रास्वपाको अबको चुनौती अर्को चुनाव जित्नु मात्र होइन, अहिलेको विश्वासलाई संस्थागत शक्ति र दीर्घकालीन राजनीतिक संस्कृतिमा रूपान्तरण गर्नु पनि हो ।
What you should know
हरेक राजनीतिक संगठनको जन्म एक ऐतिहासिक उद्देश्यसहित हुन्छ । त्यो उद्देश्य पूरा भएपछि संगठनले आफूलाई पुनर्परिभाषित गर्न सक्नुपर्छ । नसके क्रमशः असान्दर्भिक बन्दै जान्छ । नेपाली कांग्रेसले प्रजातन्त्र स्थापना गर्ने, कम्युनिस्टले गणतन्त्र संस्थागत गर्ने र मधेशवादीले संघीयता ल्याउने आफ्नो ऐतिहासिक लक्ष्य त पूरा गरे तर त्यसपछिको नयाँ राष्ट्रिय दृष्टिकोण र प्राथमिकता तय गर्न नसक्दा ती दलहरू आज सान्दर्भिकताको संकटतर्फ उन्मुख देखिन्छन् ।
पार्टी गठन भई पहिलो महाधिवेशन नहुँदै देशको मुख्य राजनीतिक शक्ति बनेको रास्वपाको जारी पहिलो महाधिवेशनबाट आफ्नो उद्देश्य, अहिलेको सफलता र आगामी बाटोबारे उसले गहिरो विमर्श गर्नुपर्छ । रास्वपाको अबको चुनौती अर्को चुनाव जित्नु मात्र होइन, यो विश्वासलाई संस्थागत शक्ति र दीर्घकालीन राजनीतिक संस्कृतिमा रूपान्तरण गर्नु पनि हो । रास्वपाको सफलताको मूल्यांकन अब दुई तहमा हुनेछ– पार्टीका रूपमा संस्थागत विकास र संगठनात्मक विस्तार तथा सरकारका रूपमा चुस्त कार्यसम्पादन । पहिलो महाधिवेशनपछि सुरु हुने रास्वपाको दोस्रो अध्यायमा तय गर्नुपर्ने पाँच प्राथमिकताको चर्चा गरौं ।
१. सरकारको परिणाममुखी कार्यसम्पादन
रास्वपाले प्रतिनिधिसभामा लगभग दुईतिहाइसहित संघीय सरकारको नेतृत्व गरिरहेको छ । साथै, निकट भविष्यमा प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्ने आकांक्षा पनि बोकेको छ । त्यसैले उसलाई सरकार सञ्चालन गर्न सक्ने क्षमता र परिणाममुखी कार्यसम्पादन दुवैमा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । विगतका बहुमतका सरकार र तिनको असफलताको कारण हो– डेलिभरी अर्थात् सहज र सुलभ सेवाप्रवाहको अभाव । प्रभावकारी सेवाप्रवाह दिन सक्ने वा नसक्ने भन्ने विषयले नै रास्वपाको भविष्य निर्धारण हुन्छ ।
सुशासन र आर्थिक समृद्धि एकअर्काका पूर्वसर्त हुन् । सेवाप्रवाह सुधार, विधिको शासन र चलायमान अर्थतन्त्रलाई सँगसँगै अघि बढाउन सके मात्र नागरिकको विश्वास दीर्घकालीन रूपमा कायम रहन्छ । अर्थतन्त्रको ‘मोमेन्टम’ गुम्यो भने फेरि उठ्न गाह्रो छ । तसर्थ गलत गर्ने व्यापारीलाई कानुनी दायरामा लयाउने कामसँगै निजी क्षेत्रमा असल योगदान गर्ने व्यापारीलाई सुरक्षा गर्ने रणनीति सरकारले लिनैपर्छ ।
विगत तीन महिनाको सरकारको परिणाममुखी प्रशासन हेर्ने हो भने नागरिक उत्साहित छन् । कामविशेषमा प्रश्न उठ्दा पनि सरकारको नियतमा नागरिकको शंका छैन । अब यो विश्वासको जगमा विधिको शासनभित्रै सुशासनलाई संस्थागत गर्ने काम र अर्थतन्त्रलाई चलायमान बनाउने काम सँगसँगै गर्न जरुरी छ । तर सरकारको कार्यसम्पादन मात्र पर्याप्त हुँदैन । दीर्घकालीन राजनीतिक स्थायित्वका लागि रास्वपाको संगठनको वैचारिक आधार पनि उत्तिकै स्पष्ट हुनुपर्छ ।
२. पार्टीको मूल्यमान्यता र विचार
कुनै पनि संगठनको मस्तिष्क भनेको विचार हो र आत्मा भनेको मूल्यमान्यता हो । रास्वपाको पहिलो महाधिवेशनले विचार र मूल्यमान्यतामा स्पष्टता ल्याउन जरुरी छ । विचारमा बाहिर बहस हुन्छ तर मूल्यमान्यता पार्टी र नेतृत्वले आफैंभित्र आत्मसात् गर्नुपर्छ । पार्टीले अंगीकार गर्नुपर्ने संस्थागत मूल्य भनेको निर्णयमा पद्धति, प्रक्रियामा पारदर्शिता, नेतृत्वमा निष्ठा र साहस, राज्य सञ्चालनमा समावेशी उत्कृष्टता र व्यक्तिगत रूपमा नेतृत्वमा समानुभूति हुन् । आज हामीलाई यस्तै नैतिक मूल्यमान्यतामा आधारित संगठन चाहिएको छ । मूल्यमान्यतामा संगठनलाई अड्याउन नसके पार्टीहरूमा आन्तरिक कलह उत्पन्न हुन्छ भने मूल्यमान्यताको अवलम्बनले संगठनलाई दिगो र स्वीकार्य बनाउँछ । मूल्यमान्यताले संगठनात्मक संस्कार दिन्छ, सदस्यलाई संयमित बनाउँछ र नयाँ नेतृत्वका लागि ‘वेलकमिङ’ बनाउँछ । पार्टी नयाँ त बनेको छ तर राजनीतिक परिपाटी नै नयाँ बनाउन पार्टीले आफ्ना मूल्यमान्यता तय गर्नैपर्छ ।
विचारको हकमा पनि पार्टीले यही महाधिवेशनबाट स्पष्ट निर्णय लिन आवश्यक छ । रास्वपाको विचारका आधार गतिशील लोकतन्त्र हुनुपर्छ । अर्थात्, लोकतन्त्रको आलोकमा स्थायी वैचारिक ‘लेबल’ भन्दा माथि उठेर नागरिकका वास्तविक समस्याका वास्तविक समाधानमा केन्द्रित राजनीति गर्नु आजको आवश्यकता हो । हाल रास्वपाले अंगीकार गरेको बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र अर्थ विचारको हकमा सामाजिक न्यायसहितको उदारवादी अर्थतन्त्रलाई थप स्पष्ट पार्दै अगाडि बढ्नुपर्छ । तर विचार र मूल्यमान्यता कागजमा मात्र सीमित भए त्यसको कुनै अर्थ रहँदैन । त्यसलाई व्यवहारमा रूपान्तरण गर्न संगठनात्मक क्षमता आवश्यक पर्छ ।
३. प्रशिक्षित संगठन
सिद्धान्त र व्यवहारबीचको एकरूपता नै संगठनको विश्वसनीयताको आधार हो । पार्टीमा लेख्ने–बोल्ने विषय र व्यवहारमा तादात्म्यता हुनैपर्छ । यही तादात्म्यताका लागि संगठन प्रशिक्षित हुनुपर्छ । कम्तीमा पार्टी समितिहरूमा संगठित सदस्यको बोली, व्यवहार रास्वपाको दर्शन र मूल्यसँग मिल्ने हुनैपर्छ । अहिले पनि गाउँघरमा कांग्रेस र कम्युनिस्टका प्रशिक्षित कार्यकर्ता व्यवहारले ठ्याक्कै छुट्टिन्छन् । त्यहाँ रास्वपाको सदस्यले बोक्ने विचार र देखाउने व्यवहार प्रशिक्षणले मात्र स्पष्ट र पृथक् बनाउन सक्छ ।
रास्वपाको सफलता पनि मुख्यतः सिद्धान्त, प्रणाली र अनुशासनको प्रभावकारी कार्यान्वयनमा निर्भर रहनेछ । सदस्य संख्या मात्र बढाउनेभन्दा गुणस्तरीय, जिम्मेवार र मूल्यमान्यताप्रति प्रतिबद्ध सदस्य निर्माणमा रास्वपाले विशेष ध्यान दिन जरुरी छ । पार्टीको नीति र दर्शन रास्वपाको संगठन, सरकार र संसद् तीनै मोर्चामा देखिनुपर्छ ।
४. नेतृत्व तहको सम्भावित द्वन्द्वको व्यवस्थापन
दलभित्र द्वन्द्व र टकराव हुनु स्वाभाविक हो । वैचारिक घर्षणले त दललाई राम्रै पनि गर्छ । मतभेद कुनै पनि लोकतान्त्रिक संगठनको स्वाभाविक पक्ष हो । चुनौती त्यसलाई व्यवस्थापन गर्ने क्षमतामा हुन्छ । यस सन्दर्भमा रास्वपाले हालसम्म नेतृत्वबीच स्पष्ट कार्यविभाजन त गरेको देखिन्छ । यस्तै कार्यविभाजन र स्पष्ट जिम्मेवारी बाँडफाँट सभापति–वरिष्ठ नेताबीच मात्र होइन, हरेक तहका संगठन र नेतृत्वबीच पनि हुने संस्कृति बसाउनुपर्छ । जस्तो कि बहुपदीय प्रणालीमा जाँदा आउने समस्या होउन्, या आन्तरिक प्रतिस्पर्धाबाट उत्पन्न हुने तीतोपना र असन्तुष्टिलाई व्यवस्थापन गर्ने स्पष्ट मापदण्ड हुनुपर्छ । जिम्मेवारीको परिभाषा र संस्थागत निर्णय प्रक्रियाले सम्भावित द्वन्द्वलाई व्यवस्थापन गर्न मद्दत गर्छ । व्यक्तिकेन्द्रित सहमतिभन्दा संस्थागत प्रणाली दीर्घकालीन रूपमा बढी प्रभावकारी हुन्छ ।
५. अपेक्षा र वास्तविकताको सन्तुलन
रास्वपाले पहिलो ऐतिहासिक महाधिवेशनबाट बोध गर्नैपर्ने विषय हो– आजको रास्वपाको शक्ति उसको संगठनको या विरासतको शक्ति होइन, यो मूलतः विश्वासको शक्ति हो । विषम निराशाका बीच मतदाताले आफ्नो विश्वास रास्वपा र यसको नेतृत्वलाई दिएका हुन्, ठूलो अपेक्षासहित । यो विश्वास जोगाइराख्न अपेक्षा र वास्तविकताको सन्तुलन मिलाएर जनतासँग स्पष्ट सञ्चार गर्नुपर्छ । स्थानीय तह सुव्यवस्थापनदेखि छिमेक नीति र कूटनीति व्यवस्थापनसम्म जनताका जुन वैध अपेक्षा छन्, त्यसमा सन्तुलित र संस्थागत कारबाही अघि बढाउनुपर्छ । आज रास्वपाको सफलता केही प्रमुख व्यक्तित्वको नेतृत्वमा आधारित देखिए पनि अब त्यसलाई संस्थागत गर्नु पार्टी नेतृत्वको प्रमुख चुनौती हो । नागरिकका अपेक्षा यही वास्तविकताको आलोकमा मात्र पूरा गर्न सकिन्छ ।
अन्त्यमा, एक जना जेन–जी अभियन्ताले सुनाएको प्रसंग सम्झिन्छु । २३ भदौको आन्दोलनमा जाँदा एक जना युवालाई उसकै छेउमा उभिएको अर्को साथीले भनेछ– ओइ मुख छोप छोप, आन्दोलनमा गएको फोटो आयो भने त पछि भिसा दिँदैन । यो केवल एक युवाको डर होइन, अवसरको खोजीमा रहेको पुस्ताको मनोविज्ञान हो । परिवर्तनको आन्दोलनमा पनि मुख छोप्नुपर्ने, कुनै पार्टीमा लागेर योगदान गर्छु भन्दा पनि मुख छोप्नुपर्ने, कृषि गर्न मुख छोप्नुपर्ने, व्यापार गर्न पनि मुख छोप्नुपर्ने, सरकारको समर्थन गर्न पनि मुख छोप्नुपर्ने, आलोचना गर्न पनि मुख छोप्नुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ । बहुलता र विविधतामा आधारित खुला समाज, जहाँ हरेक युवाको, हरेक नागरिकको आत्मसम्मानपूर्वक स्वदेशमै गरिखाने सपना पूरा होस् । रास्वपाको ध्येय यही आशा जगाउने, अवसर जुटाउने र बाटो देखाउने हुनुपर्छ ।
यी सबै विषयलाई संश्लेषण गर्दा आजको पार्टीको आवश्यकता भनेको सुसंस्कृत राजनीतिलाई संस्थागत गर्नु हो । अनि, सरकारको दायित्व भनेको समतामूलक समृद्धि हो, अर्थात् सबै नेपालीका लागि समृद्धि, सबैका लागि आत्मसम्मान हो । त्यसकारण रास्वपाको उद्देश्य भनेको सुसंस्कृत राजनीति र समतामूलक समृद्धि हो । चितवनबाट महाधिवेशन सकेर फर्किंदा सिंगो रास्वपाले यो कार्यभार अझ बलियोसँग बोकेर फर्किनुपर्छ ।
हामीले युवा नेतृत्व चाहिन्छ भन्यौं, नागरिकले यसपालि हामीले भनेकै युवालाई भोट दिए । हामीले नयाँ विकल्प चाहिन्छ भन्यौं, नागरिकले नयाँ शक्तिलाई विश्वास गरेर मत दिए । हामीले बलियो जनादेश माग्यौं, नागरिकले त्यसमा उदारता देखाए । हामीले मागेको हरेक विषय र अपेक्षा नागरिकले पूरा गरेका छन् । नागरिकले आफ्नो दायित्व पूरा गरिसकेका छन् । अब परिणाम दिने पालो रास्वपाको हो । यदि रास्वपाले सुसंस्कृत राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्न सक्यो भने उसले केवल एउटा चुनाव जितेको पार्टी होइन, नेपालको नयाँ राजनीतिक अध्यायको नेतृत्व गर्ने शक्ति बन्नेछ ।
