संविधान संशोधनमा देखाउनुपर्ने उदारता

जनताको बलिदानीपूर्ण संघर्ष तथा ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार र समावेशी प्रणालीको रूपमा विकसित गर्दै समुन्नत र समन्यायिक समाज स्थापना आजको आवश्यकता हो ।

असार ५, २०८३

गेजा शर्मा वाग्ले

The generosity that must be shown in amending the constitution

What you should know

ऐतिहासिक संविधानसभामार्फत बनेको संविधान संशोधन गर्ने उद्देश्यले सरकारले प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेपछि एजेन्डाबारे बहस सुरु भएको छ । सरकारले संशोधनसम्बन्धी प्रारम्भिक र संक्षिप्त भए पनि केही एजेन्डा पनि सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा गम्भीर तरंग सिर्जना भएको छ । संविधान बनेको एक दशक पूरा भएको तथा संसद्‍मा प्रतिनिधित्व गर्ने प्रायः सबै दलहरू संशोधन पक्षधर भएको कारणले छलफल र बहस हुनु स्वाभाविक हो । संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रमुख प्रतिपक्षी पार्टी कांग्रेसले पनि उपसभापति पुष्पा भुसालको संयोजकत्वमा संविधान संशोधन अध्ययन तथा सुझाव समिति गठन गरी गृहकार्य थालेको छ । तर क्षेत्राधिकार र भूमिकाका बारेमा प्रश्न उठाउँदै हालसम्म सरकारी कार्यदलमा कांग्रेस सहभागी भएको छैन । एमाले, नेकपालगायत अन्य पार्टीहरू सरकारी कार्यदलमा सहभागी भए पनि हालसम्म ठोस दृष्टिकोण सार्वजनिक गरेका छैनन् ।

सरकारी प्रस्तावअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने, संघीय प्रणालीको पुनःसंरचना, गैरदलीय स्थानीय निकाय सरकारका प्रमुख प्राथमिकता हुन् । रास्वपाको वाचापत्रअनुसार सरकारले एजेन्डा तय गरेको देखिन्छ । निर्वाचनपछि बनेको पहिलो संसद् अधिवेशनलाई सम्बोधन नगरेको तथा सरकारको नीति र कार्यक्रममाथि भएको बहसमा सहभागी भई जवाफसमेत नदिएर प्रधानमन्त्री बालेन्द्र शाहले संसद्लाई निरन्तर उपेक्षा गरिरहेको पृष्ठभूमिमा यस्तो प्रस्तावले गम्भीर आशंका सिर्जना भएको छ । करिव दुईतिहाइनिकट शक्तिशाली सरकार र रास्वपाको संविधान संशोधनको उद्देश्य के हो ? प्रक्रिया के हो ? कांग्रेस, एमालेलगायत पार्टीका एजेन्डा के हुन् ? के अहिले संशोधन गर्ने उपयुक्त समय हो ? भन्नेलगायतका प्रश्नहरू उठेका छन् । यी प्रश्नहरूको वस्तुनिष्ठ विश्लेषण गरी ठोस निष्कर्षमा पुग्नु आवश्यक छ ।

उन्नत र उदार लोकतान्त्रिक प्रणाली
संविधान लोकतान्त्रिक, उदार, बहुलवादी, संघीय र अधिकारमैत्री छ । संविधानले जनतालाई वास्तविक रूपमा सार्वभौमसत्तासम्पन्न बनाएको छ र नेपाललाई राष्ट्र–राज्यका रूपमा विकसित गरेको छ । लोकतान्त्रिक, उदारवादी र अधिकारमैत्री सिद्धान्तका दृष्टिले विश्वमा प्रचलितमध्ये नेपालको संविधान पनि एक मानिन्छ । तर केही राजनीतिक पार्टीका साथै महिला, मधेशी, जनजाति, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको संविधानप्रति केही गुनासा र असहमति छन् । त्यसैले संविधान संशोधन गरी आफ्ना माग सम्बोधन गर्न आवाज उठाउँदै आएका छन् । जेन–जी विद्रोहपछि केही जेन–जी समुदायले पनि यस्तो माग गर्दै आएका छन् । संविधान गतिशील र परिवर्तनशील दस्ताबेज भएका कारणले जनताको भावनाअनुसार समयानुकूल संशोधन, परिमार्जन र अद्यावधिक हुँदै जानु स्वाभाविक प्रक्रिया हो । लोकतान्त्रिक प्रणालीमा यो अझ स्वाभाविक र नियमित प्रक्रिया हो । त्यसैले संविधानका लोकतान्त्रिक र बहुलवादी सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात् गर्दै यसको उदार र प्रगतिशील संशोधनमार्फत सम्पूर्ण जनताले अपनत्व र स्वामित्व ग्रहण गर्ने साझा र समृद्ध दस्ताबेजको रूपमा विकसित गर्न आवश्यक छ ।

लोकतन्त्रलाई कसरी कार्यमूलक, परिणाममुखी र उत्तरदायी प्रणालीका रूपमा रूपान्तरित गर्न सकिन्छ भन्ने आजको अहम् प्रश्न हो । नागरिक सर्वोच्चता, नागरिक अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, मानवअधिकार लोकतन्त्रका विश्वव्यापी सिद्धान्त हुन् । यी सिद्धान्त कुनै पनि लोकतान्त्रिक प्रणालीका पूर्वसर्त हुन् । जनताको बलिदानीपूर्ण संघर्ष तथा ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार र समावेशी प्रणालीका रूपमा विकसित गर्दै समुन्नत र समन्यायिक समाज स्थापना आजको आवश्यकता हो । तर कुनै पनि बहाना र नाममा लोकतान्त्रिक प्रणाली र अधिकारमैत्री संविधानलाई संकुचित बनाउने धृष्टता जनतालाई स्वीकार्य छैन । यदि त्यस्तो षड्यन्त्र गरियो भने लोकतन्त्र र आफ्नो अधिकारका लागि जनता संघर्षमा उत्रिने निश्चित छ । 

नेपाल जस्तो बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक देशमा मिश्रित प्रणाली उपयुक्त हो । केही पार्टीहरूले चित्रित गरे जस्तो समानुपातिक प्रणाली समस्या होइन । उन्नत र उत्तरदायी संसदीय प्रणाली
जेन–जी आन्दोलनपछि शासकीय स्वरूपका बारेमा पुनः बहस सुरु भएको छ । अहिले सरकार र रास्वपाका साथै केही पार्टी र केही जेन–जी समुदायले संसदीय प्रणाली असफल भएको संज्ञा दिँदै प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा वकालत गर्दै आएका छन् । पहिलो र दोस्रो संविधानसभामा शासकीय स्वरूपबारे व्यापक बहस र विवाद भएको थियो । अन्ततः सुधारिएको संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणालीमा पार्टीहरूबीच सम्झौता भएको थियो । अहिले सरकारको प्रस्तावपछि के संसदीय प्रणाली असफल भएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अनुसरण गर्नुपर्ने अवस्था सिर्जना भएकै हो ? भन्ने प्रश्न उठेको छ ।

संसदीय प्रणाली अप्रत्यक्ष लोकतन्त्र र प्रतिनिधिमूलक प्रणाली हो भने राष्ट्रपतीय प्रणाली प्रत्यक्ष र सहभागितामूलक प्रणाली हो । संसदीय प्रणालीमा जनताले सांसद निर्वाचित गर्छन् र संसद्ले प्रधानमन्त्री निर्वाचित गर्छ । संसदीय प्रणालीमा प्रधानमन्त्री संसद्मार्फत जनताप्रति उत्तरदायी हुन्छ । संसदीय सर्वोच्चताको मूल्य र मान्यतालाई आत्मसात् गरिने यो प्रणालीमा मात्रै संसद् वास्तविक रूपमा सार्वभौम र जनताप्रति उत्तरदायी हुन्छ । तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली पक्षधर पार्टी, समूह र व्यक्तिले तर्क गर्दै आएका छन् कि संसदीय प्रणाली नै राजनीतिक अस्थिरता र संकटको प्रमुख स्रोत हो । यस्तो असफल र अस्थिर प्रणालीको सट्टा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित प्रणाली अंगीकार गर्नु आवश्यक छ । प्रत्यक्ष निर्वाचित प्रणालीले मात्रै जनभावनाअनुसार जनताप्रति उत्तरदायी भएर राज्य सञ्चालन गर्छ र विकास, सुशासन र डेलिभरीको पनि प्रत्याभूति गर्छ । यस्ता प्रस्ताव र निष्कर्षप्रति जनता पनि अर्थपूर्ण रूपमा सम्मोहित भएको पाइन्छ ।

तर राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रयोग र परिणामका आधारमा विश्लेषण गर्दा नेपालका लागि संसदीय प्रणाली नै उपयुक्त हो । संसदीय प्रणालीका विद्यमान समस्या, विकृति र विसंगतिको संविधान संशोधन गरी समाधान गर्न सकिन्छ र यही प्रणालीलाई नै थप परिष्कृत, उत्तरदायी र प्रभावकारी बनाउन सकिन्छ । राजनीतिक अस्थिरताको चक्रव्यूहबाट मुक्तिका लागि राजनीतिक स्थिरताको नाममा अर्को अधिनायकवादी तथा सर्वसत्तावादी प्रणाली अपनाउनु भनेको ‘तावाबाट उम्केको माछा भुंग्रोमा पर्ने’ उखानजस्तै हो । प्रधानमन्त्री शाहको करिब तीन महिनाको अनुत्तरदायी र अधिनायकवादी शैलीका आधारमा विश्लेषण गर्दा संसदीय प्रणालीको अपरिहार्यताको थप पुष्टि भइसकेको छ । कल्पना गरौं, यदि अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भएको भए राजनीतिक परिस्थिति कस्तो हुने थियो होला ? 

कस्तो निर्वाचन प्रणाली ?
निर्वाचन प्रणाली अर्को विवादित र जटिल एजेन्डा हो । २०७२ मा जारी भएको संविधानमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अनुसरण गरिएको छ । तर २०७४ र २०७९ मा भएका दुई निर्वाचनमा संघदेखि प्रदेशसम्म कुनै एक पार्टीको बहुमत नआएको कारणले राजनीतिक अस्थिरताको पासोमा परेको थियो । प्रदेशमा अहिले पनि पटकपटक सरकार परिवर्तन हुने राजनीतिक अस्थिरताको चक्रव्यूह, सत्ता र शक्तिका लागि पार्टीहरूबीच अपवित्र गठबन्धन र घृणित खेल तथा मुख्यमन्त्री, मन्त्री उत्पादनको दुश्चक्र चलिरहेको छ । त्यसैले निर्वाचन प्रणाली नै अस्थिरताको स्रोत भएको निष्कर्ष निकाल्दै संविधान संशोधन गरी स्थिर सरकारको प्रत्याभूति हुने प्रणाली अनुसरण गर्न राजनीतिक पार्टीदेखि जनस्तरसम्म सशक्त रूपमा आवाज उठ्दै आइरहेको छ । तर यही प्रणालीबाट पनि बहुमतसहितको स्थिर सरकार बन्ने वास्तविकताको पुष्टि फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले प्रचण्ड बहुमत हासिल गरेपछि भइसकेको छ । त्यसैले कुनै पनि निर्वाचन प्रणाली निरपेक्ष रूपमा स्थिरता वा अस्थिरताको स्रोत होइन र हुँदैन । 

प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित र राष्ट्रिय सभालाई समानुपातिक बनाउने, समानुपातिकको संख्या घटाएर थ्रेसहोल्ड बढाउने, संघीय तथा प्रादेशिक मन्त्रालय तथा सांसद संख्या घटाउनेलगायतका औपचारिक–अनौपचारिक प्रस्तावमाथि बहस हुँदै आएका छन् । अहिले सरकारले पूर्ण समानुपातिक प्रणाली प्रस्ताव गरेको छ । तर अर्को वास्तविकता के हो भने एउटा पार्टीले बहुमत हासिल गर्दा पनि राजनीतिक स्थायित्व हुन नसकेको इतिहास जीवित छ । २०४८ र २०५६ को निर्वाचनमा कांग्रेसको स्पष्ट बहुमत थियो । तर स्थिर सरकार नभएको मात्रै होइन, दुवै पटक संसद् विघटन गरेर अस्थिरताको खेल सुरु गरेको थियो । यसैगरी २०७४ मा पनि तत्कालीन नेकपाको बहुमत थियो । तर आन्तरिक विवाद र शक्ति–संघर्षको कारणले एकातिर दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरिएको थियो भने अर्कोतिर नेकपा नै विभाजित भयो । त्यसैले कांग्रेस र नेकपा (एमाले र माओवादीको एकताबाट गठित) दुवैले बहुमत पाए पनि स्थिरता कायम गर्न असफल भए ।

नेपाल जस्तो बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक देशमा मिश्रित प्रणाली उपयुक्त हो । केही पार्टीहरूले चित्रित गरे जस्तो समानुपातिक प्रणाली समस्या होइन । संविधानको आधारभूत स्तम्भ मानिने समानुपातिक प्रणालीको विकल्प खोजियो भने अर्को जटिल विवाद सिर्जना हुन सक्छ । त्यसैले समानुपातिक प्रणाली पुनरावलोकन गरी राजनीतिक स्थायित्व र समानुपातिक प्रतिनिधित्व गरी दुवैको सन्तुलन नै अहिलेको निकास हो । अभ्यासका क्रममा देखिएका विकृति–विसंगतिलाई सम्बोधन गरी समानुपातिक र समावेशी प्रणालीको मूल्य–मान्यता तथा संविधानको भावनाअनुसार संकुचित होइन, यसको दायरा थप फराकिलो बनाउनुपर्छ । त्यसैले केवल समानुपातिकमा मात्रै होइन, प्रतिनिधिसभा र प्रदेशसभामा महिला, मधेशी, जनजाति, दलित, अल्पसंख्यक तथा सीमान्तीकृत समुदायको प्रत्यक्ष निर्वाचनमा पनि थप प्रतिनिधित्व सुनिश्चित गरी संशोधन गर्नु उपयुक्त हुनेछ ।

कार्यमूलक र जनमुखी संघीय प्रणाली
संविधान र शासकीय प्रणालीबारे विगत लामो समयदेखि प्रयोगशाला हुँदै आएकाले घोषणा भएको मितिदेखि नै संघीयताको आवश्यकता र औचित्यका बारेमा विवादास्पद बहस हुँदै आएको छ । २०६५ मा घोषणा गरे पनि २०७२ मा संविधान जारी भएपछि मात्रै संघीय प्रणाली कार्यान्वयन भएको हो । तर संघीयता यति विवादित र अलोकप्रिय भएको छ कि संघीयताकै कारणले लोकतान्त्रिक गणतन्त्र र संविधानका बारेमा समेत नकारात्मक भाष्य स्थापित भएको छ । संघीयतालाई ‘अनवान्टेड बेबी’ तथा विदेशीद्वारा लादिएको प्रणालीको संज्ञा दिँदै जनस्तरका संवाद, सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा तीव्र आलोचना र व्यापक नकारात्मक टिप्पणी हुँदै आएको छ । नेपालको सन्दर्भमा संघीयता एकात्मक र केन्द्रीकृत राज्यलाई पुनः संरचना गर्ने प्रक्रिया हो । तर सार्वजनिक जनमत कस्तो सिर्जना भएको छ भने यथास्थितिमा संघीय प्रणाली र प्रदेशको औचित्य छैन । यस्तो संघीय प्रणालीले कि डेलिभरी गर्नुपर्‍यो, होइन भने खारेज गरे हुन्छ । 

के संघीयताको खारेजी समाधान हो ? पंक्तिकारको विचारमा होइन । संघीयताको विकल्प थप उन्नत र जनमुखी संघीयता हो । तर संघीयताको विकल्प एकात्मक र केन्द्रीकृत प्रणाली होइन र हुन सक्दैन । संघीय प्रणालीमार्फत तल्लो तहका सरकार र जनतामा अधिकारको निक्षेपण गरिनुपर्छ । यदि सरकार संघीयता खारेज गर्ने दिशातर्फ उन्मुख भयो भने अवाञ्छित राजनीतिक जटिलता मात्रै सिर्जना हुने छैन, कल्पनातीत राजनीतिक द्वन्द्वसमेत निम्त्याउन सक्छ । तर अर्को कटु सत्य के पनि हो भने यथास्थितिमा संघीयताको भविष्य छैन । संघीयताको सिद्धान्तलाई आत्मसात् गरेर थप अधिकार तथा साधन–स्रोत सम्पन्न, जनतामुखी र कार्यमूलक प्रणालीका रूपमा रूपान्तरण गर्नुपर्छ । प्रादेशिक संरचनालाई थप सुधार र सबलीकरण गर्नुपर्छ । संघीयतालाई सफल र प्रदेश संरचनालाई प्रभावकारी बनाउन अविलम्ब संविधानप्रदत्त अधिकारबिना सर्त निक्षेपण गर्नुपर्छ । संविधानको अक्षर र भावना पनि यही हो, नेपालका लागि उपयुक्त मोडल पनि यही हो । जनतालाई राजनीतिक, आर्थिक तथा प्राकृतिक साधन–स्रोतमा अधिकारसम्पन्न बनाउने मात्रै होइन, सामाजिक, सांस्कृतिक तथा भाषिक अधिकार र पहिचानसमेत सुनिश्चित गर्ने लोकतान्त्रिक र जनमुखी प्रणाली हो । संघीयताको मूलभूत सिद्धान्त र प्रमुख उद्देश्य भनेकै सबै तहका सरकारमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरी सरकारलाई उत्तरदायी बनाउनु हो । स्वशासन तथा साझा शासनको अवधारणाबाट अभिप्रेरित संघीयता सबै तहका सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्य गर्ने प्रणाली हो ।

सबै जनताको पहिचान, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्ने उदार मूल्य–मान्यता संघीयताले आत्मसात् गरेको हुन्छ । जनताको सहभागिता, प्राकृतिक साधन–स्रोतमाथिको अधिकार तथा सांस्कृतिक–भाषिक पहिचानका दृष्टिले श्रेष्ठ मानिन्छ । तर विगतमा कुनै पनि सरकारले संघीयता पूर्ण रूपमा लागू गर्न इमान्दार प्रयास गरेनन् । प्रदेश संरचना नयाँ भएका कारणले प्रदेशसभा पनि प्रभावकारी भएनन् र प्रदेश सरकारले पनि डेलिभरी गर्न सकेनन् । जनभावनाअनुसार डेलिभरी गरेर प्रदेशको औचित्य पुष्टि गर्न पार्टी र प्रदेश सरकारले पाएको अवसर गुमाए । 

दलीयकरण अन्त्य 
राज्य संयन्त्रको अवाञ्छित राजनीतीकरण र विकृत दलीयकरण गरिएको कारणले लोकतान्त्रिक प्रणाली नै बदनाम र अलोकप्रिय भएको सत्य हो । विगतमा न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय तथा प्राज्ञिक संस्था, निजामती प्रशासन तथा सुरक्षा निकायहरूमा समेत दलीयकरण, हस्तक्षेप र भागबन्डा गरिएको थियो । त्यसैले ती संस्थाहरूको संस्थागत साख र विश्वसनीयतामाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ । लोकतन्त्रका नाममा यति विकृत दलीयकरणको नमुना विश्वका अन्य लोकतान्त्रिक देशमा सायदै होला । नेपालको लोकतन्त्रका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ? दलीयकरण अन्त्य गर्ने शाह सरकारको प्रस्ताव सकारात्मक छ । तर यसको विधि, प्रक्रिया र नियतका बारेमा गम्भीर प्रश्न उठेका छन् ।

लोकतन्त्रका आधारस्तम्भ मानिने यस्ता संस्थालाई अवाञ्छित दलीय हस्तक्षेपबाट मुक्त गरी स्वतन्त्र र स्वायत्त ढंगले कार्यसम्पादन गर्ने संवैधानिक प्रत्याभूति गर्नु अपरिहार्य छ । शक्ति पृथकीकरण, विधिको शासन, संस्थागत स्वायत्तता र नागरिकको अधिकार सुनिश्चित गर्न ती संस्थालाई राजनीतिक प्रभाव, दबाब र सौदाबाजीबाट मुक्त गर्नु अनिवार्य छ । ती संस्थाहरू अझै सबल, स्वायत्त र निष्पक्ष हुनुपर्छ । दलीय सिफारिस र बफादारिताका आधारमा नियुक्ति गर्दा संस्थागत विश्वसनीय, कार्यसम्पादन र उत्तरदायित्वमा गम्भीर आँच भएको कटु वास्तविकतालाई सरकार र दलहरू सबैले स्वीकार गर्नुपर्छ । यदि सरकार र दलहरू लोकतान्त्रिक मूल्य–मान्यता र संस्थाको अस्तित्व, पवित्रता र साखप्रति प्रतिबद्ध छन् भने यस्तो विकृत दलीयकरण अन्त्य गर्न ठोस नीतिगत र संरचनागत सुधारका मार्गचित्रप्रति सहमत हुनु आवश्यक छ ।

निष्कर्ष 
उपरोक्त बृहत्तर आयामबाट विश्लेषण गर्दा संविधान संशोधनसम्बन्धी सरकारी कार्यदल होइन, राजनीतिशास्त्री, संविधानविद् तथा नागरिक समाजका प्रतिनिधिसमेत सम्मिलित उच्चस्तरीय आयोग गठन गर्नुपर्छ । संविधान संशोधन जस्तो अत्यन्त संवेदनशील मुद्दामा सरकार र दलहरूबीच गम्भीर छलफल र परामर्श गर्नु आवश्यक छ । यसैगरी बौद्धिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, चौतारा, चिया पसलका साथै घर–घरमा समेत व्यापक र सुसूचित बहस हुनुपर्छ । अब संशोधन हुने संविधान राष्ट्रिय सहमतिको दस्ताबेज हुन सकेन भने कल्पनातीत राजनीतिक दुर्घटनासमेत हुन सक्छ । यो मुद्दा जटिल र संवेदनशील मात्रै होइन, जोखिमपूर्णसमेत छ । तर सरकार न संवेदनशील छ, न उत्तरदायी र पारदर्शी । प्रधानमन्त्रीको अधिनायकवादी प्रवृत्ति र अनुत्तरदायी कार्यशैली तथा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावले ऐतिहासिक जनआन्दोलन र संविधानका उपलब्धि संकुचित हुन सक्ने आशंकासमेत सिर्जना भएको छ । त्यसैले यस्तो जोखिमप्रति उच्च सचेत र सतर्क हुँदै ऐतिहासिक जनआन्दोलन र संविधानका उपलब्धिको संरक्षण गरी थप उदार र राष्ट्रिय सहमतिको दस्ताबेजका रूपमा विकसित गर्न संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका कांग्रेस र एमालेलगायतका पार्टीले थप नेतृत्वदायी भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो ।

गेजा गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully