प्रशान्त महासागरमा बेला–बेला सक्रिय हुने प्राकृतिक तथा जलवायुसम्बन्धी मौसमी प्रणाली ‘एलनिनो’ ले सम्पूर्ण विश्वकै वायुमण्डल बहाव र वायुको चाप खल्बल्याउँछ । प्रत्यक्ष असरस्वरूप नेपालमा कम वर्षा हुन्छ । र, नेपालको मनुसनी प्रणालीमा आधारित हाम्रो रहनसहन, कृषि प्रणाली अनि जीवनशैलीमा गम्भीर असर पर्छ ।
What you should know
हरेक वर्ष जुन १३ मा नेपालमा मनसुन आगमन हुन्छ । तर, यस वर्ष निर्धारित समयभन्दा केही ढिलो आगमन भयो । जल तथा मौसम पूर्वानुमान विभागको बुलेटिनअनुसार, यस वर्ष निर्धारित समयभन्दा केही दिन ढिलो नेपालमा मनसुन प्रवेश गर्यो । गत वर्ष निर्धारित समयभन्दा १५ दिनअघि मनसुन आगमन भएको थियो । यो आलेख तयार पारिसक्दा नेपालका सबै ठाउँमा मनसुन पुगिसकेको छैन ।
विभागको बुलेटिनमा सबैभन्दा बढी चर्चा गरिएको विषय थियो– ‘एलनिनो’ । एलनिनो अर्थात् प्रशान्त महासागरमा बेला–बेला सक्रिय हुने प्राकृतिक तथा जलवायुसम्बन्धी मौसमी प्रणाली । एलनिनोका कारण यस वर्ष मनसुनको आगमन पनि ढिला हुने र सरदरभन्दा कम वर्षा हुने विभागको प्रक्षेपण छ । यो आलेख तयारी पारिरहँदा नेपालमा मनसुन भित्रिएको छ । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ ।
एलनिनोको प्रभावले नेपालमा यसअघि सन् २०२३, २०१९, २०१६, २००९, २००२ का वर्षहरूमा निर्धारित समयभन्दा ढिलो मनसुन आगमन भएको थियो । ती वर्षमा खडेरी पर्दा धान, मकैलगायत बालीको उत्पादनसमेत घटेको थियो ।
प्रशान्त महासागरमा ट्रेड विन्ड्स कमजोर हुँदा तातो पानी पूर्व अमेरिकातिर सर्ने र मौसम प्रणाली बदलिने एक नियमित प्रक्रिया हुन्छ । ट्रेड विन्डस भूमध्यरेखीय क्षेत्रमा वर्षैभरि बहन्छ । यो हावा निरन्तर पूर्वबाट पश्चिमतर्फ बहने गर्छ । ट्रेड विन्ड्सले नै समुद्रको तातो पानी धकेलेर विश्वको मौसम प्रणालीलाई नियन्त्रण गर्छ ।
प्रशान्त महासगर भौगोलिक हिसाबले हामीभन्दा धेरै टाढा छ । तर, जलवायु विज्ञानको नजरबाट हेर्ने हो भने यो फरक होइन । जलवायुले भूगोलको दूरी बुझ्दैन । जब भूमध्यरेखीय प्रशान्त महासगरको सतह असामान्य रूपमा तातिन्छ तब एलनिनो सक्रिय हुन्छ । यसले सिंगो विश्वको वायुमण्डलको बहाव र वायुको चापलाई नै खल्बल्याइदिन्छ । यसैको प्रभावले दक्षिण एसियामा बहने मनसुनी हावाको गतिलाई कम गराइदिन्छ । यसको प्रत्यक्ष असर हाम्रो देशमा देखिन्छ । त्यो भनेको वर्षाको मात्रा र वर्षा हुने दुवै घट्छ । यसको प्रभाव सिंगो मुलुक र मनुसनी प्रणालीमा आधारित हाम्रो रहनसहन र जीवनशैलीमा पर्छ ।
