुटिनी’ मा व्यापक मनपरी छ ।

– कम्तीमा ७० प्रतिशत कक्षामा उपस्थिति अनिवार्य कानुनी व्यवस्था भए पनि कलेजहरूमा हाजिरीको चलन प्राय: छैन ।

गरिबविरुद्ध अपराध : शिक्षामा वर्ग–विभाजन

नेपालमा शिक्षा क्षेत्रमा सामाजिक न्यायको गम्भीर उल्लंघन भइरहेको छ :

– ‘हुनेखाने’ ले बच्चा निजी विद्यालयमा पढाउने तर ‘ईएमआईएस’ सामुदायिकमा राख्ने र एसईई सामुदायिक स्कुलबाट दिलाउने

– उच्च शिक्षाका सरकारी छात्रवृत्ति धनीका सन्तानले हात पार्ने, गरिब सधैं पछाडि पर्ने

– ५–६ कक्षाको स्वीकृति लिएर १० सम्म पढाउने र निजी विद्यालयका विद्यार्थीको ‘ईएमआईएस’ नजिककै सामुदायिक विद्यालयमा गराउने । यसरी सरकारी स्रोत गरिबका नाममा धनीका लागि खर्च गरिँदै छ । यो गरिब नागरिक र राष्ट्र दुवैलाई ठग्ने गम्भीर ‘संरचनागत अपराध’ हो ।

कार्यान्वयन नहुने कानुन

नेपालमा शिक्षा सुधारका लागि पर्याप्त कानुनी आधार विद्यमान छन् । यी कानुनी प्रावधान कागजमा राम्रा छन् तर समस्या कार्यान्वयनमा छ । उदाहरणका लागि ‘स्वीकृतिभन्दा माथिको कक्षा सञ्चालन नगर्नू’ भन्ने निर्देशन सरकारबाट आए पनि देशैभर यो अपराध जारी छ । र, तराईका जिल्लामा अझ व्यापक छ । रोक्ने जिम्मेवारी पाएका सरकारी निकाय, स्थानीय तह र विद्यालय सञ्चालक सबै मिलेका छन्, ती चुपचाप छन् । 

यो र यस्ता समस्या समाधानको मुख्य सन्देश हो– शिक्षाको गुणस्तर सुधार गर्न नयाँ कानुन बनाउनु पर्दैन । विद्यमान कानुनलाई कडाइसाथ कार्यान्वयन गरे पनि ठूलो परिवर्तन सम्भव छ ।

भोला सप्तरीमा बस्ने उनी दलित समुदायका बहुल सामाजिक मुद्दा र समावेशी प्रणालीबारे अनुसन्धान गर्छन् ।

Link copied successfully