नेपालको मौलिक भूधरातल, पहाडी तथा हिमाली पारिस्थितिकीय र नेपाली समाजको विशिष्टतालाई पूर्ण उपेक्षा गरी बाहिरबाट आयात गरिने कृषि रूपान्तरणको कुनै पनि ढाँचा नेपालमा कहिल्यै सफल हुन सक्दैन
What you should know
मैदानी औद्योगिक विकास र यसका लागि गरिएको व्यापारिक कृषिले पृथ्वीको बहन क्षमता निरन्तर घट्दै छ । यसले पर्यावरण र जैविकचक्रमा ल्याएको पुनर्उत्पादन असन्तुलनपछि समग्र पृथ्वीको जैविक जीवन अनि मानव जीवनमा घातक प्रभाव पारिरहेको छ । जलवायु परिवर्तनको तीव्र असर, वातावरण र माटोको बढ्दो रासायनिक प्रदूषण तथा जैविक विविधताको निरन्तर ह्रासकै कारण आज विश्व खाद्य प्रणालीमा नयाँ, जटिल र अनपेक्षित चुनौती थपिएको छ ।
यी चुनौतीले हाम्रो जीवन र जीविकोपार्जनको मौलिक आधारलाई भित्रभित्रै निरन्तर भत्काइरहेका छन् । बढ्दो तापक्रम, पानीचक्रको अनिश्चितता, खडेरी र खेतीपातीमा देखिने नयाँ रोगव्याधिको प्रकोप हाम्रा सर्वसाधारण किसानको दैनिक नियति बनिसकेको छ । बाह्य मल, बीउ, प्रविधि अनि ज्ञानले रैथाने बीउबिजन र प्रविधि मासिएको छ । अब खेतीपाती अनि खानाको परम्परागत वास्ना र स्वादसँगै हाम्रा रैथाने बालीहरू इतिहासको पानामा सीमित हुँदै लोप हुने अवस्थामा पुगेका छन् ।
हाम्रो कृषि प्रणालीलाई उन्नत र समयानुकूल बनाउन विज्ञान–प्रविधिको प्रयोग अवश्य गर्नुपर्छ । तर, कस्तो प्रविधि र कसको विज्ञान ? अहिलेको नाफा मात्रै बढाउने प्रविधि निर्देशित विज्ञान र प्रविधि आफैंमा साँघुरो दायराभित्र रुमल्लिएर दिग्भ्रमित छ । कृषि विज्ञान जीवन र माटोसँग भन्दा व्यापारसँग मात्रै जोडिएकाले यो विषय सानैदेखि विद्यालयमा सिकाउन नसक्दा आजका शिक्षित र पढेलेखेका युवा कृषि कर्म गर्न डराएका हुन् । त्यसैले अब कृषि क्षेत्रलाई बाध्यताको पेसा वा गरिब र विपन्नले मात्रै गर्ने श्रमबाट मुक्त गरी आत्मसम्मानको मर्यादित सामाजिक उद्यममा बदल्न ढिला भइसकेको छ ।
स्थानीय उत्पादन बढाउन र नेपाली भूमिलाई आत्मनिर्भर बनाउन तत्कालै गर्नुपर्ने माटोको पुनरुत्थान, वातावरण अनुकूलन, पोषण व्यवस्थापन र रैथाने बीउ सुधारजस्ता आधारभूत अनि तल्लो तहका कार्य पूर्ण रूपमा ओझेल परेका छन् । वास्तविक धरातल र माटोमा काम गर्नुको सट्टा केवल कृषि खाद्य प्रणाली सुधारका कागजी बुँदा र प्रतिवेदन मिलाउनमै राज्यका संयन्त्र, नीति निर्माता, सरोकारवाला अलमलिइरहेका छन् ।
बितेका केही दशकदेखि नेपालमा बाह्य स्रोत, विदेशी अनुदान र विश्वबजारमा आधारित पूर्णरूपमा आयातित कृषि ढाँचाबिना कुनै आवधिक आत्मसमीक्षा नक्कल गरिएको छ । कृत्रिम रासायनिक मल, घातक विषादी, आयातीत प्रविधि र नपुंसक बीउमा निर्भर यस परावलम्बी कृषि अभ्यासले हाम्रो उत्पादनको परिमाण मात्रै घटाएको छैन, हाम्रो पुस्तौंदेखिको उर्वर माटो, जैविक विविधता र समग्र पर्यावरणलाई समेत गम्भीर रूपमा बिरामी र जर्जर बनाएको छ । यति ठूलो क्षति र यथार्थ आँखैअघि छ । तर, यदि हामीले अझै कृषिलाई विनाशकारी र रासायनिक बाटोमा हिँडाइरहने हो भने नेपाली कृषि–क्षेत्र निकट भविष्यमै कहिल्यै नउठ्ने गरी ‘कोमा’ मा जाने निश्चित छ ।
हाम्रो कृषि प्रणालीलाई उन्नत र समयानुकूल बनाउन विज्ञान–प्रविधिको प्रयोग अवश्य गर्नुपर्छ । तर, कस्तो प्रविधि र कसको विज्ञान ? नेपालमा कृषि रूपान्तरण र आत्मनिर्भरताको बहस जोडतोडले उठेको छ । देशभित्र र बाहिर नेपालले लिनुपर्ने कृषिको पुनरुत्थान–उत्थानको बाटोबारे चासो, खोजी र वैचारिक बहस सुरु भएका छन् । सँगै विभिन्न दातृ निकाय र परामर्शदाताका थरीथरीका प्रस्ताव अनि रणनीतिक कार्यक्रमका दस्ताबेज बनिरहेका छन् । तर, कतिपय यस्ता कार्यक्रम वैदेशिक सहायताको नाममा मुलुकलाई थप ऋणको भारी बोकाउँदै नेपाल भित्रिरहेका छन् । हाल नेपाली कृषि क्षेत्रमा मुख्यतः तीन वटा वैचारिक दृष्टिकोणबीच तीव्र बहस चलिरहेको देखिन्छ ।
पहिलो, बजारमुखी औद्योगिक कृषिको दृष्टिकोणले अहिलेकै कर्पोरेट र बजारमुखी औद्योगिक कृषिको ढाँचालाई नै थप विस्तार गर्नुपर्छ भन्ने सोच राख्छ । नेपालको कृषिलाई कस्तो बनाउने भन्ने नीतिगत साँचो अप्रत्यक्ष रूपमा यस्तै व्यापारिक शक्तिको हातमा देखिन्छ । त्यसैले उनीहरू आधारभूत खाद्यान्नसमेत आयात गरेर गुजारा चलाउन बाध्य नेपाली किसानको आत्मसम्मान अनि खाद्य सार्वभौमिकता बढाउँदै ‘आत्मनिर्भर कृषिमा आधारित खाद्य प्रणाली’ निर्माण गर्नुको सट्टा ‘निर्यातमुखी औद्योगिक उत्पादन र यसको बजार विस्तार’ को झूटो र भ्रमपूर्ण सपना बेचिरहेका छन् ।
औद्योगिक कृषिको रटान लगाउने यो स्वार्थ समूहलाई नेपालको माटो, यहाँका नागरिकको स्वास्थ्य र रैथाने किसानको जीवनस्तरसँग कुनै सरोकार छैन । वार्षिक रूपमा रासायनिक मल खरिद गर्नकै लागि मात्रै कुल कृषि बजेटको झन्डै ७० प्रतिशत रकम खर्च गर्ने हालैको सरकारी निर्णय यही औद्योगिक र आयातीत विकासको भ्रमित मतिको प्रत्यक्ष परिणाम हो । यो बाटोले नेपालको बचेखुचेको परम्परागत र पर्यावरणमैत्री कृषि प्रणालीलाई थप तहसनहस बनाउने निश्चित छ । वास्तवमा, आज नेपाली कृषि क्षेत्रले भोगिरहेको बहुआयामिक संकटको मुख्य कारक पनि यही औद्योगिक कृषि ढाँचा नै हो । केही सीमित सत्ता, शक्ति र बिचौलियाको निहित स्वार्थको माखेसाङ्लोमा अल्झिएको यो विषाक्त कृषिको बाटोले नै आज हामीलाई यो परनिर्भर र दयनीय अवस्थामा पुर्याएको हो ।
दोस्रो दृष्टिकोण, यही औद्योगिक ज्ञान–प्रविधिमा आधारित भएर अहिलेकै कृषिलाई औद्योगिक स्तरोन्नति गर्ने सोचबाट प्रेरित छ । यसले अहिलेकै कुरूप औद्योगिक कृषिको ढाँचामाथि ‘जैविक कृषि’ को सतही र सैद्धान्तिक लेपन वा जलप लगाएर कृषि रूपान्तरणको रंगीन सपना देखाउने प्रयास गरिरहेको छ ।
यस दृष्टिकोणले उठाउने कतिपय नीतिगत तथा संगठनात्मक सुधारका बहस सुन्दा सकारात्मक र आकर्षक सुनिन्छ । तर, यसको भित्री मनसाय र नियत अन्ततः कृषिलाई बहुराष्ट्रिय औद्योगिक बजारकै खाल्डोमा धकेल्ने व्यापारिक सोचबाट ग्रसित छ । उनीहरू जनता पाल्ने कथित ओठे जिम्मेवारीको कृत्रिम बोझ देखाएर दूरगामी र अग्रगामी प्रांगारिक सुधारको वास्तविक बाटोलाई छेक्ने काम गरिरहेका छन् ।
आज कृषि सुधारका नाममा बन्ने अधिकांश नीति, रणनीति र मार्गचित्रले त्यही मैदानी औद्योगिक आधुनिकताकै अन्धानुकरण गरिरहेका छन् । ‘विश्व खाद्य प्रणाली सुधार’ को रट लगाउँदै उनीहरूले नेपालको माटो सुहाउँदो, किसानमुखी र गतिशील मौलिक कृषि रूपान्तरणको बाटोमा तगारो हाल्ने काम गरिरहेका छन् । ‘यो आयातीत सोच नै वास्तविक कृषि रूपान्तरण हो’ भन्नु सरासर भ्रमको खेती हो । यस्ता नीतिले हाम्रो कृषि र खाद्य प्रणालीको रूपान्तरणलाई केवल एउटा सामान्य प्राविधिक औजार वा ‘औद्योगिक कृषि स्तरोन्नति’ का रूपमा मात्रै बुझ्ने र प्रस्तुत गर्ने गम्भीर गल्ती गरिरहेका छन् ।
तेस्रो दृष्टिकोण, नेपालको मौलिक, रैथाने, परम्परागत र प्रकृतिसम्मत खेतीपाती प्रणालीको जगमा उभिएर यसको बहुआयामिक र गतिशील रूपान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्छ । हाम्रो ‘आलीदेखि थालीसम्म’ को खाद्य यात्रा त वास्तवमा हाम्रा स्थानीय सूक्ष्म हावापानी, विशिष्ट भूगोल र रैथाने खाद्य पहिचान अनुकूलको ऐतिहासिक जगमा तयार पारिएको हुनुपर्छ । केवल बाह्य प्रविधिको फेरबदल, विषादीको अलिकति न्यूनीकरण वा यान्त्रिकीकरणले मात्रै जैविक कृषिको वास्तविक मर्म र दर्शन आत्मसात् गर्न सक्दैन । नेपालको मौलिक भूधरातल, पहाडी तथा हिमाली पारिस्थितिकीय र नेपाली समाजको विशिष्टतालाई पूर्ण उपेक्षा गरेर बाहिरबाट आयात गरिने कृषि रूपान्तरणको कुनै पनि ढाँचा नेपालमा कहिल्यै सफल हुन सक्दैन ।
