ऋणको चक्रव्यूहबाट जोगिने उपाय 

नागरिकको अपेक्षा हुने गर्छ– सरकारी बजेटको ठूलो हिस्सा विकास निर्माणका काममा खर्च होस्, त्यसबाट लाभ लिन पाइयोस् । नेपालमा भने ठीक उल्टो अवस्था छ र विरासतकै रूपमा स्थापित छ ।

असार ७, २०८३

सम्पादकीय

Ways to avoid the debt trap

What you should know

नागरिकको अपेक्षा हुने गर्छ– सरकारी बजेटको ठूलो हिस्सा विकास निर्माणका काममा खर्च होस्, त्यसबाट लाभ लिन पाइयोस् । नेपालमा भने ठीक उल्टो अवस्था छ र विरासतकै रूपमा स्थापित छ । १५ जेठमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटमध्ये चालु खर्च नै १२ खर्ब ७० अर्ब छ । पुँजीगत खर्च ( मुख्यतः विकास निर्माणमा हुने खर्च) का लागि केवल ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ ।

विगतदेखि नै लक्ष्यअनुसार राजस्व नउठ्ने गरेकाले नियमित र विकास खर्चका लागि पनि ऋण लिनुपर्ने बाध्यता सिर्जना हुने गरेको छ । पछिल्लो समय दैनिक कार्य सञ्चालन र सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीकै लागि पनि ऋण लिनुपर्ने चक्र निर्माण भएको छ । यसले बजेटको संरचनालाई नै असन्तुलित बनाइरहेको छ । यसर्थ, सरकारले आर्थिक वृद्धिदर र राजस्व संकलन बढाउने उपायलाई प्रभावकारी बनाउँदै ऋणको भार कम गर्दै जानुपर्छ ।

नियमित, विकास तथा वित्तीय व्यवस्थापन खर्च धान्नका लागि ऋण लिनुपर्दा सार्वजनिक ऋण उकालो लाग्दै गएको छ । केही आर्थिक वर्षको तथ्यांकलाई हेर्दा यसको ‘ट्रेन्ड’ बारे प्रस्ट हुन्छ । जस्तो कि, २०७८/७९ मा ३ खर्ब ६४ अर्ब ऋण संकलन गरिएको थियो, सोही आर्थिक वर्षमा १ खर्ब २१ अर्ब साँवाब्याज भुक्तानी गरिएको थियो । २०७९/८० मा ऋण संकलन र साँवाब्याज भुक्तानी क्रमशः ३ खर्ब ७१ अर्ब र २ खर्ब २२ अर्ब थियो । २०८०/८१ मा क्रमशः ३ खर्ब ४७ अर्ब र ३ खर्ब ५ अर्ब तथा २०८१/८२ मा क्रमशः ४ खर्ब ५९ अर्ब र ३ खर्ब ६१ अर्ब थियो । चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण संकलन र साँवाब्याज भुक्तानी अनुमानित ५ खर्ब ९५ अर्ब र ४ खर्ब ११ अर्ब छ । आगामी आर्थिक वर्षमा अनुमानित ६ खर्ब ५७ अर्ब रुपैयाँ सरकारले ऋण लिने तयारी गरेको छ भने ४ खर्ब १३ अर्ब रुपैयाँ साँवाब्याज भुक्तानीमै खर्च हुनेछ ।

सरकारले आर्थिक वृद्धिदर र राजस्व संकलन बढाउने उपायलाई प्रभावकारी बनाउँदै ऋणको भार कम गर्दै जानुपर्छ ।अहिलेकै ढाँचाको अर्थतन्त्र नियमित चलिरहने हो भने नियमित खर्च र सरकारी ऋणको साँवाब्याज बढिरहने निश्चित छ । यी दुवै सरकारको अनिवार्य दायित्वमा पर्छन् । बजेटको ठूलो हिस्सा यी दुई क्षेत्रमा विनियोजन गर्नासाथ विकास खर्च भनिने पुँजीगत खर्च घटाउनुपर्ने हुन्छ । त्यस्तो स्थितिमा उसै पनि सुस्त रहेको विकास निर्माणको काम आर्थिक स्रोतको अभावमा झनै सुस्त हुनेछ ।

उत्पादनमूलक क्षेत्र तथा पूर्वाधारका क्षेत्रमा बजेट छुट्याउन नसक्ने हो भने नागरिकले विकासको सामान्य लाभ पनि लिन सक्दैनन्, रोजगारी सिर्जना हुन सक्दैन । विकास पनि नहुने, रोजगारी पनि नहुने र आयआर्जनका सम्भावित विकल्प खुम्चिँदै जान्छन् । मुलुकको आर्थिक गतिविधि पनि सुस्ताउँदै जान्छ । सरकार ऋणले पालिने र नागरिक रोजगारका लागि विदेश जानुपर्ने अवस्था झन् स्वाभाविक बन्छ । यस्तो चक्रव्यूहबाट उम्किने उपाय नखोज्ने हो भने नागरिकमा असन्तुष्टि बढ्छ ।

हरेक सरकारले मुलुकको आर्थिक सामर्थ्य विकास गर्नुको सट्टा ऋण लिन सहज मान्दै जाँदा असहज स्थिति आएको हो । गत जेठसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यसले गर्दा ऋणको साँवाब्याज भुक्तानीको दायित्व पनि बढ्दै गएको छ । वैदेशिक ऋणको दबाब कम गर्नका लागि केही उपायहरू अपनाउन सकिन्छ । पहिलो, नियमित खर्चको दायित्व घटाउनुपर्ने हुन्छ । तर सरकार यतातिर खासै संवेदनशील पाइँदैन । दोस्रो, सरकारकै आम्दानी वृद्धिका उपाय पहिल्याउनुपर्छ ।

खासगरी राजस्व संकलनलाई प्रभावकारी बनाउनुपर्छ । राजस्व चुहावट रोकिनुपर्छ । कर्मचारीको क्षमता बढाउनुपर्छ । राजस्व संकलन केन्द्रलाई प्रविधियुक्त बनाइनुपर्छ । नेपाल–भारतबीच खुला सिमाना भएकाले राजस्व चुहावटको सम्भावना अधिक रहन्छ । त्यसैले सीमा क्षेत्रमा अनुगमन बढाउनुपर्छ । तेस्रो, मुलुकको आर्थिक सामर्थ्य बढाउन निजी क्षेत्रको लगानी अपरिहार्य छ । राज्यले पनि पूर्वाधारमा लगानी बढाउने, निजी क्षेत्र तथा वैदेशिक लगानीकर्तालाई प्रोत्साहित गर्ने, सुरक्षा प्रदान गर्ने, सुविधाहरू घोषणा गर्ने, कानुनी झमेलाहरू हटाउने काम गर्न सकिन्छ ।

कुनै पनि मुलुकका लागि ऋण स्वाभाविक विषय हो । जेठसम्मको ऋणलाई हेर्ने हो भने पनि नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.८७ प्रतिशत मात्रै हो । यसर्थ, सरकारले नियमित खर्चका लागि पनि ऋण लिने प्रवृत्ति त्याग्नुपर्छ । बरु पुँजी निर्माण हुने, रोजगारी सिर्जना हुने, उत्पादन बढाउने र व्यावसायिक सम्भावना पनि बढाउने, तुलनात्मक बढी लाभ हुने क्षेत्रका लागि ऋण लिने हो भने त्यसले मुलुकको आर्थिक सामर्थ्य बढाउन भूमिका खेल्छ ।

सरकारको लगानी गर्न सक्ने क्षमता पनि बढ्छ । त्यस्तो स्थितिमा ऋणको भार र आवश्यकता पनि घट्छ । त्यसैले ऋण लिने मात्रै होइन, केका लागि लिने भन्ने विषयमा सरकारको संवेदनशीलता अनिवार्य छ । साथसाथै, नियमित खर्च घटाउने र राजस्व संकलन पनि बढाउनुपर्नेतर्फ सरकारको रणनीतिक सफलता पनि अनिवार्य छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully