रास्वपाले प्रस्ट्याउन नसकेको वैचारिकी

राजनीतिक दलसँग महिला, दलित, उत्पीडित वर्ग र समुदायको मुक्तिको स्पष्ट वैचारिक दृष्टिकोण हुनुपर्छ । तर, रास्वपा अधिवेशनको दस्ताबेजले यो वर्ग, लिंग र समुदायको अधिकार सुनिश्चित गर्ने कुनै वैचारिकी प्रस्तुत गर्न सकेको छैन ।

असार ११, २०८३

जेबी विश्वकर्मा

The ideology that the Rashtriya Swayamsevak Sangh (RSS) has failed to clarify

What you should know

रास्वपा गठन भएको करिब चार वर्षमै देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा उदायो । नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संसद्को सबैभन्दा ठूलो दल बनेको इतिहास छैन । राजनीतिक दल मूलतः देशको राजनीति, सामाजिक–आर्थिक परिस्थिति र आवश्यकताका उपज हुन् । नेपालका धेरैजसो दलहरू निरंकुशता र जनविरोधी शासन सत्ताको अन्त्य र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका क्रान्ति, संघर्ष र आन्दोलनबाट स्थापित भएका हुन् । तर, सत्तामा पुगेपछि ती दलबाट जनताको आवश्यकता, चाहना र आकांक्षालाई सम्बोधन हुन सकेन । अर्कोतिर, चरम भ्रष्टाचार, अनियमितता र बेथिति मौलाएका कारण जनतामा आएको चरम असन्तुष्टि र आक्रोश बढ्न पुग्यो । तिनै आक्रोश र असन्तुष्टिको जगमा रास्वपा देशको ठूलो राजनीतिक दल बन्न पुगेको हो ।

रास्वपाले अरूलाई पुराना र आफ्नो पार्टीलाई नयाँ शक्तिका रूपमा परिभाषित गर्दै आएको छ । सैद्धान्तिक रूपमा हेर्ने हो भने नयाँ शक्तिले नयाँ अनुहार वा नेतृत्व मात्रै होइन, नयाँ राजनीतिक सिद्धान्त, दृष्टिकोण र वैचारिकीको माग गर्छ । तर रास्वपा महाधिवेशनले देशको अर्थ–राजनीतिक संकटलाई हल गर्ने र देशको आमूल सामाजिक रूपान्तरण गर्ने कुनै नवीन राजनीतिक दृष्टिकोण वा वैचारिकी विकास गर्न सकेन । रास्वपाका सभापति रवि लामिछाने र उपाध्यक्ष स्वर्णिम वाग्लेले प्रस्तुत गरेको दस्ताबेजले दलको कुनै सैद्धान्तिक र वैचारिक नयाँ दिशा देखाउन सकेको छैन । बरु परम्परागत नवउदारवादी पुँजीवादी व्यवस्थालाई नै बलियो बनाउने वैचारिकीलाई महाधिवेशनले वैधता दिएको छ ।

वैचारिक नवीनता शून्य 

रवि लामिछानेले अधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा रास्वपा परम्परागत ‘वामपन्थी’ वा ‘दक्षिणपन्थी’ पार्टी नभएको उल्लेख गरका छन् । उनले पार्टी कुनै वैचारिक चौघेरामा नबाँधिने पनि भनेका छन् । साथै, व्यावहारिक, विवेकसम्मत तथा यथार्थताका आधारमा दृष्टिकोणलाई प्राथमिकता दिने उल्लेख गरेका छन् । यो सैद्धान्तिक अप्रस्टता यथास्थितिवाद र अवसरवाद मिश्रित दृष्टिकोण हो । राजनीतिक दलमा राज्य व्यवस्था, सामाजिक व्यवस्था, अर्थतन्त्र, संस्कृति आदि निर्माण गर्ने स्पष्ट दृष्टिकोण हुनुपर्छ । त्यसले मात्रै देशका तत्कालीन र दीर्घकालीन सामाजिक–आर्थिक अन्तरविरोधलाई हल गर्ने र देशलाई अग्रगतिमा लैजाने मार्गचित्र प्रदान गर्छ । परिस्थितिजन्य आवश्यकतालाई सिद्धान्त मान्ने हो भने निरंकुशतालाई पनि रास्वपाले आवश्यकताका रूपमा परिभाषित गर्न सक्छ, जुन देश र जनताका लागि घातक हुन्छ । यसर्थ, यो महाधिवेशनबाट रास्वपाले कुनै नवीन वैचारिकी निर्माण गर्न सकेको देखिँदैन ।   

कुनै बेला संवैधानिक समाजवादलाई विचारका रूपमा व्याख्या गरेको रास्वपाले यो अधिवेशनबाट ‘सामाजिक लोकतन्त्र’ लाई दलको विचार मानेको छ । राजनीतिक वैचारिकीको दृष्टिकोणले यो कुनै नयाँ विचार होइन । १९ औं शताब्दीदेखि नै विश्वमा अभ्यास हुँदै आएको सामाजिक लोकतन्त्र नेपाली कांग्रेसले विगतदेखि नै बहस र छलफलमा ल्याएको देखिन्छ । खुला बजारमा आधारित पुँजीवादी अर्थव्यवस्था र लोककल्याणकारी राज्य सामाजिक लोकतन्त्रको आधार हुन् । अधिवेशनबाट सामाजिक लोकतन्त्रलाई विचार मान्ने घोषणा गरिरहँदा सामाजिक लोकतन्त्रको सैद्धान्तिक आधार के हो ? नेपाली समाजलाई यो वैचारिकीको आवश्यकता किन परेको हो ? यसले नेपालको सामाजिक–आर्थिक रूपान्तरण कसरी गर्छ र देशलाई कसरी अगाडि लैजान्छ भन्ने विषयमा विस्तृत व्याख्या गरेको छैन । सामाजिक–आर्थिक परिस्थितिको विश्लेषणबिना ल्याइएको यो विचार केवल नाराका रूपमा मात्रै प्रस्तुत गरेको देखिन्छ । नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले सामाजिक लोकतन्त्रलाई नवीन रूपमा व्याख्या र विश्लेषण गर्न सकेको देखिँदैन ।  

रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्ति राष्ट्रिय स्वाधीनतासँग जोडिएको गम्भीर मुद्दा हो । आम नेपालीलाई प्रधानमन्त्रीको अभिव्यक्तिसँगै राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय सम्बन्धबारे रास्वपाको वैचारिक दृष्टिकोण के हो भन्ने चासो बढेको थियो । स्वाभाविक रूपमा रास्वपाको महाधिवेशनले यी मुद्दामा गम्भीर बहस गर्ला र दलकै स्पष्ट दृष्टिकोण पेस गर्ला भन्ने लागेको थियो । तर, रास्वपाको अधिवेशनमा प्रस्तुत भएका कुनै पनि दस्ताबेजले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय सम्बन्धका बारे कुनै ठोस र स्पष्ट दृष्टिकोण पेस गर्न सकेन । यस्ता गम्भीर सवालमा अधिवेशनबाट रास्वपाले कुनै नयाँ विचार र दृष्टिकोण ल्याउन सकेन । 

सैद्धान्तिक रूपमा राजनीतिक दलले अवलम्बन गर्ने अर्थनीतिले नै देशको आर्थिक विकास र जनताको जीवनस्तर कस्तो हुन्छ भन्ने निर्धारण गर्ने हो । नेपाल सामन्ती उत्पादन सम्बन्ध र अर्थतन्त्रबाट पुँजीवादी व्यवस्थामा रूपान्तरित भएको छ । तर, नेपालले प्रगतिशील पुँजीवादको विकास गर्न सकेन । बरु दलाल पुँजीवादी व्यवस्थाको अभिन्न अंग बन्न पुगेको छ । यस्तो व्यवस्थामा न त देशले स्वाधीन अर्थतन्त्र विकास गर्न सक्छ, न त दलाल पुँजीवादको अन्त्य गर्न सक्छ । वैदेशिक रोजगारी, वैदेशिक ऋण र आधारभूत वर्गको करबाट देशको अर्थतन्त्र चलिरहेको यो परिवेशमा धनीलाई थप धनी र गरिबलाई कमजोर बनाउने नवउदारवादी अर्थतन्त्रलाई रास्वपाले अवलम्बन गरेको छ । यस्तो बजार नियन्त्रित अर्थतन्त्रले श्रमिक, मजदुर, किसान र सीमान्तीकृत समुदायको आर्थिक जीवन तहसनहस बनाउँछ भने सीमित धनी र पुँजीपति वर्गको दबदबालाई बढाउँछ । विश्वभरिकै राजनीतिक परिवेश हेर्ने हो भने यस्ता पुँजीपति वर्गले अर्थतन्त्र मात्रै होइन, राजनीतिक सत्ता नै कब्जा गरिरहेका छन् । पुँजीपति वर्गले अर्थतन्त्र र राजनीतिक व्यवस्था नै कब्जा गर्ने यस्तो आर्थिक नीतिले नेपालमा बहुसंख्यक गरिब, श्रमिक, किसान र उत्पीडित वर्ग तथा समुदायको आर्थिक जीवनमा गम्भीर संकट ल्याउने निश्चित छ । नेपालको अर्थ–राजनीतिक परिवेशको ऐतिहासिक शृंखलाको विश्लेषणबिना पुँजीपतिको हितका लागि अपनाइएको नवउदारवादी अर्थतन्त्र बहुसंख्यक नेपालीको हितविपरीत छ । अर्कोतिर, नेपालले संवैधानिक रूपमा नै समाजवादी आर्थिक–राजनीतिक व्यवस्थातिर जाने लक्ष्य राखेको थियो, रास्वपाको अर्थनीतिले यो सैद्धान्तिक आधारलाई समेत छोडेर पछाडि फर्किन खोजेको छ ।

नेपाली समाजमा लिंग, जातजाति, भाषा, धर्म, संस्कृति, भूगोल आदिका आधारमा निकै ठूलो असमानता र विभेद कायम छ । विगतका विभेदकारी राज्य सत्ता र सामाजिक सत्ताले महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिमलगायत उत्पीडित वर्ग र समुदायमाथि गरेको विभेद र बहिष्करणका कारण सकसपूर्ण जीवन बाँच्न बाध्य छन् । बहुसंख्यक उत्पीडित वर्ग र समुदायको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत आधारभूत अधिकार सुनिश्चित गरिनुपर्छ । जबसम्म ऐतिहसिक उत्पीडिन, बहिष्करण र विभेदमा पारिएका यी समुदायको मुक्ति हुँदैन तबसम्म देशको वास्तविक विकास हुन सक्दैन । त्यसैले राजनीतिक दलसँग महिला, दलित, उत्पीडित वर्ग र समुदायको मुक्तिको स्पष्ट वैचारिक दृष्टिकोण हुनुपर्छ । तर, रास्वपा अधिवेशनको दस्ताबेजले यो वर्ग, लिंग र समुदायको अधिकार सुनिश्चित गर्ने कुनै वैचारिकी प्रस्तुत गर्न सकेको छैन । समावेशी सिद्धान्तलाई अवलम्बन गर्ने भनिए पनि पार्टीको उच्च नेतृत्व वा नीति निर्माण गर्ने तहमा अनिवार्य प्रतिनिधित्व विचार र विधिको विकास गर्न सकेको छैन । सामाजिक विविधतालाई हेर्ने दृष्टिकोण र विचारका हिसाबले रास्वपालाई नयाँ भन्न सकिने आधार छैन ।   

राजनीतिक दलको अधिवेशन मूलतः देशको परिवेशको समीक्षासहित आवश्यक विचार, दृष्टिकोण र कार्ययोजना निर्माणका लागि महत्त्वपूर्ण हुने गर्छ । महाधिवेशन देशभरका प्रतिनिधिले पार्टीको सिद्धान्त, विचार, दृष्टिकोण र कार्ययोजनाबारे बृहत् बहस गर्ने थलो हो । तर, नेपालका सबैजसो पार्टीको महाधिवेशनमा सैद्धान्तिक वैचारिक बहस, छलफल र विमर्श हुन छाडेका छन् । रास्वपाले पनि यही प्रवृत्तिलाई निरन्तरता दिएको छ । पार्टीले प्रस्तुत गरेका राजनीतिक वैचारिक दस्ताबेजमाथि विमर्श गर्ने र परिमार्जन गर्ने/गराउने काम रास्वपाले गरेन । मुख्य नेतृत्वलाई लागेको विचार नै सर्वोपरि हो र अन्य नेता कार्यकर्ता केवल अनुमोदनकर्ता र कार्यान्वयनकर्ता हुन् भन्ने ठान्ने हो भने त्यस्तो पार्टीमा वैचारिक मन्थन हुन पाउँदैन । अर्को अर्थमा पार्टीको विचारमाथि विमर्श नगरिनु लोकतान्त्रिक अभ्यास होइन । यसरी हेर्दा विचार निर्माणका दृष्टिले पनि रास्वपाले कुनै नवीनता दिन सकेको भने देखिँदैन । यसले पुनः प्रश्न उठाउँछ– रास्वपा वास्तवमै नयाँ पार्टी हो वा नयाँ नामको पुरानै विचार र प्रवृत्तिसहितको पार्टी हो ?

उपलब्धिमाथि प्रहार

नेपालमा निरंकुश, केन्द्रीकृत र असमावेशी राज्य सत्ताविरुद्ध नेपाली जनताले निकै ठूलो बलिदानी दिएका छन् । आधारभूत लोकतान्त्रिक अधिकारको सुनिश्चितता, वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय विभेदबाट मुक्तिका लागि राज्यको आमूल पुनःसंरचनाका लागि जनताले लामो संघर्ष गरेर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको हो । यो व्यवस्था स्थापनाका लागि नेपालका लोकतान्त्रिक र वामपन्थी राजनीतिक दल, नागरिक समाज, आदिवासी जनजाति, मधेशी, दलित र सीमान्तकृत समुदायले दशकौं लामो लडाइँ लडेका छन् । तर, यो व्यवस्था स्थापित भइसकेपछि यही व्यवस्थाबाटै देशको ठूलो पार्टी बनेको रास्वपाले प्रदेशसभाको अवधारणामार्फत संघीयताका सन्दर्भमा अगाडि सारेको प्रस्ताव जनविरोधी र प्रतिगामी छ । नेपालमा संघीयताको माग किन भएको थियो ? किन संघीयताको आवश्यकता भयो ? यसका सामाजिक कारण के छन् ? यस्ता गम्भीर सवालको समीक्षा, अध्ययन र परामर्शबिना प्रदेशसभा खारेजीको प्रस्ताव उत्पीडित समुदायको संघर्ष र बलिदानीको अपमान हो । देशलाई समृद्ध बनाउने नारा लगाउने रास्वपाले प्रदेशसभा वा समग्रमा संघीयताको अभ्यासमा रहेका कमजोरी पहिचान गर्ने, समुदायको अपेक्षा र चाहना बुझ्ने र प्रभावकारी र बलियो संघीय शासनको अभ्यास गर्नुपर्नेमा उल्टै औचित्यपूर्ण विचार र तर्कबिना प्रदेशसभा खारेज गर्ने प्रस्ताव ल्याउनु उत्पीडित समुदायले प्राप्त गरेका सीमित अधिकारसमेत खोस्ने प्रपञ्च हो ।

समानुपातिक समावेशीकरणका सन्दर्भमा पनि रास्वपा प्रतिबद्ध देखिएन । रास्वपाको सचिवालय, संसदीय समितिका सभापति, अधिवेशनका प्रतिनिधि, जिल्ला र प्रदेश सभापति, वालेन्द्र नेतृत्वको सरकारले गरेका नियुक्त सबैतिर हेर्ने हो भने रास्वपा समानुपातिक समावेशीकरणप्रति प्रतिबद्ध भएको देखिँदैन । संवैधानिक र राजनीतिक रूपमा प्राप्त समानुपातिक समावेशी सिद्धान्तको व्यावहारिक कार्यान्वयन गर्ने दायित्व रास्वपाको पनि हो तर रास्वपाले संवैधानिक उपलब्धिलाई समेत बेवास्ता गर्दै आइरहेको छ । यो पनि उत्पीडित लिंग, वर्ग र समुदायको अधिकारको हरण गरिनु हो । 

गरिब, सुकुमवासी, भूमिहीनले राज्यको सहयोगको अपेक्षा गरेका थिए । पुराना राजनीतिक दलले भूमिसुधारलाई नारा मात्रै बनाए । रास्वपाबाट यो समस्या समाधान हुने अपेक्षा गरेका थिए तर उल्टै पहिलो प्रहार नै भूमिहीन सुकुमवासीमाथि भएको छ । यस क्रममा डोजर आतंक मात्रै चलाइएन, भूमिहीन सुकुमवासीको दैनिकी झन् कष्टकर बनाइएको छ । 

विगतमा राजनीतिक पार्टीहरूले राज्य संरचना कब्जा गरेर खोक्रो पारेकामा जनता आजित थिए । त्यही कब्जा र अनियमितताविरुद्ध जनताले संघर्ष गरेका हुन् । जेन–जी आन्दोलन त्यसैको उपज हो । तर, नयाँ सरकारले राज्य संरचनालाई योजनाबद्ध कब्जा गर्ने रणनीतिसहित अगाडि बढेको देखिन्छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुष्ठित पार्न सुरु भएको छ भने संसद्मा प्रतिपक्षी आवाजलाई दबाउने कोसिस भइरहेको देखिन्छ । यसरी हेर्दा देश अर्को वैधानिक अधिनायकवादतिर जाने खतरा बढ्दै गएको छ । तर, यस्ता विषय रास्वपाको महाधिवेशनका छलफलका कुनै एजेन्डा बनेको पाइएन । नेपाली जनताले संघर्षबाट प्राप्त उपलब्धिमाथि खतरा हुँदै गयो भने स्वाभाविक रूपमा जनताले विद्रोह गर्नेछन् । युवामा जागेको तीव्र रूपान्तरणको आशा व्यवहारमा रूपान्तरण भएन भने त्यसले ल्याउने आक्रोश धान्न रास्वपालाई त्यति सजिलो हुने छैन । ‘मास फ्रस्टेसन’ ले ल्याउन सक्ने अर्को आँधीबेहरीलाई रोक्न अग्रगामी, प्रगतिशील र रूपान्तरणकारी योजना सरकारसँग हुनुपर्छ । तर, विचार र व्यवहारबीचको अन्तरविरोधले अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय र आधारभूत लोकतान्त्रिक अधिकारकै लागि पुनः संघर्ष गर्नुपर्ने सम्भावनातिर देश गइरहेको छ ।

जेबी सामाजिक–राजनीतिक अध्येता विश्वकर्मा कान्तिपुरका स्तम्भकार हुन् ।

Link copied successfully