सुशासन र भ्रष्टाचार नियन्त्रणमा लगानी किन ? 

सुशासन राजनीतिक नारा होइन, राज्य सञ्चालनको आधारभूत पूर्वाधार हो । सुशासन प्रवर्द्धनमाथि पर्याप्त लगानी नगरेसम्म सेवा सुधार र विकास निर्माणको गुणस्तरमा राज्यको लगानी परिणाममुखी हुँदैन ।

जेष्ठ १३, २०८३

दीपेश घिमिरे

Why invest in good governance and corruption control?

What you should know

सरकारले यही वैशाख २८ गते संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रममा नेपाललाई सम्मानित मध्यम आय भएको देशमा स्तरोन्नति गरी आगामी दशक औसत वार्षिक वृद्धिदर सात प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । त्यसैगरी सरकारले जारी गरेको १०० बुँदे कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि सुशासन र भ्रष्टाचार नियन्त्रण पूर्वसर्तका रूपमा रहेको छ । यो प्राप्तिका लागि अबको बजेटले लगानी बढाउनुपर्छ । 

नेपालको सुशासनको अवस्था 

ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रत्येक वर्ष सार्वजनिक गर्ने भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल उच्च तहको भ्रष्टाचार हुने देशको सूचीमा रहेको छ । सन् २०२५ मा नेपालले १०० अंकमा ३४ मात्रै प्राप्त गरेको थियो । र, उच्च तहको भ्रष्टाचार हुने देशको सूचीमा सूचीकृत थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ५० भन्दा कम अंक पाउने देशलाई उच्च भ्रष्टाचार हुने देशको सूचीमा राख्छ । नेपाल विगत लामो समयदेखि नै ३४ देखि ३५ अंकको आसपासमा रोकिएको छ । यसैगरी विश्व बैंकको विश्वव्यापी सुशासन सूचकांकले ६ वटा प्रमुख सूचकमा देशको सुशासनको अवस्थालाई मापन गर्छ । यसमा २.५ भन्दा कम अंक प्राप्त गर्नेलाई कमजोर र त्यसभन्दा माथि अंक प्राप्त गर्ने देशको सुशासनको अवस्था सबल रहेको देखाउँछ । नेपालले सन् २०२४ को अवस्थामा जवाफदेहिता र अभिव्यक्ति स्वतन्त्रतामा ०.२०, राजनीतिक स्थायित्व र हिंसाको अन्त्यमा ०.८५, सरकारी प्रभावकारितामा ०.६५, नियामक गुणस्तरमा ०.४५, कानुनको शासनमा ०.६० र भ्रष्टाचार नियन्त्रणमा ०.७५ अंक प्राप्त गरेको थियो । यसले नेपालको सुशासनको अवस्था अत्यन्तै कमजोर रहेको देखाउँछ । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्न नेपालको कानुनी तथा संस्थागत संरचना प्रभावकारी नहुँदा फाइनान्सियल एक्सन टास्कफोर्सले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको छ । 

यसले नेपालमा सुशासन स्थापना तथा भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरू भए पनि अवस्था निराशाजनक रहेको देखाउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, सम्पत्ति शुद्धीकरण निवारण विभाग, राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकाय स्थापित भए पनि सुशासनको अवस्था कमजोर रहनु र भ्रष्टाचार बढ्नु पछाडिको कारण सुशासनमा गरिने लगानी अत्यन्तै कम भएर हो । प्रस्तुत तालिकाले आर्थिक वर्ष २०८२/८३ मा सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणमा विनियोजन गरिएको बजेट प्रस्तुत गरेको छ । 

आर्थिक वर्ष २०८२/८३ को कुल बजेट करिब १९ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी छ । तर, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा साढे सात अर्ब २२ करोडको हाराहारीमा बजेट विनियोजन भएको छ । यो कुल बजेटको करिब ०.३७ प्रतिशत हो । यसले सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा पर्न नसकेको देखिन्छ । देशमा डिजिटल सुशासन, पारदर्शिता, उत्तरदायित्व र सार्वजनिक सेवा सुधारको आवश्यकता बढिरहेको छ । तर, यस्ता कार्यक्रमका लागि गरिएको लगानी अत्यन्तै कमजोर छ । विद्युतीय सुशासनमा आर्थिक वर्ष २०८२/८३ मा जम्मा २९ लाख रुपैयाँ मात्रै छुट्याइनुले डिजिटल शासन प्रणाली विस्तार, सेवा प्रवाहको सरलीकरण तथा भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक प्रविधिगत सुधारप्रति राज्य गम्भीर नरहेको देखाउँछ । 

भ्रष्टाचार नियन्त्रणतर्फ हेर्दा अख्तियारका लागि सोही आर्थिक वर्षमा १ अर्ब ८१ करोड रुपैयाँ विनियोजन भएको छ । प्रत्येक वर्ष ३५ हजारभन्दा बढी उजुरी छानबिन गर्नुपर्ने आयोगलाई देशव्यापी रूपमै भ्रष्टाचारको निगरानी, अनुसन्धान, अभियोजन तथा संस्थागत सुदृढीकरणका लागि यो रकम पर्याप्त छैन । त्यसैगरी राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण नियन्त्रण विभाग, महालेखा परीक्षक, राजस्व अनुसन्धान विभागका लागि पनि राज्यले न्यून मात्रामा बजेट विनियोजन गरेको छ । विनियोजित रकमको ठूलो हिस्सा तलब, भत्ता तथा साधारण खर्च हुने गरेको देखिन्छ । राज्यले भौतिक पूर्वाधार तथा विकास निर्माणका परियोजनामा ठूलो रकम खर्च गरिरहे पनि त्यसरी गरिएको लगानीको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी अभिवृद्धि गर्ने निकाय बजेटको अभावमा काम गर्न नसक्ने अवस्थामा छन् । यसबाट विकास खर्चमा चुहावट बढ्ने, भ्रष्टाचार संस्थागत हुने, सार्वजनिक निर्माण तथा सेवाप्रति नागरिकको विश्वास घट्ने तथा विकासको लाभ लक्षित वर्ग तथा समुदायसम्म पुग्न नसक्ने जस्ता समस्या दोहोरिइरहेका छन् । 

सुशासनमा लगानी किन ?

सुशासन कुनै विलासिताको विषय वा राजनीतिक नारा होइन । सुशासन राज्य सञ्चालनको आधारभूत पूर्वाधार हो । राज्यले सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर पर्याप्त लगानी नगरेसम्म सेवा सुधार, विकास निर्माणको गुणस्तर तथा अन्य क्षेत्रमा गरिएको राज्यको लगानी अपेक्षित रूपमा प्रभावकारी तथा परिणाममुखी हुन सक्दैन । कमजोर सुशासनले राज्यका नीति, योजना, बजेट तथा कार्यक्रमहरू कागजमै सीमित गराइदिन्छ । साथै यसको कार्यान्वयन कमजोर हुने र उपलब्ध स्रोतसाधन सीमित समूहको स्वार्थमा खर्च हुने जोखिम बढ्छ । त्यसैले सुशासनमा गरिएको लगानीलाई अनावश्यक खर्चका रूपमा नभई समग्र विकासलाई गुणस्तर तथा परिणाममुखी बनाउने रणनीतिक लगानीका रूपमा लिइनुपर्छ । Why invest in good governance and corruption control?

नेपालको सन्दर्भमा हेर्दा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा हरेक वर्ष ठूलो रकम विनियोजन हुने गरेको छ । तर, अपेक्षित गुणस्तर, प्रभावकारिता र जनसन्तुष्टि हासिल हुन सकेको छैन । विद्यालय भवन बने पनि शिक्षाको गुणस्तर कमजोर छ । स्वास्थ्य संस्थामा उपकरण र स्वास्थ्यकर्मी पुगे पनि सेवा प्रभावकारी छैन । सडक तथा पुल निर्माण भए पनि छोटो समयमै भत्किने, बिग्रिने समस्या छ । यसको मुख्य कारण योजनाको कमजोरी मात्रै होइन । बरु कार्यान्वयन तहमा रहेको भ्रष्टाचार, कमजोर अनुगमन तथा मूल्यांकन प्रणाली, राजनीतिक हस्तक्षेप, जवाफदेहिताको अभाव र संस्थागत अक्षमता हुन् । त्यसैले विकासको वास्तविक प्रतिफल प्राप्त गर्न योजनाका साथै सुशासनमा पनि समान रूपमा लगानी गर्नु अपरिहार्य छ । सुशासनमा लगानी गर्नुपर्ने केही कारण छन् । 

पहिलो, स्रोत तथा बजेटको चुहावट रोक्न सुशासनमा लगानी आवश्यक छ । राज्यले विकासका लागि विनियोजन गरेको बजेटको ठूलो हिस्सा विभिन्न प्रकारका अनियमितता, कमिसन, भ्रष्टाचार, दोहोरो खर्च तथा कमजोर कार्यान्वयनका कारण दुरुपयोग हुने गरेको छ । यसले सरकारी लगानीको प्रभावकारिता कमजोर बनाउँछ । यदि सार्वजनिक खरिद प्रणाली पारदर्शी, सबल डिजिटल निगरानी प्रणाली, सुदृढ लेखापरीक्षण तथा अनुगमन संयन्त्र र सक्षम भ्रष्टाचार नियन्त्रण निकायका लागि आवश्यक लगानी गरियो भने बजेटको चुहावट न्यून गर्न सकिन्छ । सुशासनबिना गरिएको विकास लगानी बालुवामा पानी हाल्नुजस्तै हो । त्यसैले विकासका गतिविधिमा हुन सक्ने स्रोतको दुरुपयोग, दोहन रोक्न तथा सम्बन्धित अधिकारीलाई जवाफदेही बनाउन सुशासनमा लगानी गरिनुपर्छ । सुशासनमा गरिएको लगानीले सार्वजनिक स्रोतको संरक्षण गर्दै त्यसलाई उत्पादनशील र परिणाममुखी पनि बनाउँछ । यसले सीमित स्रोतबाट अधिकतम प्रतिफल प्राप्त गर्न मद्दत गर्छ ।

दोस्रो, सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र गुणस्तरीय बनाउन पनि सुशासनमा लगानी आवश्यक छ । आज पनि धेरै नागरिकले सामान्य सरकारी सेवा प्राप्त गर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । कतिपयले अनावश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने र कतिपय अवस्थामा अतिरिक्त आर्थिक भार बेहोर्नुपर्ने अवस्था छ । यस्तो अवस्थाले नागरिकमा राज्यप्रतिको विश्वास कमजोर बनाउँछ । यदि सरकारले डिजिटल सेवा प्रणाली, ई–गभर्नेन्स, कर्मचारी क्षमता विकास, सेवा मापदण्ड निर्माण र नागरिकमैत्री प्रशासनिक प्रणालीमा लगानी गर्ने हो भने सेवा प्रवाह छिटो, सरल, पारदर्शी र प्रभावकारी बन्न सक्छ । उदाहरणका लागि अनलाइन सेवा प्रणाली, डिजिटल भुक्तानी तथा एकद्वार सेवा प्रणालीले भ्रष्टाचारको सम्भावना घटाउँछ । यसले नागरिकको समय अनि लागत– दुवै बचत गर्न र राज्य तथा नागरिकबीचको सम्बन्धलाई थप विश्वासिलो, उत्तरदायी बनाउन पनि सघाउँछ ।

नागरिकले ‘राज्य निष्पक्ष, पारदर्शी र उत्तरदायी छ’ भन्ने अनुभूति गरे मात्रै लोकतन्त्र सबल हुन्छ । सुशासनमा गरिने लगानीले समृद्ध, न्यायपूर्ण र दिगो राष्ट्र निर्माणको आधार तयार पार्छ । तेस्रो, वैदेशिक लगानी आकर्षित गर्न र आर्थिक विकासलाई गति दिन पनि सुशासनमा लगानी अपरिहार्य छ । कुनै पनि अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी गर्नुअघि सम्बन्धित देशको कानुनी स्थिरता, पारदर्शिता, नीति निरन्तरता, प्रशासनिक दक्षता, सुशासन र भ्रष्टाचारको अवस्थालाई गम्भीर रूपमा मूल्यांकन गर्छन् । जटिल प्रशासनिक प्रक्रिया, अस्थिर नीति तथा र उच्च तहको भ्रष्टाचारले लगानीमा जोखिम बढाउँछ । यसले गर्दा त्यस्ता देशमा प्रत्यक्ष वैदेशिक लगानी आउँदैन । 

त्यसैले सुशासन अभिवृद्धिका लागि आवश्यक संरचनागत सुधारमा लगानी नगरी लगानी भित्र्याउन सम्भव हुँदैन । लगानीमैत्री वातावरण निर्माण गर्न पारदर्शी प्रशासन, प्रभावकारी न्याय प्रणाली, कर प्रणालीको स्पष्टता र भ्रष्टाचारमुक्त शासन प्रणाली आवश्यक हुन्छ । यसर्थ, सुशासनमा गरिएको लगानीले प्रशासनिक सुधार मात्रै गर्दैन– समग्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र दीर्घकालीन समृद्धिको आधारसमेत तयार पार्छ । 

लोकतान्त्रिक प्रणाली बलियो बनाउन, सामाजिक न्याय प्रवर्द्धन गर्न, नागरिक सहभागिता बढाउन र राज्यका संस्थाप्रति जनविश्वास पुनःस्थापित हुन पनि सुशासनमा लगानी अनिवार्य सर्त हो । नागरिकले ‘राज्य निष्पक्ष, पारदर्शी र उत्तरदायी छ’ भन्ने अनुभूति गरे मात्रै लोकतन्त्र सबल हुन्छ । त्यसैले सुशासनमा गरिने लगानीले समृद्ध, न्यायपूर्ण र दिगो राष्ट्र निर्माणको आधार तयार पार्छ । 

प्राथमिकताका क्षेत्रहरू

यतिबेला नेपाल सरकार बजेट निर्माणको चटारोमा छ । यही जेठ १५ गते सार्वजनिक हुने बजेटमा सुशासनका केही रणनीतिक क्षेत्रमा नेपाल सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नु आवश्यक छ । पहिलो, सार्वजनिक सेवाको डिजिटलाइजेसन र प्रविधिमैत्री बनाउने कार्यमा लगानी बढाउनुपर्छ । सरकारी सेवा प्रणालीमा प्रत्यक्ष मानव सम्पर्क भ्रष्टाचारको मुख्य कारण हो । त्यो घटाउन पूर्ण रूपमा डिजिटल प्रणाली आवश्यक छ । यसका लागि सफ्टवेयर विकास, साइबर सुरक्षा, डेटा व्यवस्थापन र अन्तरनिकाय प्रणाली एकीकरणमा लगानी गर्नुपर्छ । दोस्रो, कर्मचारीको क्षमता विकास र निरन्तर तालिमको क्षेत्रमा लगानी गर्नुपर्छ । प्रशासनिक दक्षता लोक सेवाको परीक्षा उत्तीर्ण गरेर मात्रै आउँदैन– कर्मचारीलाई पनि आधुनिक व्यवस्थापन, सार्वजनिक नैतिकता, प्रविधि प्रयोग र नीतिगत विश्लेषणमा निरन्तर तालिम प्रदान गरिनुपर्छ । सक्षम कर्मचारीतन्त्रबिना कुनै पनि सुशासन सुधार दिगो हुँदैन । त्यसैले सरकारले यस क्षेत्रमा लगानी बढाउनु आवश्यक छ । 

