राम्रो आम्दानीको आसमा कतिपय भने बिचौलियाको चंगुलमा परेर, लाखौं रुपैयाँ खर्च गरेर, महिनौंको कष्टकर यात्रा पूरा गरेर युरोप तथा अमेरिका पुग्ने गरेका पनि छन् ।
What you should know
जसरी विश्वका कुना–कुनामा नेपाली छरिएका छन्, त्यसैगरी तिनका कथा पनि छरिएका छन् । परदेशमा नेपालीका सफलता, मिलन र आशाका कथा पनि छन्, असफलता, बिछोड र अन्योलका कथा पनि छन् । आर्थिक प्रगति गर्ने र आफ्नो तथा परिवारको जीवनलाई सजिलो बनाउने अभिलाषाले डोहोरिएर धेरै नेपालीले विदेशगमनलाई रोजे पनि सफलता सबैको हातमा प्राप्त हुँदैन, भए पनि तत्कालै नहुन सक्छ । बरु त्यसक्रममा अनेकौं दुःख बेहोर्नुपर्ने हुन सक्छ । त्यस्तै दृश्य यतिबेला इटलीमा देखिएको छ ।
अनेकौं हन्डर खाएर बिनाभिसा प्रवेश गरेका नेपालीले शरणार्थीको हैसियत पाउन इटलीमा प्रतीक्षा गर्नुपरेको छ । त्यसक्रममा उनीहरूले पुरानो बन्दरगाहका जीर्ण भवन, पार्क र सडकमा महिनौं बिताउनुपरेको छ । तर, धेरै नेपाली आफ्नो योजनामा सफल भइरहेका छैनन् । इटलीको यो विवरणले नेपालीले विभिन्न देश र महादेशका श्रम बजारप्रति राख्ने अपेक्षा र भोग्नुपर्ने यथार्थबीच ठूलो अन्तर रहेको देखिन्छ । यस्ता दुःखलाई वैदेशिक रोजगारीप्रतिको सही जानकारी र कानुनी बाटो पछ्याउने जिम्मेवारीबोधले मात्रै न्यूनीकरण गर्न सकिन्छ ।
सन् २०२५ मा मात्र बाल्कन मार्ग हुँदै बिनाभिसा प्रवेश गरेका १ हजार ६० नेपालीले इटलीमा शरणार्थीको हैसियत पाउन प्रयास गरिरहेका छन् । त्यसक्रममा उनीहरूले कष्टकर दैनिकी काट्नुपरेको छ । जस्तो कि, इटलीको उत्तरपूर्वी सहर ट्रिएस्टेको सेन्ट्रल रेल स्टेसनछेउको पार्कमा धेरै आप्रवासी आइपुग्छन् । त्यहीँबाट लिनिया दोम्ब्रा ओडीभी एसोसिएसनको मद्दत खोज्छन्, यो स्थानीय गैरसरकारी संस्थाले सडकमा बास लिन पुगेका नेपालीसहित आप्रवासीलाई प्राथमिक स्वास्थ्य जाँच, खाना र लत्ताकपडा उपलब्ध गराउँछ । त्यसपछि उनीहरूले शरणार्थीका लागि आवेदन दिन्छन् ।
शरणार्थी आवेदनको ‘औपचारिक दर्ता प्रमाणपत्र (सेतो कागज)’ हात परेपछि अस्थायी आवास केन्द्र (क्याम्प) मा बस्न पाइन्छ । तर आवेदन दिने र प्रमाणपत्र पाउने प्रक्रिया महिनौं लम्बिन सक्छ । यसबीचमा सडक, पार्क र पुरानो बन्दरगाहको जीर्ण भवनका चिसो भुइँमा रात बिताउनुपर्ने हुन्छ । त्यस्तो बसोबास पुरुषको तुलनामा महिलाका लागि थप कष्टकर र जोखिमपूर्ण हुने गर्छ । प्लास्टिकको प्याकेटमा पाइने खाना खान पनि लाइन लाग्नुपर्छ । यो सबै प्रयत्नको एउटै उद्देश्य हुन्छ, क्याम्पमा बसेर सामान्य काम गर्दै गर्नु र शरणार्थीको हैसियत पाउनु । त्यसपछि शरणार्थीको हैसियतअनुसारको सुविधा प्राप्त गर्नु ।
युरोप गएपछि सहजै शरणार्थी वा अस्थायी आवासीय अनुमति पाइन्छ भन्ने सोच धेरैले राख्ने गरेको भए पनि यथार्थ त्यस्तो छैन । देशभित्र रोजगारीको अवसर अत्यन्त कम छ । त्यसैले वैदेशिक रोजगारी धेरैका निम्ति बाध्यता हो । राम्रो आम्दानीको आसमा कतिपय भने बिचौलियाको चंगुलमा परेर, लाखौं रुपैयाँ खर्च गरेर, महिनौंको कष्टकर यात्रा पूरा गरेर युरोप तथा अमेरिका पुग्ने गरेका पनि छन् । विभिन्न देशमा ठीकै आम्दानी गरिरहेकाहरू पनि आश्वासनमा परेर, अतिरिक्त महत्त्वाकांक्षा राखेर, थप आम्दानीको आशामा युरोप पुग्ने गरेका छन् । यद्यपि, खाडी तथा मलेसिया हाम्रो परम्परागत र महत्त्वपूर्ण श्रम बजार हो ।
वैदेशिक रोजगारमा गएकाहरूमध्ये यहाँ झन्डै ७५ प्रतिशत नेपाली काम गरिरहेका छन् । त्यहाँका सरकारबाट श्रम बजारको पर्याप्त अनुगमन नहुँदा श्रमिकको अधिकार पूर्ण रूपमा सुनिश्चित हुन सकेको छैन । यद्यपि, आफ्नै विशेषतासहित श्रम बजार चलिरहेकै छ । अर्कोतर्फ, हाम्रोमा युरोपको श्रम बजार गतिशील रहेको, सामाजिक सुरक्षाको सुनिश्चित भएको, रोजगारीको छनोट गर्ने पर्याप्त अवसर भएको, श्रम बजार तुलनात्मक रूपमा मर्यादित भएको धारणा जनमानसमा छ । यसले गर्दा खाडी तथा मलेसियामा मर्यादित काम गरिरहेका मान्छे पनि विकल्पका रूपमा वा थप अवसर लिन युरोप गइरहेका छन् ।
युरोप गएपछि सहजै शरणार्थी वा अस्थायी आवासीय अनुमति पाइन्छ भन्ने सोच धेरैले राख्ने गरेको भए पनि यथार्थ त्यस्तो छैन । जुन इटलीमा पनि देखिएको छ । एकातिर त्यहाँ पुगेका नेपालीले पछुतो नै मान्नुपर्ने गरी कष्टकर दैनिकी बिताइरहेका छन् । अर्कोतिर बाल्कन मार्ग प्रयोग गरेर कागजातविहीन हुने नेपालीको संख्या भने दिनहुँ बढिरहेको देखिन्छ । मुख्यतया एसिया, मध्य पूर्व र अफ्रिकाबाट युरोपेली युनियन प्रवेश गर्न चाहने शरणार्थी तथा आप्रवासीहरूले प्रयोग गर्ने अवैध मार्ग नै बाल्कन मार्ग हो ।
यद्यपि, युरोपको श्रम बजारका बारेमा समाजमा सकारात्मक धारणा मात्रै प्रवाह भइरहने हो भने यस्ता अनेकौं मार्ग प्रयोग गरी फरक–फरक ठाउँ पुग्ने क्रम चलिरहन्छ । यसलाई सही सूचना र जानकारीले मात्रै न्यूनीकरण गर्न सकिन्छ । त्यसैले सरकारले युरोपको वास्तविक श्रम बजारका बारेमा जनतालाई भन्नुपर्छ । त्यहाँको बजारले कस्तो जनशक्ति खोजिरहेको छ, सकारात्मक र नकारात्मक पाटो के छन्, कागजातविहीन भएर बस्नुको चुनौती कस्ता हुन सक्छन् भन्नेजस्ता पक्षमा जनतालाई सुसूचित गराउनुपर्छ । अहिलेलाई शरणार्थीका रूपमा बस्नका लागि निरुत्साहित गर्नुपर्छ । बरु विकल्पका लागि प्रोत्साहित गर्नुपर्छ । समग्रमा, कागजातविहीन भएर यात्रा गर्न नै निरुत्साहित गर्नुपर्छ । यात्रा गर्ने व्यक्तिले पनि आफ्नो यात्राबारे जानकारी लिनुपर्छ । यसका सजिला र अप्ठ्यारा पाटोबारे जानकार हुनुपर्छ । नेपाल र आफू पुग्ने देशको कानुन र प्रक्रियाबारे जानकारी लिनुपर्छ ।
वैदेशिक रोजगारी पूर्ण रूपमा अन्त्य हुने विषय होइन । योग्यताअनुसारको रोजगारी पाइने, राम्रो आर्थिक आम्दानी हुने, व्यक्तित्व विकासका सम्भावना पनि रहने अवस्थामा जोकोहीले विदेश यात्रा गर्न सक्छन् । सरकारको जोड भने बाध्यताको यात्रालाई न्यूनीकरण गर्नेतर्फ हुनुपर्छ । नेपालमै रोजगारीका पर्याप्त अवसर उपलब्ध नहुन्जेलसम्म बाध्यताको वैदेशिक रोजगारी अन्त्य हुन सक्दैन । त्यसैले सरकारले स्वदेशमै रोजगारीका अवसर वृद्धिलाई प्राथमिकता दिनुपर्छ ।
सरकारले त्यस्ता रोजगारीका अवसरलाई प्राथमिकता दिनुपर्छ, जसले उच्च ज्याला, निरन्तरता, मर्यादित कार्यस्थल तथा सामाजिक सुरक्षाको सुनिश्चितता गरोस् । त्यसका लागि निजी लगानीका लागि प्रोत्साहन गर्ने, वैदेशिक लगानी भित्र्याउने, विकासका कामलाई प्राथमिकता दिने, आयआर्जन र व्यवसायका नयाँ–नयाँ प्रयत्नलाई प्रोत्साहित गर्ने काम गर्नुपर्छ ।
