रास्वपामा पुराना राजनीतिक दलका कार्यशैली र गलत संस्कारको विरोध गरेर जन्मेको पार्टी हो । तर, यो पार्टीको सबैभन्दा ठूलो विरोधाभास यही छ कि, यसले आफूलाई पुरानाहरूभन्दा कुनै पनि अर्थमा भिन्न देखाउन सकेको छैन ।
What you should know
सत्तारूढ रास्वपा पहिलो राष्ट्रिय महाधिवेशनको संघारमा छ । वडा, गाउँ, नगर, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको रास्वपा यतिखेर राजनीतिको केन्द्रमा छ । मुलुकको सबैभन्दा ठूलो दलका हरेक क्रियाकलापलाई आमजनताले चासोसाथ हेरिबसेका छन् ।
वास्तवमै यो पार्टीको चामत्कारिक उदय राजनीतिको एउटा नौलो दृष्टान्त हो । स्थापनाको ६ महिनामै निर्वाचनमा होमिएर चौथो ठूलो राजनीतिक शक्ति बनेको रास्वपा चार वर्ष नपुग्दै मुलुकको सर्वाधिक शक्तिशाली दलका रूपमा उदायो । र, अहिले झन्डै दुईतिहाइ जनमतसहित सरकारको नेतृत्वमा छ ।
स्थापना हुँदा धेरैले रास्वपालाई ‘अराजनीतिक लहड’ को उपमा दिएका थिए । तिनको तर्क थियो– पुराना र परम्परागत सत्तासीनसँगको निराशा र असन्तुष्टिको जगमा रास्वपा जन्मियो । तर, सभापति रवि लामिछाने बारम्बार प्रतिवाद गर्थे, ‘रास्वपा अराजनीतिक लहड होइन, निराशा मात्रै पनि होइन, आमजनताको आशाको परिणति हो ।’
चार वर्षपछि रास्वपा संसदीय राजनीतिको सबैभन्दा ठूलो दल बनेको छ । यद्यपि, प्रश्न उही छ, रास्वपा असन्तुष्टि र निराशाको कोखबाट जन्मिएको हो कि आशाको दियो बनेर उदाएको हो ? यो राजनीतिक चरित्र भएको शक्ति हो कि अराजनीतिक व्यक्ति/प्रवृत्तिहरूको झुन्ड हो ? अनि, के यो पुराना दलप्रतिको असन्तुष्टिको अस्थायी अभिव्यक्ति मात्रै हुनेछ कि राजनीतिक रूपमा संस्थागत पनि होला ? यस्ता थुप्रै रास्वपालक्षित प्रश्नहरू यत्तिकै उठेका होइनन् । चुनावबाट असाधारण जित हासिल गरेसँगै सत्ताका नयाँ सञ्चालक बनेका रास्वपाका नेताहरूकै कार्यशैली यी प्रश्नका स्रोत हुन् ।
राजनीतिक दलहरू आन्दोलनका उपज हुन्छन् । ठुल्ठूला जनआन्दोलनबाट दलहरू उदाएका हाम्रै नजिर छन् । जारशाही राणाविरुद्धको आन्दोलनले प्रजा परिषद्, नेपाली कांग्रेस जन्मायो । पञ्चायती निरंकुशतापछि कांग्रेससँगै बहुलवादी राजनीतिक स्वतन्त्रताको आन्दोलनमा कम्युनिस्टहरू देखिए । २०६३ को दोस्रो जनआन्दोलनपछि माओवादी उदायो । पहिचानको अधिकारको अन्दोलनबाट मधेशकेन्द्रित दलहरू जन्मिए । अहिले परम्परागत कित्तामा पुगेका ती दलहरू जस्तो रास्वपाको उदय आन्दोलनबाट भएको होइन । समाजमा पुराना सत्तासीनहरूप्रतिको तीव्र असन्तुष्टि, दलतन्त्र वा सीमित नेतातन्त्रविरुद्ध वैकल्पिक नेतृत्वको खोजी अनि डिजिटल प्रविधिमा आएको छलाङ र त्यसको प्रभावको आडमा यो पार्टी उदाएको हो ।
रास्वपामा अहिले पनि व्यक्तिकेन्द्रित राजनीतिकै बाहुल्यता छ । संस्थापक सभापति रवि लामिछाने त थिए नै, अब वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह यो पार्टीको शक्तिको अर्को धुर बनेका छन् । व्यक्तिको लोकप्रियताको जगमा टिकेको यो पार्टीमा विचारभन्दा व्यक्तित्व हाबी छ । दलतन्त्रविरुद्ध आक्रोशित जनमतले रास्वपालाई ‘इन्स्ट्यान्ट म्यान्डेट’ दिएर असाधारण राजनीतिक सफलता त दिलायो । तर, त्यसपछि के ? रास्वपाले पाएको दिग्विजय कति टिक्ला वा टिकाउन सक्ला ? यतिबेला यी प्रश्न किन पनि उठेको हो भने, राजनीतिक शक्तिको वास्तविक परीक्षा उदयमा होइन, त्यसपछिको यात्राले तय गर्छ ।
असन्तुष्टि र आक्रोशको वेगमा शक्तिको केन्द्रमा पुग्नु उपलब्धि त हो । यद्यपि, त्यो उपलब्धिलाई जनपक्षीय हिसाबले संस्थागत गर्नु अझ कठिन काम हो । रास्वपाले जनमत त जित्यो तर पार्टी सञ्चालन, यसको संगठन निर्माण/विस्तार र राज्य सञ्चालनमा परिपक्वताको परीक्षा दिनै बाँकी छ । शक्ति अभ्यासमा सुरुवाती दिनमै ऊ चुक्न थालेको छ । रास्वपाको महाधिवेशनको छेको पारेर यसका बलिया र कमजोर पक्ष, समस्या, सम्भावना र चुनौतीका बारेमा यो स्तम्भ तयार पारिएको छ ।
विमर्श सुरु गरौं, रास्वपा र सरकारको कुराबाट । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा बनेको वर्तमान सरकार रास्वपाको एकमना सरकार हो । शाह पार्टीका वरिष्ठ नेता हुन् । शाह मन्त्रिपरिषद्का एक जना स्वतन्त्र सांसद महावीर पुनबाहेक सबै रास्वपाकै सदस्यहरू हुन् । तर, प्रधानमन्त्री बालेनका बोली र कार्यशैलीहरू हेर्दा प्रश्न उठ्छ, के यो रास्वपाकै सरकार हो ? प्रधानमन्त्रीका कार्यशैलीबाट हायलकायल सभापति रवि लामिछानेको निरीहता देख्दा पनि प्रश्न उठ्छ, के यो रास्वपाकै सरकार हो ?
निश्चय पनि सरकार सञ्चालनको मुख्य अभिभारा प्रधानमन्त्रीको हो । कम्युनिस्ट पार्टीहरूमा झैं दलले प्रधानमन्त्रीलाई हरेक सन्दर्भ र निर्णयहरूमा नियन्त्रणमा राख्नु उचित होइन पनि । रास्वपाले पार्टी सञ्चालन लामिछानेले गर्ने र सरकार वालेन्द्र शाहले गर्ने सहमति अनुचित थिएन । तर, त्यसो भन्दैमा संसदीय अभ्यासमा पार्टी र सरकारबीच न्यूनतम समन्वय पनि आवश्यक पर्दैन ? के प्रधानमन्त्रीका व्यवहार, कार्यशैली अनि निर्णयबाट पार्टी पूर्णतः बेखबर रहन सक्छ ?
संसदीय व्यवस्थामा सरकार दलको राजनीतिक कार्यक्रम कार्यान्वयन गर्ने माध्यम हो । दल र सरकारबीचको सम्बन्ध नीति, साझा राजनीतिक दृष्टिकोण र संगठनात्मक जवाफदेहितामा खोजिन्छ । तर, रास्वपामा पार्टी सभापति भारत भ्रमणमा निस्कन्छन् । सरकार त्यसबारे अनभिज्ञता प्रकट गर्छ । फर्केपछि सभापति भ्रमणबारे सरकारलाई औपचारिक जानकारी दिनसम्म आवश्यक ठान्दैनन् ।
प्रधानमन्त्री विधि मिच्दै रोस्ट्रममा उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनेर संवेदनशील मुद्दामा विवादास्पद अभिव्यक्ति दिन्छन् । सभापति निरीह भएर सुनिरहन्छन् । त्यसलाई कमजोर तर्कहरूका आधारमा प्रतिरक्षा गर्ने कोसिस गर्छन् । पार्टीले प्रस्टीकरण सोध्ने हिम्मत गर्दैन । प्रधानमन्त्री मनोमानी हिसाबले मन्त्रिपरिषद् गठन–विस्तार गर्छन् । पार्टीको भूमिका सुझाव दिने तहमा पनि देखिँदैन । सरकार गठनको केही दिनमै मन्त्रीहरू विवादमा फस्छन् । कोही हटाइन्छ । कसैलाई हटाएर छानबिनको औपचारिकता पूरा गरेजस्तो गरी पुनः फर्काइन्छ । पार्टीको त्यहाँनेर पनि केही भूमिका भएजस्तो देखिँदैन ।
सरकार गठन भएको सय दिन पनि पुगेको छैन । तर, मन्त्रिपरिषद्का सदस्यहरू एकपछि अर्को विवादमा फसेका छन् । पछिल्लो समय अर्थमन्त्री स्वर्णिम वाग्ले करका दर हेरफेर गरेको आरोपमा विवादमा छन् । विवादपछिको प्रतिवादमा उनले देखाएको उन्मादी शैलीले शक्तिउन्माद बालेनमा मात्रै होइन, त्यो शनै शनै सबैमा विस्तार हुँदै छ भन्ने देखाएको छ । गृहमन्त्री सुदन गुरुङ जेन–जी आन्दोलनपछि नै चर्चा र विवादको केन्द्रमा छन् । आन्दोलनमा पानी बाँड्न आएका ‘स्वयंसेवी’ रातारात आन्दोलनका नेता, हुँदै राष्ट्रिय राजनीतिका प्रभावशाली खेलाडी कसरी भए, कसरी उनले रवि लामिछाने र वालेन्द्र शाहलाई मिलाए अनि कसरी विवादका बीच गृहमन्त्रीको दोस्रो इनिङ खेल्दै छन् ? उनको सन्दिग्धता प्रश्नको घेरामै छ ।
सरकारका कतिपय निर्णयमा केही गरौं भन्ने हुटहुटी देखिन्छ । अतिक्रमित जग्गा संरक्षण गर्ने, सुशासनका मुद्दामा केही गर्ने प्रयास गरिरहेको भनेजस्तो भान पनि हुन्छ । प्रधानमन्त्री बिहानै सिंहदरबार पुग्छन् । दिन बिराएर जस्तै मन्त्रिपरिषद् बैठक डाक्छन् । जनतालाई केही न केही अपिल गर्ने निर्णय गर्न खोज्छन् । तर, यदाकता सस्तो मजाकहरू गरेर फेरि मान्छेलाई निराश पनि पारिहाल्छन् । जसले गर्दा आमवृत्तमा यो सरकारप्रति उत्साह जाग्न सकेको देखिँदैन । बरु, सरकार आवेग, प्रतिशोध र अपरिपक्व किसिमले हडबडिएर अघि बढेको महसुस हुन्छ । सरकारसँग जनस्तरमा विश्वासभन्दा बढी त्रास भइराखेको छ ।
संसद्मा त अझ दृश्य टिठलाग्दो छ । रास्वपाका सांसदहरू जनप्रनिनिधि हुन् कि बालेन शासनका ‘दास’ ? तिनको निरीह भूमिकाले प्रश्नसँगै आलोचना पनि भइरहेको छ । जब प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर ‘भारतको भूमि नेपालले पनि मिचेको छ’ भन्ने अभिव्यक्ति दिए, त्यस्तो संवेदनशील विषयमा ताली ठोकेर अनुमोदन गरेपछि रास्वपाका सांसदहरूको भूमिका र योग्यता दुवै सन्देहमा परेको छ । मुलुकमा आकाश छुने महँगी छ । मान्छेको जीवन दिनदिनै आर्थिक हिसाबले संकटपूर्ण बन्दै गएको छ । जनताका दैन्दिन समस्याका कैयौं मुद्दाहरू छन् । ती सबैलाई नजरअन्दाज गर्दै सांसदहरू प्रधानमन्त्रीको विवादास्पद बोलीको प्रतिरक्षामा उत्रिएपछि तिनले कूटनीतिक संवेदनशीलता नबुझेका ‘ढ्यापढ्यापे’को परिचय पाएका छन् ।
रास्वपा पुराना राजनीतिक दलका कार्यशैली र गलत संस्कारको विरोध गरेर जन्मेको पार्टी हो । तर, यो पार्टीको सबैभन्दा ठूलो विरोधाभास यही छ कि, यसले आफूलाई पुरानाहरूभन्दा कुनै पनि अर्थमा भिन्न देखाउन सकेको छैन । अहिले महाधिवेशनको अभ्यासकै क्रममा पनि देखियो– गुट, उपगुटका तानातान । सांसदहरू खुलेआम महाधिवेशनमा गुटको पक्षपोषणमा ओर्लिए । जान्नेलाई छान्ने र लोकतान्त्रिक संस्कारको ठुल्ठूला गफ त गरिए तर आन्तरिक लोकतन्त्रका हिसाबले रास्वपाले पनि कुनै नयाँ मानक स्थापित गर्न सकेन । बरु, कैयौं ठाउँमा द्वन्द्व, झैझगडाले अधिवेशन प्रक्रिया नै स्थगित गर्नुपर्यो । यसका कारण रास्वपाका नेता कार्यकर्ताले अधिवेशनलाई लोकतान्त्रिक विधि सुदृढ गर्ने वा संगठन निर्माणको विषयभन्दा पदप्राप्तिको माध्यम बनाए । वैचारिक बहसभन्दा नेतृत्व कब्जाको प्रतिस्पर्धा चल्यो । जुन विषय परम्परागत भनिएका पुराना दलहरूमा विगतमा देखिएको थियो । त्यही कुरा अहिले रास्वपाले अधिवेशन अभ्यासका क्रममा देखायो ।
पुराना पार्टीहरू खुल्लमखुला विचार समूहका नाममा गुटहरू खडा गर्छन् । राजनीतिक योग्यता, नीति विचारभन्दा पनि अवसरका हकमा गुटबाटै प्रभावित र परिचालित हुन्छन् । पुराना दलहरूको ओरालो यात्राको एउटा मुख्य कारण गुटबन्दी पनि हो । रास्वपाले गुटगत राजनीतिलाई बोलीमा अस्वीकार गर्छ तर व्यवहारमा अधिवेशनका दौरान विभिन्न गुट केन्द्र देखिए । सांसद, केन्द्रीय नेताहरूको स्थानीय नेतृत्व छनोटमा भएको हस्तक्षेपले त्यो सतहमै प्रकट भयो ।
रास्वपाको मुख्य समस्या के हो भने, यो एक जना व्यक्तिको लोकप्रियताको जगमा खडा भएको दल हो । कुनै बेलाका टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा आउने महत्त्वाकांक्षालाई मूर्तरूप दिन चार वर्षअघि रास्वपा स्थापना गरे । स्थापनाको ६ महिनामै चौथो ठूलो राजनीतिक शक्ति बन्यो । तर, जति छिटो रवि उदाए, विवादले उनलाई छोडेन । टेलिभिजन पत्रकारका रूपमा चर्चित त थिए, सँगै अनेक विवादमा मुछिएका पनि थिए । उनी अहिले पनि सहकारी ठगी प्रकरणका एक आरोपी हुन् । नागरिकता दुरुपयोगको मुद्दामा न्यायालयबाट दण्डित भइसकेका उनीमाथि एकैपटक दुई देशको राहदानी प्रयोग गरेको अभियोग अहिले पनि छ । यसका बाबजुद पनि उनी लोकप्रियता भएका नेता हुन् । चितवनबाट उनले पटक–पटक भारी मतले चुनाव जितेबाट त्यसको पुष्टि भएको छ ।
अघिल्लो पटक पुराना दलहरूसँगको सत्ता गठबन्धनमा दुई पटक गृहमन्त्री भएका लामिछानेको छवि जति उदाउँदो थियो, उनका आवेगपूर्ण र विवादित कर्महरूका कारण त्यही दरमा ओर्लियो पनि । जेन–जी आन्दोलनका बेला जब उनी भीडको बलमा नख्खुबाट ‘जेल ब्रेक’ गरेर निस्के, जेन–जीहरूबाटै चौतर्फी आलोचना खेपे । उक्त घटनाले उनको छविमा यति धेरै आघात पुग्यो कि, उनी चरम रक्षात्मक अवस्थामा पुगेका थिए । तर, चुनावअघि पुसको दोस्रो साता वालेन्द्र शाहसँगको सहकार्यले रविको छवि पनि उकासियो र रास्वपा पनि राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुग्यो ।
छोटो समयमै थुप्रै उतारचढाव झेलेको रास्वपामा अहिले पनि व्यक्तिकेन्द्रित राजनीतिकै बाहुल्यता छ । संस्थापक सभापति रवि लामिछाने त थिए नै, अब वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह यो पार्टीको शक्तिको अर्को धुर बनेका छन् । व्यक्तिको लोकप्रियताको जगमा टिकेको यो पार्टीमा विचारभन्दा व्यक्तित्व हाबी छ । अर्थात् व्यक्तिवाद, वैचारिक अस्पष्टता अनि संगठनात्मक अपरिपक्वता पार्टी संस्थागत हुने कुराको सबैभन्दा ठूलो तगारो यही हो । अर्को समस्या हो, वैकल्पिक राजनीतिको भाष्यबाट स्थापित भए पनि रास्वपाको व्यवहार त्यसअनुकूल छैन । व्यवहार र कार्यशैलीमा तदर्थवाद नै हाबी छ ।
यतिबेला अनेक अवसर छोप्न रास्वपामा मान्छेहरू भित्रिने क्रम जारी छ । सदस्य संख्या ५ लाख कटिसकेको पार्टीको दाबी छ । अर्थात् ठूलो भीडभाड छ, त्यहाँभित्र । तर अनेक समूह, दल, अभियानबाट आएका मान्छेहरू व्यवस्थापन गर्न पार्टी नेतृत्वलाई हम्मे परेको छ । पार्टीभित्रको आन्तरिक समायोजन र व्यवस्थापनको मापदण्ड बनाउन नेतृत्व अक्षम देखिएको छ । भन्नलाई स्वच्छ र लोकतान्त्रिक प्रक्रिया र प्रतिस्पर्धाको कुरा गरिए पनि नेताकेन्द्रित गुटहरूको झिनाझप्टी र दन्तबझान यो नवोदित दलमा पनि उत्तिकै छ । जसरी पुराना दलमा दोस्रो पुस्ता उठ्न सकेको थिएन । शीर्ष नेतृत्वले एक हिसाबले निषेध नै गरेजस्तो थियो । दोस्रो पुस्ताका नेताहरूमा पनि जोखिम नमोल्ने प्रवृत्ति र अवसरवाद उन्मुख थिए । त्यस्तै प्रवृत्ति रास्वपामा पनि देखिन्छ । यो पार्टीमा पनि आन्तरिक लोकतन्त्र र नयाँ संस्कार देखाउने दाँत मात्रै भएका छन् ।
रास्वपाको अभ्यासले ग्रिक मिथकको एउटा पात्र ‘इकारस’ को स्मरण हुन्छ । इकारस क्रेट टापुका चर्चित शिल्पकार डेडालसका छोरा थिए । यी दुवै बाबुछोरालाई राजा मिनोसले कैद गरेका थिए । समुद्री बाटोमा राजाको बलियो पहरा भएकाले डेडालसले टापुबाट उडेर भाग्ने जुक्ति निकाले । र, चराहरूको प्वाँख जम्मा गरेर पखेटा बनाए, जो मैनले जोडिएको थियो । यसमा ध्यान दिनुपर्ने कुरा के थियो भने, मैन जडित पखेटाबाट उड्दा समुद्री सतहबाट धेरै माथि वा धेरै तल जान मिल्दैनथ्यो ।
धेरै तलबाट उड्दा समुद्री चिसोका कारण पखेटा भारी भएर बिग्रन सक्थ्यो भने धेरै माथि जाँदा सूर्यको रापले पग्लिन सक्थ्यो । उड्दा यो कुरा सन्तुलन जरुरी थियो । डेडालसले छोरो इकारसलाई पखेटा लगाएर सचेत गराएको थियो । तर, पखेटा पाएको बालक इकारसमा उडानको उन्माद थियो । उसले पिताले सचेत गराएको विषय सुनेन र झन् माथि–माथि उड्न थाल्यो । फलतः सूर्यको रापले मैन पग्लियो र उसका पखेटा खसे र ऊ पनि समुद्रमै खस्यो ।
इतिहासमा कैयौं राजनीतिक शक्तिहरू अयोग्यता र पराजयका कारण मात्रै पतन भएका होइनन्, बरु आफ्नै सफलताको भारले किचिएर ढलेका छन् । सफलताको उन्मादमा संकटमा परेका यस्ता ‘इकारस’ हरू इतिहामा थुप्रै भेटिन्छन् । पहिलो महाधिवेशनको संघारमा उभिएको रास्वफाले यो ग्रिक मिथकबाट केही सिक्ने कि ?
