जेठ दोस्रो साता छातीमा असह्य दुखाइ भएर वीर अस्पताल पुगेका एक पुरुषको पीटीआईएनआर परीक्षण गर्नुपर्ने भए पनि रिएजेन्ट अभावका कारण परीक्षण हुन सकेन र उनको मृत्यु भयो।
What you should know
१०० वर्षअघि नेपालका सबैजसो भूभागका बिरामी परम्परागत उपचार पद्धति अपनाउन बाध्य थिए । आधुनिक चिकित्सा पद्धति अपनाउने चिकित्सक उपलब्ध हुन्थेनन्, अस्पताल बनेका थिएनन् । यस्तो समय सन्दर्भबीच वि.सं. १९४७ मा वीर अस्पताल स्थापना हुँदा त्यसले देशको उपचार पद्धतिलाई नै आधुनिकतातर्फ लैजाने कामको नेतृत्व गरेको थियो । यस अवधिमा उपचार पद्धति, चिकित्सकीय अनुभव, साधन स्रोत, बिरामीप्रति गरिने जवाफदेही–जिम्मेवारपूर्ण व्यवहारमा व्यापक परिवर्तन आइसकेको छ ।
तर, वीर अस्पतालमा त्यसको प्रतिबिम्ब पाइँदैन । समयक्रममा भइरहेका सामान्य सुधारलाई बेवास्ता गर्ने हो भने, चिकित्सा क्षेत्रलाई नै नेतृत्व गर्ने हैसियत यस अस्पतालले राख्दैन । आर्थिक–सामाजिक रूपमा ‘विकल्पहीन’ र प्रायः निम्न वर्गका बिरामी यस अस्पतालको विरासतका कारण उपचारका लागि पुग्न त पुग्छन्, तर उपचारभन्दा बढी हण्डर खान्छन् । यस्तो लाग्छ– यो अस्पतालको सबै क्षेत्र बेथितिले भरिएको छ । तसर्थ यतिबेला वीर अस्पताललाई तन्दुरुस्त बनाउनुपर्नेछ, त्यसका लागि यो अस्पतालकै उपचार गर्नुपर्ने जरुरी छ ।
वीर अस्पतालमा बिरामीको चाप अधिक हुने गर्छ । पछिल्ला दुई सन्दर्भले त्यहाँ चाप बढ्न भूमिका खेलेको छ । पहिलो, त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायतका मुख्य सरकारी अस्पतालमध्ये केहीले पूर्ण र केहीले आंशिक रूपमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दिइँदै आएको उपचार बन्द गरेका छन् ।
त्यसकारण बिरामीको रोजाइमा वीर अस्पताल पर्ने गरेको छ । वीर अस्पताल प्रशासनका अनुसार माघअघि दैनिक २ हजारदेखि २ हजार ५ सय बिरामी उपचारका लागि पुग्ने यस अस्पतालमा वैशाखयता दैनिक ४–५ हजार बिरामी पुग्ने गरेका छन् । दोस्रो, हालै सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । शनिबार र आइतबार बिदा हुने भएपछि बाँकी दिन अस्पतालमा बिरामीको चाप बढ्ने गरेको छ । सरकारको दुईदिने बिदा नीति अस्पतालका निम्ति अव्यावहारिक भए पनि पुनर्विचार गरिएको छैन ।
उसै पनि अस्पतालले आफ्नो सेवा सुविधालाई चुस्त दुरुस्त राख्नुपर्ने हुन्छ । गुणस्तर अभिवृद्धि गर्नुपर्ने हुन्छ । बिरामीलाई आफूकहाँ आउन प्रेरित हुने वातावरण बनाउनुपर्ने हुन्छ । तर, वीर अस्पताल यस्ता पक्षमा चुकेको छ । कतिसम्म भने, उपचारका लागि आकस्मिक कक्षमै पुगिसकेका बिरामीको पनि आवश्यक परीक्षणसमेत नभई मृत्यु भएको छ । जस्तो कि, जेठ दोस्रो साता छातीमा असह्य दुखाइ भएपछि वीर अस्पतालको आकस्मिक कक्ष पुगेका एक पुरुषको प्रोथ्रोम्बिन टाइम/इन्टरनेसनल नर्मलाइज रेसियो (पीटीआईएनआर) परीक्षण गर्नुपर्ने चिकित्सकको निष्कर्ष थियो । तर, सो परीक्षणका लागि अस्पतालमा रिएजेन्टको अभाव थियो।
अस्पतालमा औषधिको पनि अभाव हुने गरेको छ । सरकारले वैशाख तेस्रो साता ल्याएको अध्यादेशपछि प्रतिष्ठानका पदाधिकारीहरू पदमुक्त भएसँगै औषधिका लागि टेन्डर प्रक्रिया अघि बढ्न सकेको छैन । परीक्षण रोकिएपछि थप उपचार प्रक्रिया प्रभावित बन्यो । पहिल्यै अरू दुई जना बिरामी सुतिरहेको बेडमा राखिएका ती बिरामीको मृत्यु नै भयो । अस्पतालमै पुगिसकेका बिरामीको चिकित्सकले निष्कर्ष निकालिसकेको परीक्षणसमेत हुन नपाई निधन हुनु सय वर्षको इतिहास बोकेको अस्पतालका लागि अत्यन्तै लाजमर्दो घटना हो । तर समस्या अरू पनि छन् ।
वीर अस्पतालमा कतिपय सेवा पाउन बिरामीले लामो समय कुर्नुपर्छ । त्यसको एउटा उदाहरण हो– दाँत बनाउने सेवा एक वर्षदेखि र दाँत बाँध्ने सेवा लिन ६ महिना पालो पर्खिनुपर्ने हुन्छ । वीरलगायतका ठूला सरकारी अस्पतालमै लामो समय कुर्नुपर्ने भएपछि बिरामी निजी अस्पतालमा जान बाध्य हुन्छन् । बिरामीले तिर्ने टिकट शुल्क, परीक्षण शुल्क र बेड शुल्कमा वीर अस्पताल र निजी अस्पतालमा धेरै अन्तर हुन्छ । यसले बिरामीको उपचार खर्चको भार बढाउँछ । जबकि, वीर उपचारका लागि पुग्ने बिरामी सामान्यतया निम्न वर्गका हुने गर्छन् । दुर्गमबाट पनि उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् । जब वीरको सेवामा सुधार हुँदैन र बिरामी निजीमा जान बाध्य हुन्छन्, त्यस्तो स्थितिमा देशका कमजोर आर्थिक हैसियत भएका मानिस नै बढी प्रभावित हुन्छन् । जबकि, उनीहरूलाई नै राज्यको आडभरोसा बढी आवश्यक पर्छ । सरकार र वीर अस्पताल प्रशासनले यहाँको सेवा सुधारका लागि पहल नगर्नु भनेको अप्रत्यक्ष रूपमा निम्न वर्गका मानिसप्रति बेवास्ता गर्नु हो ।
अस्पतालमा औषधिको पनि अभाव हुने गरेको छ । सरकारले वैशाख तेस्रो साता ल्याएको अध्यादेशपछि प्रतिष्ठानका पदाधिकारीहरू पदमुक्त भएसँगै औषधिका लागि टेन्डर प्रक्रिया अघि बढ्न सकेको छैन । सरकारी अस्पतालमा उपकरण बिग्रिने र महँगा परीक्षणका लागि निजी अस्पतालमा धाउनुपर्ने समस्या पुरानै हो । वीर अस्पतालमा रहेका दुई सीटीस्क्यान मेसिनमध्ये एउटा सात महिनादेखि र अर्को एक महिनायता बिग्रेर थन्केका छन् । ती मेसिनबाट दैनिक ९० बिरामी लाभान्वित हुने गरेका थिए । बिरामीले त्यहाँ २ हजार ५ सयदेखि ४ हजारमा सेवा लिन पाउँथे, अहिले निजी अस्पतालमा ९ देखि १० हजार रुपैयाँसम्म तिर्नुपरेको छ । उपकरण मात्रै होइन, लिफ्टसमेत बिग्रेको छ, वीर अस्पतालमा ।
अशक्त बिरामीले प्रयोग गर्न बनाइएको दुईवटै लिफ्ट नचलेपछि बिरामीहरू सकिनसकी वा आफन्तको पिठ्युँमा बोकाएर चार/पाँच तलासम्म पुर्याइरहेको देखिन्छ । टेन्डर प्रक्रिया सुरु नभएकैले अस्पतालले एक्सरेको फिल्मलाई खाममा राखेर दिनसमेत छाडेको छ । अस्पतालमा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले प्रशासनले मास्क र पन्जा उपलब्ध नगराएकै कारण यसका लागि बिरामीका आफन्तलाई किन्न बाध्य पार्छन् ।
अहिलेकै जस्तो स्थिति रहिरहँदा वीर अस्पतालले विश्वास गुमाउँदै जाने निश्चित छ । त्यसको असर भने समाजका निम्न वर्गका मानिसमा पर्नेछ । तसर्थ, सरकारसमेतको अग्रसरतामा वीरको प्रशासनिक र सेवा प्रणालीमा व्यापक सुधार आवश्यक छ । औषधि खरिदका लागि समयमै टेन्डर नहुनु र त्यसले बिरामीको उपचार प्रक्रिया नै अवरुद्ध हुनु समाधान गर्न नसकिने समस्या होइन ।
त्यस्तै, उपकरण तथा लिफ्टको मर्मत सम्भार नहुनु पनि काबुबाहिरको परिस्थिति होइन । यस्ता समस्या समन्वय अभाव र समयमै प्रक्रिया सुरु नगरिएका कारण निम्तिने गरेका हुन् । अस्पताल प्रशासनले अग्रसरता लिने र सरकारले सहजीकरण गर्ने हो भने धेरै समस्या तत्कालै समाधान हुन सक्छ । सरकारले अस्पतालको प्रशासनिक संरचना चलाउँदा त्यसले पार्न सक्ने असरलाई ख्याल गर्नुपर्छ र संवेदनशीलता अपनाउनुपर्छ ।
वीरमा मात्रै चाप बढ्ने क्रमलाई न्यूनीकरण गर्नका लागि भने स्थानीय, जिल्ला तथा प्रदेशस्तरका स्वास्थ्य संस्थाहरूमा सेवा वृद्धि गर्नुपर्छ । गुणस्तर सुनिश्चित गर्नुपर्छ । त्यसका लागि चिकित्सक, उपकरण तथा भौतिक सुविधा उपलब्ध गराउनुपर्छ । स्वास्थ्य बिमा कार्यक्रमलाई पनि प्रधावकारी ढंगले सञ्चालन गर्ने हो भने पनि वीरको चाप कम हुन सक्छ ।
