बालेन शाहले प्रणाली बुझेका छन्, तर मानिसलाई कति बुझ्छन् ? बालेन–अर्थशास्त्रको सबैभन्दा ठूलो अनुत्तरित प्रश्न नै यही हो । यो प्रश्नको जवाफ कुनै बजेटले होइन, आउँदा वर्षहरूले मात्रै दिनेछन् ।
What you should know
कुनै नेतालाई बुझ्नु भनेको के हो ? उसको नजिक पुग्नु होइन, भाषण घोक्नु पनि होइन । बुझ्नु भनेको धैर्यपूर्वक ढाँचा पढ्नु हो– कुन समस्यामा उसको हात आफैं अघि बढ्छ ? कुन विषयमा अधीर हुन्छ ? कुन बेला ऊ प्रक्रिया कुर्न तयार हुँदैन ? नेताको अर्थशास्त्र उसको औपचारिक नीतिमा भन्दा स्वभावमा लुकेको हुन्छ । त्यसैले ‘बालेनोमिक्स’ जस्ता हलुका उपनामले बुझाइलाई ब्रान्डमा बदल्छ र मानिस त्यहीं अल्मलिन्छन् ।
बुझाइको तल पुग्ने एउटै बाटो छ– फरक प्रश्न सोध्नु । हरेक अर्थव्यवस्था अन्तिममा गएर मानिस केले चल्छ भन्ने एउटा विश्वासमाथि उभिएको हुन्छ । तपाईं नागरिकलाई कस्तो स्वभावको प्राणी ठान्नुहुन्छ ? त्यसैले तपाईंको नीतिले आकार लिन्छ । त्यसो भए बालेन शाहको सरकारले बोकेको विश्वास के हो ? नेपालीलाई आखिर केले चलाउँछ ?
यो प्रश्नमा प्रवेश गर्नुअघि एउटा विषय प्रस्ट पारौं । यो सरकारको आर्थिक दृष्टिकोण, विशेषगरी अर्थमन्त्रीद्वारा अघि सारिएका धेरै विषय नौला होइनन्, हुनु पनि पर्दैन । विकासको विश्व–चिन्तन आफैं विकसित हुँदै आएको छ । विश्व बैंकका विकास प्रतिवेदनकै यात्रा हेरे पुग्छ– सन् १९९४ मा पूर्वाधारमा जोड थियो, त्यसपछि शिक्षा र स्वास्थ्यमा, सन् २००२ मा बजारका लागि संस्था निर्माण अनि २०१७ मा सुशासन र कानुन । अर्थात्, विकासको बहस भौतिक संरचनाबाट सुरु भएर मानिस अनि संस्था हुँदै शासन–गुणसम्म आइपुगेको छ । त्यसैले राजस्व र संस्थागत सुधारका कुरा गर्नु समकालीन विकास–सहमतिमाथि उभिनु मात्रै हो । तर, बालेन्द्र शाहको स्वभावमा त्योभन्दा फरक केही देखिन्छ– सहमतिले भर्खर समाउन थालेको विषयलाई उनको प्रवृत्तिले पहिल्यै छोइसकेझैं ।
यसको जवाफ खोज्न हामीले पछाडि फर्केर हेर्नुपर्छ । नेपालले लामो समय एउटै विश्वासमा शासन गर्यो– मानिस सम्बन्ध र संरक्षणले चल्छन्, माथिसम्म पहुँच भएकाले पाउँछन् । त्यसैले हाम्रो राज्य एक प्रकारको लेनदेनको अड्डा बन्यो । वालेन्द्रको स्वभावले यही पुरानो विश्वासलाई प्रश्न गर्छ । उनको आग्रह सरल छ– नियम सबैलाई बराबर लाग्नुपर्छ । यो आग्रह आकाशबाट झरेको होइन, वर्षौंको शिथिलता हेरेर जन्मेको हो । पुरानो ढर्राले देश बनेन भन्ने विषयमा उनलाई गलत भन्न सकिँदैन ।
तर, ठीक यहीं एउटा सूक्ष्म विषय लुकेको छ, जसले वालेन्द्र अर्थशास्त्रको पूरै दिशा तय गर्नेछ । पुरानो विश्वास र वालेन्द्रको आग्रह (संरक्षण र कडाइ) देख्दा विपरीत लागे पनि, गहिराइमा दुवैको जरा एउटै माटोमा गाडिएको छ । दुवै अनुपालनका अर्थशास्त्र हुन् । एउटाले नागरिकलाई सुविधा बाँडेर अनुकूल बनाउँछ, अर्कोले नियमको पालनाबाट । तर, दुवैको मूल मान्यता उही हो– नागरिक भनेको बाहिरबाट व्यवस्थापन गरिने पात्र हो । तर, समृद्धि अनुपालनबाट मात्रै जन्मँदैन, सिर्जनाबाट जन्मन्छ । अनि सिर्जना न सुविधाले किन्न सकिन्छ, न नियमले मात्रै निकाल्न ।
यो सिर्जना कहाँबाट आउँछ ? त्यो बुझ्न मलाई अर्थशास्त्रभन्दा आर्थिक भूगोलको चस्मा बढी काम लाग्यो । विगतमा हाम्रा सरकारमा रहेका नेतृत्व प्रायः समष्टि–अर्थशास्त्रीय दृष्टिकोणबाट मात्रै चले– ब्याजदर, राजस्व, शोधनान्तर आदिका दृष्टिकोण । वालेन्द्रको दिमाग त्यो ढाँचाको होइन । उनी संरचना–अभियन्ता हुन्, उनी मेयर थिए, दुवै ‘ठाउँ’ सँग जोडिएका पेसा हुन् । उनले देशलाई आँकडामा होइन, स्थानमा देख्छन् । के बन्न सक्छ, केले बाटो छेकेको छ ? यो स्थानिक दृष्टिको आफ्नै नेपाली परम्परा छ । हर्क गुरुङले साठीको दशकमै क्षेत्रीय विकासको खाका कोरेका थिए । पीताम्बर शर्माले बजार–सहर र तिनका सञ्जालबाट विकास पढ्न सिकाए र एउटा तीतो सत्य औंल्याए– नेपालमा सहरीकरण कहिल्यै योजनाले भएन, प्रतिक्रियाले मात्रै भयो । पूर्वाधारबिनै नगरपालिका घोषणा भए, अनि सहरका गुण नभएका सहर जन्मे ।
हाम्रो परम्परागत बजेट–बहस बर्सेनि एउटै घेरामा घुम्छ– कुन करमा के फेरियो ? कसको स्वार्थले फेरियो ? तर, विश्व मूल्य शृंखलाको नजरले फरक प्रश्न सोध्छ– एउटा उद्योगका रूपमा हामीले के जोगाउने ? र, विश्व बजारमा हामीले के बेच्न सक्ने ? कुन सीप, शिल्प, पहिचान विश्वले हामीबाट मात्रै पाउँछ ? जे नक्कल हुँदैन, त्यही नै बाँच्यो ।
यो मौलिकताको सूत्र बुझेपछि, वालेन्द्रभित्रको कलाकार–उद्यमी अर्थपूर्ण बन्छ । र्यापर र अभियन्ता– दुवैले एकनासको होइन, मौलिक कुरा रच्छन् । कलाकार र उद्यमीको काम गहिराइमा एउटै हो– प्रमाण आउनुअघि नै केही बन्न सक्छ भन्ने विश्वासमा सिर्जना गर्ने । जब बालेन भन्छन्, ‘नेपालीले विश्वस्तरीय कुरा बनाउन सक्छन्’ । त्यो भावुक नारा होइन । सायद उनी आफैंलाई पूरै थाहा नभई विशिष्टताको अर्थशास्त्रको बीज हो । विश्वस्तरीय भनेको सस्तो होइन, मौलिक हो । र, मौलिक भएकैले नक्कल गर्न नसकिने हो ।
यहाा वालेन्द्रको स्वभावको अर्को पक्ष अर्थपूर्ण छ । विकास–अर्थशास्त्रले अचेल सुशासनलाई छुट्टै वस्तु होइन, गुणनतत्त्व मान्छ– एउटा अन्तरक्रिया–प्रभाव, जसले पूर्वाधार, पुँजी र शिक्षाको प्रतिफल बढाउँछ वा घटाउँछ । राम्रो शासन भए उही लगानीले बढी फल दिन्छ । र, हाम्रो सबैभन्दा ठूलो अनि कहिल्यै हिसाब नगरिएको कर हो– अनिर्णयको लागत । अड्किएका आयोजना, नबनेका सम्झौता, पर्खेर बस्ने पुँजी । वर्षौं घोत्लिएर नबनेको बाटो वा नचलेको परियोजनाले देशलाई जति महँगो पर्छ, त्यो कुनै बजेटमा देखिँदैन । निर्णय गर्ने सामर्थ्य आफैंमा एउटा आर्थिक स्रोत हो, यही नै ‘सुशासन प्रिमियम’ हो । बालेनको निर्णयकर्ता यो अर्थमा साँच्चै सम्पत्ति हो । तर, यहाँ एउटा सीमा पनि छ ः निर्णायकर्ता प्राविधिक समस्यामा प्रिमियम हो– बाटो बनाउने, ढिलाइ हटाउने जस्ता । मानिसको स्वभाव, भरोसा र सिर्जना फेर्नेजस्ता गहिरा समस्यामा भने निर्णयको गति मात्रै पर्याप्त हुँदैन ।
बालेन–अर्थशास्त्र के हो ? यो कुनै तयारी सिद्धान्त होइन– पहिलो वर्ष शासन–पद्धतिमै केन्द्रित हुने भनिएको छ । र, अहिलेसम्म यो सिद्धान्त होइन, संकेतको थुप्रो हो । म यसलाई एउटा खुला तनावका रूपमा देख्छु । उनको स्वभाव विशिष्टतातिर तानिन्छ– मौलिकता, पहिचान, आत्मविश्वास । तर, उनले उत्तराधिकारमा पाएका औजार अझै अनुपालनकै पुरानो ढाँचाका छन्– नियम, नियन्त्रण, व्यवस्थापन । उनको दृष्टि सायद उनका हतियारभन्दा अगाडि पुगिसकेको छ । प्रश्न उनी सही हुन् कि गलत भन्ने होइन । प्रश्न यो हो– औजारले दृष्टिलाई कहिल्यै भेट्ला कि नभेट्ला ?
जेठ १५ को बजेटले यसको पहिलो झलक देखाउनेछ– पहिलो मात्रै, अन्तिम होइन । यदि त्यो बजेट परम्परागत घेरामै घुम्यो र कुन करमा के फेरियो भन्ने हिसाबमै अल्मलियो भने पुरानै तर्क निरन्तर छ भन्ने बुझिनेछ । यदि त्यसले नेपालले विश्वलाई फरक के दिन सक्छ भन्ने प्रश्नमा हात हाल्यो भने स्वभावले औजारलाई तान्न थालेको संकेत हुनेछ ।
तर, बजेट त एउटा संकेत मात्रै हो । सुरुमै फर्किऔं– बुझ्नुमा । एउटा सरकारले प्रणाली बुझ्न सक्छः बाटो, पुल, राजस्व, संरचना । तर, अर्थतन्त्र अन्ततः मानिसको हुन्छ र मानिसलाई बुझ्न प्रणाली बुझेर पुग्दैन ! त्यहाँ अर्कै कुरा चाहिन्छ– समानुभूति । सानो उद्यमी, आफ्नै सिर्जनामा भविष्य देख्ने युवा– यिनलाई व्यवस्थापन गरिने पात्र होइन, सिर्जना गर्ने नागरिक ठान्न सक्ने दृष्टि । बालेन शाहले प्रणाली बुझेका छन् भन्नेमा मलाई शंका छैन । उनी मानिसलाई कति बुझ्छन् ? मैले बुझेको बालेन अर्थशास्त्रको सबैभन्दा ठूलो अनुत्तरित प्रश्न यही हो । र, यो प्रश्नको जवाफ कुनै बजेटले होइन, आउँदा वर्षहरूले मात्रै दिनेछन् ।
