खुम्च्याइँदै प्रादेशिक मर्म

प्रदेशलाई अधिकारको व्यवस्थापन पनि नगर्ने तर उसले केही पनि गर्न सकेन भन्ने भाष्य बनाउने काम भइरहेको छ । यो भनेको खुट्टा बाँधिएको मानिसले दौडिएन भन्नुजस्तो हो ।

जेष्ठ २५, २०८३

सोमत घिमिरे

Regional essence being eroded

What you should know

केही हप्ताअघि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजना भएको ‘सुदूरपश्चिम कचहरी’ मा प्रदेशको स्थायी राजधानी बनाउन नसकेकामा प्रदेश सरकारको निकै ठूलो आलोचना भयो । प्रदेश संसद्ले आठ वर्षपहिला नै नाम र राजधानीको मुद्दा टुंग्याएको हो । तर भूमिसम्बन्धी विषय संघीय मामिला भएकाले आजका दिनसम्म राजधानी अस्थायी नै छ ।

 हामीले कस्तो संघीयता ल्यायौं, जसअनुसार प्रदेश सांसदले राजधानी टुंगो लगाइसक्दा पनि बन्न सक्दैन । संघीय सरकारको असहयोगका कारणले मुद्दा निकै जटिल बन्यो । प्रदेश सरकार धेरै पटक बिन्तीभाउ गर्न संघीय सरकारकोमा आयो । बिन्तीभाउ जारी छ, तर राजधानी सरेको छैन । भूमिसम्बन्धी जटिलतालाई कि त संविधान संशोधन गरेर सल्ट्याउनुपर्छ, कि त संघले सहजीकरण गर्नुपर्छ । तर दुवै हुन सकेको छैन । राजधानी निर्माण गर्न नसकेकामा प्रदेश सरकार आलोचनाको तारो बनेको छ । सामान्य नागरिकलाई यी सबै जटिलताको मेसो पनि हुँदैन । त्यसैले आलोचना स्वाभाविकै छ । तैपनि, संघलाई अप्ठ्यारो लागेको महसुस हुँदैन– आफ्ना कारणले मुद्दा जटिल बनेकामा । संघ सरकार प्रदेश सरकारको सहजकर्ता हो, शासक होइन । तर केन्द्रीय शासकीय अहंकारको सिकार बनेको छ, सुदूरपश्चिम । सुदूरपश्चिम मात्रै होइन, सिंगो संघीयता नै संघको अहंकारको मारमा छ ।

प्रादेशिक मुद्दा र विकासको मोडलबीच अन्तरविरोध

सुदूरपश्चिममा नौवटा एयरपोर्ट बनाइएका छन् । बनाउने क्रम जारी छ । तर, जम्मा दुईवटा एयरपोर्ट मात्रै अहिले चल्तीमा छन्– धनगढी र बाजुराको एयरपोर्ट । कहिलेकाहीं बझाङको चैनपुर, दिपायल र साँफेबगरमा प्लेन झुल्किन्छन् । टीकापुर, दार्चुला र कमलबजारमा प्लेन उडेकै छैनन् । ९ वटामध्ये दुइटा मात्रै चल्छन्, अरू एयरपोर्टमा गरिएको खर्च खेर गएको छ । यही अवस्था छ, चिस्यान केन्द्रको पनि । आधाभन्दा बढी चिस्यान केन्द्रहरू चालु अवस्थामा छैनन् । किनभने चिस्यान केन्द्रमा राख्ने उत्पादन नै सुदूरपश्चिममा छैनन् । अनेक नाफाका कारणले उत्पादनभन्दा पहिले चिस्यान केन्द्र बनाइएका छन् । अर्कोतिर हेरौं, यस वर्ष एसईईमा सुदूरपश्चिमको नतिजा सबैभन्दा कमजोर रह्यो । गरिबीको सूचकांकमा सबैभन्दा पुच्छारमा पनि सुदूरपश्चिम नै छ । आर्थिक वृद्धि र प्रतिव्यक्ति आम्दानीमा सुदूरपश्चिम पुच्छारबाट दोस्रोमा छ । यी र यस्ता मुद्दामाथि घनिभूत बहस हुँदैनन् । विकासको परिभाषाभित्र यस्ता मुद्दाहरू अटाउन सकेका छैनन् । बरु एयरपोर्ट र चिस्यान केन्द्रहरू छन् । 

प्रादेशिक अर्थतन्त्रको सुरसारै छैन

संघीयतामा प्रदेशका धेरै आयाम छन् । संघीयतालाई कामकाजी बनाउने नै प्रदेशले हो । एउटा सबैभन्दा ठूलो महत्त्वको काम प्रादेशिक अर्थतन्त्रको विकास हो । तर नेपालमा प्रदेशले प्रादेशिक अर्थतन्त्रमा काम गर्नै पाएका छैनन् । सुदूरपश्चिम प्राकृतिक स्रोतले धनी प्रदेश हो । सबैभन्दा धेरै वन क्षेत्रफल भएको प्रदेश हो । सबैभन्दा धेरै जलविद्युत्को सम्भावना भएको प्रदेश हो । कृषिका दृष्टिकोणबाट हिमाल, पहाड र मधेश गरी तीनै भूगोलको उत्पादन भएको क्षेत्र हो । तर अचम्म, यही प्रदेश गरिबीको सूचकांकको पुछारमा छ । जडिबुटीको हिसाबले त सुदूरपश्चिम सबैभन्दा धनी प्रदेश हो । जहाँ तीनथरी भूगोलका जडिबुटी पाइन्छन् । सुदूरपश्चिम प्रदेश मात्रै यस्तो प्रदेश हो, जहाँ ५०२ किसिमका औषधीय गुण भएका जडिबुटी पत्ता लागिसकेका छन् । जडिबुटी संकलन गरेर प्रशोधनमा केही प्रयासहरू भए, तर अहिले प्रशोधन केन्द्रहरू धमाधम बन्द हुँदै छन्– राज्यको संरक्षण नपाएर । राज्य संरक्षित औद्योगीकरणलाई सुदूरपश्चिम प्रदेशले अगाडि बढाउनै सकेन । त्यसको मुख्य कारण हो, प्रदेशहरूसँग स्रोत अत्यन्तै कम छ ।

लगभग ९ प्रतिशत हाराहारी रकम संघबाट सात प्रदेशमा जान्छ । त्यसको आधा रकम कर्मचारीका निम्ति खर्च हुन्छ, बाँकीले धेरै केही हुनै सक्दैन । बाँकी रकम संघले भौतिक पूर्वाधारको जिम्मा नलिँदा भौतिक पूर्वाधारमा नै खर्च हुन्छ । दोस्रो, प्रदेशलाई व्यवस्थित रूपमा काम गर्ने कर्मचारी संयन्त्रको ठूलो अभाव छ । केन्द्रबाट गएका कर्मचारीहरू प्रदेशप्रति जवाफदेही र उत्तरदायी हुँदैनन् । प्रदेश सरकारले कर्मचारीलाई जवाफदेही र उत्तरदायी बनाउनै सक्दैन । समग्रमा, पैसा पनि छैन र काम गर्ने मान्छे पनि छैन । अनि कसरी आउँछ नतिजा ? जटिलता यहाँनेर छ ।

तर प्रदेश सरकारले संघसँग बहस गर्न नसकेको यथार्थ पनि छ । संघको अह्रनखटन र जी–हजुरीमा हिँड्नु प्रदेशको ठूलो कमजोरी हो । प्रदेशहरूले रचनात्मक रूपमा संघसँग बहस गर्न सक्नुपर्थ्यो तर सकेनन् । अर्को पक्ष पनि छ । प्रदेशले अहिलेकै चलनचल्तीको विकासलाई नै आफ्नो पनि विकासको ढाँचा बनाए । प्रादेशिक विशेषतामा आधारित उत्पादन, औद्योगीकरण र रोजगारीको मुद्दालाई प्रदेशहरूले जोड्न सकेनन् । विकासका आयातीत मुद्दाहरूलाई उनीहरूले पनि भित्र्याए, जसले गर्दा प्रादेशिक गन्ध आएको छैन । 

प्रादेशिक विकासमा स्थानीय ज्ञान, सीप, प्रविधि, मौलिकता र आफ्नै हावापानी–माटोमा आधारित सुगन्ध आउनुपर्थ्यो । तर जताततै प्रदेशमा संघ नै गन्हाइरहेको छ । प्रदेशको आफ्नै पसिनाको सुगन्ध आइरहेको छैन । थारू समुदाय कैलाली र कञ्चनपुरका रैथाने आदिवासी समुदाय हुन् । उनीहरूका लागि कस्तो विकास चाहिएला ? के थारू संस्कृतिमा आधारित उत्पादन प्रणाली प्रवर्द्धन गर्न मिल्दैन ? के थारू समुदायले बनाउने ढिक्रीलाई प्रवर्द्धन गरी चाउचाउलाई निरुत्साहित गर्न मिल्दैन ? त्यसैले समस्या संघमा मात्रै होइन, प्रादेशिक दृष्टिकोणमा पनि छ । संस्कृति र प्रकृतिमा आधारित उत्पादन प्रणालीलाई संरक्षण प्रवर्द्धन गर्न उनीहरूले रुचि राखेका छैनन् । प्रदेश यहींनेर चुकेको छ । प्रादेशिक विशेषताको व्यवस्थित अनुसन्धान भएकै छैन । 

संघको छाया जस्ता प्रदेश 

नेपालमा संघीयताको अनौठो अभ्यास चलिरहेको छ । लाजमर्दो स्थिति छ । जब संघमा दलीय गठबन्धन हेरफेर भएर सरकार बन्छ, लगत्तै प्रदेशमा पनि हेरफेर हुन्छ । प्रदेश सांसदले आफ्नो सरकार फेर्ने र बनाउने काम आफैं गर्नै पाएनन् । संघको छाया प्रदेशमा झरिहाल्छ । प्रदेशको संसद्ले प्रदेशकै सार्वभौमिकताको अभ्यास गर्ने हो । तर यस्तो अभ्यास गर्नै सकेनन् । बरु संघको छाया जस्तो बनेर हिँडे । विकासको नक्कल संघबाटै, संस्थागत विकासको नक्कल संघबाटै, सरकार बनाउने र भत्काउने सीपको नक्कल पनि संघबाटै भएको स्थिति छ । यही कारणले प्रदेशमा प्रादेशिक सुगन्ध नै आएन । संघले आफूलाई ज्यादै ठूलो ठानिरहेको छ । संविधानका दृष्टिकोणबाट हेर्ने हो भने तीन तहका सरकार बराबर हुन् । तर संघले यो मर्मअनुसारको अभ्यास गर्न रुचि राख्दैन, प्रदेशहरू पनि संघर्ष गर्न सक्दैनन् । 

संघीयतामा पहिचानमा आधारित क्षेत्रीय दलहरू निस्कन्छन् भन्ने विश्वव्यापी मान्यता छ । तर नेपालमा यो मान्यता पनि असफल भयो । उदाएका क्षेत्रीय दलहरू पनि सकिए । अब कसरी प्रदेश सबल होला भन्ने जटिल प्रश्न छ । संघ र प्रदेशमा एउटै दलको सरकार बन्दा प्रदेशले बहस गर्न नसक्ने स्थिति निर्माण भएको छ । यो जटिलतालाई चिर्नका लागि संघले आफैं आफ्नो तौरतरिका फेर्ने सम्भावना कम छ । प्रादेशिक मनोविज्ञान बोकेर प्रदेशहरू रचनात्मक बहसमा लागे भने त्यसो हुन सम्भव छ, नत्र संविधानले कल्पना गरेको संघीयताको मर्मको प्रादेशिक स्वायत्तता कमजोर भएर जाने खतरा छ । हेर्दा संघीयताका सबै अंग भएजस्तो देखिने तर प्राण नभएको संघीयता नै अभ्यासमा रहिरहने खतरा छ । यो एउटा ठूलो अप्ठ्यारो हो । तर जसरी भए पनि प्रदेशलाई बलियो बनाउने बाटो नै हाम्रा लागि फलदायी हुन्छ । त्यसैले संघीयताको प्राण भर्न सकियो भने त्यसको स्वाद समुदायमा पनि पुग्छ । अर्गानिक तरिकाले पुग्छ । 

प्रादेशिक पुनःसंरचनाको बाटो

प्रदेशको एकल अधिकारको सूचीको एक नम्बरमा भएको प्रहरी र कर्मचारीको सवाल आजसम्म टुंगिएको छैन । त्यसैले सबैभन्दा पहिलो काम नै एकल अधिकारको सूचीलाई व्यवस्थित गर्नु हो । साझा अधिकारका सूचीलाई अब परिभाषित गर्न ढिलो गर्नु हुँदैन । खासगरी संघीयतामा अधिकारको बाँडफाँट भन्ने भाष्य बढी चलाइयो । अब एक पटक अधिकारको अंशबन्डा गर्नुपर्ने देखिन्छ– तीन तहका सरकारका बीच ।

अर्को पक्ष वित्तीय व्यवस्थापनको हो । जतिसुकै मिलाएर प्रदेशहरूको सीमांकन गरिए पनि आर्थिक अवस्थामा समानता कायम हुन सक्दैन । प्रदेश आफैंले स्रोत व्यवस्थापन गर्न केही समय लाग्छ । तर अहिले त राजस्व संकलन गर्न पनि प्रदेशलाई धेरै ठाउँ छैन । प्रादेशिक वन पनि छैन । निकुञ्ज आरक्ष र संरक्षित क्षेत्रहरूको सबै स्रोत संघमा पुग्छ । स्रोत जम्मा पार्नका लागि ठाउँ पनि दिइनुपर्छ, अधिकारका हिसाबले । अधिकारै पाए पनि तत्काल सबै प्रदेश बराबरी हुँदैनन् । त्यतिबेलासम्म संघ सरकारले वितरण गर्ने रकम सबैभन्दा कमजोर प्रदेशलाई बढी हुनुपर्छ । सुदूरपश्चिम अहिले सबैभन्दा कमजोर छ । यस अर्थमा उसले सबैभन्दा बढी स्रोत प्राप्त गर्नुपर्छ ।

वित्तीय हस्तान्तरणमा सामाजिक न्याय र कर्मचारी व्यवस्थापन प्रदेशप्रति उत्तरदायी र जवाफदेही बनाउन सकियो भने प्रदेशले नतिजा छिटो दिन्छ । किनभने ऊ स्थानीय विशेषताको बीचमा उभिएको हुन्छ । जनताको नजिक हुन्छ । आफ्नो सन्दर्भलाई ख्याल गर्न सक्छ । अहिले सुदूरपश्चिमका केही अगुवा ‘विशेष प्रदेश’ को अभियानमा छन् । वास्तवमा ‘विशेष प्रदेश’ भनेर नभनीकन पनि संघले सामाजिक न्यायलाई आत्मसात् गर्न सक्यो भने धेरै उपलब्धि दिन सक्छ । किनकि यो प्रदेश गरिबीको चक्रमा छ । त्यसैले गरिबी निवारणका लागि मानवीय स्रोत र आर्थिक स्रोत सुदूरपश्चिमलाई जरुरी छ । शिक्षामा कमजोर छ, त्यसैले शिक्षामा संघीय लगानी बढ्नुपर्छ । प्रदेशले आफ्नो विशेषतामा आधारित रहेर अध्ययन अनुसन्धानका आधारमा नीति कार्यक्रम र रणनीति बनाउनुपर्छ । यदि हामीले नेपालको संघीयतालाई यस्तो शृंखलामा हिँडाउन सक्यौं भने प्रदेशले सकारात्मक नतिजा दिन धेरैबेर लगाउँदैन । प्रदेशलाई अधिकारको व्यवस्थापन पनि नगर्ने तर उसले केही पनि गर्न सकेन भन्ने भाष्य बनाउने काम भइरहेको छ । यो भनेको खुट्टा बाँधिएको मानिसले दौडिएन भन्नुजस्तो हो । प्रदेशले अधिकार नपाएर धेरै काम गर्न सकेको छैन । तर सर्वसाधारणको आँखामा प्रदेशको अलोकप्रियता बढेको छ । यसो पनि भन्न सकिन्छ कि प्रदेशको अलोकप्रियता बढाउन संघ सरकारको पनि ठूलो भूमिका छ । यद्यपि, प्रदेशहरू आफू ज्ञानका हिसाबले पुनःसंरचित हुन भने जरुरी छ ।

प्रादेशिक ज्ञान निर्माण

संघ सरकार दिने र प्रदेश सरकार लिने संघीयताको अवधारणा होइन । दुवैका आ–आफ्ना स्वायत्तता र विशेषताहरू छन् । ती स्वायत्तता र विशेषताहरूलाई ख्याल राख्न जरुरी छ । प्रादेशिक विकासको विचार गर्ने मामला, उत्पादन र रोजगारीको मामला, प्राकृतिक स्रोतको उपयोगिताको मामला, प्रादेशिक र ग्रामीण औद्योगीकरणको मामलामा प्रदेशलाई नै विचार गर्न दिनुपर्छ । प्रदेशमा नै बहस गर्न दिनुपर्छ । त्यहींको ढुंगोमाटो, खोलानाला, पाखापखेराहरूसँग ठोकिएर निस्किएको ज्ञानले प्रादेशिक विकासको ढोका खोल्छ ।

संघले ज्ञानको निर्यात गर्ने होइन, आयात गर्छ । आयात गरेका ज्ञान निर्यात गर्दा धेरै पक्ष लथालिङ्ग हुन्छ । तसर्थ, संघले जे गर्नुपर्ने हो, त्यही गर्नुपर्छ । प्रदेशलाई हस्तक्षेप, अह्रनखटन र निर्देशन दिने होइन । प्रदेशले आफ्नो काम आफैं गर्न सक्छन्, गर्नु पनि पर्छ । त्यसमा संघले सहजीकरण गर्नुपर्छ । प्रादेशिक ज्ञान निर्माणका हिसाबमा ‘सुदूरपश्चिम कचहरी’ ले एउटा वैकल्पिक प्रयास गरेको छ । यसलाई अझ व्यवस्थित बनाउनु र प्रादेशिक ज्ञान उत्पादनको एउटा ठूलो मञ्च बनाउनु आगामी दिनको लक्ष्य हुनुपर्छ । ज्ञान उत्पादनका केन्द्रहरू धेरै हुनुपर्छ । त्यसले मात्र विविधताको सम्बोधन गर्न सक्छ ।

सोमत घिमिरे प्राकृतिक स्रोत ब्यवस्थापनको अध्ययन र अनुसन्धानमा संग्लन छन् । उनकाे जुर्मराएको बखत, प्राकृतिक स्रोतमा नागरिक सर्वोच्चता, समृद्ध कर्णालीको दुःख जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully