पुराना राजनीतिक दलहरू मात्र होइन, उनीहरूका समर्थक र शुभचिन्तकसमेत अहिले ठूलो वैचारिक उकुसमुकुसको स्थितिमा छन् । किनकि, दलहरूले उनीहरूलाई उपलब्ध गराएका सोच्ने ‘टुल’ हरूमा नै अहिले खिया लागेको छ ।
What you should know
जेन–जी विद्रोहको नेतृत्व रास्वपाले गरेको त थिएन तर निर्वाचनसम्म पुग्दा विद्रोहका आधारमा बनेको जनमतको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाको ठाउँ उक्त पार्टीले लिन पुग्यो । जेन–जी विद्रोहदेखि आमनिर्वाचनसम्मका केही छोटा महिनाहरूमा नेपाली राजनीतिको ‘ग्राउन्ड’ गहिरोसँग ‘सिफ्ट’ भएको छ भन्नेसम्म त धेरैथोर स्वतन्त्र रूपमा सोच्न सक्ने सबैले स्विकारेकै जस्तो लाग्छ । एकातिर भर्खर चार वर्ष पहिले अस्तित्वमा आएको एउटा दल त्यो ठूलो ‘सिफ्ट’ को प्रतिनिधि बन्न पुगेर संसद्मा पुग–नपुग दुईतिहाइ सिटसहित उपस्थित छ । अर्कातिर, ३५ वर्षदेखि ‘आखिर जे गरे पनि हामी नै त हौं नि’ भनेर आफूहरूमध्ये एक वा अर्कालाई नै निर्विकल्प राज्य संस्थापन भन्ने ठानेका पुराना दलहरूले ‘होइन, यो के भएको हो ?’ भनेर जे भइसकेको छ, त्यो ग्रहण गर्ने व्याकरण भेट्टाउनै सकेका छैनन् । कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलका वैचारिकी वरिपरि झुम्मिएर आफ्ना सामाजिक दृष्टिकोण बनाइरहेका दलबाहिरका समर्थकका समूहहरू अहिले नयाँ परिदृश्यमा कसरी सोच्ने भनेर नयाँ ‘टुल’ नभेट्टाएको स्थितिमा छन् । यसबारे केही बिस्तारमा पछि चर्चा गरौंला, तर विषय प्रवेशका क्रममा यतिचाहिँ अहिल्यै भनिहालौं– बिना ‘टुल’ समाज र राजनीतिका फराकिला विषयमा धेरै मानिसले आफैं सोच्न–विचार बनाउन सक्दैनन् । त्यस अर्थमा, नेपालका पुरानो पुस्ताका धेरै मानिसले सोच्नका लागि मार्क्सवाद एउटा सर्वसुलभ ‘टुल’ हो, प्रजातान्त्रिक समाजवाद अर्को, अनि पहिचानवाद अर्को ।
भूमिगत रूपमा हिंसात्मक राजनीति गरेर एकैचोटि संविधानसभामा ठूलो दलका रूपमा (कांग्रेस र एमालेको संयुक्त सिटभन्दा बढी) उदाएको माओवादी २०६५ मा एकाएक सरकारको नेतृत्व गर्ने ठाउँमा पुग्दा पनि नेपालको पुरानो राज्य संस्थापनलाई एक प्रकारको ‘सक’ भएकै थियो । अहिलेको सन्दर्भ त्यस्तै त होइन, किनकि रास्वपा यसअघि पनि संसद् र सरकारमा भएको दल हो र प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौंका मेयर भएका व्यक्ति हुन् । तैपनि ‘पुराना’ र ‘नयाँ’ का समर्थकबीच हरेकजसो ‘सानोठूलो’ घटनामा जुन किसिममा तीव्र प्रतिक्रिया देखाइहाल्ने एक प्रकारको ‘कल्चरल वार’ को स्थिति सार्वजनिक विमर्शमा देखिइराखेको छ, त्यसका अर्थहरू सरकारको एउटा निर्णयमाथि गरिने आलोचना वा अर्को कामका लागि देखाइने समर्थनका तात्कालिक र दैनन्दिन सन्दर्भभन्दा गहिरा छन् । यस्तो किन भइरहेको होला त भनेर आजको स्तम्भमा मैले सम्भावित कारणबारे एउटा ‘हाइपोथेसिस’ होइन, ‘थेसिस’ प्रस्ताव गर्दै छु ।
आजको लेखको विषय त सर्वथा नयाँ हो तर पंक्तिकारको ‘डिपार्चर’ शीर्षकको पछिल्लो स्तम्भले जुन स्केलको विमर्शको निमन्त्रणा गर्यो, त्यसलाई ‘याक्नलेज’ पनि नगरी अगाडि बढ्नु सार्वजनिक अभद्रता जस्तो देखिन सक्छ, जुन पंक्तिकारको स्वभावमा पर्दैन । विचार पृष्ठमा लेख्नु भनेको नै एउटा विषयमा दृष्टिकोण प्रस्तुत गर्नु हो, जसप्रति पढ्नेहरूका आफ्ना वर्षौंका सामाजिक संगत र पढेका पुस्तकबाट बनेका जीवनदृष्टि तथा तत्कालको मनोदशा अनुसारका प्रतिक्रिया आउने भइहाले । तर यस पटक फरक के भइदियो भने, कतिपय विद्वान्ले त लेख पढेर होइन, त्यसमाथिका प्रतिक्रिया मात्र पढेर पनि प्रतिक्रिया गरे र हुँदाहुँदै लेखको ‘इन्टेन्ट’ कतै हराएर पंक्तिकार स्वयं नै विषय बनेको जस्तो प्रतीत भयो । दर्शनको इतिहास र मानिसले जे सोच्छ, त्यसका प्रणाली र संरचनाबारे ‘कोग्निटिभ साइन्स’ को धेरथोर ज्ञान नभएको भए त समाजमा आफ्नो महत्ता ठूलै भएको रहेछ भनेर मक्ख परेर बस्न पनि सकिन्थ्यो । तर यस धरतीमा आफ्नो उपस्थिति र महत्त्वबारे धेरै भ्रम नभएको कारणले, चौध महिनाअगाडि पढेदेखि मनमा बसिरहेको एक जना चिन्तकको एउटा कथामार्फत लेखिएका र नलेखिएका ती सबै टिप्पणीहरूप्रति एकमुष्ट सम्मान व्यक्त गर्नु उपयुक्त लाग्यो । कृपया अहिल्यै ‘नोट’ गर्नुहोला, जहाँ यो कथाको अन्तिम वाक्य लेखिनेछ, आजको लेखको विषय त्यहींनेर सुरु भइसकेको हुनेछ ।
अमेरिकाबाट प्रकाशित हुने प्रसिद्ध पत्रिका ‘द न्युयोर्क टाइम्स’ मा यो कथा छापिएको २०२५ को अप्रिलमा हो तर घटना घटेको त्यसको एक वर्षअगाडि अर्थात् २०२४ को मार्चमा रहेछ । र, कथा नोबेल विजेता ड्यानिएल काह्नेमेनको हो, जसको चर्चित पुस्तक ‘थिंकिङ्, फास्ट एन्ड स्लो’ बारे पंक्तिकारले नै ‘कान्तिपुर कोसेली’ मा केही वर्षअगाडि लेखेको थियो । भएछ के भने, २०२४ को मार्चमा न्युयोर्क टाइम्सले प्रिन्सटनका यी प्राध्यापकलाई एउटा पोड्कास्टका लागि अप्रिल महिनामा उपलब्ध हुन सक्नुहुन्छ कि भनेर इमेलमा अनुरोध गरेछ । काह्नेमेनले अप्रिलमा त के, अब कहिल्यै पनि उपलब्ध हुन सक्दिनँ भनेछन् । कुरा अगाडि बढ्दै जाँदा थाहा भयो, ९० वर्षको उमेर भए पनि राम्रै शारीरिक र मानसिक स्वास्थ्यका बाबजुद काह्नेमेनले अब केही वर्ष बढी बाँचेर हुने नै के हो र, जिन्दगी सुन्दर छँदै टुंग्याए पनि त भयो भनेर दार्शनिक रूपमा स्थायी बिदाबारी गर्न स्विट्जरल्याडतिर लागेका रहेछन् ।
त्यसको केही दिनमा संसारले उनको मृत्युको समाचार त पढ्यो तर कसरी भएको रहेछ भन्नेचाहिँ एक वर्षपछि मात्र बाहिर ल्याइने सर्त रहेछ । न्युयोर्क टाइम्सले त्यतिबेलै लिएको अन्तर्वार्ता पनि त्यसैकारणले एक वर्षपछि मात्र छापेको रहेछ । मानवताका लागि त्यति ठूलो बौद्धिक योगदान दिएका, मानिसले मस्तिष्कका कस्ता प्रणालीमार्फत कसरी सोच्छ र जीवनका ठूला विषयमा हामीले कसरी निर्णय लिन्छौं भन्ने विषयमा नयाँ विज्ञान नै प्रस्तुत गरेका काह्नेमेनलाई अन्तर्वार्ताको अन्त्यतिर उनको भव्य जीवन र बौद्धिक योगदानलाई कसरी सम्झिन सकिन्छ भन्ने आशयको प्रश्न सोधिन्छ । त्यसमा उनको उत्तरले अन्तर्वार्ताकारहरू नै अचम्मित भएको स्विकारेका छन् । काह्नेमेनको भनाइको सार थियो, ‘यदि तिमीले यो ब्रह्माण्ड, यसको गहनता र जटिलतातर्फ एकछिन सोच्यौ भने मैले जीवनमा गरें भनेको ‘योगदान’ वस्तुगत रूपमा भन्दा त्यो पूरै असान्दर्भिक छ ।’ र, उनले टुंग्याएछन्, ‘अरूले मेरो कामले मानवतालाई योगदान दियो भन्छन् (वा, मलाई कसैले बौद्धिक भन्छन्) भने, त्यो जसले भन्छन् उनीहरूको कुरा हो । मैले त प्रत्येक दिन बिहान उठेर जे गर्दा आफूलाई आनन्द आयो, गरेको त्यत्ति हो ।’ कसैले पनि (आफू बाँचेकै अरूलाई बदल्नका लागि हो भन्ने ठान्नेले होस् कि कुनै दिन कुनै विषयमा लेख लेख्नेले वा अभियन्ता भएर आफूलाई उभिन मन लागेको पक्षमा माइतीघर मण्डला जानेले) यहाँ केही गर्नु भनेको आफूलाई हरेक दिन जे गर्दा त्यो दिन राम्रो हुन्छ भन्ने लाग्छ, गर्ने त्यति मात्र हो ।
नेपालको इतिहासमा जति पनि क्रान्ति, आन्दोलन र विद्रोह भएका थिए, तिनीहरूका उद्देश्य र भाष्य पहिल्यै परिभाषित भएका थिए । समाजका धेरै सदस्य सहमत भए पनि वा नभए पनि, त्यसको नेतृत्व गर्ने व्यक्ति र समूहका राजनीतिक दृष्टिकोण पहिल्यै परिचित थिए । ती विद्रोह केका लागि थिए भन्ने सैद्धान्तिक व्याख्या पहिल्यै उपलब्ध थियो । नेपालको इतिहासमा जेन–जी विद्रोह मात्र एउटा त्यस्तो घटना थियो, जो लोकतन्त्रभित्रै लोकतन्त्र कम भयो भनेर भएको आन्तरिक प्रतिरोध थियो, जसलाई आह्वान गर्ने केही थिए तर नेतृत्व गर्ने कोही थिएन । त्यो प्रतिरोध त्यति ठूलो विस्फोटमा पुगेर नेपाली राजनीतिको परिदृश्य नै केही महिनामै यति ठूलो आयतनमा फेरिएला भनेर अनुमान गर्ने अहिले भेटिएलान्, त्यतिबेला थिएनन् । विद्रोहको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको त थिएन तर निर्वाचनसम्म पुग्दा त्यसको आधारमा बनेको जनमतको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाको ठाउँ उक्त पार्टीले लिन पुग्यो ।
जेन–जी विद्रोह स्वयंको राजनीतिक नेतृत्वकर्ता कोही नभएका कारणले, त्यो विद्रोहमार्फत समाजले प्रस्फुटन गरेको आकांक्षा के थियो भनेर त्यसलाई ‘थिअराइज’ (सैद्धान्तिकीकरण) गर्ने र त्यसलाई बुझाउन सामाजिक भाष्य दिने कुनै राजनीतिक संस्था थिएन । यसको सैद्धान्तिकीकरण राजनीतिक संस्थाबाहिरबाट, प्राज्ञिक क्षेत्र वा २०६२–६३ को जस्तो वैधता भएको नागरिक समाज हुन्थ्यो भने, त्यहाँबाट पनि हुन सक्थ्यो । जेन–जी आन्दोलनले बरु केही आसलाग्दा नयाँ नागरिक अभियन्ताहरू जन्माएको थियो, जसमध्ये केही रास्वपामा समाहित भए भने केही स्वतन्त्र बसेर राम्रो भूमिका खेलिरहेका छन् । अघिल्लो पुस्ताका नागरिक अभियन्ताहरू अझै केही सक्रिय भए पनि उनीहरूले सार्वजनिक भाष्यको धार बदल्ने वैधता गुमाएको धेरै भयो । तिनैमध्ये एमाले, कांग्रेस र माओवादी विस्थापित भएको पचाउन नसकेको नागरिक समाजको एउटा कटिबद्ध समूह भने जेन–जी विद्रोहदेखि फागुनको निर्वाचन सबै नै कुनै एउटा षड्यन्त्रअन्तर्गत भएको हो भन्ने ध्याउन्नबाट बाहिर ननिस्कीकनै आफ्नो बचे–खुचेको सामाजिक स्वीकार्यता पनि सकाउन लागेका छन् । प्राज्ञिक क्षेत्र सम्झँदा, समाजशास्त्री चैतन्य मिश्रले वैशाखको पहिलो साता ‘अनलाइनखबर’ मा लेखेका तीन वटा लेखका शृंखलाले केही हदसम्म नेपाली समाजको यो वैचारिक संक्रमणलाई सैद्धान्तिकीकरण गर्ने प्रयास गरेका छन् । त्यसभन्दा बाहेक अरूले यसमा रुचि देखाएको पंक्तिकारको नजरमा परेको छैन ।
‘जे गरे पनि आखिर हामी नै त हौं’ भन्ने सोचेका स्थापित दलका लागि मात्र होइन, ‘लोकतन्त्र हो, परिवर्तन रातारात हुने होइन, धैर्य गर्नुपर्छ’, ‘यिनै दल सुध्रिहाल्छन् नि, त्यहीं भित्रबाट नयाँ नेतृत्व आउँछ र बिस्तारै राम्रो हुन्छ’ भनेर विश्वास गर्ने ठूलो सुधारवादी बाहिरी तप्काका लागि पनि निर्वाचनपछिको परिदृश्य एउटा ‘सक’ थियो । जसबाट उनीहरू अहिलेसम्म बाहिर आउन सकेका छैनन् । यो अनियमित आकस्मिकताले नेपालको साढे तीन दशकदेखिको राज्यको राजनीतिक संस्थापनको मूलधार नै फेरिदिएको छ । विगतमा राजनीतिक संस्थापन फेरिँदा बृहद् वैचारिक समाजमा ‘सांस्कृतिक युद्ध’ कै जस्तो स्थिति देखिएको थिएन, किनकि त्यो आउनेवाला नयाँ संस्थापनको भाष्य पहिल्यै बनिसकेको हुन्थ्यो ।
यी सबै सन्दर्भलाई जोडेर हेर्दा प्रस्ट के देखिन्छ भने, जेन–जी विद्रोहको समयमै सैद्धान्तिकीकरण नभएकैले अहिले समाजमा वैचारिक उकुसमुकुस देखिएको हो । यही सुस्तताले गर्दा नै यो एउटा षड्यन्त्र मात्र थियो भन्ने आवाज यदाकदा अहिले पनि सुनिने गरेको हो । किनकि, लेखको सुरुतिर चर्चा गरिए जस्तो, आमरूपमा मान्छेलाई समाजका मुद्दामा सोच्नका लागि एउटा ‘टुल’ चाहिन्छ । सैद्धान्तिकीकरण गर्नु भनेको त्यही एउटा ‘टुल’ उपलब्ध गराउनु हो । जब आमरूपमा सोच्नका लागि नयाँ ‘टुल’ उपलब्ध हुँदैन, मानिस वैचारिक उकुसमुकुसको स्थितिमा हुन्छन् । नयाँ केही नपाएको स्थितिमा कतिपय भने पहिल्यै प्रयोग गरेर भुत्ते भइसकेका ‘टुल’ तर्फ फर्कन्छन् । धेरै समयदेखि प्रयोग गर्न छाडेका प्रतिक्रियावादी र साम्राज्यवादी जस्ता शब्द जब पुष्पकमल दाहालले केही दिनअघि जसरी फेरि सार्वजनिक रूपमा प्रयोग गरे, त्यो त्यसैको उदाहरण थियो । किनकि, नयाँ परिस्थितिलाई बुझ्ने र बुझाउने उनीसँग नयाँ ‘टुल’ नै छैन । यस्तो वैचारिक शून्यता र सुस्तताको स्थितिमा जब एमाले लगायतका पुराना दलका केही नयाँ हुन चाहनेहरूले ‘अब हाम्रो दल पुनर्गठन भएरै छाड्छ’ भनेर आफैंले नपत्याउने गरी बोलेको सुनिन्छ, त्यो हाँस्नलायक पनि सुनिँदैन । किनकि जब कुनै दलको मूल समस्या हुन्छ अस्तित्ववादी, अर्थात् यो संस्था समाजमा केका लागि उपस्थित हुन जरुरी छ भन्ने प्रश्न । त्यस्तो बेला पुनर्गठन जस्तो सस्तो शब्दले बोल्ने वक्ता स्वयंलाई पनि अपिल नगरेको परबाटै देखिन्छ ।
पुराना राजनीतिक दलहरू मात्र होइन, उनीहरूका समर्थक र शुभचिन्तकसमेत अहिले ठूलो वैचारिक उकुसमुकुसको स्थितिमा छन् । किनकि, दलहरूले उनीहरूलाई उपलब्ध गराएका सोच्ने ‘टुल’ हरूमा नै अहिले खिया लागेको छ । यसमा गगन थापाको नेतृत्वमा पुगेको नेपाली कांग्रेसको स्थिति झनै दर्दनाक तर रोचक छ । सार्वजनिक रूपमा बोलेको सरसर्ती सुन्दा के देखिन्छ भने बरु गगनलाई जनता आफूहरूलगायत पुराना दलसँग कति धेरै रिसाएका रहेछन् र त्यस्तो किन भएको होला भन्ने धेरथोर महसुस छ । समाजको जमिन कति बदलिइसकेको छ भन्ने नयाँ राजनीतिक परिदृश्यको उनलाई धेरथोर अनुमान छ । तर उनैले वर्षौंदेखि सुन्दै आएका र संगत गरेका पार्टीभित्र र बाहिरका जुन समूहहरू छन्, तिनीहरूले ‘ग्राउन्ड सिफ्ट’ भएको ‘रेकोग्नाइज’ गरेकै छैनन् । तिनीहरूले सोच्ने–बोल्ने–लेख्ने भाषा र समाजले बोल्ने भाषा फरक भइसकेको उनीहरूलाई बोध नै छैन । विचारको ‘इकोच्याम्बर’ भनेको सामाजिक सञ्जालमा मात्र होइन, आफूले वर्षौंदेखि गरेको संगतमा पनि हुन सक्छ भनेर आफैं र आफ्नालाई आलोचनात्मक रूपमा हेर्ने प्राज्ञिक तालिम नै छैन ।
कांग्रेस आबद्ध व्यक्तिमा सैद्धान्तिक रूपमा हेर्ने क्षमता हुन्थ्यो भने अहिले बृहद् विमर्श छेड्नुपर्ने खास महत्त्वपूर्ण विषय कति छन् कति । लोकतन्त्रको उसको परियोजना एकातिर अनि पार्टीको नेतृत्व, संरचना र सोच वर्षौंदेखि शेरबहादुर देउवामय कसरी हुन पुग्यो ? के त्यसका पछाडि कारण नै छैनन् ? विशेष महाधिवेशनमा विद्रोह गरेर आएको नेतृत्वले समेत आफूले राम्रै सवाल भन्दा पनि जनताले सुन्नै नखोज्ने स्थिति कसरी बनेको रहेछ, त्यसको जवाफ खोज्नुपर्ने होइन ? वामपन्थी कित्तातिर हेर्दा, मार्क्सवादी विचार लागू गर्छु भनेर बनेका संगठन के–के कारणले ओली ‘बा’ मा पुगेर विसर्जन हुने स्थिति आएको हो ? हरेक सानो प्रश्नमा इतिहासदेखि द्वन्द्वात्मक भौतिकवादका सन्दर्भ ल्याएर, आफू बाँचेकै अरूका मुक्तिका लागि हो भनेर पत्याउने त्यति धेरै ‘समर्पित’ राजनीतिकर्मीलाई नपत्याएर जनता के–के कारणले आफ्नो आस बिसाउन भर्खर स्थापित भएको नयाँ दलमा पुगेका होलान्, त्यसको कारण खोज्नु नपर्ने ? गहिराइबाटै छलफल सुरु गरिनुपर्ने त यिनै ठाउँहरूमा होइन ?
भदौमा सुरु भएको लोकतान्त्रिक संक्रमणको नयाँ संस्करणलाई सैद्धान्तिकीकरण गरेर एउटा राष्ट्रिय आख्यानमा बदल्नका लागि सुरुवात गर्ने बिन्दु हुनुपर्छ– नेपाली राजनीतिको संरचना र सामाजिक मनोविज्ञान पछिल्ला नौ महिनामा आधारभूत रूपमै फरक भइसकेको छ । यो संक्रमणले पुराना स्थापित दलहरूलाई बढारेको मात्र होइन, तिनीहरूले दशकौंदेखि बोल्ने ‘करेन्सी’ गुमाएका वाद, वैचारिकी र तौरतरिकालाई पनि हो । नयाँ उदाएको शक्ति र सरकारका बारे आवश्यक ठाउँमा प्रश्न गर्ने, जवाफदेहिता खोज्ने र कमजोरी गरेको ठाउँमा आलोचना हुने गरेको छ, त्यो लोकतन्त्रमा हुनैपर्ने अभ्यास हो । रास्वपा पनि एउटा तत्कालको माध्यम हो । भर्खर आफ्नो पहिलो महाअधिवेशन सम्पन्न गरेको उसले आफूलाई प्राप्त व्यापक जनादेशको कति सम्मान गर्न सक्छ र दीर्घकालीन लोकतान्त्रिक शक्तिका रूपमा कति दह्रोसँग संस्थागत हुन सक्छ, त्यो भने हेर्नै बाँकी छ ।
अब अगाडिका लागि के स्विकार्नुपर्यो भने, वर्षौंदेखि कांग्रेस, एमाले र माओवादीको नेतृत्व तहमा कब्जा जमाएर बसेका केही पात्रहरूले देशमा जुन मनलाग्दी गरेका थिए, त्यसको प्रतिक्रियामा नेपाली समाजमा एक वा अर्को प्रकारको ‘लोकतान्त्रिक’ झट्का अवश्यम्भावी थियो । परिणामतः नेपालको राजनीतिमा युवाको सहभागिता ह्वात्तै बढेको छ, नेतृत्वको सोझै पुस्तान्तरण भएको छ र पुराना पार्टीले पनि आफूलाई सान्दर्भिक, अभ्रष्ट र ‘कम्पिटेन्ट’ बनाउने हो भने, त्यसका लागि जबर्जस्त मौका पाएका छन् । नागरिक अभियन्ताका रूपमा नयाँ आशालाग्दा अनुहारहरू ताजा वैधताका साथ समाजमा उपस्थित भएका छन् । यिनै परिवर्तनलाई आधार बनाएर भदौको विद्रोह र त्यसपछिको राजनीतिक परिदृश्यलाई हेर्ने दृष्टिकोणको सैद्धान्तिकीकरण हुनुपर्छ । होइन भने, अगाडि बढ्दाभन्दा पछाडि फर्कंदा आफ्नो स्वार्थ पूरा हुने तत्त्व नेपाली समाजमा जति पनि छन् । हौसिने तिनीहरू नै होलान् ।
