अरू खराब भएर रास्वपा राम्रो हुने होइन  

रास्वापले आफूलाई ‘देश विकास गर्ने पार्टी’ भन्दै आएको छ । तर, त्यो ‘देश विकास’ के हो ? देशको विकास कसका लागि गर्ने ? अनि विगतझैं  विकासको लाभ सबैभन्दा पहिले कसले पाउने ?

असार ९, २०८३

रामजी राम

The RSVP will not be better just because others are bad.

What you should know

देश रास्वपामय भएको छ । रास्वपाले आज जे मत पाएको छ, त्यो पाउनु त्यस पार्टीका नेताहरूले गरेको राम्रो कामको मात्रै फल होइन । वर्षौंदेखि सत्ता र सत्ता वरपर मात्रै रहेका ठूला दलहरूको चिन्तन, भाषण र शासनको कार्यशैली नमिलेकै कारण मत रास्वपातिर सोहोरिएको हो । एकातिर पुराना दल अकर्मण्य थिए, पुराना दलका पुरानै अनुहार थिए । अर्कोतिर रास्वपाको नयाँ शैली थियो, नयाँ उम्मेदवार थिए । यही यथार्थबीच मतदाता नयाँतिर तानिए ।

रास्वपाले जुन मत पाएको छ, त्यो कुनै बेला बहुदलीय व्यवस्थामा कांग्रेससँग, कुनै बेला एमालेसँग, कुनै बेला माओवादीसँग थियो । उनीहरूले केही पनि गरेनन् भन्ने होइन तर समय र आवश्यकताको मागअनुरूप परिणामचाहिँ दिन सकेनन् ।  दलीय व्यवस्थामा दलहरू बदलिए पनि दलमा नेतृत्व गर्ने समूह कहिल्यै बदलिएन । र, नेतृत्वमा को थियो ? त्यो बुझ्न हामीले समाजको सफ्टवेयर बुझ्नुपर्छ । त्यो हो, धर्मको सफ्टवेयर । जसले धार्मिक व्यवस्था बनाए, शासन प्रणाली र नीतिहरू बनाए, तिनैले नीति–निर्माता पनि बनाए । त्यसैको उपज हो, समाजमा विद्यमान जात व्यवस्था । उनीहरूले जात व्यवस्था कमजोर नहुने शैली बनाए । अनि को सम्मानित हुने र को अपमानित ? भन्ने सामाजिक व्यवस्थालाई बलियो बनाए । यसको मार अहिले पनि दलित, महिला र यौनिक अल्पसंख्यकले भोगिरहेकै छन् ।

 नयाँ र वैकल्पिक भनिने दलले पुराना नेताप्रति पोखेको द्वेषबाट ‘अरू खराब छन्, त्यसैले हामी राम्रा’ भन्ने सामाजिक भाष्य निर्माण भएको छ । कांग्रेस हेर्नुस् कि माओवादी वा एमाले– सबैभित्र जात व्यवस्थाको सोपान छ । उनीहरूले जात व्यवस्थाकै शासन बलियो बनाए, जसबाट समाजको एउटा तप्काले सधैं हेपिएको र दमनको महसुस गर्‍यो । पुराना दलका नेताले गरेका वाचा, व्यवहार र दिएका परिणाम (देशमा बेरोजगारी, विभेद, नेपो बेबी, नातावाद–कृपावादको चरम अवस्था, भ्रष्टाचार काण्ड, अख्तियार दुरुपयोग) को उनीहरूले भेउ पाए अनि असन्तुष्टि झाँगियो । आक्रोश बढ्दै गयो । यस्तो आक्रोश सामाजिक सञ्जालमा पनि फैलियो । क्रमश: यही कुरा जेन–जी विद्रोहमा पनि मिसिएर प्रकट भयो । यही पृष्ठभूमिमा नयाँ दल रास्वपा उदायो । अहिले नयाँ र वैकल्पिक भन्ने दलहरूले पुराना नेताप्रति पोखेको द्वेषले ‘अरू खराब छन्, त्यसैले हामी अहिलेका राम्रा’ भन्ने सामाजिक भाष्य निर्माण भएको छ ।

विवेकशील नेपाली दलका संस्थापक नेता उज्ज्वल थापाले वैकल्पिक राजनीतिको बाटो कोरेका थिए । उनीसँग केही विषयमा प्रस्ट विचार थियो– राजनीति किन गर्ने ? गर्दा कसरी गर्ने ? के परिणाम ल्याउन गर्ने ? उनीसँग केही राजनीतिक मूल्य थियो । त्यो थियो– जे गरेर पनि नजित्ने ? इमान्दार र स्वस्थ प्रतिस्पर्धा गरेरै जित्ने । आफ्नै व्यवहारले नै राम्रो हुने, अरूले गरेका राम्रा कुराप्रति कृतज्ञ हुने । उनी लोकतन्त्रका निमित्त ज्यान गुमाएका प्रति कृतज्ञ थिए । तर, के अहिलेका वैकल्पिक भनिएका दलमा थापाले देखाएको राजनीतिक मूल्यको ज्ञान छ ?

मधेश जहिल्यै विभेदमा पर्दा उनले मधेशप्रति पहाडका साथीले देख्ने दयाको दृष्टि अर्थात् ‘सहानुभूति’ चिर्दै मानवीय समवेदना र आफ्नोपन अनुभूति गराउने नयाँ शब्द थपे– ‘समानुभूति’ । अब सहानुभूति होइन, समानुभूति चाहियो । आजका वालेन्द्र शाह र रवि लामिछाने त्यही आन्दोलनका प्रभाव हुन् । 

रास्वपा महाधिवेशनले दिएको एउटा सन्देश हो– गाउँघरमा मानिस दलदलमा विभाजित हुने होइन, साझा उद्देश्यका लागि एकै ठाउँमा जम्मा हुने हो, एकअर्काको सहयात्री बन्ने हो । देशमा जति दल छन्, ती सबै देश बनाउनै खुलेका हुन् । उनीहरूको असन्तुष्टि हेर्ने हो भने थाहा लाग्छ– कहीँ न कहीँ उनीहरू तीन कुरामा फरक भेटिन्छन् । ती तीन कुरा जान्न प्रख्यात उद्यमी र अमेरिकन लेखक साइमेन सिनेकको ‘गोल्डेन सर्कल’ अवधारणा बुझ्नुपर्छ । त्यसमा तीन घेरा छन्, जसमा भित्रबाट बाहिर जाँदा पहिलो घेराभित्र छ– ह्वाई ? दोस्रोमा छ– हाउ ? र, तेस्रोमा छ– ह्वाट ? पहिलो घेराको मुख्य आशय हो, के–का लागि राजनीति गर्ने ? र, त्यसमा क्लियर हुने । दोस्रो घेराको आशय छ– जेका लागि गर्छौ, त्यो प्राप्तिका माग र रणनीति के हुन् ? के गरे त्यो प्राप्ति हुन्छ र त्यसका लागि कति मूल्य चुकाउनुपर्छ ? कसले के–के गुमाउनुपर्छ ? कति समय लाग्छ ? तेस्रो घेराको आशय हो– के भएमा स्तुति हुने ? स्तुतिको चेकलिस्ट के हो ? को–को सन्तुष्ट हुने ? सफलताको इन्डिकेटर के हुने ? यी परिणाम पूरा गर्ने क्रममा के–के गर्दैनौं ? न्यूनतम आाचारसंहिता के हुने ?

पहिलो, दोस्रो र तेस्रो कुरा रास्वपाका नेताहरूको भाषणमा, व्यवहारमा र चिन्तनमा देखा पर्छ कि पर्दैन ? यति कुरामा स्पष्टता चाहिन्छ । हाम्रो देशमा नीतिहरूमा आधारित नेता होइन, नेतामा आधारित नीति र कार्यक्रम हाबी छ । देशको तथ्यांकले जुन–जुन इन्डिकेटरमा काम गर्न र पैसा खन्याउन भन्छ, त्यसमा त्यो कामै नगरी आफू जसरी ‘पपुलर’ भइन्छ, त्यसैमा पैसा खन्याउने अवस्था निर्माण गरिन्छ । 

नयाँ भनिएका नेताको बोलीमा विश्वास खोज्ने अभ्यास गरिएन भने रास्वपा पनि त्यही बाटोमा पुग्नेछ, जुन बाटोमा पुराना दल समय क्रममा पुगे । रास्वपाले दलितसँग माफी त मागेको छ तर त्यो व्यवहारमा कसरी देखिएला ? त्यो रास्वपाले व्यवहारमा लागू गर्ला ? रास्वपाको जारी महाधिवेशनले यो विषयको छनक कसरी दिन्छ ? हेर्नै बाँकी छ । किनकि रास्वपाले दलितका लागि जे बोल्दै आएको छ, त्यो कुरा तिनका दलीय र सांगठनिक व्यवहारमा मेल खाँदैन ।  

अहिले पनि उही प्रश्न छ । राज्य चलाउनेहरू को छन् ? व्यापार गर्ने को छन् ? अनि कानुन निर्माण गर्ने ठाउँमा को छन् ? राज्यका शक्ति र स्रोतको शैली फेरिएको छैन । सांसदको समानुपातिक सूचीको जुन कानुनी मर्म हो, के त्यसको पालना भएको छ ? अनि सत्तामा रहेको रास्वपासँग यसको जवाफ छ ?

विगतमा दलित समुदायका व्यक्ति मन्त्री नभएका होइनन् । राज्यको केन्द्रमा नपुगेका पनि होइनन् । तर, उनीहरू नाम मात्रैका थिए । उनीहरूको प्रतिनिधित्व नाम मात्रैको थियो । स्थानीय तहमा पनि करिब–करिब यस्तै अवस्था छ । अहिले रास्वपा संगठन निर्माणका क्रममा छ । विगतमा भएको यही गल्ती रास्वपामा पनि दोहोरिने त होइन ? यही चिन्ता छ । किनकि रास्वपाले पनि समानुपातिक–समावेशिताको अभ्यास पार्टीभित्र लागू हुने व्यवस्था गर्न खोजेको देखिएन ।

के दलित र समावेशीकरणको मुद्दामा रास्वपा विगतका दलभन्दा फरक छ ? के ऊ आफ्ना वाचाप्रति इमान्दार छ ? दलितलाई मात्रै नभई यौनिक अल्पसंख्यक, मुस्लिम महिलासमेतको नेतृत्व स्विकारोक्तिमा रास्वपाले सद्भावपूर्ण व्यवहार देखाएको छ ? यो प्रश्नको उत्तर खोज्नैपर्ने भएको छ ।

रास्वापले बुझाउन सक्नुपर्छ– ऊ राइटिस्ट दल हो कि लेफ्टिस्ट वा सेन्टरिस्ट ? उसले आफूलाई देश विकास गर्ने पार्टी भन्दै आएको छ । तर, उसले भनेको ‘देश विकास’ के हो ? देशको विकास कसका लागि गर्ने ? अनि विगतमा जस्तै त्यो विकासको लाभ सबैभन्दा पहिले कसले पाउने ? रास्वपाले विकास गर्छु त भनेको छ तर उसले के कुराको विकास गर्ने ? उसको विकासको प्राथमिकता के ? उसले यस्ता प्रश्नको जवाफ दिनैपर्छ । ताकि के थाहा होस्, रास्वपाले गर्ने विकासको लाभ सीमान्तकृत र अल्पसंख्यक समुदायले कसरी पाउँछ ? कहिले पाउँछ ?

रास्वपाले विकास हार्डवेयरले गर्ने हो कि सफ्टवेयरले ? त्यो भनेको छैन । विकास पूर्वाधारले गर्छ कि सामाजिक चेतनाको जागृतिले ? त्यो पनि स्पष्ट पारेको छैन । यो देशमा ठूलो जनसंख्या अहिले पनि जात व्यवस्थाकै कारण मानव हुन पाएको छैन । छुवाछूतको डर बोकेर बाँचिरहेको छ । के यस्तो सामाजिक अभ्यासले हाम्रो समाजको शिर दुनियाँसामु नुहेको छैन ?

‘आफैंले मात्रै देश बनाउँछु’ वा ‘रास्वपाले मात्रै देश बनाउँछ’ भन्ने धारणा रास्वपाले नबेच्नु । अरूको पनि अस्तित्व स्विकार्नु ताकि देश विकासमा सबैले अपनत्व महसुस गरून् ।

रामजी चिकित्सक

Link copied successfully