तेस्रो, नियामक निकायको सवलीकरण र सुदृढीकरण गरिनुपर्छ । अख्तियार, महालेखा परीक्षक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकाय सुशासनका मेरुदण्ड हुन् । त्यसैले यस्ता निकायलाई पर्याप्त बजेट, प्राविधिक क्षमता र संस्थागत स्वतन्त्रता प्रदान गरिनुपर्छ । यिनीहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै अनुसन्धान र अनुगमन क्षमतामा लगानी बढाउनु आवश्यक छ । चौथो, न्यायिक सुधार हो । ढिलो न्याय सुशासनको अवरोध हो । अदालतमा प्रविधिको प्रयोग, मानव संसाधन विस्तार र मुद्दा व्यवस्थापन प्रणालीको सुधारबिना न्याय प्रणाली प्रभावकारी बन्न सक्दैन । न्याय ढिलो हुनुलाई अन्याय बराबर मानिन्छ । त्यसैले न्यायिक सुधारमा गरिने लगानी प्रत्यक्ष रूपमा सुशासनसँग जोडिएको छ । 

यसर्थ नेपाल सरकारले आगामी बजेटमा सुशासन र भ्रष्टाचार नियन्त्रणलाई ‘प्राथमिकता प्राप्त क्षेत्र’ का रूपमा राख्नुपर्छ । यसका लागि केही नीतिगत रूपान्तरण आवश्यक छन् । पहिलो, नतिजामुखी बजेट प्रणाली तय गरिनुपर्छ । त्यसका लागि सेवा प्रवाह समय घटाउने, डिजिटल सेवा विस्तार गर्ने जस्ता सुशासन सुधारका स्पष्ट सूचकसँग बजेट जोड्नुपर्छ । दोस्रो, ई–गभर्नेन्स अनिवार्यतालाई बजेटले स्विकार्नुपर्छ । प्रत्येक मन्त्रालयले आफ्नो कुल बजेटको निश्चित हिस्सा डिजिटल प्रणाली विकास र सेवा स्वचालनमा खर्च गर्नुपर्ने नीति आवश्यक छ । त्यसैगरी नागरिक र कर्मचारीबीच प्रत्यक्ष सम्पर्क घटाउने पूर्ण डिजिटल सेवा प्रणाली, खुला डेटा र पारदर्शिता, कडा कानुनी शासन अनि स्वतन्त्र अडिट प्रणाली, सूचना दिने व्यक्तिको सुरक्षा, प्रविधि र एआई आधारित निगरानी प्रणालीमा आवश्यक बजेट विनियोजन गरिनुपर्छ । सुशासनको पनि छुट्टै बजेट कोड बनाउनु आवश्यक छ । 

सुशासनमा गरिने लगानीलाई खर्चका रूपमा नभई भविष्यका लागि गरिएको दीर्घकालीन बचतका रूपमा सरकारले लिनुपर्छ । यदि राज्यले सुशासनमा आवश्यक मात्रामा लगानी गरेन भने पूर्वाधार तथा विकासमा गरिएको ठूलो मात्राको लगानीको प्रतिफल आमनागरिकले पाउन सक्दैनन् । 

तसर्थ देशको समृद्धि संरचना निर्माणमा मात्रै लगानी गरेर आउँदैन । बरु त्यस्ता संरचना सञ्चालन गर्ने सक्षम, पारदर्शी अनि उत्तरदायी शासन प्रणालीमाथिको लगानीले समृद्धि आउँछ । त्यसैले आसन्न बजेटमा सरकारले सुशासन प्रवर्द्धनमा लगानी बढाउनु अत्यन्त आवश्यक छ ।

दीपेश दीपेश घिमिरे सुशासनमा विषयमा लेख्छन, अनुसन्धान गर्छन् । उनकाे रिफ्लेक्सनस् अन नेपलिज सोसाइटीः अर्काइभ अफ सोसियोलोजिकल एस्सेज र शासन र शासक जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully