रुचि आफैंमा राजनीतिक हुन्छ, किनभने यसले प्रतीकहरूको माध्यमबाट एउटा गहिरो दूरी निर्माण गर्छ– शासक र शासितबीचको दूरी, पवित्रता र प्रदूषणबीचको रेखा, अनुशासन र विलासिताबीचको पर्खाल अनि सभ्यता र अराजकताबीचको खाडल आफैं प्रस्टिन थाल्छ ।
What you should know
आजभोलि समय खराब छ । काशीको निर्गुण आध्यात्मिकता र कश्मीरको सगुन सौन्दर्य बोकेको अजबको महानगरमा नागरिक निगरानीको साटो नागरिकहरूको निगरानी भइरहेको छ । केही भन्नु वा लेख्नु अगाडि स्पष्टीकरण दिनुपर्छ । बचाउ खुलाएर आफ्नो कुरा राख्नुपर्छ । त्यसैले भनिहालौं, यो स्तम्भ सेतो जुत्ता र कालो पहिरनमा राष्ट्रपतिको औपचारिक सम्बोधनको बीचैमा अशोभनीय रूपमा संसद् भवनबाट बाहिरिने एकादेशका प्रधानमन्त्रीका बारेमा होइन । यो टिप्पणी काठको प्लेटमा सजाइएका ओखर, बदाम, अंगुर र याक चिजका टुक्राहरू राखेर बजार प्रवर्द्धन गर्ने कुनै चल्तीका र्यापरका बारेमा पनि होइन । हल्का बफाइएको कुरिलो, झानेको कालो च्याउ, हुम्लाको सिमी, मार्सी चामलको भात र बँदेलको पोलेको मासु ज्यूनार गर्ने सम्पन्न युवाका बारे त झन् हुँदै होइन ।
यो मनोवाद खासमा साहित्यका प्राध्यापक, विनिर्माणका व्याख्याता, उदारवादका प्रवर्द्धक हुँदै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको हावादारी उद्यम (विन्डस्ट्री) तिर लागेर डाभोस क्लबका प्रशंसक बनेका यसै अखबारका नव–अनुदारवादी सह–टिप्पणीकारको विचार वा व्यंग्यबाट उत्प्रेरित पनि होइन । यस पटकको टिप्पणीको मूल लक्ष्य सम्भ्रान्त रुचिको राजनीतिक समाजशास्त्रबारे स्तम्भकारको सतही बुझाइ साझा गर्नु हो । गहिराइ नाप्ने काम पनि आखिर सतहबाटै सुरु हुने हो । हिन्दुस्तानी शायर साहिर लुधियानवीको गजलको एउटा प्रसिद्ध पंक्ति छ नि– ‘कल और आएंगे... मुझसे बेहतर कहने वाले ।’
अब सैद्धान्तिक कुरा गर्ने हो भने कुनै न कुनै प्रख्यात दार्शनिकको वैचारिक पुच्छर नसमाती त पार लाग्दैन । कुरो फ्रान्सेली दार्शनिक मिशेल फुकोको आत्मानुशासनको शासकीय प्रपञ्चबाट पनि उठाउन सकिन्थ्यो । थियोडोर अडर्नोलाई उद्धृत गरेर प्रचारतन्त्रको व्याख्यातिर लाग्न पनि सकिन्थ्यो । तर ती गहिरा व्याख्याताभन्दा रुचि र विशिष्टताबोध, सांस्कृतिक पुँजी एवं वर्गीय वैधता तथा प्रभुत्वको पुनरुत्पादन जस्ता विषयहरूको सैद्धान्तिकीकरण गर्ने फ्रान्सेली चिन्तक पिएर बुर्दियूलाई यहाँ सम्मानका साथ सम्झिनु उपयुक्त हुन्छ । उनको ‘पार्थक्य’ (डिस्टिङ्सन) अवधारणा स्थापित रैथाने अभिजात वर्गभन्दा पनि अचेलका ‘नव–सम्भ्रान्त’ उत्कर्षाकांक्षीहरूमा बढी चरितार्थ भएको देखिन्छ । सामाजिक वर्चस्व र रुचिका यी सूक्ष्म व्याख्याताका अनुसार समाजका सम्भ्रान्त वर्गले आफ्ना सांस्कृतिक प्राथमिकता, कला–चेतना, भाषा, जीवनशैली तथा ‘उच्च’ सौन्दर्यका मापदण्डलाई सार्वभौम र वैध स्वादका रूपमा स्थापित गर्छन् । यसरी ‘रुचि’ कुनै तटस्थ वा स्वाभाविक व्यक्तिगत सौन्दर्यबोध मात्र नभई प्रभुत्वशाली वर्गको सांस्कृतिक वर्चस्व कायम गर्ने औजार बन्न पुग्छ ।
राजनीति कहिल्यै पनि केवल कानुनका दफा, संसद्का भाषण वा औपचारिक संस्थाहरूको मानचित्रबाट मात्रै सञ्चालित र सम्प्रेषित हुँदैन । यो समाजको भित्री तहमा विद्यमान प्रवृत्ति र रुचिजन्य संस्कृति अर्थात् ‘टेस्ट’ मार्फत अभिव्यक्त भइरहेको हुन्छ । खानपानको बानी, पहिरनको छनोट, शरीरको हाउभाउ र मुद्रा (पोस्चर), बैठक कोठाको सजावट र सञ्चारमाध्यमको उपभोगशैली– यी सबै आत्मप्रस्तुतिका यस्ता अनुष्ठान हुन्, जसले शासकको अन्तर्यलाई उजागर गर्छन् । कुनै पनि नेताको सौन्दर्यशास्त्रीय प्राथमिकताले उसको औपचारिक राजनीतिक सिद्धान्त घोषणा हुनुभन्दा धेरै पहिले नै उसको सामाजिक दृष्टिकोणको अव्यक्त खाका प्रस्तुत गरिसकेको हुन्छ । रुचि आफैंमा राजनीतिक हुन्छ, किनभने यसले प्रतीकहरूको माध्यमबाट एउटा गहिरो दूरी निर्माण गर्छ– शासक र शासितबीचको दूरी, पवित्रता र प्रदूषणबीचको रेखा, अनुशासन र विलासिताबीचको पर्खाल अनि सभ्यता र अराजकताबीचको खाडल आफैं प्रस्टिन थाल्छ ।
समकालीन राजनीतिमा चलेको एउटा नयाँ प्रवृत्तिको सौन्दर्यशास्त्रीय विमर्श त्यसै आएको होइन । खुट्टामा टल्किएको सेतो जुत्ता, शरीरमा कागको पखेटा जस्तो गाढा कालो पहिरन, टेबलमा सजिएका चुनिएका चमेना र प्रविधिको पर्दाबाट मात्रै गरिने नियन्त्रित सञ्चार समसामयिक फेसनको लहर मात्र होइन । यो सत्येतर सत्ता, महानगरीय अभिजात्यवाद, उत्कर्षाकांक्षी वर्ग र सामाजिक नियन्त्रणसँग जोडिएको एउटा सग्लो सांकेतिक भाषा हो ।
केही दशक अगाडिसम्म सेतो जुत्ता कपडाको मात्रै हुन्थ्यो । स्कुले केटाकेटीहरू तोकिएको दिन आफ्नो युनिफर्ममा क्यानभासको जुत्ता लगाएर हिलो र धूलोसँग जोगिँदै विद्यालय पुग्थे, फर्किंदा त्यो पाउपोस खैरो भइसकेको हुन्थ्यो । बरखी बार्नेहरूले छालाको जुत्ता लगाउन नमिल्ने भएकाले सेतो कपडासँगै सेतै जुत्ता लगाउँथे । सन् १९७० को दशकतिर हिन्दी फिल्मका खलनायकहरूले सेतो रङको चम्किलो जुत्तालाई शक्तिको प्रतीक चिह्न जस्तो बनाइदिए । सन् १९९० को दशकपछि केही समयसम्म ‘स्पोटर््स शु’ प्रायः सेतो मात्र हुन्थ्यो । त्रिभुवन विश्वविद्यालयको गेटमा गाडी पार्क गरेर ‘मर्निङ वाक’ मा उच्च शिक्षाको दयनीय अवस्थाबारे गफिँदै हिँड्ने सानेपाका सम्भ्रान्तहरू पछि मात्रै नजिकैको इन्जिनियरिङ अध्ययन संस्थानको शान्त परिसरतिर आकर्षित भएका हुन् ।
माओवादीहरूले सस्तो, बलियो तथा नेपालमै बनेको खैरो जुत्तालाई लोकप्रिय बनाएका थिए । ती शान्ति प्रक्रियामा आएपछि तिनको पोसाक पनि क्रान्तिकारी रातोबाट यथास्थितिवादी खरानी रङमा बदलियो । सन् २०१० पछि तिनका विरोधीहरूले सेतो रङ अंगीकार गरे । माओवादीहरूको विरोध प्रदर्शनको विरोधमा सहरी सम्भ्रान्तले ‘सेतो कमिज’ लगाएर शान्ति प्रदर्शनहरूको सिलसिला सुरु गरेपछि होला, सुस्तरी सेतो भनेको परिवर्तन रोक्ने प्रयत्न र एक किसिमले प्रतिक्रान्तिको रङ हुन गयो । त्यसपछि ‘एक युगमा एक दिन’ लाई ‘रातो र चन्द्रसूर्य’ ले विस्थापित गर्यो एवं शुभ्र र धवल सेतो ‘स्पोर्ट्स शु’ गाडीबाट विरलै ओर्लिनेहरूको छनोट बन्न पुग्यो । यस प्रकार सेतो जुत्तालाई नव–सम्भ्रान्तहरूको सौन्दर्यशास्त्रीय शासन व्यवस्थाको केन्द्रमा पुर्याउने जस भने सन् २०१० को मे महिनाको एक शुक्रबार बिहान वसन्तपुर दरबार स्क्वायरमा भेला भएका माओवादीविरोधी शान्ति र्यालीलाई दिइनुपर्छ । पहिलो संविधानसभाको अवसानपछि त सेतो जुत्ता केवल एउटा पहिरन रहेन, त्यो ‘प्रबन्धित पवित्रता’ (म्यानेज्ड प्युरिटी) को प्रतीक बन्न पुग्यो ।
खानपानको बानी, पहिरनको छनोट, शरीरको हाउभाउ र मुद्रा (पोस्चर), बैठक कोठाको सजावट र सञ्चारमाध्यमको उपभोग शैली– यी सबै आत्मप्रस्तुतिका यस्ता अनुष्ठान हुन्, जसले शासकको अन्तर्यलाई उजागर गर्छन् ।बाँकी देशको त के कुरा, राजधानीकै हिलाम्मे वा धुलाम्मे सडकमा सेतो जुत्तालाई बेदाग राखिराख्न सामान्यजनका लागि सम्भव नै छैन । चालकले ओरालिदिएपछि ग्रेनाइट ओछ्याइएको ‘फेसन एभिन्यु’ तिर एकछिन टहल्नेले हिलो र धूलोसँग डराउनु पर्दैन । सेतो जुत्ताको चमकदार सफाइ हेर्दै थाहा हुन्छ, त्यस पाउपोसका पहिरनकर्ता भुइँको घर्षण र धूलोबाट पूर्णतः सुरक्षित छन् । भीडभाडयुक्त सार्वजनिक यातायातको साटो वातानुकूलित चिल्ला गाडी, व्यावसायिक कोलाहल एवं हिलोको साटो संक्रमणरहित भव्य भवन तथा सडकसँगको अनियन्त्रित सम्पर्कबाट टाढा राखिएको सुरक्षित हिँडडुल नै सेतो जुत्ताको अन्तर्य हो । सेतो जुत्ताले केवल आर्थिक सम्पन्नता मात्र देखाउँदैन, त्यसले पहिरनकर्ताको अहम् र आत्मविश्वासलाई प्रस्तुत गर्छ– उसले अव्यक्त तवरले भनिरहेको हुन्छ, ‘म भुइँमान्छे जस्तो होइन, म हिँड्ने भुइँ बरु मेरो रुचि अनुकूल बन्नुपर्छ ।’
संसद् भवनबाट बाहिरिँदै गर्दा खिचिएको तस्बिरका कारण चर्चामा पुगेको सेतो जुत्ताले सार्वजनिक वृत्त तताएको त्यत्तिकै होइन । जान्नेहरू भन्छन्– व्यक्तिको औकात ठम्याउन उसको पोसाकभन्दा पनि पाउपोस हेर्नुपर्छ । कथाकारको नाम अहिले सम्झिएन, सार भने याद छ । एउटा पात्र ससुराली जाँदा आफ्नो जुत्तालाई टकटकाइराख्छ, धूलो पुछ्छ र फित्ता कस्छ । हिलोमा पुगेपछि जुत्ता फुकालेर टाउकोमा राख्छ र हिलो पार गरेपछि खुट्टा धोएर पुनः जुत्ता भिर्छ । त्यस उपक्रममा उसको पोसाक भने भिजिसकेको हुन्छ । अर्को एउटा अनुभव सन् १९७० को दशकतिर नयाँदिल्लीको हो । कनाट प्लेसको एउटा पसलमा असाध्यै महँगो जुत्ता सजाइएको थियो । बिक्री सहायकले भन्यो– ‘दामी है, सालोसाल टिकेगा ।’ सँगै रहेका साथीले नेपालीमा टिप्पणी गरे– ‘यति महँगो जुत्ता खुट्टामा लगाउने कसले हो र ? सजाएर राखेपछि त जिन्दगीभर टिक्छ नि π’ हिन्दीभाषी बिक्री सहायकको त्यो हाँसो र जवाफ अहिलेसम्म याद छ– ‘आप भी हम जैसे ही हो !’
बेदाग सेतो जुत्ताले राजनीतिलाई कुनै द्वन्द्वविहीन प्रशासनिक प्रणालीका रूपमा तेर्स्याउन खोज्छ । यसले समाजलाई एउटा यस्तो यन्त्रका रूपमा परिकल्पना गर्छ जसलाई अनुकूलन (अप्टिमाइजेसन) गर्न सकिन्छ, सफा तुल्याउन सकिन्छ र एउटा निश्चित सौन्दर्यशास्त्रीय ढाँचामा ढाल्न सकिन्छ । त्यहाँ ‘फोहोर’ वा ‘धूलो’ केवल भौतिक विकार मात्र रहँदैन, त्यो सांकेतिक अराजकता जस्तो देखिन थाल्छ । भुइँमान्छेको आक्रोश, सडकको विरोध, अनपेक्षित प्रश्न, वैचारिक द्वन्द्व, विद्यार्थी संगठन, श्रमिकको आन्दोलन, आँखा अगाडि देखिने गरिबी र नदी किनारका बस्ती– यी सबै त्यस्तो सम्भ्रान्ततन्त्र (एलिटोक्रेसी) का लागि ‘फोहोर’ र ‘कोलाहल’ हुन् । सेतो जुत्ताको सौन्दर्यशास्त्रले सधैं चिल्ला सतह, मौन स्वीकृति र अदृश्य पात्रलाई मात्र मन पराउँछ ।
घोषणात्मक उपभोग
