‘तीन तिकडमबाज’ को कलाविहीन नाटकले नेपाली जनताको उल्लेख्य हिस्सा वाक्कदिक्क भइसकेको थियो । तीमध्ये शर्मा ओली सबभन्दा ठूलो खलपात्र किन पनि देखिन्थे भने, दुई दशक अगाडिको तौलेर बोल्ने राजनीतिकर्मीबाट उनी मनपरी बोल्ने र मनलागी गर्ने नृजातीय मुख्तियारमा रूपान्तरित भइसकेका थिए ।
What you should know
सेप्टेम्बर ८ र ९, २०२५ को हरितपीत विद्रोह र विध्वंसको लहर चढेर झन्डै दुईतिहाइ बहुमतसहित सत्तामा पुगेको रास्वपाको तीनदिने पहिलो महाधिवेशनमा देखिएको तडकभडक, तामझाम र जयजयकारमा नयाँ केही छैन । खासमा यो नेपाली सत्ता राजनीतिको पुरानो नाटक हो, जसले केवल नयाँ मञ्च र नयाँ पात्रहरू फेला पारेको छ । ससुरालीको वंश विनाश, गोत्रहत्या वा दाजुभाइलाई देशनिकाला गरेर ‘नयाँ राजा’ बन्न सफल भएकाहरूको दरबारमा सबैभन्दा पहिले पुगेर ‘महाराजको जय होस्’ भन्दै उदाउँदो घामलाई ढोग्ने र बलेको आगो ताप्ने प्रवृत्ति शाह–राणा शासनकालदेखि नै नेपालको एक ‘महान् र गौरवशाली’ परम्परा बनेर पुस्तौंदेखि निरन्तर चलिआएको छ ।
सन् १९९० मा ‘चैते कांग्रेसी’ भनिनेहरूको बोझ थाम्न नसकेर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता प्रजातान्त्रिक संघर्षका महारथीहरूलाई समेत केही कालका लागि थचारिनुपरेको थियो । आधा शताब्दीभन्दा बढी राणा र शाहहरूमध्ये कुनै शासकले झुकाउन नसकेको ‘लौहपुरुष’ सिंहलाई आफ्नै दलको आन्तरिक कलहले जीवनको उत्तरार्द्धमा ‘लौहभष्म’ बनाएर विष्णुमती खोलामा सेलाएको यथार्थ नेपाली कांग्रेसको इतिहासमा अभिशप्त घाउ बनेर दर्ज छ । तत्कालीन एमालेमा ‘मण्डलेहरू’ हाबी भएपछि माओवादीको अवतारमा ‘मशालेहरू’ को भाग्य चम्केको थियो । राजा ज्ञानेन्द्रले तन्त्र र मन्त्रद्वारा राजा महेन्द्रको राजनीतिक प्रेत ब्युँताउन खोज्दा सन् २००८ पछि शाह शासनलाई नै नेपाली मतदाताले इतिहासको पानामा थन्क्याइदिए । त्यसपछि उत्पन्न माओवादीहरूको विजयोन्माद दुई वर्ष पनि टिक्न सकेन ।
इतिहासबाट सिक्नु त परको कुरा, आफ्नै अनुभवलाई समेत नपत्याएका सुशील कोइरालाले आफ्नो दलको निर्वाचन चिह्न रुखलाई तराई–मधेश क्षेत्रबाट जरैदेखि काटेर, त्यसैको काठबाट एमालेका खड्गप्रसाद शर्मा ओलीको सत्तारोहणका लागि एउटा बलियो ‘नृजातीय सिंहासन’ बनाइदिएका थिए । सन् २०१५ को तेस्रो मधेश विद्रोहको निर्मम दमन र नाकाकस्सीको असफलतापछि खस–आर्यको सामुदायिक मुख्तियार बनेर उदाएका तिनै शर्मा ओलीको सम्भाव्य राजनीतिक अस्ताचलले नेपालको सत्ता राजनीतिको स्थापित मान्यतालाई फेरि एक पटक पुनर्पुष्टि गर्छ– सत्ता कसैको पनि सधैंका लागि रहँदैन । जुनसुकै तरिकाले सिंहासनमा बस्न पुग्ने अधिशासकले कम्तीमा दुइटा काम तत्कालै सुरु गर्नुपर्छ– संरचनाहरूको