हामीले गम्भीरतापूर्वक बुझ्नैपर्ने मुख्य कुरा हो– यो समय कृषिको कुनै सामान्य प्रशासनिक कार्ययोजना वा प्राविधिक योजनाको प्रतिवेदन तयार पारेर थन्क्याउने क्षण मात्रै होइन, बरु सम्पूर्ण कृषि र खाद्य प्रणालीमै एउटा गतिशील, आमूल अनि संरचनात्मक परिवर्तन ल्याउने ऐतिहासिक घडी हो । समग्रमा, नेपालको विशिष्ट भू–पारिस्थितिकीय सन्दर्भ, यहाँको समृद्ध जैविक विविधता र विविधतापूर्ण खाद्य संस्कृतिले वर्तमानको परनिर्भर खाद्य प्रणालीमा आधारभूत–क्रान्तिकारी परिवर्तनको माग गर्छ । जैविक वा प्रांगारिक कृषिलाई कुनै बन्द कोठामा तयार पारेको वा अन्य विकसित देशबाट आयात गरिएको तयारी ढाँचामा यहाँ जबरजस्ती ढाल्न सकिँदैन र मिल्दैन पनि ।
हामीले आली र कान्लालाई बलियो, उत्पादनशील बनाएर देशको कुल उत्पादन बढाउने इमानदार सोच राख्ने हो भने नेपालको बाँझो जमिनभित्र ठूलो, ऐतिहासिक, सुनौलो अवसर छ । नेपालका धेरै खेतीयोग्य जमिन लामो समयदेखि खेती नगरिएका कारण बाँझो रहँदा ती जमिन रासायनिक प्रदूषण र घातक विषादीको दुष्चक्रबाट स्वतः मुक्त भएका छन् ।
अर्को अर्थमा, ती भूमि यतिबेला पूर्णरूपमा प्राकृतिक र पवित्र अवस्थामा फर्किएका छन्, स्वच्छ, विषरहित खाद्यान्न उत्पादनका लागि पूर्ण सुरक्षित पनि छन् । ‘देशको झन्डै एकतिहाइ यस्तो बाँझो जमिनमा अब कुनै पनि कृत्रिम रसायन र विषादी हाल्ने छैनौं’ भनेर यदि राज्य र नागरिकले दृढ संकल्प गर्ने हो भने नेपालमा जैविक कृषि यात्रालाई कसैले रोक्न सक्दैन । एउटा अत्यन्तै गम्भीर, अहं र पेचिलो प्रश्न आज हाम्रासामु तेर्सिएको छ– के आली–कान्ला सुधारेर स्थानीय उत्पादन नबढाई सिधै मानिसको थालीमा रैथाने र स्वच्छ खाना आउन सक्छ ?
यो प्रश्नको स्पष्ट, निर्भीक र इमानदार जवाफ आजको नेतृत्वसँग हुनुपर्छ । अब हाम्रा स्थानीय, प्रान्तीय र संघीय सरकार तथा सरोकारवालाले कृषिको कुन बाटो रोज्छन् ? त्यसैले नै हाम्रो आगामी समाजको खाद्य सुरक्षा, नागरिकको स्वास्थ्य र नेपालको राष्ट्रिय भविष्य निर्धारण गर्नेछ । यस अर्थमा, नेपाली समाजको आलीदेखि थालीसम्मको समग्र यात्राको नियति र भविष्य अबको नीति, राजनीतिक नेतृत्वको दृढ इच्छाशक्ति र उनीहरूले लिने ऐतिहासिक निर्णयको पर्खाइमा छ ।