सामान्य अवस्थामा एसियातर्फ वर्षा गराउने मनसुनी प्रणालीमा फेरबदल हुँदा नेपाल, भारतजस्ता दक्षिण एसियाली मुलुकमा मनसुन कमजोर हुन्छ । मनसुन कमजोर हुँदा खडेरी पर्छ, गर्मी बढ्छ । यो वर्षको मध्यतिर जलवायु तटस्थ रहने सम्भावना भए पनि जुलाईदेखि सेप्टेम्बरसम्म एलनिनो विकसित हुने विश्व मौसम संगठनले अनुमान गरिसकेको छ । संगठनले यी महिनामा एलनिनो पूर्णतः विकसित भएर सुपर एलनिनोसमेत हुन सक्ने प्रक्षेपण गरेको छ । एलनिनो बलियो रूपमा विकसित हुँदा कृषि तथा पशुपालनको क्षेत्रमा असर पर्ने प्रक्षेपण छ ।
संगठनले यी महिनामा एलनिनो पूर्णतः विकसित भएर सुपर एलनिनोसमेत हुन सक्ने प्रक्षेपण गरेको छ । एलनिनो बलियो रूपमा विकसित हुँदा कृषि तथा पशुपालनको क्षेत्रमा असर पर्ने प्रक्षेपण छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनको एक प्रतिवेदनअनुसार, एलनिनोका कारण विश्वका २६ करोड ६० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको चपेटामा परेका छन् । नेपालमा पनि जब–जब एलनिनो सक्रिय हुन्छ तब हाम्रो कृषि प्रणालीलाई असर पार्छ । विभागले यस वर्ष निकालेको प्रतिवेदनमा एलनिनोले कृषिबालीमा प्रभाव पार्ने उल्लेख गरेको छ ।
वर्षा कम हुँदा बालीको उत्पादन चक्र बिग्रिन्छ । तापक्रम वृद्धिका कारण बालीमा तापीय दबाब (हिट स्ट्रेस) हुन्छ, जसले उत्पादन घट्ने र सिँचाइका मुहानहरू सुक्ने समस्या देखिन्छ । यसको समानान्तर असर पशुपालनमा पनि पर्छ । अत्यधिक गर्मीले पशुहरूमा तनाव बढाउँदा दूध र अण्डा उत्पादन घट्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । हरियो घाँसपात र पानीको अभावले पोषण तथा स्वास्थ्यमा समस्या आउँदा किसानको लगानी बढाइदिन्छ । यसरी कृषि उत्पादन घट्दा पशु आहार र पशुपालन कमजोर हुँदा किसानको आम्दानी घट्छ । यसले ग्रामीण अर्थतन्त्रमा दोहोरो मार पार्छ ।
एलनिनोको प्रभाव दक्षिण एसियामा मात्रै होइन, पश्चिमी देशमा पनि पर्छ । एलनिनो चक्रका कारण सामुद्रिक तापक्रममा ३ डिग्री सेल्सियससम्मको वृद्धि हुने प्रक्षेपण गरिएको छ । कम वर्षा हुँदा त्यसले हाम्रो खाद्यबालीमा पनि असर गर्ने निश्चित छ । कम मात्रामा पानी हुँदा उत्पादन कम हुन्छ । मध्यपूर्वमा भएको युद्धका कारण इन्धनको मूल्य बढेको छ । रासायनिक मलको निर्यातमा पनि कमी आएको छ । यसले कृषि क्षेत्रमा प्रत्यक्ष रूपमा असर गरेको छ । खाद्य बालीका लागि महत्त्वपूर्ण हुने युरिया र डीएपीजस्ता मलको मूल्य पनि अकासिएको छ । बजारमा मलको अभाव छ । डिजेल पम्प चलाएर, भूमिगत जल निकालेर कृषिकर्म गर्नुपर्ने बाध्यता पनि हुन सक्छ । यसैले कृषि क्षेत्रको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ ।
सर्वप्रथम हामीले समाज विज्ञान बुझ्नु जरुरी छ, त्यसमा पनि समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोण बुझ्नु झन् आवश्यक छ । समाज विज्ञानको दृष्टिकोणले हेर्दा फरक परिवेश देखिन्छ । त्यसमा अझ समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणले हेर्दा झनै फरक परिवेश देखिन्छ । विशेषगरी हाम्रो देशको ग्रामीण अर्थतन्त्र कृषि क्षेत्रसँग जोडिएका छन् । मनसुनी चक्र कमजोर हुँदा उत्पादन पनि कमजोर हुन्छ । यसको प्रत्यक्ष असर तिनै निमुखा वर्गमा पर्छ । समयमा पानी नपर्दा धानको उत्पादन पनि घट्छ । उत्पादन घट्नु भनेको परनिर्भरता बढ्नु हो । परनिर्भरता बढ्दा आयातित बजारले ठाउँ पाउँछ । त्यसो हुँदा महँगी चुलिन्छ । ‘हुने खाने’ वर्गलाई यो सहज भए पनि ‘हुँदा खाने’ वर्गलाई यसले निकै असर पर्छ, जसकारण स्वास्थ्य समस्यालगायत अन्य विविध समस्या आउँछन् ।
हाम्रोजस्तो समाजमा अर्को पनि समस्या छ । मौसममा आउने फेरबदल वा खडेरीलाई अझै दैवी ‘प्रकोप वा विपत्ति’ भन्ने गर्छौं । यसले हाम्रो प्रणालीलाई छताछुल्ल पार्छ । यसको प्रभाव खेतका गराहरूमा मात्रै सीमित हुँदैनन् । यसलाई लैंगिक दृष्टिकोणबाट पनि हेर्नुपर्छ । खडेरीका कारण ढुंगेधारा, कुवा र इनार तथा झरनामा पानी सुक्छ । यो संकट सम्बोधन गर्ने दायित्व परिवारका सदस्यहरूको हुन्छ । अझै पनि नेपालमा घरको चुल्होचौका महिलाकै काँधमा छ । पानीको जोहो गर्ने जिम्मा उनीहरूकै काँधमा हुन्छ । पानी संकलन गर्न अन्यत्रै जानुपर्छ, जसकारण घण्टौं समय पानी भण्डारणमा खर्चिनुपर्छ । यसले महिलालाई आर्थिक गतिविधि र आयआर्जनका अवसरबाट पूर्ण रूपमा विमुख गराइदिन्छ ।
नेपालमा हरेकजसो सरकारले कृषि र कृषकका कुरा गर्छन् । बजेटमा पनि सकेसम्म कृषकको समस्या सम्बोधन गर्ने विषय छुट्दैन । तर, हामी अझै पनि कृषिमा आधुनिकीकरणलाई पूर्ण रूपमा अँगाल्न सकिरहेको छैनौं । विभिन्न सिँचाइ आयोजनाको पूर्वाधार समयमै निर्माण नहुँदा हाम्रो कृषि अर्थतन्त्रलाई यस्ता आकस्मिक रूपमा आउने जलवायुजन्य घटनाले असर पार्छ ।
हाम्रोमा अहिले पनि बालीनाली नष्ट भएपछि मात्रै त्यो विषयलाई सम्बोधन गर्नेतर्फ लागिन्छ । अझै पनि पूर्वतयारीका विषयलाई गम्भीर रूपमा लिइएको देखिँदैन । पूर्वसूचना प्रणाली पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । तर, ती विषयलाई गाउँघरमा गम्भीर रूपमा नलिइँदा समस्या हुने गर्छ । पूर्वतयारीलाई गम्भीर रूपमा लिँदै कृषकलाई वैकल्पिक विधि सिकाइनुपर्छ । त्यसका लागि जलवायु उत्थानशीलतामा राज्यले ठूलो लगानी गर्नुपर्छ । आकाशे पानीसँगै स्थानीय स्तरमा सिँचाइको पूर्वाधारलाई प्रभावकारी बनाउँदै लैजानुपर्छ ।
त्यस्तै, आकाशे पानीको संकलन अर्थात् रेनवाटर हार्भेस्टिङ प्रणालीलाई प्रभावकारी बनाउँदै नीतिगत तहबाट सम्बोधन गर्नुपर्ने देखिन्छ ।
भविष्यमा एलनिनो जस्ता सम्भावित जोखिम न्यूनीकरण गर्न समयमै वैज्ञानिक सिँचाइ व्यवस्थापन जरुरी छ । यस्तै सरकारले ताप सहन सक्ने बालीका जातहरूको छनोट गर्नुपर्छ । पशुहरूको विशेष हेरचाहसहितको पूर्वतयारी योजना बनाउनु पनि अहिलेको समयमा आवश्यक छ ।