सेतो जुत्ताको अर्थ त जे छ छँदै छ, जब त्यसमा झन् एकरंगी (मोनोक्रोम्याटिक) कालो पोसाक थपिन्छ, त्यसपछि पहिरनको राजनीतिक संकेत अझ कडा र अमूर्त बन्न पुग्दछ । कालो रङले कठोरता, कडा अनुशासन, आत्मनियन्त्रण र एउटा विशिष्ट निरपेक्षताको प्रतिनिधित्व गर्छ । रैथाने वा जनवादी परम्परामा देखिने रंगीचंगी उत्सवमय पहिरनको विपरीत न्यूनतमवादी कालो पोसाकले एउटा प्रबन्धकीय अधिकारको घोषणा गर्छ । यसले नेताको व्यक्तिगत विशिष्टतालाई एउटा ब्रान्डमा परिणत गरिदिन्छ । आफ्नो छनोटले गर्दा अधिशासक जनमानसको बीचमा एउटा सामान्य राजनीतिक पात्रका रूपमा होइन, बरु डिजिटल पर्दामा नियाल्न मिल्ने नियन्त्रित र परिस्कृत बिम्ब भएर देखिन थाल्छ । एकरंगी पोसाकको अधिशासकीय स्वरूपलाई भारतमा उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो ‘भगवा पहिरन’ मार्फत बैंकरहरूको सेतो कमिज, खैरे सुट र कालो जुत्ताभन्दा बढी प्रभावकारी तवरले प्रयोग गरिरहेका छन् ।
सुकिलो र श्वेत पाउपोस एवं कालो पहिरन सम्मिलित वेशभूषाले एउटा अनौठो अन्तर्विरोध देखाउँछ– पैतालामा आधुनिकताको प्रविधि र सम्भ्रान्त सहजता (एलिट क्याजुअलनेस) तर जीउमा भावनात्मक कठोरता र पूर्ण नियन्त्रणको अभिव्यक्ति । दुवै मिलेर प्रजातन्त्रेत्तर (पोस्ट–डेमोक्र्याटिक) नेतृत्वको एउटा नयाँ रूपरंग तयार पार्छ– जो आधुनिक देखिनका लागि अनौपचारिक पनि छ तर आफ्नो निर्णय लाद्नका लागि उत्तिकै कठोर र निर्मम पनि देखिन्छ । यही कसीमा अधिशासकको खानपानको बानीलाई पनि केलाउन सकिन्छ ।
राजनीतिक मैदानमा ओखर, बदाम र चौंरीगाईको दूधबाट बनेको याक चिजको छनोट केवल स्वाद मात्र होइन, त्यो राजनीतिशास्त्रको एउटा विलासी विधा–चिह्न पनि हो । यी खाद्यवस्तुहरू वैश्विक नागरिकको स्वाद र अनुशासित उपभोगको शब्दकोशबाट आएका हुन् । ओखर र बदामलाई बौद्धिक कार्यक्षमता बढाउने, स्वास्थ्य सचेतता दर्शाउने र अभिजात्य पोषण–चेतनाका रूपमा हेरिन्छ । त्यसमा याक चिजको मिश्रणले पश्चिमी युरोपबाट आयातित मौलिकता र स्वदेशी उत्पादनको लेप एकसाथ थपिन्छ । याक चिजले सहरी महलको सुरक्षित घेराभित्र रहेका नव–सम्भ्रान्तको चासो र पहुँच दुर्गम भूगोल र हिमाली समुदायको रैथाने श्रमसम्म रहेको त देखाउँछ तर सँगसँगै त्यस उत्पादन प्रक्रियाबाट भौतिक दूरी भने कायम रहेको सन्देश पनि प्रवाहित गर्छ ।
