इबोला : त्रसित नबनौं तर पूर्वतयारी गर्दै गरौं

यतिबेला इबोलाप्रति पनि सचेत हुनुपर्ने समय आएको छ । यसअघि २०१४–१६ तिरै यसको प्रकोप फैलिएको भए पनि अहिले कंगो तथा युगान्डामा मानिसको मृत्यु हुन थालेपछि पुनः सचेत हुनुपर्ने भएको हो ।

जेष्ठ १३, २०८३

सम्पादकीय

Ebola: Let's not panic, but prepare

What you should know

विश्वका मानिसबीच एकअर्काप्रति बढ्दो अन्तरसम्बन्धले वस्तु, सेवा, अनुभव, कला, संस्कृति, आविष्कार, प्रविधिलगायतको आदानप्रदान सहज भएको छ नै, घातक भाइरस संक्रमणको विस्तार हुने सम्भावना पनि बढेको छ । महामारी वा स्वास्थ्य संकट निम्त्याउने विभिन्न किसिमका संक्रमणहरू संसारको एउटा कुनाबाट अर्को कुना पुग्न धेरै समय नै लाग्दैन । हैजा, सार्स, स्वाइन फ्लु, कोभिड–१९, एचआईभी, स्पेनिस फ्लु, बिफर जस्ता संक्रमणले विश्वका धेरै मानिस प्रताडित भए, कैयौंको मृत्यु पनि भयो र अथाह मानिसले त्रास भोग्नुपर्‍यो ।

यद्यपि, कुनै बेला अधिक घातक देखिएका संक्रमण कालान्तरमा खोप वा भाइरसमा हुने म्युटेसनका कारण कम घातक साबित हुँदै आएका पनि छन् । तैपनि नयाँ–नयाँ संक्रमणले त्रास फैलाउने क्रम भने जारी छ । यतिबेला इबोलाप्रति पनि सचेत हुनुपर्ने समय आएको छ । यसअघि २०१४–१६ तिरै यसको प्रकोप फैलिएको भए पनि अहिले कंगो तथा युगान्डामा मानिसको मृत्यु हुन थालेपछि पुनः सचेत हुनुपर्ने भएको हो ।

यतिबेला प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि डब्लूएचओले ‘विश्व स्वास्थ्य संकट’ घोषणा गरिसकेको छ । कंगोमा करिब १७० शंकास्पद मृत्यु र ९०० भन्दा बढी संक्रमणका केस रिपोर्ट भएका छन् । छिमेकी देश युगान्डामा पाँच जना संक्रमित भइसकेका र दुई जनाको मृत्यु भइसकेको बताइएको छ । अहिले फैलिरहेको इबोलाको बुन्डिबिग्यो भ्यारियन्टको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध छैन । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसले गम्भीर र प्रायः घातक रोग निम्त्याउन सक्छ, जसको मृत्युदर ८० देखि ९० प्रतिशतसम्म पुग्न सक्छ । तसर्थ यतिबेला विश्व नै सचेत भइरहेको छ । धेरै देशले आफ्नो देशमा संक्रमण नभित्रियोस् भनेर योजना बनाइरहेका छन् । नेपाल पनि धेरै ढंगबाट विश्वभर जोडिएका कारण यहाँ पनि संक्रमण विस्तार हुन सक्छ । तसर्थ नेपाल सरकारले पनि उचित रणनीति अख्तियार गर्न आवश्यक छ ।

 धेरै देशले आफ्नो देशमा संक्रमण नभित्रियोस् भनेर योजना बनाइरहेका छन् । नेपाल पनि धेरै ढंगबाट विश्वभर जोडिएका कारण यहाँ पनि संक्रमण विस्तार हुन सक्छ ।अहिले अफ्रिकी मुलुक कंगोमा देखिएको इबोला संक्रमण नेपालसम्म आइपुग्न पनि सक्छ, नआउन पनि सक्छ । मुख्यतः दुई कारणले नेपाल पनि जोखिममा रहेको विश्लेषण गर्न भने सकिन्छ । पहिलो, दैनिक रूपमा विश्वका धेरै देशका नागरिक आवतजावत गरिरहेका हुन्छन् । नेपाली श्रमिक विश्वका धेरै देश पुगिसकेका र उनीहरू पनि स्वदेश फर्किने वा बाहिरिने भएकाले उनीहरूमार्फत संक्रमण नेपालसम्म आइपुग्न सक्छ । नेपालको त्रिभुवन विमानस्थल प्रयोग गर्ने अन्तर्राष्ट्रिय यात्रुका माध्यमबाट पनि त्यस्तो संक्रमण नेपालसम्म आइपुग्न सक्छ । भारतसँग नेपालको खुला सिमाना छ र दैनिक ठूलो संख्यामा आवतजावत भइरहेको हुन्छ ।

भारतीय नागरिक वा भारतीय भूमिलाई प्रयोग गर्दै विश्वव्यापी आवतजावत झन् बढी हुन्छ । त्यहाँ संक्रमण देखिएमा नेपालमा आइपुग्ने सम्भावना अधिक रहन्छ । दोस्रो, हाल कंगोमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत ९७० भन्दा बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । उनीहरूलाई कडा सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिइएको छ । यदि उनीहरूमध्ये कोहीमा संक्रमण भयो र नेपाल आउँदा उचित ध्यान पुर्‍याउन सकिएन भने पनि संक्रमण फैलिन सक्छ । यद्यपि, नेपाली सेनाले कंगोबाट फर्किने शान्ति सैनिकलाई २१ दिन अनिवार्य आइसोलेसनमा राख्ने नीति लिएको छ । त्यसको प्रभावकारी र कडाइका साथ पालना गरिनुपर्छ ।

इबोला नेपालसम्म आइपुग्ने वा नपुग्ने प्रस्ट नभए पनि नेपाल सचेत हुनुपर्ने मुख्य दुई कारण छन् । पहिलो, इबोला स्वयंमा घातक छ । त्यसैले नेपालमा आइपुग्यो भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउन सक्छ । त्यसको पारिवारिक, सामाजिक र आर्थिक क्षति पनि ठूलै हुनेछ । दोस्रो, इबोला संक्रमणसँग जुध्ने नेपालको स्वास्थ्य प्रणाली बलियो छैन । त्यसको अनुभूति २०७६/७७ मा फैलिएको कोरोना महाभारीका बेलामा जनस्तरमै अनुभूत भइसकेको छ । स्वास्थ्य सामग्री, डेडिकेटेड अस्पताल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई तालिम, संक्रमितको पहिचान र निगरानी प्रणाली जस्ता सबै क्षेत्रमा कमजोरी रहेको त्यतिबेला प्रस्ट भएको थियो । न त सरकारका सूचना प्रभावकारी ढंगले सम्प्रेषणीय भए, न त शासनको नेतृत्व गरिरहेको वर्ग जवाफदेही भयो ।

त्यसले नागरिकलाई थप पीडित बनायो । त्यसैले इबोला फैलिएमा त्यतिबेलाकै कमजोरी दोहोरिने सम्भावना ज्यादा छ । अर्कोतर्फ, संक्रमण देखिन थालेमा सबै काम हतारोमा गर्नुपर्छ । त्यतिबेला त्रुटि हुने सम्भावना पनि ज्यादा हुन्छ । अहिल्यैदेखि विज्ञहरूको सुझाव लिएर उचित रणनीति बनाउन थालियो भने त्यसले प्रभावकारी नतिजा दिन सक्छ । मुख्यतः कुनै पनि संक्रमणको सम्भावना देखिएका बेलामा मात्रै होइन, सरकारले आफ्नो स्वास्थ्य प्रणालीलाई सधैं बलियो र नागरिकमैत्री बनाउनुपर्छ ।

यतिबेला सरकारले मुख्यतः त्रिभुवन विमानस्थलमा निगरानी र परीक्षणको व्यवस्थित प्रणाली बनाउनुपर्छ । डेडिकेटेड अस्पतालहरू तोक्नुपर्छ । स्वास्थ्य सामग्रीदेखि परीक्षण किटको व्यवस्थामा अग्रसर हुनुपर्छ । यस्ता संक्रमण लक्षण नदेखिने अवधिमै पनि फैलिने गर्छन् । कोरोनामा पनि त्यही भएको थियो । त्यसैले, संक्रमण फैलिएका क्षेत्रबाट आएका व्यक्ति वा उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिको प्रोफाइल तयार गरी आइसोलेसनमा बस्ने वातावरण बनाउनुपर्छ । इबोला संक्रमित व्यक्तिमा ज्वरो, टाउको दुखाइ, बान्ता, अत्यधिक कमजोरी, पेट दुखाइ, नाकबाट रगत बग्ने र रगत बान्ता हुने जस्ता लक्षण देखिन्छन् ।

यदि कसैमा यस्तो लक्षण देखिएको छ भने ऊ स्वयं अस्पतालको सम्पर्कमा पुग्नुपर्छ । त्यस्ता लक्षण देखिएका व्यक्तिबाट टाढै रहनुपर्छ । मास्क लगाएर हिँड्ने, आधिकारिक निकायबाट जारी भएका सूचना पछ्याउने, अप्रमाणित सूचना–फोटो–भिडियोलाई सामाजिक सञ्जालमा नफैलाउने काम सचेत मानिसको नियमित दायित्वमै पर्छ । संक्रमणबाट त्रसित हुनेभन्दा पनि सचेत हुने रणनीति पछ्याउनुपर्छ । यद्यपि, अहिलेसम्म नेपालमा इबोलाको संक्रमण नदेखिएकाले उल्लिखित सबै विषय पूर्वतयारी र सचेतनाका विषय मात्रै हुन् । त्रसित नबन्ने तर पूर्वतयारी गर्दै गर्ने हाम्रो रणनीति हुनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully