‘मनबहादुर’ को गणतन्त्र

पहाडलाई केवल भूकम्पले होइन, विकासका नाममा डाँडा चिर्दै कुदाइएका डोजरले पनि हल्लायो। सडकसँगै पहाडमा गहिरा घाउ बने, जसले वर्षासँगै पहिरो, जमिन चिप्लिने र बस्ती जोखिममा पर्ने समस्या बढायो। सुरक्षित बनाउने भनिएको विकासले नै असुरक्षा थपिदियो।

जेष्ठ २८, २०८३

चन्द्रकिशोर

Republic of 'Man Bahadur'

What you should know

देशको इतिहास प्रायः राजधानीमा लेखिन्छ तर विकासको वास्तविक इतिहास पैदल हिँड्ने मानिसको खुट्टामा लेखिएको हुन्छ । मनबहादुर रावल ८१ वर्षका छन् । उनको नागरिकतामा जन्ममिति लेखिएको छ । तर, उनको जीवनको इतिहास सरकारी कागजमा भेटिन्न । जाजरकोटको नलगाड नगरपालिका पिपलचौरमा भेटिएका उनले एउटा यस्तो ठाउँको नाम लिए, जुन आजभोलि ओझेलमा छ– ‘कोइलावास’ । उनले त्यो नाम उच्चारण गर्दा लाग्थ्यो, मानौं कुनै पुरानो आफन्त सम्झिरहेका छन् । कोइलावास दाङ जिल्लाको एक ऐतिहासिक दक्षिणी व्यापारिक नाका हो ।

एक समय थियो जब नुन, कपडा, औषधि र कहिलेकाहीं सपना पनि कोइलावासबाटै आउँथे । जाजरकोटबाट निस्केको एउटा मान्छे त्यहाँ पुग्न बाह्र दिन लगाउँथ्यो । फर्किन अर्को बाह्र दिन । चौबीस दिनको यात्रापछि घरमा नुन आइपुग्थ्यो । मनबहादुरका लागि कोइलावास फगत एउटा नाका होइन, एउटा युग हो । नाकाहरू कहिलेकाहीं सहरले होइन, सडकले जन्माउँछन् । अनि सडकले नै तिनलाई मार्छ पनि । विकासले सबै नाकालाई समान व्यवहार गर्दैन । सडकले कतै जीवन पुर्‍याउँछ, कतै जीवन तानेर लैजान्छ । विकासले अन्ततः कोइलावाससम्म बाटो त पुर्‍यायो । तर, त्यो बाटो आइपुग्दासम्म कोइलावासले आफ्नो पुरानो महत्त्व गुमाइसकेको थियो । राज्य प्रायः त्यहीं पुग्छ, जहाँ मानिसहरू पर्खेर थाकिसकेका हुन्छन् ।

मनबहादुर रावल इतिहासकार थिएनन् । संविधानविद् पनि थिएनन् । उनको हातमा कुनै तथ्यांक थिएन । तर, उनीसँग आफ्नै जीवन थियो । उनले भने, ‘राजाको बेला ठूलो दुःख थियो । राष्ट्रपति आएपछि सुख भयो ।’ काठमान्डु र दाङका बौद्धिकहरू गणतन्त्रको सफलता वा असफलतामाथि बहस गरिरहेका छन् । तर, जाजरकोटका यी वृद्ध गणतन्त्रलाई अर्को तरिकाले परिभाषित गर्छन् । उनका लागि गणतन्त्र संविधानको धारा होइन, यात्राका दिनहरू घटेको अनुभव हो । राजनीतिक परिवर्तनको मूल्यांकन अभिजात वर्गले जस्तो गर्छ, आम नागरिकले त्यसरी गर्दैन ।

जाजरकोटका यी वृद्धले गणतन्त्रलाई संविधानको प्रस्तावनाबाट होइन, आफ्ना खुट्टाबाट नापे ।जाजरकोटका यी वृद्धले गणतन्त्रलाई संविधानको प्रस्तावनाबाट होइन, आफ्ना खुट्टाबाट नापे । उनको जीवनमा बाटो छोटिएको छ । दूरी घटेको छ, बजार नजिकिएको छ । त्यसैले उनी भन्छन्, ‘सुख भयो ।’ यो वाक्यलाई हल्का रूपमा लिनु हुँदैन । किनकि इतिहासका ठूला परिवर्तनको अन्तिम परीक्षा संसद्मा होइन, यस्तै भुइँमान्छेहरूको अनुभवमा हुन्छ । काठमान्डुमा गणतन्त्र एक राजनीतिक घटना थियो । जाजरकोटका यो वृद्धका लागि त्यो पैदल यात्राका चौबीस दिन घटेको जीवनानुभव थियो । 

व्यवस्थाहरूको मूल्य संविधानविद्ले व्याख्या गर्छन्, तर तिनको वास्तविक अर्थ भुइँमान्छेले आफ्नै जीवनको हिसाबकिताबबाट निकाल्छ । गणतन्त्रको मूल्यांकन केवल राजनीतिक आदर्शबाट होइन, नागरिकको दैनिकीमा आएको परिवर्तनबाट पनि गर्नुपर्छ ।

गरिब मानिसहरू राजनीतिक परिवर्तनलाई राजनीतिक विज्ञानका शब्दहरूमा वर्णन गर्दैनन् । उनीहरू आफ्नो जीवनको भाषामा बोल्छन् । यदि यात्राको समय आधा भयो भने उनीहरूको शब्दकोशमा त्यसलाई ‘सुख’ भनिन्छ । 

जाजरकोटको उकालो उक्लिँदै थिएँ, बारेकोट लिम्सातर्फ । माथि डाँडामा साँझ ओर्लिंदै थियो । कतै गाई–बाख्राको घण्टी बजिरहेको थियो । एक वृद्धा आँगनमा बसिरहेकी थिइन् । मैले सोधें, ‘घरमा कति जना हुनुहुन्छ ?’ उनले पहाडतिर हेर्दै भनिन्, ‘सबै छन्, तर कोही छैनन् ।’ त्यो उत्तरमा सिङ्गो पहाडको कथा थियो । छोरा भारतमा, नाति सहरमा, बुहारी खेतमा । घर उभिएको थियो, तर घरभित्रको जीवन क्रमशः बाहिरिँदै थियो ।

एक घरको आँगनमा भूकम्पको चिरा अझै ताजा थियो । त्यहाँबाट आवाज आयो, ‘घर फेरि बनाइएला बाबु, मान्छे कहाँबाट ल्याउने ?’ त्यहाँ मलाई पहाडको दुःख गरिबीभन्दा बढी खाली हुँदै गएको जीवनको लाग्यो । नक्सामा नेपाल एउटै छ, अनुभवमा अझै धेरै नेपाल छन् । कतिपय घरका ढोकामा ताल्चा छैन, तर कोही भित्र पनि छैन । चुल्हो छ, तर धूवाँ छैन । आँगन छ, तर खेल्ने बालबालिका छैनन् । यो दृश्य चिच्याएर केही भन्दैन, तर यसको मौनता धेरै बोल्छ ।

त्यसैले पहाडलाई हेर्दा केवल हरियाली नहेर्नुहोस्, त्यसको मौनता पनि सुन्नुहोस् । त्यहाँ हजारौं अधुरा वाचा छन्, असंख्य स्थगित सपना छन् र पुस्तौंदेखि दोहोरिँदै आएको एउटा आशा छ– कुनै दिन राज्य साँच्चै आइपुग्नेछ, कुनै दिन विकास भाषणबाट ओर्लेर जीवनमा पस्नेछ । यो बस्तीसम्म सडक आएपछि बजार नजिकियो । तर, किसानको छोरो त्यतिन्जेल मुग्लान पुगिसकेको थियो । विकास आयो, तर उसले पर्खिरहेको मानिसलाई भेटेन । यहाँ राज्यको पाइला देखिन्छ । तर, पहाडको समय र सरकारको समय फरक–फरक गतिमा चलिरहेका छन् । नागरिकको जीवनमा समस्या आइपुग्छ आज । समाधान कहिलेकाहीं वर्षौंपछि पुग्छ ।

यहाँ राज्य नपुग्नु भनेको नक्सामा राज्य नहुनु होइन । प्रशासनिक सिमाना, सरकारी कार्यालय वा निर्वाचित प्रतिनिधि त छन् । तर, राज्यको वास्तविक अर्थ के हो ? राज्य भनेको नागरिकले अधिकार, सेवा, सुरक्षा, अवसर र न्यायको अनुभव गर्न सक्नु हो । यदि कुनै गर्भवती महिलाले उपचार नपाएर ज्यान गुमाउने जोखिम बेहोर्नुपर्छ, यदि विद्यार्थीले शिक्षक नपाउँदा विद्यालय छोड्छ, यदि नागरिकले सामान्य सेवाका लागि दिनौं हिँड्नुपर्छ–धाउनुपर्छ भने राज्यको कानुनी उपस्थिति भए पनि राज्यको अनुभूति कमजोर रहन्छ । राज्यको अर्थ नागरिकले संकटमा सहारा पाएको अनुभूति पनि हो । राजनीतिक सिद्धान्तकार म्याक्स वेबरले राज्यलाई वैध अधिकार प्रयोग गर्ने संस्थाका रूपमा परिभाषित गरेका थिए । तर, आधुनिक लोकतन्त्रमा राज्यको वैधता केवल अधिकार प्रयोगबाट आउँदैन । नागरिकको जीवनमा सकारात्मक उपस्थिति जनाएपछि मात्रै आउँछ ।

२०८० कात्तिक १७ को भूकम्पले घर भत्कायो । तर, त्यसले अर्को कुरा पनि उजागर गर्‍यो– राज्यको वास्तविक गति । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भने, ‘काठमान्डु अझै टाढा छ ।’ सरकारी प्रतिवेदनहरूमा त झन् स्थानीय सरकारसम्म राज्य पुगेको धेरै वर्ष भइसकेको छ । तर, ती जनप्रतिनिधि भूगोलको कुरा गरिरहेका थिएनन् । उनी संकटको घडीमा नागरिकले अनुभव गरेको राज्यको कुरा गरिरहेका थिए । बारपाक (गोरखा) केन्द्रबिन्दु बनाएर आएको भूकम्पको आठ वर्षपछि बारेकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । अझैसम्म पनि स्थानीय पीडितहरूको जनजीवन कष्टकर नै छ । 

भूकम्पपछि उद्धार पुग्न लागेको समय, राहतको ढिलाइ, पुनर्निर्माणको गति, प्रशासनिक प्रक्रियाको जटिलता– यी सबैले एउटा पुरानो प्रश्न फेरि उठायो । राज्य कहाँसम्म पुगेको छ ? समस्या राज्य अनुपस्थित भएको होइन । समस्या यो हो कि विपत्तिले राज्यको क्षमता परीक्षण गर्दा राज्यको चाल नागरिकको पीडाभन्दा सुस्त देखियो । भूकम्पले बाटा भत्कायो, विद्यालय भत्कायो । तर, त्यसले प्रशासनिक संरचनाको सीमितता पनि देखायो । एउटा देश आफ्ना दुर्गम नागरिकसम्म कति छिटो पुग्न सक्छ ? यही प्रश्नको उत्तरले राज्यको वास्तविक सामर्थ्य नापिन्छ ।

संघीय राजधानीसँगको दूरी किलोमिटरले होइन, संकटको घडीमा राज्य पुग्न लागेको समयले नापिन्छ । भूकम्पले पहाडका घरहरू मात्रै चर्काएन, राज्य र नागरिकबीच बाँकी रहेको दूरी पनि देखाइदियो । त्यसैले ‘काठमान्डु अझै टाढा छ’ भन्ने वाक्य भूगोलको टिप्पणी होइन, शासनको टिप्पणी हो । जाजरकोटका भुइँमान्छेले गणतन्त्रले जीवन सजिलो बनाएको अनुभव सुनाए । तर, भूकम्पले अर्को सत्य पनि देखायो– राज्य आएको छ, तर सबै नागरिकसम्म समान गतिमा पुगेको छैन ।

अध्यक्ष गिरीको अर्को टिप्पणी पनि अर्थपूर्ण थियो, ‘पद्धति र प्रवृत्ति नै संघीयता विरोधी छन् ।’ यो संघीयताको विरोध होइन । संघीयताको अपूर्ण यात्राबारे टिप्पणी हो । उनको भनाइमा निराशा कम थियो, अनुभव बढी ।

संघीयता केवल अधिकारको सूची होइन– यो निर्णय त्यहीं हुने व्यवस्था हो, जहाँ त्यसको प्रभाव पर्छ । पद्धति अर्थात् नियम, प्रक्रिया, संरचना । प्रवृत्ति अर्थात् सोच, संस्कार, सत्ता चलाउने बानी । नेपालले संघीय संरचना बनायो । तर, के उसले संघीय मानसिकता पनि निर्माण गर्‍यो ? विपत्तिले एउटा पुरानो प्रश्न फेरि उठायो । स्थानीय सरकार संकटको पहिलो उत्तरदाता हो भने के ऊसँग पहिलो निर्णय गर्ने अधिकार पनि छ ?

पहाडलाई सबैभन्दा बढी हल्लाएको धरतीको कम्पनले मात्रै होइन, विकासका नाममा डाँडा चिरेर कुदाइएका असंख्य डोजरले पनि हो ।संविधानले पालिकालाई अधिकार दिएको छ । अब प्रश्न यति मात्रै हो, ‘के राज्यको संस्कारले पनि त्यो अधिकार स्वीकार गरेको छ ?’ सिहंदरबारको छाया अझै धेरै ठाउँमा स्थानीय सरकारभन्दा लामो देखिन्छ । जब निर्णयको शक्ति माथि रहन्छ र जिम्मेवारी तल झर्छ, तब संघीयता संरचनामा त हुन्छ, संस्कारमा हुँदैन ।

पहाडलाई सबैभन्दा बढी हल्लाएको धरतीको कम्पनले मात्रै होइन, विकासका नाममा डाँडा चिरेर कुदाइएका असंख्य डोजरले पनि हो । सडक आयो, तर कतिपय ठाउँमा त्यसले पहाडको शरीरमा यस्ता घाउ छोड्यो, जहाँ पहिलो ठूलो वर्षासँगै माटो बग्न थाल्यो, खेत चिप्लिन थाले र बस्तीहरू जोखिममा पर्न थाले । विडम्बना के छ भने पहाडका बासिन्दालाई सुरक्षित बनाउन ल्याइएको विकासले नै कहिलेकाहीं उनीहरूको असुरक्षा बढाइदियो । भूकम्पले घर भत्काउँछ, त्यो देखिन्छ । तर, अव्यवस्थित डोजर विकासले पहाडको गर्भ कमजोर बनाउँछ । त्यो बिस्तारै मात्रै देखिन्छ । त्यसैले आज धेरै दुर्गम बस्तीमा प्रश्न केवल सडक पुगेको छ कि छैन भन्ने होइन । त्यो सडकले पहाडलाई बचाएको छ कि बिस्तारै भत्काइरहेको छ भन्ने पनि हो ।

पहाडको दुःख यो होइन कि ऊ अग्लो छ । उसको दुःख यो हो कि उसलाई प्रायः टाढाबाट हेरियो, तर नजिकबाट बुझ्ने प्रयास कम गरियो । समतल तराईका लागि पहाड एक दृश्य हो । पर्यटनको आकर्षक हो । पोस्टकार्डको सुन्दरता हो । तर, पोस्टकार्डभित्र मान्छेहरू बस्दैनन् । मान्छेहरू ती घरहरूमा बस्छन्, जहाँ साँझ परेपछि चुल्हो बल्छ र बिहान सबेरै पानीका गाग्री बोकेर उकालो लाग्ने पाइला सुनिन्छ ।

जाजरकोटको समस्या पहाड हुनु होइन, राज्यको प्राथमिकतामा नपर्नु हो । एक घरबाट लोकगीतको भाका सुनियो । त्यो गीतमा मैले पहाडको जीवनी पढें । तथ्यांकले नदेखाउने कुरा लोकगीतले देखाउँछ । जाजरकोटका गाउँहरूमा दुःख छ, तर पराजय छैन । मानौं पहाडले आफ्ना मानिसलाई एउटा अदृश्य पाठ सिकाएको छ । टिकिरहनु पनि प्रतिरोध हो । 

पहाडको दुःख वास्तवमा प्रकृतिभन्दा अधिक राजनीतिको विषय हो । प्रकृतिले उसलाई उचाइ दियो, तर नीतिहरूले कैयौं पटक उपेक्षा दियो । त्यसैले पहाडको पीडा केवल भौगोलिक कठिनाइ भन्नु एक अधुरो सत्य हो । असली प्रश्न हो, विकासको धारा त्यहाँसम्म किन पुग्न सकेन, जहाँ नागरिक पुगेका थिए ? जाजरकोट गरिब छैन किनकि यो पहाडमा छ । जाजरकोट गरिब छ किनकि विकासका निर्णयहरू त्यहाँ बस्ने मानिसको आवाजबिना गरिएका छन् ।

आज जब हामी विकासको कुरा गर्छौं, तब पहाडले एक आधारभूत प्रश्न सोध्छ– के विकासको अर्थ केवल सडक, पुल र भवन हो ? यदि सडक पुग्यो तर अस्पताल पुगेन, बिजुली पुग्यो तर अवसर पुगेन, लोकतन्त्र पुग्यो तर राज्यको संवेदनशीलता नै पुगेन भने पहाडको दुःख साँच्चिकै कम हुन सक्छ ? पहाडको दुःख अन्ततः उचाइको दुःख हुँदै होइन । त्यो टाढा हुनुको पनि दुःख होइन । त्यो दुःख गरिबीको मात्रै होइन, दशकौंदेखि विकास, अवसर र सम्मानको बाटो हेर्दै बसेको प्रतीक्षाको हो ।

भेरी बगिरहेकी छ । उसले राजा देखेकी छ, राणा देखेकी छ, पञ्चायत देखेकी छ, गणतन्त्र देखेकी छ । तर, किनाराका गाउँहरूको प्रतीक्षा भने अझै बगिरहेकै छ । मनबहादुरहरूको गाउँमा जीवन देउडा जस्तै छ । कसैले दुःखको भाका हाल्छ, गाउँलेहरू त्यसमा स्वर मिलाउँछन । अभावबीच पनि आमाहरू ‘मागल’ गाउन छोड्दैनन् । सायद आशा नै यहाँको सबैभन्दा ठूलो सम्पत्ति हो । 

जाजरकोटबाट फर्कंदा मैले पहाडको उचाइ नापिनँ, बासिन्दाहरूको धैर्य नापें । अनि थाहा पाएँ– राष्ट्रका नक्सामा पहाड उभिएका हुन्छन्, तर राष्ट्रको असली उचाइ मानिसको जीवनमा देखिन्छ । लोकतन्त्रको सफलता सिंहदरबारमा होइन, मनबहादुर रावलहरूको यात्रामा नापिनुपर्छ । यहाँ बाटो केवल दूरी नाप्ने साधन होइन, राज्यको उपस्थितिको मापन पनि हो ।

पहाड र मधेशका मनबहादुरहरू राज्यसँग धेरै माग गर्दैनन् । उनीहरूलाई एक अञ्जुली सुख काफी हुन्छ– एक चुटकी सम्मान, एक थोपा सुरक्षा र एक बुँद सहजता । तर विडम्बना के छ भने, लोकतन्त्रको सबैभन्दा ठूलो परीक्षा पनि यही सानो अञ्जुली भरिदिन सक्यो कि सकेन भन्नेमा निर्भर हुन्छ ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully