के नेपाली समाज महिलामैत्री छ ?

विभेदको झटारोले हानेर महिला कमजोर बनाउँदा पुरुषलाई के फाइदा ?  अझै आमनारीले पहिचान र अस्तित्वकै लागि लडाइँ लड्नुपर्ने किन ?

जेष्ठ १९, २०८३

गायत्री लम्साल

Is Nepali society women friendly?

What you should know

 

महिला र पुरुष–सहकार्यबाटै समान अस्तित्व निर्माण गर्नु जरुरी छ । सदियौंदेखि चलिआएको पुरुषप्रधान समाजले आज पनि महिलालाई दोस्रो नागरिकका रूपमा व्यवहार गरेको छ । कतिपय महिलालाई पहिचानविहीन बाँच्न विवश पारिएको छ ।

जसको अस्तित्व अकाट्य छ, उसलाई जानी–जानी पछि पार्नु हुन्छ ? विभेदको झटारोले हानेर महिला कमजोर बनाउँदा पुरुषलाई फाइदा होला त ? के अझै आमनारीले पहिचान र अस्तित्वकै लागि लडाइँ गर्नुपर्ने ? तर, अब यस्तो हुनु हुँदैन । आमनारी आत्मनिर्भर र सशक्त भएर पुरुषसँगै हातेमालो गर्दै एउटै बाटोमा हिँड्न अब ढिलो भइसक्यो । अब महिलामैत्री र छोरीको समाज निर्माण गर्न सबैको भूमिकामा परिवर्तन हुनुपर्छ ।

महिलाले पनि आफ्नै सोच, विचार, चिन्तन, शैली र संस्कारमा परिवर्तन गर्नुपर्छ । आफूलाई कहिल्यै कमजोर सोच्नु हुँदैन । आफ्नो चौतर्फी विकासका लागि समय व्यवस्थापन गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, पोषणयुक्त खानामा खर्च गर्न कञ्जुस नबनौं । अरूका कुरा काट्ने, आफूभन्दा सक्षम महिलाको खुट्टा तान्न खोज्ने, आफ्नो अस्तित्व नै बिर्सेर हरपल अपमान सहेर पनि पतिलाई परमेश्वर मान्ने गरेका छौं भने त्यो पनि नगरौं । 

पति र पत्नी सहयात्री हुन् । दुवैको समान भूमिका र अस्तित्व छ । जीवनैभर आफूलाई बिर्सेर पतिको सेवा गर्ने अनि उसकै हातबाट आफूले हरेक दिन हिंसा सहनुपर्छ भने त्यो सम्बन्ध कुनै पनि महिलाले स्विकार्नु हुँदैन । यसले कुनै दिन आफूलाई मृत्युको मुखमा पुर्‍याउँछ । जुनसुकै सम्बन्ध, परिवार र इष्टमित्रभन्दा महत्त्वपूर्ण विषय आफैं हो । आफू स्वस्थ्य, सक्षम, आत्मनिर्भर बन्न सक्यौं भने अन्य विषय राम्रो हुँदै जान्छ । 

घरपरिवारमा माया र शान्त वातावरण भए सबै सदस्यको राम्रो प्रगति हुन्छ । घरको कुन काम कसले गर्ने ? कुनै पनि कानुनमा त्यो विभाजनबारे लेखिएको छैन । हाम्रा पुरुषप्रधान समाजका सोच र बाछिटाले अझै पनि घरभित्रको काम महिलाले नै गर्ने हो भन्ने सोचविचार हाबी छ । सबै काममा परिवारका सबै सदस्यले सहयोग गरौं । 

छोरीलाई ‘तिमी छोरी हौ त्यसैले खाना पकाउन सिक, मिठो बोल्न सिक, अरूलाई आदर–सत्कार गर, छोरी मान्छे भएर धेरै बोल्न हुन्न, आफूलाई मर्का परे पनि सहनुपर्छ’ भन्नेजस्ता तमाम विभेद गर्ने संस्कारको अन्त्य गरौं । छोराछोरी दुवैलाई सबै काम कुरा सिकाउनुपर्छ । नैतिक शिक्षा, राम्रो संस्कार, हाम्रा पूर्वीय दर्शनका अर्ती–उपदेश छोराछोरी दुवैलाई दिनु जरुरी छ । संस्कारी छोरीहरूलाई संस्कारविहीन छोराहरूले नराम्रो व्यवहार, व्यभिचार, बलात्कारजस्ता जघन्य अपराध गर्ने र त्यसको दोष पीडित छोरीहरूले पाउने प्रवृत्तिको अन्त्य घरबाटै हुनुपर्छ । 

घरपरिवारको इज्जत जोगाउने सवालमा छोरीहरूले कहिलेसम्म पीडित भइरहने ? पीडितलाई बहिष्कार गर्ने अनि पीडकलाई भाले बनाउने आपराधिक सोचको जड हरेक घरपरिवार नै हो । नेपालको संविधानमा पीडितको हकलाई मौलिक हकका रूपमा उल्लेख गरिएको छ । आजको एक्काइसौं शताब्दीको युगमा पीडितले न्याय र पीडकले सजाय पाउनैपर्छ । यसका लागि हरेक घरपरिवारबाट हिंसाविरुद्ध शून्य सहनशीलताको वातावरण व्यवस्थापन गरौं । 

पति–पत्नी जीवनरूपी रथका दुइटा पाङ्ग्रा हुन् । दुवै सक्षम, सबल, स्वस्थ्य हुँदा जीवन जिउन सहज हुन्छ । अहिले समय केही परिवर्तन भएको छ । महिलाहरू आत्मनिर्भर हुने क्रम बढ्दो छ । यससँगै उनीहरू कामको दोहोरो मारमा परेका छन् । महिलाहरूले पनि परिवार पाल्न पैसा कमाउने काम गर्न थाले, तर घरभित्रको काममा पतिको सहयोग पाउन सकेनन् । फलस्वरूपः पारिवारिक विग्रह बढायो । अब दुवैले समान जिम्मेवारी निभाउनु आवश्यक छ । 

मात्रात्मक रूपमा निकै कम छ, तर कतिपय अवस्थामा महिलाबाट पुरुषसमेत पीडित भएका छन्, जुन हुनु हुँदैन । सबै विषयमा दुवैले निकै सुझबुझपूर्ण तरिकाले समान संघर्ष गर्नु आवश्यक हुन्छ । एकआपसमा माया, प्रेम, विश्वास, सद्भाव, समता र समानुभूति निर्माण गर्न सक्नुपर्छ दुवैले ।

मानिस सामाजिक प्राणी भएकाले उसलाई समाजमा हुने सामूहिक आनीबानीले प्रत्यक्ष असर पार्छ । समाज सभ्यताको, संस्कृतिको मूल थलो हो । त्यसैले सर्वप्रथम समाजका हरेक सदस्यले महिला–पुरुषलाई हेर्ने दृष्टिकोण समान हुनु जरुरी छ । अहिलेको अवस्था मूल्यांकन गर्दा नेपाली समाज पुरुषले जे गरे पनि राम्रो, जे खाए पनि ठीक, जस्तो लुगा लगाए पनि ठीक मान्छ भने महिलालाई जति नै सक्षम भए पनि नजरअन्दाज गर्छ । उसले गर्ने हरेक कामकुरामा नकारात्मक टीकाटिप्पणी हुन्छ, विभिन्न दृष्टिकोणले कमजोर महिलालाई हेर्ने नजर अत्यन्तै साँघुरो र निन्दनीय छ । 

आज सूचना र प्रविधिले विश्व बजार एउटा सानो गाउँ बनिसक्दासमेत हाम्रो सामाजिक चेतनामा किन परिवर्तन आउन सकेन ? हरेक पुरुष, जसले आफूलाई महान् सोच्छ, मर्द सोच्छ– उसैले आफूलाई जन्माउने आमामाथि किन अन्याय गर्छ ? एउटी महिला आफू महिला भएरसमेत अन्य महिला आफूजस्तै हुन् भनेर किन समानुभूति राख्न सक्दैनन् ? महिलाले महिलाकै खुट्टा तान्ने, कुरा काट्ने सोचले अझै कति वर्ष पछाडि पर्ने हामी ?

संस्कृतका श्लोक जप्ने व्यक्तिदेखि आधुनिक समाजका पुरुषसम्मले महिलालाई ‘सामान्य मान्छे’ समेत नसोच्ने चेतना अब घट्नुपर्छ । समाज सबैको साझा फूलबारी हो । महिला र पुरुष दुवै मानसिक रूपमा सबल र सक्षम हुनु आजको आवश्यकता हो । झिना, मसिना, सामान्य विषयमा समेत महिलामाथि टीकाटिप्पणी गर्ने, खेदो खन्ने समाज अब स्वीकार्य हुनु हुँदैन । मनमा अदम्य साहस, स्वस्थ शरीर र मस्तिष्कमा काम गर्ने जोस, जाँगर र उमंगले भरिएका छोरी आज कमजोर छैनन् । कमजोर त समाजको सोच हो, समाजका हरेक व्यक्तिले गर्ने विभेद हो, अझै लैंगिक हिंसायुक्त मानसिकता बोक्नेहरूको जमात हो । 

अब ढिलो भइसकेको छ– छोरीको समाजलाई स्वागत गर्न । सबै कामकुरामा, व्यवहारमा, अवसरमा, पहुँचमा सन्तानलाई समान अवसर दिनु घरपरिवारको, समाजको र राज्यको दायित्व हो । जन्मँदै कोही बलियो र कोही कमजोर हुँदैनन् । हामी आतुर छौं– हरेक छोरासँगै छोरी पनि हाँसेको, नाचेको हेर्न । 

परिवर्तन कानुनका निर्जीव शब्दले आउने होइन– हरेक व्यक्तिको सोच, विचार, चिन्तन, दृष्टिकोण र कार्यशैलीले निर्धारण गर्ने विषय हो । समाज परिवर्तन गर्ने/गराउने हामीले नै हो ।

गायत्री गायत्री लम्साल निजामती सेवामा आबद्ध छिन् । उनी समसामयिक बिषयमा कान्तिपुरमा लेख्छिन् ।

Link copied successfully