दलितमाथि हुने सभ्य विभेदको फैलावट

पछिल्लो समय डिजिटल माध्यमबाट समेत सभ्य जातीय विभेदको डरलाग्दो परिदृश्य देखिन थालेको छ ।

असार १५, २०८३

मधु शाही

The spread of civilized discrimination against Dalits

What you should know

‘म्याडम तपाईं जस्तो मान्छे दलित हुनै सक्नुहुन्न !’

उनी बारम्बार मेरो प्रशंसा गरिरहेका थिए– ‘अनि ‘शाही’ थर त दलितको हुनै सक्दैन ।’ हातमा दलित समुदायको कागजी प्रमाण हुँदाहुँदै पनि उनलाई पटक्कै चित्त बुझेको थिएन । उनी सभ्य भाषामा विभेदको प्रहार गरिरहेका थिए । जुन विषयमा उनी बोल्न आवश्यक नै थिएन । उनी बारम्बार मेरो थर शाही हुनुमा आश्चर्यचकित हुँदै र दलित जस्तो नदेखिएको बारेमा मीठा शब्द फ्याँक्दै विभेद गरिरहेका थिए । अति भएपछि मैले सोधें, ‘दलित कस्तो देखिनुपर्ने थियो ?’ त्यसपछि ती कर्मचारी अकमक्क भए, उत्तर आएन । 

केही महिनाअघि बर्दियाको मालपोत कार्यालयमा एक कर्मचारीले ममाथि गरेको सभ्य विभेदको घटना थियो, यो । सभ्य शब्द प्रयोग गरी असभ्य विभेद गर्ने घटना दलित समुदायले निकै सामना गर्नुपर्छ । ‘तपाईं कुन शाही ? कहाँको शाही ? कुन गोत्र ?’– यावत् प्रश्नको कठघरामा उभ्याएर अन्तिममा तपाईं त दलित जस्तो देखिनुहुन्न भन्ने सभ्य भाषामा गरिने विभेद पनि भोगें मैले । के थर यति महत्त्वपूर्ण छ ? मान्छे हुनु आफैंमा पर्याप्त छैन ?

दुई वर्षअघि नेपाल पत्रकार महासंघको निर्वाचनमा दलित कोटाबाट सचिव पदमा उम्मेदवार दिएकी थिएँ । परियार समुदायकी म शाही थर लेख्छु । शाही लेखेकै कारण दलितले कसरी शाही लेख्ने अधिकार दियो ? भन्दै कथित ठकुरी समाजका अगुवाबाट मुद्दा हाल्ने धम्कीसमेत आयो । अरू उम्मेदवारले निर्वाचनमा मत बटुल्न मिहिनेत गर्दै थिए । तर मैले भने आफ्नो जातको प्रमाण जुटाउन र प्रस्टीकरणको तनाव झेल्नुपरेको थियो । अपमान र अमानवीय व्यवहार सहनुपरेको थियो । एक थरीको धारणा छ, दलित समुदायले थर फेरे विभेद हट्छ । अर्को मान्यता छ, दलित नै नभने विभेद हुँदैन ।

पछिल्लो समय चर्को रूपमा सभ्य सहर काठमाडौंका घरधनीले दलित समुदायमाथि डेरा खोज्दा गरिरहेको विभेदको विरुद्ध अधिकारकर्मी दीपा नेपालीको नेतृत्वमा सत्याग्रह निरन्तर छ । यद्यपि यी सबै थर फेरिनु वा नफेरिनुसँगको समस्या होइन । समस्याको समाधान सोच रूपान्तरण गर्नुको हो । विभेद भोग्नेभन्दा पनि विभेद गर्नेहरूको धमिलो मानसिकता सफा गर्न आवश्यक छ । र, त्यसको सुरुवात राज्यबाटै हुनुपर्छ । सरकारले दलितमाथि सदियौंदेखि गरिँदै आएको विभेद स्वीकार गर्दै क्षमायाचनासहित माफ माग्ने वाचा गरेको थियो । जुन, औपचारिक रूपमा संसद्मा देखिन बाँकी छ । बाल्यकालमा विद्यालय, मन्दिर, धारा–पँधेरामा साथीभाइ र शिक्षक स्वयंबाटै प्रत्यक्ष रूपमा अछुतको व्यवहार भोग्नुपर्दाको पीडाले अहिले पनि झस्काउँछ । त्यो घाउ मैले सहर आएपछि भोग्नु पर्दैन भन्ने लाग्थ्यो । जब काठमाडौं पढ्न आएँ, यहाँ झनै उच्चकोटिको र सभ्य विभेद पाएँ । 

सरकारले छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक पूरा भए पनि समाजमा अझै जातीय विभेद हट्न सकेको छैन । दलित अधिकारकर्मीका अनुसार राजनीतिक रूपान्तरणपछि पनि विभेद चर्को हुँदै छ । २०६२/६३ को राजनीतिक परिवर्तनपश्चात् पनि दलितमाथि जातीय विभेदकै कारण हत्या र बलात्कारका जघन्य अपराध बढिरहेका छन् । दलितमाथिको विभेदको स्वरूप पँधेरादेखि डेरासम्म उस्तै छ । 

शिक्षित र सभ्य मान्छेको सहर काठमाडौंमा समेत दलित समुदायले विभेदको अनेक स्वरूप भोग्नुपरेको छ । पछिल्लो समय चर्को रूपमा सभ्य सहर काठमाडौंका घरधनीले दलित समुदायमाथि डेरा खोज्दा गरिरहेको विभेदको विरुद्ध अधिकारकर्मी दीपा नेपालीको नेतृत्वमा सत्याग्रह निरन्तर छ । डेढ महिना नाघिसकेको सत्याग्रहले सरकार र समाजसँग मानवअधिकार प्रत्याभूति गर्न आवाज उठाएको छ ।

माइतीघर मण्डलमा ‘कोठा खाली छ सरकार ?’ भन्दै युवाले सरकारसँग प्रश्न गरिरहेका छन् । तर, यी युवाको प्रश्नले अझै उत्तर पाएको छैन । 

२१ औं शताब्दीको युग, अझै भनौं डिजिटल युगमा मान्छे हुनुको पहिचान खोज्दैमा जीवनको ऊर्जा खर्चिनु जस्तो विडम्बना अरू के हुन सक्छ ? युवा सिक्ने र विकासको मूलबाटोमा लम्किने शक्ति हुन् । नेपालको कुल जनसंख्याको झन्डै १४ प्रतिशत दलित जनसंख्या जातीय विभेदसँग जुध्न बाध्य छन् । 

नौ वर्षअघि कैलाली, घोडाघोडी नगरपालिका–४ की दीपा उज्ज्वल भविष्य परिकल्पना गर्दै उच्च शिक्षा हासिल गर्न काठमाडौं आएकी थिइन् । सभ्य सहरले चेतनास्तर उकास्छ भन्ने उनलाई लागेको थियो । तर, यहाँ उनले ठीक उल्टो पाइन् । मान्छेलाई सम्मानजनक बसोबास दिन नसक्ने सहरले शिक्षित जनशक्ति कसरी निर्माण गर्न सक्छ ? जात थाहा पाएपछि कोठा नै नदिने विभेदकारी सोचविरुद्ध उनको संघर्ष सुरु भयो । ‘आत्मसम्मान नै नरहे शिक्षित हुनुको के अर्थ छ ?’ उनी भन्छिन्, ‘सहर सोचे जस्तो सभ्य रहेनछ । सहरका घरभेटीले कुकुर चिन्छन् तर, मान्छे चिन्दैनन् ।’  

पछिल्लो समय डिजिटल माध्यमबाट समेत सभ्य जातीय विभेदको डरलाग्दो परिदृश्य देखिन थालेको छ । कोठा खोज्ने क्रममा घरभेटीले थर सोधेर विभेद गर्नु मात्रै होइन, रुम फाइन्डर (कोठा खोज्ने) डिजिटल प्लाटफर्मले समेत खुलेआम जातीय विभेद गरेको देखिएको छ ।

फेसबुकमा ‘निवास सोलुसन प्राइभेट लिमिटेड’ ले कोठा खाली भएको सूचना पोस्ट गरेर ‘रुम फर क्षेत्री, बाहुन ओन्ली’ लेखेको थियो । यसले विभेदको डिजिटल आयामलाई पुष्टि गर्छ ।

दलित समुदायमाथिको विभेद अरूको भन्दा फरक छ । यो मानवता विरुद्धको चरम विभेद हो । पुर्खाले भोगेको विभेद अहिलेको पुस्तासम्म पनि जीवित छ । मात्रै स्वरूप र शैली फरक छ ।  दलित समुदाय भएकै कारण भोग्नुपरेको सभ्य विभेदको सञ्जाल जहाँत्यहीँ छ । यसको कानुनी उपचारका लागि प्रमाण जुटाउन मुस्किल भएकाले पनि दलित समुदाय अपमान सहेर बस्न बाध्य छन् । 

दीपा जस्ता युवाको चेतनाले अहिले यही प्रश्न सोधिरहेका छन् । समाजसँग र सरकारसँग । जुन समुदायले मान्छे र मानवताको भेद थाहा पाउँदैन र विभेद गर्छ त्यो समुदाय अचेतन र समाजका लागि हानिकारक हो । माइतीघर मण्डलमा चिच्याइरहेको मानवताको चित्कारलाई सरकारले नै सम्बोधन गर्नुपर्छ ।  

मधु

Link copied successfully