महिलालाई परनिर्भर नठानून् कसैले 

कसैले महिलालाई परनिर्भर नमानून् अनि पुरुषले पनि आफूलाई पैसाको बोट र जिम्मेवारीको हिमायती नठानून् । 

जेष्ठ ३१, २०८३

सुशीला शर्मा

No one should consider women as dependent.

What you should know

निश्चित उमेरसँगै महिलाहरू पुरुषसँग निर्भर हुन्छन् भन्ने धारणालाई केही जैविक परिवर्तन, आर्थिक निर्भरतासँग जोडेर पनि हेर्ने गरिन्छ । तर, आधुनिक र प्रगतिशील समाजमा महिलाले पनि पुरुष बराबरकै अझै बढी काम गरेर देखाइदिएका छन् । त्यसैले महिला परनिर्भर होइनन् । तर, यहाँ उठाउन खोजिएको सवाल हो– आत्मनिर्भर, सक्षम, पेसागत र चेतनशील महिलाको सन्दर्भमा भन्दा आम महिला (जो आफू पुरुषहरूसँग परनिर्भर भएको देखाउँछन् र धेरै हदसम्म परनिर्भर पनि छन्) को विषय । 

ट्याक्सी चढेर कतै जाँदै थिएँ, एफएम बजिरहेको थियो– एक पुरुषले कवितात्मक शैलीमा ‘किनकि म पुरुष हुँ’ कविता वाचन गरिरहेका थिए । कवितामा उनी पुरुष हुनुको दुःख बोलिरहेका थिए । पुरुष रोए नामर्द, नरोए कठोर, पुरुषको काँधमा श्रीमती–प्रेमिकाका खर्च उठाउनुपर्ने बोझ, पुरुषले अपराधी–बलात्कारीको लाञ्छना खेप्नुपर्ने पीडाजस्ता विषय उनका कविताका कच्चा पदार्थ थिए । त्यो पुरुषवादी कविता सुनिरहँदा कति ठाउँमा उनको आवाज सही पनि लाग्यो । समाजले भनिदिएको, बनाइदिएको, आस गरेको भूमिकाले आखिर पुरुष पनि त पीडित हुँदा रहेछन् । 

म सामाजिक सञ्जालमा आफ्ना भावना र असहमति लेख्छु । महिलालाई केन्द्रविन्दुमा राखेर लेखहरू लेख्छु । तर, मोबाइलमा विभिन्न एप चलाउनै असहज मान्छु । एक दिन राइडमा कतै जानुपर्ने थियो । मैले छोरालाई भने, ‘मलाई राइड बुक गर्देऊ न ।’ तर, छोराले ‘तपाईं आफैं त्यति पनि गर्न सक्नु हुन्न ? आफैं बुक गर्नुस् न’ भन्यो । जवाफ नमीठो लाग्यो । ‘छोराछोरी ठूला भएछन्’ भनेर चित्त पनि दुख्यो । तर, महसुस गर्दै गएँ, ‘हो त नि ! यो प्रविधिको जमानामा घरमै गाडीहरू पिकअप गर्न आइपुग्छन् तर हामी पढेलेखेका महिला त्यति छिटो प्रविधितिर ध्यान नदिईकन आफ्ना श्रीमान् या छोरासँगै हारगुहार गरिरहेका हुन्छौं ।’ कुरा सानोतिनै हो, तर यस्ता सानातिना कुरा पनि हामी अरू कसैले गरिदिए हुन्थ्यो भन्ने आस गर्छौं । विशेष निर्णय गर्नुपर्दा पुरुषकै मुख ताकेर बसिरहेका हुन्छौं । अब महिला प्राविधिक रूपमा पनि सचेत र जागरुक हुनुपर्छ भन्ने मेरो सिकाइ भएको छ । तर, नयाँ पुस्ताका युवती यस्ता विषयमा अलि सचेत छन् कि !

प्राचीन समयमा पुरुष–महिलाको भूमिका समाज, संस्कृति र समयअनुसार फरक–फरक थियो । पुरुषहरू खेतीपाती, पशुपालन, सिकार, व्यापार तथा युद्धमा सहभागी हुन्थे । गाउँ वा राज्यको नेतृत्व तथा निर्णय प्रक्रियामा पुरुषको मुख्य भूमिका हुन्थ्यो । पुरुषको जिम्मेवारी परिवारको सुरक्षा र संरक्षण गर्ने हुन्थ्यो । महिलाले घरपरिवारको हेरचाह, खाना पकाउने, बालबालिकाको पालनपोषण गर्ने तथा घर व्यवस्थापनका काम गर्दै आए । धेरै समाजमा महिलाले खेतीपाती, पशुपालन र हस्तकलामा पनि योगदान गर्थे । परम्परा, संस्कृति र ज्ञानलाई नयाँ पुस्तामा पुर्‍याउन पनि महिलाको महत्त्वपूर्ण भूमिका छ । 

हाम्रा पुराणलगायतका धार्मिक साहित्य अनि नेपालका पुराना पुरुष साहित्यकारले पनि महिलालाई निम्न कोटी, पुरुषको मनोरञ्जनकर्ता तथा स्याहारसुसारकर्ताकै रूपमा हेरेको पाइन्छ । 

