संविधान संशोधन बहसपत्रका आधारभूत सरोकार 

संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बसहपत्रमा समेटिन जरुरी छ । संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षासहित बलियो र सशक्त संघीयतालाई प्रवर्द्धन गर्ने सवाल बहसपत्रको अनिवार्य विषय बन्नुपर्छ ।

जेष्ठ २९, २०८३

जेबी विश्वकर्मा

Basic Concerns of the Constitution Amendment Debate Paper

What you should know

वालेन्द्र शाह नेतृत्वको सरकारले चैत १६ मा प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशोधनको बहसपत्र निर्माणसम्बन्धी कार्यदल गठन गर्‍यो । कार्यदलले संविधान संशोधनका विविध विषयमाथि छलफल गरिरहेको छ, तथापि प्रश्न उठेका छन्– ‘संविधान संशोधन बहसपत्र’ को आवश्यकता र औचित्य के हो ? बसहपत्रको निर्माण संविधान संशोधनका एजेन्डा पहिचान गरी बृहत्तर बहस गराउनु हो ? यदि त्यसो हो भने त्यस्तो बहस कसरी हुन्छ, कहाँ गराइन्छ ? यस्ता बहसबाट कस्तो परिणामको अपेक्षा गरिएको हो ? यस्ता आधारभूत प्रश्नको स्पष्ट जवाफ र दृष्टिकोणबिना बन्ने बहसपत्र कस्तो होला ? यस्तो बहसपत्रले संविधान संशोधनमा कसरी भूमिका खेल्ला ? यस्ता अनगिन्ती प्रश्नकै बीच कार्यदलले सरोकारवालाबीच परामर्श गरिरहेकै छ ।

संविधान संशोधनको बहसपत्र तयार गर्दा संविधान निर्माणका क्रममा भएका निकै ठूलो राजनीतिक रस्साकसीको पनि स्मरण गर्नुपर्ने हुन्छ । मूलतः राज्यको शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली र धर्मनिरपेक्षताका सन्दर्भमा निकै पेचिलो शक्ति–संघर्ष भएको थियो । त्यतिबेला फरक–फरक राजनीतिक–सामुदायिक समूहले आ–आफ्ना अडान राखेका थिए । राजनीतिक असमझदारीकै बीचबाट नयाँ संविधान जारी भएको थियो । ती असहमतिका स्वरहरू बेलाबखत सार्वजनिक मञ्चमा प्रकट हुँदै आइरहेका छन् । संविधान संशोधनको बहसपत्रमा ती मुद्दाले स्थान पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न पनि टड्कारो रूपमा देखिएको छ ।

बहसपत्रबारे आधारभूत सरोकार
नेपालको संविधान, २०७२ जारी भएको दिन केही राजनीतिक दलहरूले दीपावली मनाएका थिए भने केही दल र समुदायले जलाएका थिए । यसको अर्थ, राजनीतिक सम्झौताका आधारमा संविधान जारी भए पनि असन्तुष्टि कायमै थियो । ती असन्तुष्टिलाई सम्बोधन गर्न र संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरी संविधानलाई अझ समयसापेक्ष र प्रगतिशील बनाउन संविधान संशोधन आवश्यक छ । हुन त जेन–जी विद्रोहअघिको एमाले र कांग्रेसबीचको गठबन्धन सरकार बन्ने सम्झौता हुँदा संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका थिए तर संविधान संशोधनको आवश्यकता, औचित्य र आधारबारे कुनै छलफलसमेत गरेनन् । शाह नेतृत्वको सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार पारेर काम सुरु गरेपछि भने संविधान संशोधनले औचित्य स्थापित गर्ने देखिएको छ । तर, यसरी बहसपत्र तयार पार्दा केही आधारभूत सरोकारलाई ध्यान दिन आवश्यक छ । 

एक, नेपालको संविधान जनताको निकै ठूलो संघर्ष र बलिदानीबाट लेखिएको दस्ताबेज हो । नेपालमा सामन्ती राजतन्त्रको अन्त्यमार्फत गणतन्त्रलाई स्थापना गर्न, एकात्मक र केन्द्रीकृत शासन प्रणालीको रूपान्तरण गरी संघीयतामा प्रवेश गर्न, निश्चित जातजाति, लिंग र वर्गको एकाधिकारसहितको राज्य व्यवस्थालाई समावेशी बनाउन विगतमा भएका राजनीतिक–सामाजिक संघर्षको जगमा जनताकै प्रतिनिधिले संविधानसभामार्फत यो संविधान जारी गरेका हुन् । ती ऐतिहासिक क्रान्ति, संघर्ष र आन्दोलनको स्पिरिटलाई संविधान संशोधन बहसपत्रले सम्बोधन गर्नै पर्छ । राज्य पुनःसंरचनामार्फत सामाजिक न्यायसहितको लोकतन्त्र स्थापनाका लागि भएका संघर्षको प्रतिफल अहिलेको संविधान भएका कारणले पनि देशको अग्रगामी रूपान्तरणको एजेन्डामा बहसपत्र केन्द्रित हुनुपर्छ । संसारभरि फैलिएको दक्षिणपन्थी राजनीतिको प्रभाव नेपाली राजनीतिमा पनि छ । त्यसैले संविधान संशोधनको बहसपत्र नेपालको दक्षिणपन्थी राजनीतिलाई वैधता दिने राजनीतिक दस्ताबेज बनाइनु हुँदैन ।

दुई, संविधानको प्रस्तावनामा लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने उल्लेख गरिएको छ । तर, संविधान जारी भएको एक दशकसम्म नेपालका संसदीय राजनीतिक दल वा संसद्मा समाजवादी व्यवस्थाको मोडलबारे कुनै ठोस बहस भएनन् । बरु पुँजीपति, दलाल र विचौलियाको लुटधन्दालाई वैधानिकता दिने काम राज्यले गर्दै आयो । संविधान संशोधन बहसपत्र निर्माण गर्ने कार्यदलले पनि समाजवादी मोडलबारे कुनै बहस र छलफल गरेको देखिँदैन । सैद्धान्तिक रूपमा देशलाई समाजवादी व्यवस्थातिर लैजाने हो भने समाजवादी व्यवस्थाको मोडलबारे बहस हुनुपर्छ र बहसका निष्कर्ष संविधान संशोधनका एजेन्डा बन्नुपर्छ ।

शासकीय स्वरूप, निर्वाचन प्रणाली वा अन्य जुनसुकै व्यवस्थाको संशोधन नगरिँदा सबै जातजाति, लिंग र समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । तीन, संविधान जारी हुने प्रक्रियादेखि नै विभिन्न राजनीतिक दल र समुदायले असहमति दर्ज गर्दै आइरहेका छन् । संविधान संशोधन बहसपत्रको एउटा महत्त्वपूर्ण एजेन्डा विगतदेखि संविधानप्रति असमझदारी राख्दै आइरहेका शक्तिको मुद्दा पनि बन्नुपर्छ । विशेषगरी मधेशी, आदिवासी जनजाति, थारू र सीमान्तीकृत समुदायको असन्तुष्टिको मुद्दामा बहस नगरी संविधान संशोधनको बहस अगाडि जान सक्दैन । विगतका असन्तुष्टिका घाउलाई यथावत् राखेर हुने बहस वा संविधान संशोधनको औचित्य हुँदैन । त्यसैले ती असहमति र असन्तुष्टि संविधान संशोधन बहसपत्रको अनिवार्य सर्त हुनुपर्छ । 

चार, संघीय शासन प्रणाली जनताले गरेको दशकौं लामो संघर्षको प्रतिफल हो । तर, नेपालमा संघीयताविरोधी भाष्य निर्माणको शृंखलाले तीव्रता पाइरहेको छ । अझ सत्तारूढ रास्वपा संघीयताप्रति प्रतिबद्ध देखिँदैन । त्यसैले रास्वपासँग संघीय व्यवस्थालाई बलियो र प्रभावकारी बनाउने कुनै दृष्टिकोण देखिँदैन । प्रदेशको स्वायत्तता र अधिकारलाई बलियो बनाउनुको सट्टा प्रदेशसभालाई नै खारेज गर्ने विचार बाहिर आउने गरेका छन् । यसले संघीयताको बहसलाई कमजोर बनाउन सक्ने जोखिम पनि देखिन्छ । संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बसहपत्रमा समेटिन जरुरी छ । संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षासहित बलियो र सशक्त संघीयतालाई प्रवर्द्धन गर्ने सवाल बहसपत्रको अनिवार्य विषय बन्नुपर्छ । देश कुनै पनि हालतमा संघीयताबाट पछाडि फर्किन सक्दैन र हुँदैन ।  

पाँच, समानुपातिक समावेशीकरणको सुनिश्चितता संविधान संशोधन बहसको अर्को महत्त्वपूर्ण सवाल हो । निश्चित जातजाति र समुदायको एकाधिकारको अन्त्य गरी सबै लिंग, वर्ग र समुदायले आफ्नो अपनत्वसहितको राज्यका लागि महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम आदिले दशकौंसम्म लड्दै आइरहेका छन् । संविधानले समानुपातिक समावेशीकरणको सिद्धान्तलाई स्वीकार गरेको भए पनि उत्पीडित समुदायले खोजेको समानुपातिक समावेशीकरणको अभ्यास हुन सकिरहेको छैन । राज्य सबैको हो, त्यसैले राज्यका सबै अंगमा सबै जातजाति, समुदाय र लिंगको समानुपातिक प्रतिनिधित्व र हिस्सेदारी अनिवार्य हुनुपर्छ । यसका लागि जुनसुकै विधि अपनाइए पनि सीमान्तीकृत समुदायको परिणाममै समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । शासकीय स्वरूप, निर्वाचन प्रणाली वा अन्य जुनसुकै व्यवस्थाको संशोधन नगरिँदा सबै जातजाति, लिंग र समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । उत्पीडित समुदायको यो सम्झौताहीन सर्त हो, जुन बहसपत्रको महत्त्वपूर्ण एजेन्डा बन्नुपर्छ । उदाहरणका लागि जनप्रतिनिधिमूलक निकाय प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेशसभा र तीनै तहको सरकारका महिला, दलितलगायत सबै उत्पीडित समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सवाल बहसपत्रमा समेटिनुपर्छ ।

राज्य समानुपातिक समावेशी सिद्धान्तको बर्खिलापमा उभिँदै छ । निर्वाचन आयोगले जनप्रतिनिधिको संख्या घटाउन गरेको प्रस्ताव समानुपातिक समावेशी प्रतिनिधित्वको खिलाफमा छ भने स्थानीय तहमा दलित तथा महिलाको प्रतिनिधित्वलाई खुम्च्याउने नियतसहित आएको देखिन्छ । यस्ता समावेशीविरोधी नियतको प्रतिवाद गर्ने र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने एजेन्डा बसहपत्रको अनिवार्य सवाल बन्नैपर्छ । यति मात्रै होइन, नेपालको निजामती प्रशासन, न्यायपालिका र कानुन कार्यान्वयन गर्ने समग्र संरचनालाई नै पूर्णरूपमा समानुपातिक समावेशी बनाउने विधि पनि बहसपत्रमा समावेश गरिनुपर्छ ताकि संविधान संशोधन हुँदा यी मुद्दाले प्राथमिकता पाऊन् ।

छ, नेपाल संवैधानिक रूपमा धर्मनिरपेक्षता देश हो । यसको अर्थ राज्यको कुनै धर्म हुँदैन । राज्यका दृष्टिकोणमा सबै धर्म समान हुन्छन् र सबैले स्वतन्त्रतापूर्वक धर्म मान्न पाउँछन् वा नास्तिक हुन पाउँछन् । राज्यको गतिविधि र व्यवहारले नेपालमा धर्मनिरपेक्षताको प्रवर्द्धन गर्नेभन्दा सनातनी हिन्दु धर्मकै प्रवर्द्धन गरिरहेको छ । संविधानमा जसरी धर्मनिरपेक्षताको परिभाषा गरिएको छ, त्यसले हिन्दु राज्यकै प्रवर्द्धनमै योगदान गरिरहेको छ । त्यसैले धर्मनिरपेक्षतालाई संविधान संशोधनको बहसपत्रको एउटा मुद्दाका रूपमा समेटिनुपर्छ । 

सात, राज्य पुनःसंरचना सामाजिक न्यायको सुनिश्चितताका लागि आवश्यक थियो । संविधानसभामार्फत नयाँ संविधान निर्माण गर्नुको औचित्य अन्याय, अत्याचार, विभेद र बहिष्करणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने संवैधानिक आधार तय गर्नु थियो । संविधानमा सामाजिक न्यायको हकको व्यवस्था पनि गरिएको छ । तर, व्यवहारमा जातजाति, लिंग, वर्ग र समुदायका आधारमा हुने बहिष्करण, हिंसा र विभेद कायमै छन् । समाजका गरिब, श्रमजीवी, मजदुर र किसानको आवाजको सुनुवाइ हुने राज्य व्यवस्था निर्माण हुन सकेको छैन । राज्य पुँजीपति, धनीवर्ग, बिचौलिया र दलालकै स्वार्थपूर्तिमा केन्द्रित हुने अभ्यास कायमै छ । त्यसैले समाजका कमजोर वर्ग र समुदायको सामाजिक न्याय सुनिश्चितताको मुद्दालाई संविधान संशोधनको बहसपत्रको एजेन्डा बनाइनुपर्छ ताकि गरिब, श्रमजीवी र मजदुरमाथिको निरन्तर शोषण, दमन र अत्याचारको अन्त्य गर्ने संवैधानिक दायित्व राज्यले पूरा गर्न सकोस् ।

बहुपक्षीय परामर्श 
संविधान संशोधन केबल सत्तारूढ दल र संसद्‍मा प्रतिनिधित्व गर्ने दलको मात्रै सरोकारको विषय होइन । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान गर्ने समूहसँगको संवाद र परामर्शबिना संविधान संशोधन बहसपत्रले पूर्णता पाउन सक्दैन । जसले यो व्यवस्था ल्याउन सबैभन्दा धेरै संघर्ष गरेका थिए, त्यो शक्तिलाई व्यवस्था बलियो बनाउने जिम्मेवारीबोध पनि बढी नै हुन्छ । त्यसैले यो व्यवस्था ल्याउन संघर्ष गरेको वा नेपालको सामाजिक–राजनीतिक रूपान्तरणका लागि योगदान गर्ने सबै शक्तिसँग सघन छलफल र परामर्शले मात्रै सार्थक बहसपत्र निर्माण हुन सक्छ । संविधान संशोधनका मूलभूत एजेन्डालाई प्रस्ट र बलियो बनाउने हो भने संविधान संशोधन बहसपत्र निर्माणकै क्रममा बृहत् राजनीतिक सम्मेलन आयोजना गरिनुपर्छ, ताकि संशोधनका मूलभूत एजेन्डाबारे बृहत् विमर्श हुन सकोस् ।

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन संघर्ष गर्ने कतिपय राजनीतिक दलहरू अहिले संसद्बाहिर छन् । कतिपय राजनीतिक दलहरू संसदीय व्यवस्थाकै विकल्पका लागि आन्दोलनमा छन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका मुख्य हिस्सेदारमध्ये मधेशी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिमलगायत सीमान्तीकृत समुदायको निकै महत्त्वपूर्ण भूमिका रहेको थियो । त्यसैले संविधान संशोधनका सन्दर्भमा यी समुदायसँगको परामर्श अनिवार्य हुन आउँछ । यति मात्रै होइन, संविधान निर्माणका क्रममा नेपालका प्राज्ञिक क्षेत्र, बुद्धिजीवी र नागरिक आन्दोलनले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्ता प्रबुद्ध वर्ग र समुदायसँग पनि बहसपत्र निर्माणका क्रममा परामर्श हुन जरुरी छ । 

गत भदौको नवयुवाको आन्दोलनले नेपाली राजनीतिको परिदृष्य फेरिएको छ । सोही आन्दोलनको जगमा निर्वाचनपछि नयाँ सरकार बनेको छ । नवयुवाले चाहेको देश र भविष्यलाई नजरअन्दाज गरेर संविधान संशोधनको बहसले पूर्णता पाउन सक्दैन । त्यसैले नवयुवाभित्रका महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू, मुस्लिमलगायत समुदायको आवश्यकता र भावनाको प्रतिबिम्ब बहसपत्रले समेट्नुपर्छ । सरकारले गठन गरेको कार्यदलको नेतृत्व रास्वपाले गरेको छ भने संसद्भित्र पनि बलियो उपस्थिति छ । संविधान संशोधन केबल दुईतिहाइको शक्तिको दम्भबाट हुनु हुँदैन । बहुसंख्यक जनताको चाहनालाई केन्द्रमा राखेर निर्णय गरिनुपर्छ । यसका लागि बहसपत्र निर्माणदेखि संविधान संशोधन प्रक्रियामा ऐतिहासिक उत्पीडनमा पारिएका वर्ग, लिंग, क्षेत्र र समुदायको आवाजको प्रतिनिधित्व हुनुपर्छ, ताकि संविधान संशोधनपछि अर्को संघर्ष गर्नुपर्ने बाध्यात्मक अवस्था नआओस् ।

जेबी सामाजिक–राजनीतिक अध्येता विश्वकर्मा कान्तिपुरका स्तम्भकार हुन् ।

Link copied successfully