ओखर, बदाम, अंगुर र याक चिजलाई विलासिताबिनाको परिस्कार पनि मान्न सकिएला, त्यो किनभने सहरमा बस्ने सम्भ्रान्तका लागि रोजिएको सन्तुलित र पोषणयुक्त खाजा चलनचल्तीका पत्रु भक्ष्य (जंक फुड) भन्दा राम्रा हुन् भन्ने अव्यक्त सन्देश– ‘से चिज’–प्रवाहित हुन्छ । मकै–भटमास वा चिउरा–मुरही चपाएर मधेश–पहाड दगुरेर राजनीति गर्नेहरूको दिनगन्ती सन् २०१५ देखि नै गति लिन थालिसकेको थियो । कोभिड महाव्याधिको घरबन्दी अवस्थापछि प्रचारप्रसारको मूल माध्यम– स्मार्टफोन हातहातमा पुगेको हो । केटाकेटीको पढाइ नबिग्रियोस् भनेर कमजोर आर्थिक अवस्थाका परिवार ऋण काढेर भए पनि सस्तो तर अन्तर्जाल प्रयोग गर्न मिल्ने हातेफोन किन्न बाध्य भएका थिए । त्यसपछि त जुँगामा रेखी बस्ने गरी मोही पिएको तस्बिरसमेत (अ)सामाजिक सञ्जालतिर प्रदर्शनका लागि खिचिनेमा सीमित भयो ।
परम्परागत जनवादी राजनीति ढिँडो, रोटी, चिया–बिस्कुट, दाल–भात, मासुको झोल, मिठाई वा सार्वजनिक भोजभतेरको वरिपरि घुम्थ्यो । त्यसमा सामूहिकता र उत्सवको भाव अन्तर्निहित हुन्थ्यो । तर आजको नव–सम्भ्रान्त छनोटको खाना र खाजा–नास्ता संस्कृति बिलकुलै भिन्न देखिन्छ । त्यहाँ भोजन केवल तृप्तिको साधन होइन, बरु नियन्त्रित आत्मव्यवस्थापनको प्रदर्शन हो । ताजा फलफूल, सलाद, टुसाएको अनाज, काजु–बदाम, तोफु र चिज जस्ता वस्तुहरू एकान्तमा वा साना सामाजिक वृत्तभित्र अत्यन्त सावधानीपूर्वक, लगभग चिकित्सकीय शुद्धतासहित उपभोग गरिन्छन्– मानौं शरीरलाई स्वादले होइन, उच्चताको मानकले निर्देशित गरिरहेको हो ।
त्यस्तो प्रदर्शित अभ्यास केवल आहारको चयन होइन, बरु ‘अनुशासित शरीर’ निर्माण गर्ने एक प्रकारको सूक्ष्म प्रविधि हो, जहाँ खानपान नै आत्मनिगरानीको नियमितता बन्न पुग्छ । अधिशासकको शरीर अब स्वतःस्फूर्त जैविक इकाइ रहेन । त्यो एक प्रबन्धित, अनुकूलित र निरन्तर निगरानीमा राखिएको प्रणाली बन्न पुगेको छ । यस्तो शरीरले उत्पादन गर्ने सन्देश सरल हुन्छ– शक्ति अब केवल शासन गर्ने अधिकार होइन, पूर्ण नियन्त्रण कायम गर्न निरन्तर व्यवस्थापन गर्ने क्षमता पनि हो ।
यस प्रक्रियामा राजनीतिक शरीर (बडी पोलिटिक वा राज्य शरीर) पनि रूपान्तरित हुन्छ । त्यो सहभागितामूलक सार्वजनिकता होइन, बरु अधिशासकको कार्यक्षमता, अनुकूलन र प्रदर्शनको एउटा संरचित यन्त्र बन्छ । नागरिकता त्यसपछि सहभागिताको अभ्यासभन्दा बढी नियम मान्ने र अनुसरण मापन गर्ने सूचकांकमा रूपान्तरित हुँदै जान्छ । राज्य स्वयं एक प्रकारको प्रबन्धित शरीर जस्तै व्यवहार गर्न थाल्छ– जहाँ गति, नियन्त्रण र अनुकूलन नै वैधताको नयाँ भाषा बन्छ ।
भोजनमार्फत आत्मानुशासनको सार्वजनिक प्रदर्शन किन पनि महत्त्वपूर्ण छ भने आधुनिक अभिजात्य राजनीतिले जनसहभागिताभन्दा बढी अधिशासकीय कार्यकुशलताको अनुकूलनलाई बढी महत्त्व दिन्छ । शासकहरू सधैं ऊर्जावान्, स्वस्थ, भावना–नियन्त्रित र प्रशासनिक रूपमा चनाखो देखिनुपर्ने बाध्यता देखाइन्छ । उनीहरूको ‘डाइट चार्ट’ नै उनीहरूको शासकीय दर्शनको एउटा हिस्सा बन्न पुग्दछ । सामाजिक सञ्जालमा नीतिगत वक्तव्यहरू पोस्ट गर्दै गर्दा ओखरको टुक्रा चपाउनु भनेको एउटा प्राविधिक–तन्त्रको पहरेदार जस्तो देखिनु हो– जो सधैं जागा छ, जसले सूचनाहरू विश्लेषण गरिरहेको छ र जो आफ्नो बिम्ब निर्माणमा अहोरात्र खटिएको छ ।
राजनीतिक सञ्चार
जीवनशैलीमार्फत अधिशासकीय स्वरूपको सन्देशसँगै संवादको प्रवृत्ति पनि फेरिन थालेको छ । राजनीतिक सञ्चार संसद्का बहस र पत्रकार सम्मेलनहरूबाट सरेर सामाजिक सञ्जालका पर्दाहरूमा सीमित हुन पुगेपछि प्रजातान्त्रिक संस्कृतिको चरित्र नै बदलिएको छ । संसद् त्यस्तो ठाउँ हो, जहाँ व्यवधान सम्भव हुन्छ– टेबल ठटाउन मिल्छ, नारा लगाइन्छ र घेराउ गर्नु पनि असंसदीय व्यवहार होइन । पत्रकार सम्मेलन त्यस्तो स्थल हो, जहाँ अनपेक्षित प्रश्नहरूको जोखिम रहन्छ । दुवै अवस्थामा शासकले नियन्त्रणविहीन संवादको सामना गर्नुपर्छ । तर सामाजिक सञ्जालले उसलाई पारस्परिक जवाफदेहिताबिनाको एकतर्फी प्रसारणको सुविधा दिन्छ । शासक निरन्तर बोलिरहन्छ तर वास्तविक द्वन्द्वको जोखिमलाई कर्पोरेट ढंगले न्यूनीकरण गरिन्छ ।
डिजिटल प्लाटफर्ममार्फत जनतासँग सिधै जोडिने यो शैलीले निकटताको भ्रम त पैदा गर्छ, तर प्रजातान्त्रिक संस्थाहरूको मध्यस्थतालाई कमजोर बनाइदिन्छ । अधिशासक सधैं उपस्थित देखिन्छ तर भौतिक रूपमा ऊ अझ दूरस्थ, अभेद्य र अप्राप्य बन्दै जान्छ । सामान्यजनले निकटताको आभास त पाउँछन् तर निर्णय प्रक्रियामा उनीहरूको कुनै अर्थपूर्ण सहभागिता हुँदैन । राजनीति अन्ततः सामूहिक विमर्शबाट च्युत भएर रंगमञ्चीय प्रसारणमा परिणत हुन पुग्छ ।
यहीँनेर सेतो स्निकर्स, एकरंगी पोसाक, न्यूनतमवादी कोठा र काठको थालमा कलात्मक रूपमा सजाइएका स्वस्थकर खाजाका दानाहरूले नयाँ अर्थ ग्रहण गर्छन् । तिनीहरू अब केवल व्यक्तिगत रुचिका वस्तु रहँदैनन्, डिजिटल स्क्रिनका लागि अनुकूलित बिम्ब बन्छन् । अधिशासक अब संस्थागत प्रतिनिधिभन्दा बढी अल्गोरिदमले रुचाउने एउटा गुडिरहेको तस्बिरमा रूपान्तरित हुन्छ । राजनीति ‘जीवनशैलीको ब्रान्डिङ’ को सिकार बन्छ ।
यस सौन्दर्यशास्त्रभित्र गहिरो सहरी सम्भ्रान्त पूर्वाग्रह लुकेको छ । प्रविधि, वित्त, मिडिया र वैश्विक उपभोक्ता संस्कृतिबाट हुर्किएको महानगरीय व्यावसायिक वर्गले गतिशीलता, आत्मप्रदर्शन, पोषणको अनुशासन र डिजिटल निपुणतालाई आधुनिकताको मापदण्ड ठान्छ । बिस्तारै यिनै व्यक्तिगत प्राथमिकताहरूलाई विश्वव्यापी दक्षताको संकेतका रूपमा स्थापित गरिन्छ । परिणामतः हिलो लागेको चप्पल लगाएको किसान, धुलाम्मे जुत्ता लगाएको मजदुर, सामूहिक भोजमा सहभागी ग्रामीण नेता वा भीडबीच चिच्याएर भाषण गर्ने श्रमिक संगठनका अगुवाहरू मूर्धन्य कथाकार गोविन्दबहादुर मल्ल ‘गोठाले’ को कथा ‘म जुजुमान’ का पात्र जुजुमान जस्तै आफसेआफ ‘असभ्य’ वा ‘आउटडेटेड’ देखिन थाल्छन्, जबकि प्रजातान्त्रिक जीवनको वास्तविक धरातलसँग तिनै पात्रहरू बढी नजिक हुन्छन् ।
यस प्रकार रुचि र फेसनले सुटुक्क वैधानिकताको पुनर्परिभाषा गरिरहेका हुन्छन् । स्वच्छता, सुन्दरता, कोमलता र तौरतरिका मिलेको व्यक्तित्वका लागि उर्दू भाषामा ‘नफासत’ भनिन्छ । त्यस्तो कृत्रिम स्वच्छता र सुसंस्कृतपनको ढोंगलाई बुद्धिमत्तासँग, नियन्त्रणलाई क्षमतासँग र प्राविधिक दक्षतालाई प्रगतिसँग जोडिन्छ । भुइँमान्छेको अस्तव्यस्तता र धूलोलाई अविवेकी वा पश्चगामी ठहराइन्छ । यो सौन्दर्यशास्त्रीय सोपानतन्त्रले वर्गीय असमानतालाई केवल सुन्दर आवरण दिएको हो ।
सामाजिक सञ्जालमा आश्रित अधिशासकले प्रजातान्त्रिक संस्थाहरूलाई प्रत्यक्ष रूपमा भत्काउँदैन तर उसको सौन्दर्यशास्त्रीय शैलीले सहभागितामूलक संस्कृतिलाई भित्रभित्रै मक्क्याउँछ । प्रजातन्त्र आफैंमा कोलाहलपूर्ण हुन्छ । त्यस्तो व्यवस्थाको क्रियाशीलता र जीवन्तताका लागि व्यवधान, असहमति, कठिन प्रश्न र असजिलो संवाद चाहिन्छ । तर अधिनायकवादी सौन्दर्यशास्त्रले सधैं चिल्लो, नियन्त्रणयुक्त र आलोचनाविहीन वातावरण खोज्छ । त्यही नै सम्भ्रान्तीय सौन्दर्यशास्त्रको अन्तर्निहित जोखिम हो । राजनीति सामूहिक विवेकको मन्थन नभएर जनभावनाको व्यवस्थापनमा सीमित हुन थाल्छ । नागरिकहरू नीति र न्यायभन्दा बढी अधिशासकको अनुशासित बिम्ब, पोसाक र डिजिटल प्रस्तुतिबाट प्रभावित हुन पुग्छन् । त्यसपछि फेसनले राजनीतिलाई सजाउने मात्र होइन, राजनीतिको विकल्पकै रूपमा काम गर्न थाल्छ । त्यस्तो नहुन सक्छ तर राम्रो हुने विश्वासका साथ जोखिमका लागि पूर्वतयारी गर्नु एकादेशका सचेत समुदायको कर्तव्य हुन आउँछ । कथा हो, सुन्नेलाई सुनको माला... ।