सामान्यतया वर्तमान समयमा आइपुग्दा पनि हाम्रो समाजले महिलाबाट यो अपेक्षा गरेको हुन्छ कि एउटी असल महिलाले माया मात्रै गर्दिनन्, सम्बन्ध बचाउन  अहंकारसमेत त्याग्न सक्छिन् । यो भनाइ पनि ‘ब्ल्याकमेलिङ’ जस्तो सुनिन्छ । महिला त्याग र समर्पणको प्रतिमूर्ति भनेर समाजले अपेक्षा गरिरहेको हुन्छ । र, त्यस्तो अपेक्षाले आम महिलामा रहर, इच्छा, चाहना र स्वतन्त्रता थाती राख्न बाध्य बनाउँछ । यस्तै सामाजिक चाहनाले महिलालाई पुरुषसँग बढी नै आशावादी बनाइदिन्छ । महिलाहरू लगाउने, खाने, घुमफिरका रहर पूरा गर्न शक्तिशाली, आर्थिक रूपले सम्पन्न पुरुषको परिकल्पना गरेर बसेका हुन्छन् । केही शिक्षित महिलाको जमात हेरौं– महिला आत्मनिर्भर र कमाउन सक्षम भइसक्दा पनि आफूले आम्दानी गरेका कुरा परिवारमा मिलेर खर्च नगरीकन पारिवारिक हर खर्च श्रीमान्लाई भराउने गरेका उदाहरण भेटिन्छन् । ती आर्थिक रूपमा सक्षम र रोजगार महिलालाई पनि लाग्छ कि घरको सम्पूर्ण जिम्मेवारी पुरुषको हो । माथि उल्लेख गरेको ‘किनकि म पुरुष हुँ’ अभिव्यक्तिको रेडियो कार्यक्रम सायद पुरुषलाई हुने आर्थिक बोझको एक उदाहरण हो । 

हाम्रो समाजमा जोकहरू पनि सिर्जना गरिएका हुन्छन् जुन स्वाभिमानी महिलालाई बिझ्ने खालका छन् । जस्तै– कसैले सोध्छ पत्नीलाई कसरी खुसी राख्ने ? अनि कसैको जवाफ हुन्छ– पर्सको मुख खुला राख्ने, आफ्नो मुख बन्द राख्ने । 

यी र यस्ता छेडखानीले महिला या श्रीमती श्रीमान्को पैसा भए मात्रै खुसी हुन्छन् भन्ने भाष्य बनेका छन् । यस्ता भाष्य तोड्न पनि महिलाले पुरुषसँग परनिर्भरता देखाउने आनीबानी त्यागेर स्वावलम्बनका तरिका अपनाउनुपर्ने हुन्छ । पारिवारिक रूपमा आम्दानी र खर्चको विषयमा छलफल, कार्यविभाजनबारे छलफल, घरको काम र घरबाहिरको काम कसले गर्ने भन्ने विषयमा छलफल गर्दै एउटा टुंगोमा पुगेर निर्णय लिँदा महिलाहरू पुरुषको भर नपरीकन सहअस्तित्वका रूपमा अगाडि बढ्न सक्छन् । तर, श्रीमतीले श्रीमान्लाई सधैं पैसा कमाउने मेसिन सम्झने, फर्माइस मात्र गर्ने, भावनात्मक सहयोगको सट्टा अनेक ताना मात्रै मारिरहँदा सम्बन्ध र पारिवारिक माहोल पक्कै बिग्रन सक्छ । यस्ता उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । 

वर्तमानमा महिलाको जुन शैक्षिक, सामाजिक, राजनीतिक आर्थिक अवस्था छ, त्यो यति सजिलै आएको होइन । नेपालकै सन्दर्भमा कुरा गरौं– महिलाको पुरुष बराबरको हक त परको कुरा, श्रीमान्–श्रीमतीमध्ये श्रीमान्को मृत्यु पहिले भयो भने श्रीमती पनि सँगै चितामा जलेर सती जाने प्रथा भएको समाजका मान्छे हौं हामी । आफ्ना परिवारदेखि खोसिएका अधिकार, अमानव बनाइएको अवस्थालाई चिर्दै विभिन्न आन्दोलन र आवाजपछि मात्रै महिला–पुरुष समान हुन, समानता, समता र न्याय महिला–पुरुष दुवैलाई उत्तिकै चाहिन्छ भन्ने चेतनाको जागरण भइरहेको समयमा छौं हामी । अब हामीले यो पनि बुझ्दै जानुपर्छ, महिला–पुरुष या यौनिक तथा लैंगिक अल्पसंख्यक जो भए पनि असल मानव भएर एकअर्कालाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ । 

हामी एकअर्काका सहयोगी, साझेदार, मानवताप्रेमी हुन सक्छौं– परिवारभित्र श्रीमान्–श्रीमतीका रूपमा या बाहिर सामाजिक प्राणीका रूपमा । कसैले महिलालाई परनिर्भर नमानून् अनि पुरुषले पनि आफूलाई रुपैयाँ–पैसाको बोट र जिम्मेवारीको हिमायती नठानून् । महिला–पुरुषबीच पारिवारिक रूपमा सहकार्य, समझदारी, सहयोग, माया र सम्मान रहोस् । नरहोस्– तिक्तता र चिसोपन । 

सुशीला शर्मा कान्तिपुरमा लैंगिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully