ट्र्याक्टरले बैललाई खेतबाट हटायो । तर, बैल मात्रै हटेनन् । पशुपालनमा आधारित परम्परागत अर्थतन्त्र पनि कमजोर भयो । गोबरको उपलब्धता घट्यो । जैविक मलको चक्र टुट्यो । रासायनिक मलमाथिको निर्भरता बढ्यो ।
What you should know
सर्लाही बलराको जब्दी गाउँ जाँदा थाहा भयो, दिनेश सहनी (५६) अब गाउँका अन्तिम हरवाह (हलो जोत्ने) रहेछन् । मलाई लाग्यो, गाउँमा एउटा पुरानो शब्द अझै बाँकी रहेछ । दिनेशसँग दुई वटा गोरु छन्– एउटा सेतो, अर्को गेरुआ । गोरु हेर्दा लाग्छ– बिहान र बेलुका एउटै डोरीले बाँधिएका छन् । दिनेश गोरुलाई नामले बोलाउँछन् कि बोलाउँदैनन् ? मैले सोधिनँ । तर, गोरुले उनको आवाज चिन्छ भन्नेचाहिँ देखियो ।
दिनेशका बुबा पनि हरवाह थिए । उनले पनि अरूका खेत जोते । माटोको रङ बदलियो होला, मौसम बदलियो होला । तर, हलोको फालले कोर्ने रेखा उस्तै रह्यो । गरिबी पनि धेरै हदसम्म उस्तै रह्यो । गाउँको कृषि संरचनामा हरवाहको भूमिका साह्रै कठिन तर महत्त्वपूर्ण थियो । तर, त्यसको आर्थिक प्रतिफल सीमित थियो । श्रम पुस्तान्तरण भयो, सम्पत्ति भएन । दिनेशले पनि बुबाबाट हलो जोत्न सिके तर उनले बुबाको नियति दोहोर्याएनन् ।
गाउँमा ट्र्याक्टर आएको छ । ट्र्याक्टरको आवाज टाढासम्म जान्छ । गोरुको पाइला त्यति टाढा सुनिँदैन । तर कतिपय कुरा आवाजले होइन, उपस्थितिले बाँच्छन् । दिनेशका गोरु अझै खेतमा पुग्छन् । बिहान उनी हलो जोत्छन् । दिउँसो टायर गाडी चलाउँछन् । दुई गोरुले बिहान माटो तान्छन्, दिउँसो जिन्दगी । एउटै पुँजीले दुई वटा रोजगारी सिर्जना गरेको छ । कहिलेकाहीँ लाग्छ, दिनेशले गोरु पालेका होइनन्, गोरुले दिनेशलाई पालिरहेको छ ।
सामान्य बुझाइ के छ भने ट्र्याक्टर आएपछि हरवाहको आवश्यकता समाप्त हुन्छ । तर, गाउँको अर्थतन्त्र त्यति सरल हुँदैन । गाउँमा ट्र्याक्टर आएपछि हलो जोत्न सक्ने मानिसको संख्या झन् तीव्र गतिमा घट्यो । युवाहरू वैदेशिक रोजगारीमा गए, मजदुरीका नयाँ अवसर खोजे । हलो जोत्न सक्ने सीप दुर्लभ बन्दै गयो । यही दुर्लभताले दिनेशलाई नयाँ मूल्य दियो ।
दिनेश भन्छन्, ‘म पढेको मान्छे होइन । मिहिनेत गर्न जान्दछु ।’ उनले यो कुरा यसरी भने, मानौं घामले आफू उज्यालो भएको घोषणा गरेको हो । कुनै गर्व थिएन, कुनै गुनासो पनि थिएन । समयले उनको पेसा पुरानो बनायो तर त्यही पुरानोपनले उनलाई आवश्यक पनि बनाइदियो । मैले सोचिरहें, दिनेशपछि के हुन्छ ? यो वाक्य ग्रामीण नेपालका बदलिँदा श्रम सम्बन्धहरूको सानो सारांश हो । सीप हराउँदै जाँदा त्यसको मूल्य बढ्न सक्छ । तर, त्यससँगै एउटा प्रश्न पनि उठ्छ– दिनेशपछि के ? उनका छोराहरूले हलो जोत्न सिकेका छैनन् । गाउँका अरू युवा पनि यो पेसातिर फर्कने सम्भावना कम छ । त्यसैले दिनेश केवल एक व्यक्ति होइनन्, एउटा युगका अन्तिम प्रतिनिधि हुन् ।
विकासका तथ्यांकले ट्र्याक्टरको संख्या गन्न सक्छन् तर दिनेश सहनीजस्ता मानिसको संख्या गन्न सक्दैनन् । जबकि गाउँको वास्तविक परिवर्तन त्यहीं लेखिएको हुन्छ । जहाँ एउटा पेसा हराउँदै छ, एउटा सीप दुर्लभ बन्दै छ र एउटा मानिस समयको परिवर्तनसँग जुध्दै आफ्नो ठाउँ जोगाइरहेको छ । दिनेश सहनी गाउँका अन्तिम हरवाह मात्रै होइनन् । उनी हामीलाई सम्झाइरहेका छन् कि विकासको कथा मेसिनले मात्रै लेख्दैन । त्यसको अर्को पाटो श्रमिकका हात, गोरुको पाइला र माटोको गन्धले पनि लेख्छ ।
सायद ट्र्याक्टर अझ बढ्नेछ । खेत जोतिनेछ । बाली फल्नेछ । तर, गाउँको एउटा दृश्य हराउनेछ– माटो चिर्दै अघि बढ्ने दुई गोरु र गोरु पछाडि हलो समातेको एउटा मानिस । गाउँबाट धेरै कुरा हराउँदा हामीलाई थाहा हुँदैन । तर, कहिलेकाहीँ एउटा मानिस बाँकी रहँदा थाहा हुन्छ– एउटा समय अझै पूरा हराएको छैन । दिनेश सहनी त्यही बाँकी रहेका समय हुन् ।
गाउँमा परिवर्तन नाप्ने आफ्नै तरिका हुन्छ । सहरका मानिसले त्यसलाई जीडीपी, उत्पादन वृद्धि, उत्पादकत्व र विकास दरका तथ्यांकमा खोज्छन् । तर, गाउँलेले परिवर्तनलाई आवाजबाट चिन्छ । कहिल्यै बिहान–बेलुका घण्टीको टनटन सुनिन्थ्यो, आज डिजेल इन्जिनको घरघराहट सुनिन्छ । प्रश्न यो होइन कि बैलगाडीदेखि ट्र्याक्टरसम्म पुग्नु प्रगति हो कि होइन ? प्रश्न हो– यो यात्रामा को अघि बढ्यो र को पछाडि छुट्यो ?
कृषिमा बैलगाडीदेखि ट्र्याक्टरतर्फको संक्रमण केवल प्राविधिक परिवर्तन होइन । यो अर्थशास्त्र, राजनीति, समाजशास्त्र र सत्ता सम्बन्धको गहिरो कथा हो । खेतमा चल्ने ट्र्याक्टरले केवल माटो जोत्दैन, ग्रामीण समाजको संरचना पनि जोतिदिन्छ । बैल किसानको सम्पत्ति पनि थियो, साथी पनि । बैल मर्दा किसान शोक गर्थ्यो । ट्र्याक्टर बिग्रँदा किसान मिस्त्री खोज्छ । सम्बन्धको स्वरूप फेरिएको छ । ट्र्याक्टरले उत्पादन बढायो, खेत छिटो जोत्यो, समय बचायो । यसमा विवाद छैन । तर, हरेक प्राविधिक परिवर्तनले शक्ति र स्रोतको पुनर्वितरण पनि ल्याउँछ ।
गाउँमा सबैभन्दा पहिले ट्र्याक्टर कसले किन्यो ? प्रायः उसैले, जससँग पहिले नै धेरै जमिन, धेरै पुँजी र धेरै राजनीतिक पहुँच थियो । ट्र्याक्टर खेतमा आउनुअघि सत्ताको आँगनमा आयो । त्यो केवल मेसिन थिएन, प्रतिष्ठाको प्रतीक थियो । जसको घर अगाडि ट्र्याक्टर उभिन्थ्यो, गाउँमा उसको हैसियत फेरिन्थ्यो । बिस्तारै ट्र्याक्टरले खेतको जोताइसँगै ग्रामीण अर्थतन्त्रलाई पनि पुनर्गठन गर्न थाल्यो । साना किसान, जो पहिले बैलको भरमा खेती गर्थे, अब ट्र्याक्टर भाडामा लिन थाले । खेतीको लागत बढ्यो । डिजेल, मर्मत, कर चुक्ता र बैंक ऋणको नयाँ चक्र सुरु भयो । पहिले किसानको सम्बन्ध प्रकृतिसँग थियो । अब उसको सम्बन्ध बजारसँग पनि गाँसियो । यहीँबाट अर्थशास्त्र राजनीति बन्न थाल्छ ।
किनभने ट्र्याक्टरले मेसिन मात्रै ल्याउँदैन, ऋण पनि ल्याउँछ । र, ऋणले ब्याज मात्रै ल्याउँदैन, निर्भरता र अनिश्चितता पनि ल्याउँछ । थोरै जमिन भएका किसानका लागि ट्र्याक्टर सुविधा कम, बाध्यता बढी बन्न सक्छ । धेरै गाउँमा कृषियन्त्रको बढ्दो प्रयोगले खेत–मजदुरको माग घटाएको देखिएको छ । जोताइ, ढुवानी र अन्य काममा श्रमको आवश्यकता कम भयो । खेत मजदुरीमा निर्भर भूमिहीन परिवारका लागि यो परिवर्तन सधैं सुखद भएन । प्रविधि तटस्थ हुँदैन । यसको लाभ र हानि बराबरी बाँडिँदैन । त्यसैले विकासको प्रत्येक कथासँग विस्थापनको एउटा लुकेको कथा पनि जोडिएको हुन्छ ।
ट्र्याक्टरले बैललाई खेतबाट हटायो । तर, बैल मात्रै हटेनन् । पशुपालनमा आधारित परम्परागत अर्थतन्त्र पनि कमजोर भयो । गोबरको उपलब्धता घट्यो । जैविक मलको चक्र टुट्यो । रासायनिक मलमाथिको निर्भरता बढ्यो । कृषि र पशुपालनबीचको त्यो सहजीवी सम्बन्ध, जसले शताब्दीयौंसम्म ग्रामीण जीवन धानेको थियो, बिस्तारै कमजोर हुँदै गयो । यस परिवर्तनको राजनीतिक पक्ष अझ रोचक छ ।
सरकारहरू ट्र्याक्टरलाई विकासको प्रतीक मान्छन् । चुनावी सभामा ट्र्याक्टर वितरणका घोषणा हुन्छन् । कृषि आधुनिकीकरणका नाममा अनुदान बाँडिन्छ । मन्त्रीहरूले ट्र्याक्टरको साँचो हस्तान्तरण गर्दै गरेका तस्बिरहरू सार्वजनिक हुन्छन् । तर, विरलै कसैले सोध्छ– कति साना किसान त्यस्तो अनुदानसम्म पुगे ? कति किसान ट्र्याक्टर किन्न ऋणमा डुबे र पछि बेच्न बाध्य भए ? विकासको तस्बिरमा मेसिन देखिन्छ, ऋणले थिचिएको किसान देखिँदैन । विकासको लाभ र लागत फरक–फरक वर्गले बेहोरेका कारणले हो– लाभ माथि गयो, लागत तल झर्यो । ट्र्याक्टरको कथा पनि यस्तै हो ।
खेतीलाई आधुनिक प्रविधि चाहिन्छ । हलो–बैलको युगमा फर्कन सम्भव पनि छैन, आवश्यक पनि छैन । तर, प्रविधि त्यतिबेला मात्रै लोकतान्त्रिक हुन्छ, जब त्यसको लाभ व्यापक रूपमा बाँडिन्छ । अन्यथा त्यसले असमानता अझ गहिरो बनाउँछ । आज गाउँका बाटामा बैलगाडी कम र ट्र्याक्टर बढी देखिन्छन् । धेरैले यसलाई विकासको तस्बिर भन्छन् । तर, ध्यान दिएर हेर्दा यो केवल मेसिनको परिवर्तन होइन– ग्रामीण शक्ति सन्तुलन, श्रम सम्बन्ध, ऋण संरचना, वातावरणीय दिगोपन र सामाजिक न्यायको पनि कथा हो ।
कुनै गाउँको विकास त्यहाँ कति ट्र्याक्टर छ भनेर होइन, कति किसान सम्मानपूर्वक खेती गर्न सक्छन्, कति मजदुरले रोजगारी पाउँछन् र कति परिवार ऋणको बोझबिना बाँच्न सक्छन् भनेर मापन गरिनुपर्छ । हलो–गोरुदेखि ट्र्याक्टरसम्मको यात्रा इतिहासका आवश्यकता हुन सक्छन् । तर, यसको मूल्यांकन इन्जिनको ‘हर्सपावर’ ले होइन, मानिसको जीवन स्थितिले गर्नुपर्छ । किनभने खेतमा दौडिरहेका मेसिन सधैं विकासका साक्षी हुँदैनन् । कहिलेकाहीँ तिनले ती आवाज पनि ढाकिदिन्छन्, जो सोधिरहेका हुन्छन्– विकास आखिर कसका लागि ?
ट्र्याक्टर राम्रो कि नराम्रो ? यो प्रश्न मुख्य होइन । मुख्य प्रश्न हो, ट्र्याक्टर कसको स्वामित्वमा छ ? त्यसको लाभ कसले पाउँछ ? र, त्यसको लागत कसले बेहोर्छ ? कथा ट्र्याक्टरको होइन, कथा त्यो किसानको हो, जसले ट्र्याक्टर किन्यो । त्यो मजदुरको हो, जसको श्रमको आवश्यकता घट्यो । र, त्यो गाउँको हो, जहाँ मेसिनसँगै सत्ताको नक्सा पनि फेरियो । यहीँबाट हलो–बैलदेखि ट्र्याक्टरसम्मको यात्रा केवल कृषि परिवर्तनको कथा रहँदैन– ग्रामीण अर्थराजनीतिक परिवर्तनको कथा बन्छ ।
मेरो अनुभवले भन्छ, ट्र्याक्टर र अन्य कृषि मेसिन अपनाउने सम्भावना ती किसानमा बढी हुन्छ, जससँग पहिल्यै आर्थिक स्रोत, ऋणको पहुँच, तालिम तथा संस्थागत सहयोग उपलब्ध हुन्छ । अर्थात् मेसिनहरू प्रायः पहिले नै अपेक्षाकृत सम्पन्न किसानसम्म पुग्छन् । मधेशमा मेसिनीकरणको सबैभन्दा ठूलो चुनौती केवल मेसिन किन्नु होइन, मेसिन सेवासम्म पहुँच हुनु पनि हो । साना किसान प्रायः मेसिनका मालिक हुँदैनन्, उनीहरू भाडामा उपलब्ध हुने सेवामाथि निर्भर हुन्छन् । यसले ग्रामीण क्षेत्रमा नयाँ प्रकारको ‘सेवा प्रदायक वर्ग’ उदय गराएको छ, जसको हातमा आर्थिक शक्ति केन्द्रित हुन थालेको छ । यसरी गाउँमा एउटा नयाँ वर्ग जन्मिएको छ– मेसिनदार । अर्थात् ट्र्याक्टर मालिक, हार्भेस्टर मालिक वा एक्स्काभेटर मालिक ! यो एउटा नयाँ ग्रामीण सत्ता संरचनाको जन्म हो ।
पहिले १० जना लाग्ने काम अहिले एउटा ट्र्याक्टरले गर्छ होला । खेत छिटो जोतिन्छ । तर, त्यो दिन खेत नपुगेका नौ जनाको कथा सरकारी तथ्यांकमा कतै लेखिँदैन । मेसिनीकरणले उत्पादनशीलता बढाउँछ तर केही काममा श्रमको माग घटाउँछ । विशेषगरी जोताइ, ढुवानी र कटानीजस्ता क्षेत्रमा मजदुरको आवश्यकता घटायो । अर्कोतर्फ मेसिन मर्मत, सेवा क्षेत्रमा नयाँ रोजगारीका अवसर सिर्जना भयो । अर्को, यो पनि भुइँ यथार्थ हो– ट्र्याक्टर प्राविधिक नवप्रवर्तनको परिणाम थिएन, श्रम संकटको प्रतिक्रिया पनि थियो । कृषि मजदुरको पलायन, कृषिसँग अन्य उद्यमको खोजी तथा कृषि मेसिनीकरणलाई सँगसँगै अध्ययन गर्नुपर्छ ।
सायद केही वर्षपछि मेरो गाउँजस्तै नेपालका गाउँघरमा एउटा पनि हलो बाँकी रहने छैन । खेत जोतिनेछ, बाली फल्नेछ, उत्पादनका तथ्यांक अझ माथि जानेछन्, सरकारी प्रतिवेदनले यसलाई कृषि आधुनिकीकरणको सफलता भन्ने छ । तर, त्यतिबेला कसैले पनि यो सम्झिने छैन– तिनका गाउँमा कोही दिनेश सहनी नामका हरवाह थिए, जसले बिहान–दिउँसो गोरु वा राँगोसँग खेत जोते । विकासको इतिहासले प्रायः मेसिनको आगमन लेख्छ तर त्यसले ती मानिसको नाम बिर्सिन्छ, जसले एउटा युगबाट अर्को युगसम्मको पुल बनेर जीवन बिताए ।
दिनेश सहनीहरूको कथा वास्तवमा एउटा हरवाहको कथा मात्रै होइन । यो प्रश्न हो– गाउँ बदलिँदा कसको श्रमको मूल्य बढ्छ ? कसको हराउँछ ? कसको आवाज सुनिन्छ ? र, कसको दबिन्छ ? ट्र्याक्टरले माटो छिटो जोत्ला तर यी प्रश्नको उत्तर दिँदैन । उत्तर खोज्न अझै खेतको आलीसम्मै पुग्नुपर्छ, जहाँ दुई गोरुको पाइलाको छापसँगै एउटा पुरानो समयको अन्तिम हस्ताक्षर बाँकी छ । त्यो हस्ताक्षर मेटिएपछि हामीले एउटा पेसा मात्रै गुमाएका हुनेछैनौं, ग्रामीण नेपालको सामाजिक स्मृतिको एउटा अध्याय पनि गुमाइसकेका हुनेछौं ।
