आधार, मर्यादा र महत्त्वाकांक्षा

देश कता हिँडिरहेको छ भन्ने प्रश्नको उत्तर रविको भ्रमण र लेख, बालेनको विवादास्पद अभिव्यक्ति र वाग्लेको बजेट भाषणमा छैन । उत्तर त्यो त्रिकोणमा छ, जहाँ बजेटको जग बलियो हुन्छ, नेतृत्वको भाषा जिम्मेवार हुन्छ र कूटनीतिक अपेक्षा घरेलु तयारीसँग गाँसिन्छ । 

जेष्ठ २१, २०८३

भोजराज पौडेल

Foundation, dignity and ambition

What you should know

 

अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्‍मा बजेट प्रस्तुत गरे । प्रधानमन्त्री वालेन्द्र शाह संसद्‍मा उपस्थित भएर विवादास्पद अभिव्यक्ति दिए । रास्वपाका अध्यक्ष रवि लामिछाने भारत भ्रमणमा हिँडे । यी घटनाक्रम एक साताभित्र भएका हुन् । बजेट मुलुकको अर्थतन्त्रलाई स्पष्ट दिशानिर्देश गर्न चुकेको छ । प्रधानमन्त्रीको भनाइले नेपालको ऐतिहासिक स्थानलाई तल झारेको छ । रास्वपा अध्यक्ष रविको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ रूप दिने संकेत देखिएका छन् । उनले भारतीय दैनिक ‘हिन्दुस्तान टाइम्स’ मा लेख प्रकाशित गरेर आफ्ना धारणा सार्वजनिक गरेका छन् । नेपालले, खासगरी रविकालमा भारतसँग के खोजेको हो भन्ने स्पष्ट पार्ने प्रयास गरेका छन् । यो पृष्ठभूमिमा मैले मुलुक आर्थिक र राजनीतिक रूपमा कता हिँडिरहेको छ भनेर यस आलेखमा चर्चा गर्नेछु ।

यो सबैलाई एउटै शब्दमा समेट्नुपर्दा ‘असंगति’ भन्नुपर्छ । असंगति नीति र व्यवहारबीच, जनताका सपना र नेतृत्वको क्षमताबीच र कूटनीतिक अपेक्षा र घरेलु तयारीबीच छ । राज्यले आर्थिक वर्षभरि कुन बाटो हिँड्छ भनेर देखाउने कागज बजेट हो । तर त्यो कागजले आफैं टेक्ने जग नभएका कारण यो रास्वपाको दोस्रो घोषणापत्र जस्तो बनेको छ । मुलुकको आर्थिक रणनीति जस्तो छैन ।

बजेटबारे धेरैजसो टिप्पणी ‘कर कति बढ्यो वा घट्यो’ वा ‘कस्ता नयाँ कार्यक्रम आए’ मा सीमित छ । तर अहिलेको बजेटको समस्या त्यसभन्दा गहिरो छ । प्रधानमन्त्रीको संसद्‍मा उपस्थितिले नीति बहसभन्दा बढ्ता मुलुकको पहिचान, यसको इतिहास र आम नेपालीको मर्यादाबारे अनावश्यक तनाव उत्पन्न गराएको छ । जसका कारण वास्तविक आर्थिक मुद्दाबाट छलफल विकेन्द्रित भएको छ । अनि यही बेला रवि लामिछानेको भारत भ्रमण र उनको लेखले अर्को किसिमको प्रस्ताव ल्याएको छ । नेपाल–भारत सम्बन्धको शब्दावली नै बदल्ने, भूराजनीतिक घर्षणभन्दा विकास कूटनीतिमा केन्द्रित हुने र सीमालाई मात्र होइन, अर्थतन्त्रलाई जोड्ने । समस्या के भने यति महत्त्वाकांक्षी प्रस्तावका लागि जुन घरेलु आधार चाहिन्छ, बजेट र विद्यमान शासन र शासकीय व्यवहारले त्यस्तो आधार निर्माण गरिरहेको देखिँदैन । फलतः देशभित्र विरोधाभास छ । दुईवटा नेपाल देखा परेका छन् । एक, ‘हामी अर्थतन्त्र जोड्ने रेल, ऊर्जा, डिजिटल, पर्यटनमार्फत माथि उक्लिन्छौं’ भनेर कल्पना गर्छ । अर्को, नेपाल जहाँ पुरानै ढाँचामा छरिएको बजेट, कमजोर कार्यान्वयन र अनिश्चित र साहित्यिक भाषासँगै उहीं घुमिरहन्छ ।

नेपाल–भारत सम्बन्धको इतिहासमा ‘शब्दावलीमार्फत सम्बन्धको नयाँ बाटो खोल्ने’ प्रयास नयाँ होइन । १९५० मा राणा शासनका तत्कालीन प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहनशमशेर राणाले भारत भ्रमण गरेका थिए । र, त्यो भ्रमणको उपलब्धि १९५० कै नेपाल–भारत शान्ति तथा मैत्री सन्धि थियो । जुन दुई देशको समन्धको इतिहासमा एउटा महत्त्वपूर्ण मोडका रूपमा लिइन्छ । त्यस समयको विश्व र क्षेत्रीय राजनीति फरक थियो । नेपालभित्रको राज्य संरचना फरक थियो । दुवै देशले एकअर्कालाई हेर्ने दृष्टिकोण पनि फरक थियो । तर त्यस ऐतिहासिक प्रसंगले एउटा शिक्षा दिन्छ । त्यो के हो भने दुई छिमेकीबीचको सम्बन्धले लामो समयसम्म चल्ने संरचना बनाउँदा त्यसको भाष्य मात्र होइन, संस्थागत व्यवस्था, आर्थिक हित, सुरक्षा चिन्ता र जनस्तरीय सम्बन्ध सबै सँगसँगै जोडिन्छन् । आज रवि लामिछानेले विकास कूटनीतिक शब्दावली प्रस्ताव गर्दा उनी मूलतः यही संरचनात्मक सोचतर्फ फर्किन खोजिरहेका छन् भन्ने देखिन्छ । तर १९५० जस्तो सन्धि–केन्द्रितभन्दा फरक । यस पटक ‘अर्थतन्त्र र अवसर’ लाई केन्द्रमा राख्ने प्रस्ताव छ, उनको । तर अब यहाँ प्रश्न उठ्छ– के हाम्रो बजेट र शासन क्षमता त्यतातर्फ लक्षित छ ?

बजेटबारे धेरैजसो टिप्पणी ‘कर कति बढ्यो वा घट्यो’ वा ‘कस्ता नयाँ कार्यक्रम आए’ मा सीमित छ । तर अहिलेको बजेटको समस्या त्यसभन्दा गहिरो छ । यसको मुख्य कमजोरी ‘जग’ मा छ । विश्वसनीयता, प्राथमिकताको स्पष्टता र कार्यान्वयन क्षमताको इमानदार स्वीकारोक्ति । बजेटले सबैलाई केही न केही दिने कोसिस गरेको छ । तर अर्थतन्त्रलाई उकास्ने काम भने केही सीमित क्षेत्रलाई पर्याप्त स्रोत, पर्याप्त ध्यान र पर्याप्त प्रशासनिक ऊर्जा दिनु हो । जब बजेटले प्राथमिकता छान्दैन, तब परिणाम पनि छान्दैन । अनि परिणाम नछानिएको बजेटले अन्ततः कुनै ठूलो परिणाम दिँदैन । थोरै–थोरै भएर बग्छ, हराउँछ र अर्को वर्ष फेरि नयाँ शीर्षकसँग फर्किन्छ । यस्तो खालको बजेट आउन सक्छ र उही समस्या दोहोरिन सक्छ भनेर मैले पहिले पनि लेखेको थिए । त्यही भएको छ । यस्तो बजेटमा राष्ट्रको रणनीतिक दिशाबोधभन्दा राजनीतिक सन्तुलनको डर बढी देखिन्छ (यहाँनेर राजनीतिक सन्तुलन भनेर मैले प्रधानमन्त्री र अर्थमन्त्रीबीचको विचारधारात्मक र व्यावहारिक द्वन्द्वको कुरा गरेको हुँ) । र, यही डरले अर्थमन्त्री बजेटलाई आत्मविश्वासी बनाउनबाट चुकेका छन् । 

