राइड हेलिङ प्लाटफर्मले चालकलाई सवारी सीप मात्रै होइन, लैंगिक संवेदनशीलता, यात्रु अधिकार र विवाद व्यवस्थापनको तालिम अनिवार्य दिनुपर्छ । यात्रुमाथि उजुरी परेपछि के कारबाही भयो ? त्यो यात्रुले थाहा पाउनुपर्छ ।
What you should know
हालैको एक दिन साथी र म गोदावरी गएका थियौं । त्यहाँ केही घण्टा बिताएपछि घर फिर्ने बेला भयो । हामी मिडिल क्लास नागरिकलाई आजभोलि सजिलै छ– जहाँ पुग्न पनि अनलाइन राइड छँदै छ, अहिले त झन् उबर थपिएको छ । हामीले एक अनलाइन एपबाट राइड बुक गर्यौं । १५ मिनेटपछि गाडी आयो, आरामदायी देखिन्थ्यो । कम्फर्ट श्रेणीको प्राइभेट कार थियो । हाम्रो अपेक्षा थियो– यात्रा सजिलो र सुरक्षित होला । तर, त्यो यात्रा न आरामदायी भयो, न सुरक्षित !
गाडीमा शारीरिक समस्या हुने भएकाले साथी अगाडिको सिटमा बसिन् । गाडीभित्र छिर्नेबित्तिकै एसीको कडा चिसोले हान्यो । सिटमा बसेपछि उनले भनिन्, ‘दाइ, एसी बन्द गरिदिनु न, हामीलाई फेरि चिसो लागिहाल्छ ।’ यो ठूलो माग थिएन, सामान्य अनुरोध थियो ।
चालकको जवाफ थियो, ‘ज्याकेट किन्दिउँ त ?’
एकैछिन सोचौं– ‘ज्याकेट किन्दिउँ त ?’ सुन्दा सामान्य वाक्य हो । तर, त्यसभित्र के थियो ? एक, सेवा प्रदायकले यात्रुको अति सामान्य अनुरोधलाई व्यंग्यले उडाउनु ? दुई, महिलालाई देखेर हेप्नु ? हामी अवाक भयौं । मलाई रिस उठ्यो । मैले झर्किंदै भनें, ‘ल किन्दिनु, कहाँ किन्दिने हो ? ज्याकेट किनिदिने भनेको हैन ?’ त्यसपछि चालक केही बोलेनन् र एसी बन्द गरे ।
केही समयपछि मैले कारको झ्याल खोल्ने प्रयास गरें तर खुलेन । चालकले थपे, ‘झ्याल खुल्दैन, एसी मात्रै हो ।’ म र साथी मुखामुख गर्यौं, फेरि चुप लाग्यौं । तर, स्वेच्छाले होइन, बाध्यताले । बन्द गाडीभित्र एक अपरिचित चालकसँग बीच बाटोमा हामी चुप हुनुको असली कारण थियो– एक अव्यक्त डर । चालकले गाडीको गति अस्वाभाविक बढाए, बेपर्वाह ढंगले कुदाए । मैले भनें, ‘दाइ, बिस्तारै जानुस् न, यसरी स्पिडमा नचलाउनुस् ।’ उनले फिटिक्कै वास्ता गरेनन् । गाडी तीव्र गतिमा कुदिरह्यो । हामी दुवैलाई थाहा थियो, गाडीमा हाम्रो नियन्त्रण छैन– न एसीमाथि, न गतिमाथि, न नयाँ परिस्थितिमाथि ।
ललितपुर, बाँडेगाउँ पुग्नै लाग्दा चालकले अचानक गाडी नै थर्किने गरी गीत बजाए, जतिखेर हामी आपसमा कुराकानी गरिरहेका थियौं । साथीले भनिन्, ‘दाइ, नबजाउनु न ! हामी गफ गरिरहेका छौं ।’ चालकले भने, ‘मलाई सुन्न मन लाग्यो, म बोर भइरहेछु ।’
मैले शान्त स्वरमा भनें, ‘दाइ, हामी तपाईंको यात्रु हौं । हामीलाई सुन्नु छैन भने तपाईं एक्लै हुँदा सुन्नुस् ।’ उनले झर्किंदै भने, ‘म सुन्छु । तपार्इंहरू नसुन्ने भए ओर्लेर अर्को गाडीमा गए हुन्छ ।’
‘हुन्छ रोक्नुस् ! हामीलाई तपाईंको गाडीमा जानु छैन ।’ र, हामी बीच सडकमै ओर्लियौं ।
०००
मेरो मन–मुटु जिरिंग भयो, टाउको दुख्न थाल्यो, श्वास अवरुद्ध भएझैं लाग्यो । रिस उठिरहेको थियो कि चित्त दुखिरहेको थियो ? थाहा भएन तर देश र समाजप्रति घृणा जाग्न थाल्यो । देशको सार्वजनिक यातायातको हालत सम्झेर रिस उठ्यो । ‘आफूसँग आफ्नै गाडी छैन’ सोचेर मन भतभत पोल्न थाल्यो । यस्ता सोच तर्कसंगत होइन– थाहा थियो । तर, त्यो क्षण मेरो मानसिक अवस्था त्यस्तै–त्यस्तै थियो । साथी र म एकअर्कासँग बोल्न पनि सकेनौं, धेरैबेर सडकमा चुपचाप उभिइरह्यौं ।
एक बटनमै गाडी ‘लोकेसन’ मा आइपुग्छ । तर, के यी एपसँगको यात्रा सजिलो, सुरक्षित अनि आरामदायी छ ? गम्भीर विमर्श आवश्यक छ ।साथीले भनिन्, ‘स्पीडमा चलाउँदा गाडी कतै लगेर ठोक्देला कि भन्ने डर लागिरहेको थियो ।’ पैसा तिरेर सेवा लिन खोज्दा पनि ज्यानकै चिन्ता गर्नुपर्ने अवस्थामा पुगेका थियौं । शारीरिक–मानसिक रूपमा असुरक्षित महसुस भइरहेको थियो । बन्द गाडीभित्र, अपरिचित मान्छेको मनस्थितिको अधीनमा र आफ्नो कुनै नियन्त्रण नभएको अवस्थामा हामी यात्रा गरिरहेका थियौं । अहिले त्यस घटनाले हाम्रो मनमा एउटा डर पैदा गरिदिएको छ । त्यस्तो डर अर्को पटक राइड बुक गर्दा पनि रहिरहन्छ, सडकमा एक्लै हिँड्दा पनि रहन्छ ।
त्यस घटनापछि उक्त एपमा आधिकारिक उजुरी दर्ता गर्यौं । जवाफ आयो– ती चालक कहिल्यै हामीलाई नपर्ने नोटेफिकिसन । सोचेका थियौं– कम्तीमा प्लाटफर्मले कारबाही गर्ला वा चालकलाई जवाफदेही बनाइएला वा हामीलाई न्यूनतम जानकारी त पक्कै देला । तर, त्यसपछि न कुनै प्रतिक्रिया आयो, न केही पुष्टि ! के त्यो एपले ती चालकलाई चेतावनी दियो ? के चालकको खाता सीमित अवधिका लागि निलम्बन गरियो ? के हाम्रो उजुरी कसैले पढ्यो ? यी प्रश्नको जवाफ हामीसँग छैन । उही चालकले उबर, यांगो, इनड्राइभ, पठाओ पनि चलाउँछन् । एक प्लाटफर्ममा उजुरी गर्दा अर्को प्लाटफर्मलाई कुनै पनि जानकारी हुँदैन । त्यसैले उही व्यवहार, उही चालक ! अनि अर्को एपमा अर्की महिला यात्रुसँग उही घटना दोहोरिन सक्छ ! सायद दोहोरिइरहेकै होला !
०००
त्यही दिन सरकारले बजेट २०८३/०८४ सार्वजनिक गर्दै थियो । बजेटमा अर्थमन्त्रीले डिजिटल इनोभेसनलाई प्राथमिकतामा राखेको बताउँदै थिए । स्टार्टअप इकोसिस्टम, प्रविधिमा आधारित सेवा विस्तार र डिजिटल पूर्वाधारको कुरा गरिँदै थियो । यी एप पनि प्राविधिक सेवाभित्रै पर्छन् । काठमाडौंका सडकमा आज यांगो, इनड्राइभ, पठाओ, उबर एपहरूको भीड छ । एक बटन थिच्दा गाडी ‘लोकेसन’ मै आउँछ । र, मिडल क्लासका लागि यो निर्विवाद सुविधाजनक छ, अझ भनुँ वरदान नै भएको छ ।
नेपालमा राइड हेलिङको इतिहास हेरौं । सन् २०१७ मा नेपाली एप टुटल सुरु भयो । टुटलले नेपाली सडक बुझेको थियो, नेपाली यात्रुको आवश्यकता बुझेको थियो । तर, त्यो एप बन्द भयो । त्यसपछि प्रचारमा आए– बंगलादेशी कम्पनीे पठाओ, अमेरिकामा दर्ता भएको इनड्राइभ, रुसी कम्पनी यांगो र हाल अमेरिकी बहुराष्ट्रिय कम्पनी उबर । यी सबै एप विदेशी कम्पनी हुन् । नेपाली यात्रुले सजिलै यात्रा गरेपछि तिर्ने हरेक भाडाको कमिसन, प्लाटफर्मको मुनाफा, नेपाली सडकको डेटालगायत सबै विदेश जान्छन् । नेपाली चालकले पैसा कमाउँछन्, यो सत्य हो । तर, निर्णयको अधिकार, नीति बनाउने शक्ति र मुनाफाको मुख्य भाग देशबाहिरै रहन्छ ।
टुटलमार्फत स्वदेशी विकल्प बनाउने प्रयास भएको थियो तर त्यो टिक्न सकेन । र, अहिले हामी विदेशी एपको भरपरेका छौं, जसलाई नेपाल सरकारले नियमनसमेत गर्न सकेको छैन । नेपालमा राइड हेलिङ क्षेत्र ७ वर्षसम्म कानुनी मान्यताबिना चलिरह्यो । पाटन उच्च अदालतले सन् २०२० मा नियमन गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतले सन् २०२४ मा पुनः दोहोर्याएको थियो । सेवा सुरु भएको ७ वर्षपछि अर्थात् सन् २०२४ मा मात्रै औद्योगिक उद्यम ऐनमा संशोधन गरी यसलाई कानुनी रूप दिइयो । तर, आजसम्मै देशको राजधानी काठमाडौंमै अधिकांश सहरी राइड हेलिङ गतिविधि हुन्छ । र, त्यहीँ लागू भएको छैन– स्पष्ट परिचालन निर्देशिका ।
नियमन नहुँदा के–के हुन सक्छ ? त्यो हाम्रै अनुभवले देखाइसकेको छ । चालकहरू जवाफदेही हुँदैनन् । यात्रुसँग उजुरी गर्ने विश्वसनीय माध्यम हुँदैन । र, सुरक्षाको प्रत्याभूति केवल प्लाटफर्मको मार्केटिङ सामग्रीमै सीमित रहन्छ । उजुरी गर्नु साहसको काम हो । धेरै यात्रु (झन् महिला) झन्झट, लाज वा प्रणालीमाथिको अविश्वासका कारण उजुरी गर्दैनन् । हामीले गर्यौं उजुरी । तर, उजुरी गरेपछि पनि जवाफ पाइँदैन भने अर्को पटक उस्तै घटनामा उजुरी गर्ने जाँगर, जोस र हिम्मत कसरी जुटाउने ?
दक्षिण एसियाभर महिला यात्रुको असुरक्षा एक साझा चुनौती हो । भारतमा सन् २०१२ को निर्भया घटनापछि उबर र ओलाले ‘पेनिक बटन’ थपे, सुरक्षाका नयाँ सुविधा ल्याए । तर, सन् २०२४ को तथ्यांकले भन्छ– २९ प्रतिशत महिला सार्वजनिक यातायातलाई अझै उत्पीडनको प्रमुख स्थान मान्छन्, २४ वर्षमुनिका युवतीहरूमा यो दर दोब्बर छ । प्रविधि त थपियो तर समस्या ज्युँका त्युँ छ । बंगलादेशमा ढाकाको सार्वजनिक यातायातमा लैंगिक संवेदनशीलताको अभाव, उजुरीमाथि कारबाहीको अभाव र सम्बोधन नै नगर्ने संस्कृति महिला उत्पीडनका मुख्य कारण भएको सन् २०२५ को एक अध्ययनले देखाएको छ । यी कारण प्रविधिसँग सम्बन्धित छैनन्, मानसिकतासँग सम्बन्धित छन् । पाकिस्तानमा संयुक्त राष्ट्र महिला र औरत फाउन्डेसनको सर्वेक्षणअनुसार, ९० प्रतिशतसम्म महिलाले यात्रा क्रममा कुनै न कुनै प्रकारको उत्पीडन भोगेकै छन् । यस अवस्थाले अन्ततः सन् २०२५ मा ‘भिसिस्टर्स’ नामक महिला मात्रैका लागि छुट्टै राइड हेलिङ सेवा जन्माउन बाध्य बनायो, जहाँ चालक पनि महिला, यात्रु पनि महिला हुन्छन् ।
नेपाल अहिले यी देशभन्दा तुलनात्मक रूपमा राम्रो अवस्थामा छ । राइड हेलिङले महिलाको गतिशीलता बढाएको छ, स्वतन्त्रता दिएको छ । तर, अफलाइन राइडको समस्या, उजुरी संयन्त्रको अभाव र चालकमा जवाफदेहिताको कमीजस्ता समस्या व्याप्त छ । यदि यी समस्या सम्बोधन गरिएन भने सार्वजनिक यातायातमा महिला–हिंसा भइरहने तिनै देशजस्तै नेपाल पनि हुने पक्कापक्की छ ।
यांगो होस् वा इनड्राइभ– यदि यी प्लाटफर्मले आफ्ना चालकलाई सवारी सीप मात्र सिकाउँछन्, यात्रुप्रतिको जिम्मेवारी र सम्मानको पाठ सिकाउँदैनन् अनि त्यो जरुरी ठान्दैनन् भने हामीले हाम्रो मानसिकतामाथि पुनर्विचार गर्नु जरुरी छ । ‘ज्याकेट किन्दिउँ त ?’ भनेर एक अनलाइन राइडरले फर्ल्ट गर्नु वा डरमर्दो गरी गाडी हुइँक्याउनु सबैका लागि खासै ठूलो विषय नहोला । यसले सेयर बजारमा उथलपुथल ल्याउँदैन, जलवायु परिवर्तनमा केही भूमिका खेल्दैन । भारत–नेपाल सीमा विवादजस्ता विषयमा सरकार व्यस्त रहिरहँदा यस्ता अनलाइन राइडर एपको छलफल सरकारको प्राथमिकतामै नपर्ला । तर, हरेक नेपाली नागरिकले आफैंलाई प्रश्न गरून्– के बहस गर्न हत्या, बलात्कार वा लुटपाटजस्ता घटना नै घट्नुपर्छ ?
विकट कर्णालीमा किशोरी आमा अस्पताल जान नपाएर ज्यान गुमाउनु परिरहेको देशका लागि यो एक सामान्य घटना हो भनेर चुपै बस्दा पनि हुन्थ्यो होला । तर, म चुप रहन सकिनँ । यो मेरो व्यक्तिगत घटना मात्रै हुँदै होइन । हामी आफ्नो देशमा, आफ्नै सडकमा सेवाका लागि पैसा तिरेर यात्रा गर्दा पनि सुविधासँगै सम्मान त परको कुरा, उल्टो डर र ट्रमामा छौं । र, चालकको दुर्व्यवहारले मानसिक सुरक्षाका लागि सरकारको कुन निकायको कति नम्बरको झ्यालमा धाउने ?
सबै अनलाइन चालक उस्तै पनि छैनन् । समस्यामा परेका बेला सुरक्षित तवरले गन्तव्यमा पुर्याइदिने कैयौं चालक भेटेको छु । ती चालकलाई हृदयदेखि धन्यवाद पनि दिएकी छु । फाइभ स्टार रेटिङ पनि दिएकी छु । तर, अवस्था सधैं एकैनाश हुँदैन । र, यस्तो अवस्थामा थोरै परिवर्तन ल्याउन एक व्यक्तिको एक लेख पर्याप्त हुँदैन । त्यसका लागि राज्य नै अघि सर्नुपर्छ । सुरक्षित यात्रा गर्न पाउनु हरेक यात्रुको अधिकार हो । त्यो अधिकार सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो ।
राइड हेलिङ प्लाटफर्महरूले चालकलाई सवारी सीप मात्रै नभई लैंगिक संवेदनशीलता, यात्रु अधिकार र विवाद व्यवस्थापनको अनिवार्य तालिम दिनैपर्छ । र, उजुरीपछि के कारबाही भयो ? यात्रुलाई जानकारी दिनैपर्छ । त्यो विकल्प होइन, अनलाइन प्लाटफर्मको दायित्व हो । सरकारले स्पष्ट परिचालन निर्देशिका लागू गर्नुपर्छ । सरकारले डिजिटल इनोभेसनको नारा लगाउँदा स्वदेशी एप टिक्ने र फस्टाउने वातावरण बनाइदिनुपर्छ । देशमा जति धेरै राइड सेयरिङ एप आए पनि, बजेटमा जति प्रविधिका कुरा गरिए पनि एक सामान्य राइड हेलिङ एपको चालकले नागरिकमाथि दुर्व्यवहार गर्छ अनि जवाफदेही हुँदैन, फेरि यात्रुको उजुरी त्यसै हराउँछ, यात्रु बीच सडकमै अनेक प्रश्न–डर र हीन भावना लिएर उभिन बाध्य हुन्छ भने यो विकास मोडेलले समाजको के विषय समेटेको छ ? कुन विषयमाथि बेवास्ता गरेको छ ? गम्भीर आत्ममन्थन जरुरी छ ।