संस्थाकरण र योग्य उत्तराधिकारीको चयन, प्रशिक्षण, परीक्षण र सामाजिकीकरण । त्यसो किन पनि जरुरी हो भने सिंहासनमा उक्लिँदा घडी–पला हेरेर बटुकहरूको स्वस्तिवाचनका बीच चाटुकारहरूले जयजयकार गर्छन् तर सिंहासनबाट ओर्लिने बेला जस्तोसुकै अधिशासक पनि अन्ततः एक्लै रहन्छ । बलियो संस्था र सक्षम उत्तराधिकारी छ भने विरासत जीवन्त रहन्छ, होइन भने जीवनभरको योगदान मेटिन धेरै समय लाग्दैन । सुगौली सन्धिको प्रामाणिक प्रति खोज्नेहरू समसामयिक इतिहासप्रति निरपेक्ष रहनु अस्वाभाविक होइन तर सत्ता र शासनको प्रवृत्ति ठम्याउन भने निकट अतीतका घटनाहरूलाई सम्झिराख्नुपर्ने रहेछ ।
हार्वर्ड विश्वविद्यालयका इतिहासका प्राध्यापक डेभिड आर्मिटेज इतिहास पठनको महत्त्वबारे बडो मार्मिक व्याख्या गर्छन् । इतिहास केवल शासकको भजन–कीर्तन होइन, जस्तो कि बेलायती राजनीतिज्ञ माइकल गोभले एउटै ‘राष्ट्रिय अतीत’ को नक्कली मिथक निर्माण गर्न खोजेका थिए । न त यो फगत ‘मनोरञ्जन’ को साधन मात्र हो, जसलाई मानिसहरूले फुर्सदमा स्वादका लागि रमाइलो मानेर पढून् । वास्तवमा इतिहास त अल्पकालीन र संकुचित दृष्टिकोणहरूमाथि प्रश्न उठाउने, घटनाका कारण र परिणामका सरल कथाहरूलाई जटिल र बहुआयामिक बनाइदिने र विगतमा ‘हिँड्न छुटेका बाटाहरू’ को खोजी गर्ने एउटा आलोचनात्मक विज्ञान हो । इतिहासले स्थापित भाष्य वा सम्झौताहरूलाई उल्ट्याइदिन सक्छ, संकुचित दृष्टिकोणको दिगन्तलाई फराकिलो बनाउन सक्छ र इतिहासकार साइमन शामाको शब्दमा भन्दा– ‘शासक वा शक्तिशालीहरूलाई रातभर अनिँदो राख्न सक्छ ।’ इतिहासको यही प्रतिरोधी चेतभित्र नै अतीतको सार्वजनिक भविष्य सुरक्षित रहन्छ ।
सुकेको रुख
जुनसुकै तरिकाले सिंहासनमा बस्न पुग्ने अधिशासकले कम्तीमा दुइटा काम तत्कालै सुरु गर्नुपर्छ– संरचनाहरूको संस्थाकरण र योग्य उत्तराधिकारीको चयन, प्रशिक्षण, परीक्षण र सामाजिकीकरण ।कतिपय आन्तरिक र बाह्य उतार–चढावका बाबजुद कम्तीमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको सन् १९५० को एकीकरणदेखि नै नेपाली कांग्रेस प्रजातान्त्रिक संघर्ष र संस्थाकरणको पर्याय रहँदै आएको थियो । सन् १९९० मा बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि आफ्नो राजनीतिक अभीष्ट सत्ता मात्र रहेको निष्कर्षमा पुगेको कांग्रेसको नैतिक स्खलन पनि त्यही विन्दुबाट सुरु भयो । निरन्तर परिवर्तनको साटो यथास्थितिको निरन्तरताका लागि सानोतिनो विचलन सहर्ष अंगीकार गर्ने व्यावहारिक राजनीतिकर्मीका रूपमा शेरबहादुर देउवाको उदयलाई सन् १९९१ पछिको महत्त्वपूर्ण राजनीतिक परिघटना मानिनुपर्छ । उनले एमालेको मानमर्दन गरेर त्यस सुधारवादी कम्युनिस्ट दलका कट्टर स्टालिनवादीहरूलाई माओवादीहरूसँग निकट हुन् र अन्ततः तिनकै अँगालोमा पुग्न बाध्य बनाइदिएका थिए ।
१ जुन २००१ को नारायणहिटी राजदरबार हत्याकाण्डपछि केही कालसम्म नेपालको इतिहास उत्तेजक रसायन ‘स्टेरोइड’ सेवन गरेर बेतोडले कुदेको लोमहर्षक दृश्यजस्तो लाग्न सक्छ । त्यसै वर्ष जुलाईमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिन्छन् र शेरबहादुर देउवा दोस्रो पटक प्रधानमन्त्री बन्छन् । सन् १९९७ मा निर्वाचित स्थानीय निकायका पदाधिकारीको पाँचवर्षे कार्यकाल जुलाई २००२ मा सकिँदै थियो । देउवाको सरकारले कानुनअनुसार एक वर्ष म्याद थप्न सक्ने विकल्प हुँदाहुँदै गाउँ र जिल्ला तहका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त हुन दिएर माओवादीहरूका लागि राजनीतिक मैदान खाली गरिदिन्छन् ।
माओवादीहरूले युद्धविराम तोड्दै नोभेम्बर २००१ मा दाङको घोराहीस्थित शाही नेपाली सेनाको ब्यारेकसहित विभिन्न सुरक्षा निकायमाथि समन्वित आक्रमण गर्छन् । परिचालित हुनका लागि कुनै कानुनी वा व्यावहारिक व्यवधान हुनु नपर्ने शाही सेनाको सर्त स्वीकार गरेर देउवा मन्त्रिमण्डलले देशव्यापी संकटकाल घोषणा गर्ने निर्णय गर्छ । संकटकाल लम्ब्याउने विषयमा पार्टीमा विवाद उत्पन्न भएपछि देउवाले प्रतिनिधिसभा विघटन गराउँछन्, पार्टी फुटाउँछन् र चरणबद्ध सत्तापलटमार्फत राजा ज्ञानेन्द्रको शाही–सैनिक शासनको सुरुवात हुन्छ । राजा ज्ञानेन्द्रको क्रमिक सत्ता–कब्जा देउवालाई ‘अक्षम’ घोषणा गर्दै उनको ४ अक्टोबर २००२ मा गरिएको खोसुवाबाट सुरु भएर १ फेब्रुअरी २००५ मा प्रत्यक्ष राजकीय शासनमा टुंगिएर उत्कर्षमा पुग्छ ।
घना जंगलमा बाटो बिराएपछि प्रस्थानविन्दुमा फर्केर मात्र अगाडिको यात्रा तय गर्नु उपयुक्त हुन्छ भन्ने मान्यतामा अडिग रहेका कांग्रेस सभापति कोइराला आफ्नै दलका कतिपय वरिष्ठ पार्टी सहकर्मीहरूको असहमति र हिचकिचाहटका बाबजुद संसद् पुनःस्थापनाबेगर प्रजातान्त्रिक प्रक्रिया अगाडि बढ्न नसक्ने अडानबाट पछि हट्न तयार थिएनन् । सन् २००५ मा प्रत्यक्ष शाही–सैनिक शासन सुरु भएपछि त केही समयका लागि टेलिफोनसमेत बन्द भयो, सम्पादन कक्षहरूमा सेनाका ‘सुपर एडिटर’ खटाइए र अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश नै लगाइयो । संकटकालले एक्लाइएका माओवादीहरूले शाही–सैनिक सत्ताका आलोचकहरूलाई मित्रशक्ति नै नभए पनि ‘क्षम्य बुर्जुवा’ ठहर्याउन सुरु गरेका थिए । सत्ताले एक हदसम्म पाच्य आलोचनालाई बेवास्ता गर्ने गर्थ्यो । यही कालखण्डमा हो, सार्वजनिक मञ्चहरूमा यस पंक्तिकारको प्रस्तुतिको सार हुने गर्थ्यो– संसद् पुनःस्थापना जति ढिलो हुन्छ, संविधानसभा निर्वाचनको सम्भावना त्यति नै बलियो हुँदै जान्छ । त्यसै सिलसिलामा तत्कालीन एमाले दलमा केही ओझेलमा रहेका उपल्लो तहका राजनीतिकर्मी शर्मा ओलीसँग नेपाल टेलिभिजनको एउटा छलफल कार्यक्रममा बहस गर्ने अवसर प्राप्त भएको थियो ।
शर्मा ओलीको स्मरणशक्ति अझै पनि हात्तीको जस्तो (एलिफेन्टाइन मेमोरी) छ भन्ने गरिन्छ । सायद उनलाई तिथिमिति र वार्तालापको विवरण पनि सम्झना होला । पंक्तिकारलाई भने नेपाल टेलिभिजनको स्टुडियोबाट निस्किएपछि अनुभव गरेको उनको शालीन व्यवहार र अनौठो राजनीतिक मान्यताबीचको विरोधाभास मात्र याद छ । वार्तामा सहभागी पाहुनाहरूलाई नेपाल टेलिभिजनले टिप्ने र पुर्याउने यातायात सुविधा उपलब्ध गराउने गर्थ्यो । शर्मा ओलीसँग सायद आफ्नै यातायातको साधन थियो । नेपाल टेलिभिजनको मोटर कसैलाई पुर्याउन गएकाले पंक्तिकारसँग भने प्रांगणमा कुर्नुको विकल्प थिएन । शर्मा ओली सर्रर आफ्नो बाटो लाग्न सक्थे तर उनी पनि एकछिन पटांगिनीमा उभिए । नेपाल टेलिभिजनको गाडी आउन अलि ढिलो भएपछि मात्रै उनी हात मिलाएर हिँडेको सम्झना छ । उभिई–उभिई गफिने सिलसिलामा उनले एउटा अचम्मको कुरा गरे– ‘तपाईंले अघि टेलिभिजनको पर्दामा भनेका सबै कुरा मैले काटें । यथार्थमा तपाईंसँग म पुरापुर सहमत छु । तर तपाईं टिप्पणीकार हो, वर्तमानका लागि बोल्नुहुन्छ । म राजनीति गर्छु । म त इतिहासका लागि बोल्ने हो । भोलि शासन सत्ता सम्हाल्ने हो । त्यसैले मैले तौलेर बोल्नुपर्छ ।’ झन्डै चौथाइ शताब्दी अगाडिको घटना भएकाले सम्झिएको वार्तालापमा भाषान्तर भएको हुन सक्छ तर निर्विकार भावले सौम्य स्वरमा गरिएको प्रतिबद्धता बिर्सिन भने कठिन छ ।
सायद त्यसपछि नै पंक्तिकारले शर्मा ओलीका हरेक राजनीतिक कदमलाई सावधानीपूर्वक हेर्न थालेको हुनुपर्छ । आफ्नो कर्म इमानदारीका साथ गर्दै जाँदा इतिहास बन्ने बेग्लै कुरा हो तर ‘इतिहास बनाउँछु’ वा ‘इतिहासलाई देखाउँछु’ जस्ता महत्त्वाकांक्षा राख्ने राजनीतिकर्मीहरू प्रायशः मूल्य, मान्यता वा संस्थागत बन्धनहरूलाई मान्दैनन् र व्यक्तिगत शिष्टता तिनको राजनीतिक व्यवहारमा प्रतिविम्बित हुँदैन । देउवा व्यवहारवादी हुनका लागि सिद्धान्त र निष्ठाको परित्याग गरेका थिए भने शर्मा ओली आफ्ना सिद्धान्त र निष्ठाको प्रयोगमार्फत व्यावहारिक उपलब्धि– शासक बनेर इतिहास बनाउने लक्ष्यप्रति पूर्णतः समर्पित थिए । त्यसले उनलाई सन् २००६ देखिका प्रधानमन्त्रीहरूमध्ये गिरिजापछिका सबभन्दा शक्तिशाली प्रधानमन्त्री त बनायो तर उनले आफ्नै जीवनकालमा आफ्नो विरासत जोगाउन नसकेको मात्र नभएर आफ्नै इतिहाससमेत स्वयंले नै मेटाउने अवस्थामा पुगेका छन् ।
तीक्ष्ण व्यंग्य, विलक्षण बुद्धिचातुर्य र सूक्तिपूर्ण अभिव्यक्तिका लागि प्रसिद्ध साहित्यकार ओस्कर वाइल्डको एउटा उक्ति छ– ‘जीवनका दुई वटा ठूला दुःख छन् । पहिलो, आफूले चाहेको कुरा नपाउनु । दोस्रो, आफूले चाहेको कुरा पाउनु ।’ चाहेपछि पाइएका शर्मा ओलीका ‘दुःखहरूको सिलसिला’ सायद मार्च २०१८ बाट सुरु भयो, जब उनी २७५ सदस्यीय प्रतिनिधिसभामा मतदानमा सहभागी २६८ मध्ये २०८ मत प्राप्त गरी दुईतिहाइ मात्र नभएर झन्डै तीन–चौथाइ सांसदले पत्याएका शक्तिशाली प्रधानमन्त्री भए । एमालेमा माओवादीहरूको विलयपछि अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टीमा पुष्पकमल दाहाललाई पत्रपर्ण (लेटरहेड) अध्यक्षमा सीमित गरेर उनले वैकल्पिक कम्युनिस्ट नेतृत्वलाई सुस्तरी स्वीकार्य बनाउने प्रक्रियालाई अवरुद्ध गरिदिए । त्यसपछि सायद उनले बिर्सिए– अत्यधिक जिम्मेवारी असीमित शक्तिसँग जोडिएर आउँछ । उनको ‘गैंडा भनेको राइनो होइन’, ‘सगरमाथालाई एभरेस्ट भनिनु हुन्न’ तथा ‘किलोमिटरको हिसाबले भगवान् राम ठोरीमै जन्मेका हुनुपर्दछ’ जस्ता हल्का अभिव्यक्तिहरू फगत हास्यास्पद लाग्थे । दुई–दुई पटक संसद् विघटन गर्न लगाउनु राजनीतिक अपरिपक्वता र शपथग्रहण समारोहमा ‘त्यो पर्दैन’ भन्दै सम्मानित राष्ट्रपतिको खिल्ली उडाउनु अशोभनीय व्यवहार थियो । ‘भारतीय भाइरस’ र मित्र राष्ट्रको प्रतीक चिह्नको अपमान गर्नु गैरकूटनीतिक मात्र नभएर कटुतापूर्ण अभिव्यक्ति थियो । उनको ‘नक्सा राष्ट्रवाद’ ले नेपाल–भारत सम्बन्धलाई लामो कालसम्म पिरोलिरहने निश्चित छ । तर, उनको सबभन्दा ठूलो राजनीतिक गल्ती सायद आफ्नै दल र प्रतिपक्षसमेतलाई कमजोर तुल्याएर एकमना शासनको सुरुवात गर्नु थियो ।
उनको दल फुटेर संगठन छिन्नभिन्न भयो । आफ्नै दलका राजनीतिकर्मीहरू स्वार्थबेगर एक पाइला चाल्न नसक्ने भए । कोभिड महाव्याधिदेखि सुरु भएको संस्थागत भ्रष्टाचारको जालो झन्–झन् कसिलो बन्दै गइरहेको थियो । सन् २०२२ को आमनिर्वाचनपछि राष्ट्रिय राजनीतिमा मञ्चन हुन थालेको ‘तीन तिकडमबाजहरू’ को कलाविहीन नाटकले नेपाली जनताको उल्लेख्य हिस्सा वाक्कदिक्क भइसकेको थियो । तीमध्ये शर्मा ओली सबभन्दा ठूलो खलपात्र किन पनि देखिन्थे भने, दुई दशक अगाडिको तौलेर बोल्ने राजनीतिकर्मीबाट उनी मनपरी बोल्ने र मनलागी गर्ने नृजातीय मुख्तियारमा रूपान्तरित भइसकेका थिए । कांग्रेसलाई सहयोगी भूमिकामा सीमित गर्न सफल भएपछि उनको खुट्टा भुइँमा रहेन । त्यसपछि सहरिया मध्यमवर्गीय परिवारहरूमा ‘कंसबाट मुक्त गराउने कृष्णको प्रतीक्षा’ जस्तो तीतो वितृष्णा फैलिन थालेको कुरा चाकडीदारहरूबाट घेरिएका मुख्तियारलाई सुनाउन सक्ने आँट भएको उनको दलभित्र कोही देखिएन । उनका भूल, गल्ती र राजनीतिक अपराधहरूको फेहरिस्त लामै होला तर ‘अहम् ब्रह्मास्मी’ पछि ‘तत् त्वम् असि’ भन्ने वाक्यको मर्म बुझेर वैकल्पिक नेतृत्व विकसित गर्नुको साटो ‘मपछि प्रलय’ को धारणामा उनी अन्तिम समयसम्म अडिग रहे । अन्ततः ९ सेप्टेम्बर २०२५ मा नेपाली सेनाले ‘सुरक्षा’ का नाममा उनलाई राजीनामा गराएर हेलिकोप्टरबाट उद्धार गर्दै प्रकारान्तरले बन्दी बनाउनुपर्ने अवस्था कसरी आयो होला भनेर सोध्ने हिम्मतसमेत आज उनको राजनीतिक चाकडीबाजहरूको जमातमा कसैले गर्न सकेको देखिँदैन ।
अस्ताचल सूर्य
पूर्वी पहाडको सामान्य परिवारबाट झापा हुँदै सत्ताको शीर्षसम्म पुग्न सफल राजनीतिकर्मी शर्मा ओलीको सम्भाव्य राजनीतिक बहिर्गमनमा सामान्यजन त के, उनकै पार्टीका समर्थकहरूले समेत दुःखमनाउ गर्नुपर्ने कुनै कारण छैन । उनले ‘माका फुइँ’ र ‘झरेको आँप’ भन्दै खिल्ली उडाएका समुदायहरूमा खुसियालीसमेत देखिन सक्छ । डडेलधुरा र कञ्चनपुर हुँदै तीन दशकभन्दा बढी समयसम्म राष्ट्रिय सत्तावृत्तको प्रमुख पात्र रहेका देउवाका व्यक्तिगत एवं सार्वजनिक जीवनका उपलब्धिहरूको लेखाजोखा पनि कम प्रभावशाली छैन । तर, ती दुई राजनीतिकर्मी मिलेर ध्वस्त पारेका राजनीतिक संरचना र छिन्नभिन्न बनाएका दलहरूले भने तिनका विरासतलाई कलंकित गरिरहने सम्भावना प्रबल छ ।
सुकेको रुख एउटा रूपक हो । सुशील कोइरालाले काटेको रुखमा पात पलाउनुअगावै आफन्तवाद, स्वार्थवाद र अवसरवादको विष हालेर सुकाउने काम गरेका देउवाले कुनै बेला शक्तिशाली रहेको दललाई जीवन शक्ति, नवीनता वा जनसमर्थन गुमाइसकेको राजनीतिक धारमा झारिदिएका छन् । कतिसम्म भने, नेका विभाजित हुन्छ वा सग्लै रहन्छ भन्ने कुरामा समेत सामान्यजनको खासै रुचि छैन । एमालेको हालत त्यसभन्दा पनि खराब छ । आफ्नो प्रभाव, शक्ति र लोकप्रियताको अन्त्यतिर पुगेको नेतृत्व पंक्ति, पतनोन्मुख संगठन, निरीह राजनीतिक शक्ति, एक युगको समाप्तितिर लागेको समर्थन–आधार र अस्ताउँदै गएको विचारधाराका लागि ‘अस्ताचल सूर्य’ भन्दा उपयुक्त बिम्ब अरू केही हुन सक्दैन ।
यसलाई ‘सुनौलो उदासी’ किन भनिनुपर्छ भने– बूढो र खोक्रो रुख सुक्नु थियो, सुक्यो । भोलि फेरि त्यसकै बीजबाट अर्को बिरुवा हुर्किनेछ । थकित र क्लान्त सूर्य अस्तायो, केही छैन– भोलि बिहान उदाउने सूर्य त्यही रहे पनि नयाँ ऊर्जा लिएर आउनेछ । चिन्ता के मात्र हो भने, देशको वर्तमान व्यवस्था इतिहासको साटो ‘अल्गोरिदम’ पढ्नेहरूको हातमा छ । तिनले पनि सक्षम विकल्पको महत्त्व ठम्याउन सकेको देखिँदैन । सायद जंगलमा जहाँबाट बाटो बिराएको हो– २८ मे २०१२, जुन बेला पहिलो संविधानसभाको अवसान भएको थियो– त्यहीँ फर्केर भविष्यका लागि नयाँ गोरेटो कोर्ने जिम्मेवारी ‘जेन अल्फा’ भनिने र अन्तर्जालको आकर्षणबाट सुस्तरी विरक्त हुँदै जाने ‘जागरुक पुस्ता’ ले निर्वाह गर्नेछ ।