यही ठाउँमा रवि लामिछानेको प्रस्ताव- ‘सीमा होइन, अर्थतन्त्र जोड्ने’ अर्थपूर्ण देखिन्छ । किनकि त्यो प्रस्तावले बजेटको कमजोरीलाई ऐनाजस्तो देखाइदिन्छ । उनले भारतलाई हेर्दा एउटा रूपान्तरण भएको भारत देख्छन् । पुराना ब्युरोक्रेटिक जन्जिरहरू काट्दै ठूलो र तीव्र बढ्दो अर्थतन्त्र बनेको भारत । त्यस उपलब्धिलाई सम्मान गरेर उनी साझेदारी चाहन्छन् । अनि साझेदारीको सबैभन्दा ठोस प्रतीक उनी रेलमार्गलाई बनाउँछन् । भारत मेट्रो रेल विस्तारमा विश्व नेतृत्वतर्फ दौडिरहेको, दिनहुँ झन्डै १५ किलोमिटर रेल ट्र्याक बिछ्याउने गतिमा रहेको उल्लेखसँगै रक्सौल–काठमाडौं रेलमार्ग १५० किलोमिटरभन्दा कम भएको तथ्य राख्छन् । त्यो १५० किलोमिटर ट्र्याक जोडिनासाथ व्यापार, पर्यटन, लजिस्टिक्स र क्षेत्रीय कनेक्टिभिटीमा क्रान्ति आउन सक्छ भनेर उनी भन्छन् । यो कल्पना होइन, आर्थिक तर्क हो । ढुवानी समय र लागत घटेपछि बजार विस्तार हुन्छ, उद्योगको कच्चापदार्थ सहज हुन्छ, कृषि उत्पादन खेर जानबाट जोगिन्छ, पर्यटनको आवागमन बढ्छ र नेपाल आपूर्ति शृंखलामा जोडिन्छ । तर बजेटले यस्ता ‘इन्जिन परियोजना’ लाई कुन स्थानमा राखेको छ ? के यसले रेलमार्गलाई केवल कागजमा उल्लेख गरेर छोडेको छ, कि संस्थागत तयारी, भूमि व्यवस्थापन, वित्तीय मोडालिटी, कूटनीतिक रोडम्याप र समयसीमासहित अघि बढाउने स्पष्टता दिएको छ ? बजेट मौन छ । यो बजेटले स्पष्ट विकास कूटनीतिक प्रस्तावसँग हात मिलाउन सक्दैन ।

उड्डयन र क्षेत्रीय कनेक्टिभिटीमा पनि यही अन्तर देखिन्छ । पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई, बेंगलुरुजस्ता हबहरूसम्म प्रत्यक्ष उडान– यो केवल पर्यटनको विषय होइन, समग्र सेवा अर्थतन्त्रको विषय हो । प्रत्यक्ष उडानले धार्मिक पर्यटन, सम्मेलन पर्यटन, व्यापारिक भ्रमण, विद्यार्थी आवागमन र स्वास्थ्य सेवामा पहुँचको लागत घटाउँछ । बजेटले विमानस्थललाई ‘भौतिक संरचना’ का रूपमा मात्र हेरेको छ कि ‘अर्थतन्त्रको गेटवे’ ? गेटवे बनाउने हो भने एयर रुट विकास, अन्तर्राष्ट्रिय मानक, सेवा गुणस्तर, मूल्य प्रतिस्पर्धा र मार्केटिङ सबै जोडिनुपर्छ । बजेटमा यस्ता कुराहरू टुक्राटुक्रा भएर छरिएका छन् । जोडिएको रणनीति छैन । जति बेला हामी भारतको उड्डयन उछालबाट सिक्ने कुरा गर्छौं, त्यति बेला आफ्नैतर्फबाट आवश्यक सुधार र तयारी बजेटको केन्द्रमा देखिनुपर्थ्यो । नत्र ‘प्रत्यक्ष उडान’ पनि अर्को सपना हो ।

डिजिटल अर्थतन्त्रमा त असंगति अझ स्पष्ट छ । काठमाडौं–बेंगलुरु डिजिटल करिडोरको कुरा । रवि लामिछाने भारतका आईटी कम्पनी, स्टार्टअप इकोसिस्टम र विश्वविद्यालयहरूलाई नेपालमा इनोभेसन ल्याब, इन्क्युबेसन सेन्टर र टेक हब खोल्न आग्रह गर्छन् । नेपालसँग प्रतिभाशाली युवा, सफा ऊर्जा र बढ्दो डिजिटल इकोसिस्टम छ । परिपक्व इकोसिस्टमको ‘सानो छुवाइ’ ले यो छिटो रूपान्तरित हुन सक्छ भन्ने उनको तर्क छ । साथै डिजिटल पेमेन्ट, फिनटेक र क्रस–बोर्डर प्लाटफर्ममार्फत दुवै देशका साना उद्यमी सशक्त हुने कुरा पनि छ । तर बजेटले डिजिटल रूपान्तरणलाई गम्भीर अर्थनीतिका रूपमा होइन, ‘प्रविधि प्रयोग’ को सामान्य भाषामा राखेर टारेको देखिन्छ । स्टार्टअप–फ्रेन्ड्ली नियम, डेटा गभर्नेन्स, साइबर सुरक्षा, डिजिटल सीप, कर नीतिमा स्पष्टता र क्रस–बोर्डर पेमेन्ट इन्टरअपरेबिलिटीका विषयमा ठोस प्याकेज र मापनयोग्य लक्ष्यबिना डिजिटल अर्थतन्त्र ‘ड्यासबोर्डमा देखिने नम्बर’ मात्रै हुन्छ ।

विकास कूटनीतिक भाषामा नेपालको सबैभन्दा बलियो कार्ड जलविद्युत् हो । अब यो केवल घरेलु आवश्यकता पूरा गर्ने स्रोत होइन । भारतको बढ्दो औद्योगिक करिडोरहरूलाई स्वच्छ ऊर्जा दिन सक्ने इन्जिन पनि हो । ‘फ्र्याग्मेन्टेड ट्रेड’ बाट ‘एकीकृत ऊर्जा बजार’ तर्फ जाने भनाइ आकर्षक छ । तर यसको घरेलु जग कमजोर छ । उत्पादन वृद्धि, प्रसारण लाइन विस्तार, ग्रिड स्थिरता, भण्डारण क्षमता, नियामक भरोसा र मूल्य निर्धारणको पारदर्शिता । यदि घरभित्र प्रसारण लाइन नै ढिलो, अनुमति प्रक्रिया नै अलमल, पीपीए र वित्तीय क्लोजरमै अनिश्चितता छ भने बाहिर ऊर्जा साझेदारीको ठूलो प्रस्ताव पनि कमजोर हुन्छ । बजेटले ऊर्जा शीर्षकमा धेरै कुरा लेखिएका छन् । तर ती कुरा समयसीमा, परियोजना चयन र संस्थागत क्षमतासँग बाँधिएका छैनन् । यसकारण ऊर्जा ‘कूटनीतिक इन्जिन’ बन्न सक्दैन । यस पटकको बजेटले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएको दाबी गरे पनि ऊर्जा पूर्वाधार र ऊर्जा कूटनीति जोड्ने एकीकृत रोडम्याप स्पष्ट छैन । यही अस्पष्टताले विकास कूटनीतिक सपना र घरेलु यथार्थबीचको दूरी बढाउँछ ।

सीमा व्यवस्थापन र व्यापार सुगमतालाई हेर्दा पनि बजेटको कमजोरी झल्किन्छ । रवि लामिछानेले टमाटरको मूल्यदेखि मेसिनरीको आवागमनसम्मलाई ‘ब्युरोक्रेटिक बोटलनेक’ ले तय गर्ने अवस्थाको अन्त्य चाहिन्छ भन्छन् । आधुनिक ‘डिजिटाइज्ड इन्क्रेटेड चेक पोस्ट’ र उन्नत ट्रान्जिट करिडोरले ‘कडा सीमा’ लाई ‘सिमलेस ब्रिज’ बनाउनुपर्ने उनको जोड छ । यो नेपालको व्यापार लागत घटाउने ठोस उपाय हो । तर बजेटले व्यापार सुगमता र सीमावर्ती पूर्वाधारलाई मापनयोग्य लक्ष्यसहित राखेको छैन । कस्टम्स डिजिटाइजेसन, जोखिम–आधारित जाँच, एकद्वार प्रणाली, ट्रान्जिट समय घटाउने सूचक र निजी क्षेत्रसँग समन्वयको स्पष्ट योजनाबिना बजार मूल्य घट्दैन, प्रतिस्पर्धा बढ्दैन । जब बजेट यस्ता सुधारमा निर्णायक हुँदैन, तब विकास कूटनीतिक भाषणले चाहेको ‘दैनिक जीवनमा परिणाम’ पनि आउँदैन । 

पर्यटनमा साझा सभ्यतागत अवसर छ । हिमाल, जनकपुर, लुम्बिनी र बोधगयासम्मको सांस्कृतिक–धार्मिक सर्किटले विश्व पर्यटकलाई एकै यात्रामा साझा सम्पदा देखाउन सक्छ । तर यसलाई सफल बनाउन प्रशासनिक बाधा घटाउनुपर्छ, सीमा बिन्दुमा सेवा सहज बनाउनुपर्छ, संयुक्त मार्केटिङ गर्नुपर्छ र कनेक्टिभिटी बढाउनुपर्छ । बजेटले पर्यटनलाई फेरि पनि ‘सम्भावना’ को मिठो साहित्यिक भाषामा राखेको छ । ‘सर्किट–आधारित, मापनयोग्य, सहजीकरण केन्द्रित’ रणनीतिमा बाँधेको छैन ।

यी सबै विषयको मूलमा ‘विश्वास’ छ । छिमेकीबीचको विवाद लुकाएर हुँदैन । रविले हजारौं वर्ष पुराना सभ्यतागत सम्बन्ध भएका देशहरूले पछिल्ला विवादहरूलाई ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा समाधानतर्फ लैजानुपर्छ भनेर तर्क गरेका छन् । उनी अल्ट्रा–नेसनालिस्ट रेटोरिकलाई अस्वीकार गर्छन् र प्रमाण–आधारित संवादको प्रस्ताव गर्छन् । तर नेपालभित्रै नेतृत्वको गैरजिम्मेवार भाषा, सत्ता–अहम्को छोटो सोच र बजेटको आधारहीन आशावादले त्यो विश्वास निर्माणलाई कठिन बनाउँछ । एकातिर हामी भारतसँग ‘विकास साझेदारी’ खोज्छौं, अर्कोतिर आफ्नै शासनले संकेत दिन्छ कि हामीले आफ्नै प्राथमिकता, नियम र कार्यान्वयन क्षमता स्थिर राख्न सकेका छैनौं । यसले भारतलाई मात्र होइन, नेपाली निजी क्षेत्र र आम नागरिकलाई पनि सन्देहमा राखेको छ । यदि राज्य आफैं अनिश्चित छ भने बाह्य साझेदारीबाट आउने अवसर कसरी संस्थागत लाभमा बदलिन्छ ?

महत्त्वाकांक्षा आफैं गलत होइन । तर जगबिना महत्त्वाकांक्षा कोरा कुरामा बदलिन्छ । भारतका लागि पनि स्थिर र समृद्ध नेपाल ‘स्ट्राटेजिक नेसेसिटी’ हो भन्ने तर्क व्यावहारिक छ । समृद्ध नेपाल भारतको उत्तरी सीमामा प्राकृतिक गार्डरेल हो । अस्थिर नेपाल छिमेकको अस्थिरताको संकेत हो । तर यही तर्क नेपालका लागि पनि उल्टो रूपमा सत्य हो । यदि हामी भारतसँग बराबरी र सम्मानका साथ विकास साझेदारी चाहन्छौं भने पहिले हामी आफ्नै घरभित्रको राज्य–क्षमता, बजेट अनुशासन र नीतिगत स्थिरता प्रमाणित गर्नुपर्छ । कूटनीति केवल बाहिर बोलेर चल्दैन । कूटनीति घरभित्रको व्यवस्थापन क्षमताको विस्तार हो ।

आफैं टेक्ने आधार तयार गर्न नसकेको असफल बजेट रवि लामिछानेले अपेक्षा गरेको विकास कूटनीतिक रोडम्यापसँग जोडिन सक्दैन । आधारबिनाको बजेटले रेल, ऊर्जा, डिजिटल, पर्यटन र सीमा व्यवस्थापनका ठूलो प्रस्तावहरू अगाडि बढाउन सक्दैन । ती कागजमै अड्किन्छन् । अनि जनता फेरि निष्कर्षमा पुग्न सक्छन्- ‘बोले धेरै ।’

यसैले अहिलेको निर्णायक प्रश्न ‘भारतले नेपाललाई के दिन्छ ?’ भन्दा बढी ‘नेपालले आफूलाई कस्तो बनाउन चाहन्छ ?’ हो । यदि हामी साँच्चै विकास कूटनीतिमा प्रवेश गर्न चाहन्छौं भने बजेटले प्राथमिकता छान्नैपर्छ । केही ठूला परियोजना जसले लागत घटाओस्, लगानी बढाओस् र रोजगारी देओस् । रक्सौल–काठमाडौं रेलजस्ता कनेक्टिभिटी इन्जिन, ऊर्जा बजार एकीकरणका लागि घरेलु प्रसारण लाइन र नियमन सुधार, डिजिटल पेमेन्ट/फिनटेक इन्टरअपरेबिलिटी र स्टार्टअप नीतिको प्याकेज, ट्रान्जिट करिडोरको समयबद्ध कार्ययोजना, पोखरा–लुम्बिनी उडानलाई आर्थिक रणनीतिसँग जोड्ने योजना र साझा पर्यटन सर्किटको सहजीकरणलाई पुनः नयाँ तरिकाले ल्याउनुपर्छ । त्यसका लागि सरकारले पूरक पूर्वाधार बजेट ल्याओस् । 

अन्तमा, देश कता हिँडिरहेको छ भन्ने प्रश्नको उत्तर रविको भ्रमण र लेख, बालेनको विवादास्पद अभिव्यक्ति र वाग्लेको बजेट भाषणमा छैन । उत्तर त्यो त्रिकोणमा छ, जहाँ बजेटको जग बलियो हुन्छ, नेतृत्वको भाषा जिम्मेवार हुन्छ र कूटनीतिक अपेक्षा घरेलु तयारीसँग गाँसिन्छ । 

अहिले त्यो त्रिकोणको दुई कुनो कमजोर छन् । बजेट आधारहीन छ, नेतृत्वको वाणी असावधान छ । तेस्रो कुनोमा विकास कूटनीतिक महत्त्वाकांक्षा मात्र उभिएको छ । महत्त्वाकांक्षा आफैं गलत होइन । तर जगबिना महत्त्वाकांक्षा कोरा कुरामा बदलिन्छ । यदि साँच्चै रास्वपाले भारतसँग १९५० पछिको अर्को ‘ल्यान्डमार्क’ सम्बन्ध निर्माण गर्न चाहेको हो भने त्यो सन्धिको नामबाट होइन, नागरिकको जीवनमा देखिने परिणामबाट मापन हुनुपर्छ– रेल चलेको दिन, सीमा वारपार सहज भएको दिन, डिजिटल भुक्तानी सीमा पार चल्न थालेको दिन, ऊर्जा व्यापार पारदर्शी र स्थिर बनेको दिन तथा पोखरा र लुम्बिनीबाट क्षेत्रीय हबमा उडान भरिएको दिन ।

त्यस दिनसम्म पुग्ने बाटो तय गर्ने हामीले हो । त्यसका लागि साहित्यको लेपन गरिएको भावनात्मक भाषण होइन, अर्थमन्त्रीले संसद्मा साँच्चैको बजेट प्रस्तुत गर्न सक्नुपर्छ । प्रधानमन्त्री पदमा आसीन व्यक्तित्वले मुलुकको मर्यादा बुझ्न सक्नुपर्छ । 

भोजराज पौडल विकास अर्थशास्त्री हुन्। उनले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास-साझेदारसँग विभिन्न मुलुकको आर्थिक विकास र नीतिगत सुधारका क्षेत्रमा काम गरेका छन्।

Link copied successfully