हामी सुहाउँदो सौम्य शक्ति

आर्थिक समृद्धि र परराष्ट्र सम्बन्धको विविधीकरण हाम्रो सौम्य शक्तिको दुई आधारभूत खम्बा हुनुपर्छ । निश्चित रूपमा तिनीहरूबीचको तादात्म्यताको व्यावसायिकता हाम्रो सौम्य शक्तिको सफलताको कडी हुनेछन् ।

जेष्ठ ११, २०८३

सन्जिब हुमागाईं

A gentle force that suits us

What you should know

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटका सिद्धान्त र प्राथमिकता (११औं बुँदा) तथा सोही आर्थिक वर्षको नीति तथा कार्यक्रम (८७ औं बुँदा) मा सरकारले प्रभावकारी सौम्य शक्ति परिचालनलाई उच्च प्राथमिकता दिने घोषणा गरेको छ । यो निश्चय नै स्वागतयोग्य विषय हो । हामीले थोरै ढंग पुर्‍याएर काम गर्न सक्यौं भने आफ्नै कमजोरीले ‘बिग पावर ट्रयाप’ अर्थात् शक्तिशाली राष्ट्रहरूको जालमा फसेको नेपाली कूटनीतिमा नयाँ त्राण भर्न सक्नेछौं । साथै, नेपाली जनताको लामो इच्छा रहेको तीव्र आर्थिक वृद्धिको नयाँ मार्गको सुन्दर यात्राको प्रस्थानबिन्दु पनि हुन सक्छ । यति ठूलो अपेक्षाका विषयमा हामी सबैको बृहत् चिन्तन, विश्लेषण र सहकार्य पनि उत्तिकै आवश्यक हुन्छ । जति ठूलो महत्त्व, त्यति नै ठूलो तयारी गर्नु सफलताको अनिवार्य सर्त हो ।

सरकारको घोषणा राम्रो छ । तर हामीले भुल्नु हुँदैन, इतिहासमा यस्ता घोषणाहरू धेरै पटक भइसकेका हुन्छन् । जस्तै, वर्तमान सरकारको नीतिमा उल्लेखित सौम्य शक्ति परिचालनको परिकल्पनामा प्रयोग भएको भाषा विस २०७७ मा घोषणा भएको परराष्ट्र नीतिमा उल्लेखित उद्देश्य (७ औं बुँदा) सँग धेरै मिल्दोजुल्दो छ । अब घोषणा होइन, कार्यान्वयन र नतिजाको भिन्नता नागरिकलाई अनुभूति गराउने समय हो । फेरि एक पटक जोड गरौं, यो महत्त्वपूर्ण विषयमा हामी गम्भीर हुनुपर्छ । हरेक राम्रा नीतिलाई गिजोलेर लथालिंग बनाउने पुरानो राजनीतिसँगको सम्बन्ध विच्छेदबाट नयाँ राजनीतिको सुरुवात हुन्छ ।

सौम्य शक्तिः उत्पत्ति र प्रयोग

सिंगो राजनीतिशास्त्र र त्यसभित्रको एक अभिन्न विधा ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ को सबैभन्दा प्रमुख शब्दावली हो– शक्ति । शक्तिको चर्चा मानव जातिको इतिहास जति नै लामो छ । अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको चर्चा दुई फरक दृष्टिकोणमा आधारित भएर हुँदै आएको थियो । एउटा राजनीतिशास्त्री रोबर्ट डाहलले व्याख्या गरेझैं कुनै एक राष्ट्र, राष्ट्र प्रमुख वा संस्थाले अर्को राष्ट्र, राष्ट्र प्रमुख वा संस्थालाई सामान्य अवस्थामा नगर्ने काम गराउन बाध्य गर्न सक्ने क्षमता अर्थात् पात्रकेन्द्रित शक्ति र सिंगो देशको सेना, अर्थतन्त्र, जनसंख्या, प्राकृतिक स्रोत, नेतृत्व, सुशासनको अवस्था आदिले सिर्जना गर्ने राष्ट्रिय शक्ति र त्यसको प्रभाव रहेको थियो/छ ।

सौम्य शक्ति सम्बन्धित देशको मन जितेर आफ्नो पक्षमा नतिजा ल्याउने क्षमता हो ।  बीसौ‌ं शताब्दीको अन्तिमदेखि सौम्य शक्तिको प्राज्ञिक छलफलले स्थान पाएसँगै र एक्काइसौं शताब्दीमा ‘स्मार्ट’ भन्ने शब्द यत्रतत्र प्रचलनमा आएसँगै शक्तिलाई वर्गीकरण गर्ने नयाँ–नयाँ शब्दावलीहरूको अभ्यास सुरु भयो । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको प्रशासनअन्तर्गत सन् १९९४ देखि १९९५ सम्म रक्षा मन्त्रालयमा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहायक सचिवका रूपमा काम गरेका हार्वर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ एस. नाई जुनियरले सन् १९९० मा लेखेको पुस्तक ‘बाउन्ड टु लिडः द चेन्जिङ नेचर अफ अमेरिकन पावर’ मा सफ्ट पावर अर्थात् सौम्य शक्तिलाई पहिलो पटक प्रयोग गरेका थिए । त्यसपश्चात् उनैलाई केन्द्रबिन्दुमा राखेर संसारभर यसको विचार विमर्श हुने गरेको छ । आज परराष्ट्र मामिला अध्ययनमा यो एक प्रमुख र सर्वाधिक लोकप्रिय विषय बनेको छ ।

एउटा रोचक प्रसंग के छ भने क्लिन्टन प्रशासनमा बसेर काम गरेका उनै अमेरिकी प्राध्यापकलाई बेइजिङस्थिति थिंक ट्यांक ‘सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसन’ ले विशेष आग्रह गरेर सन् २०२३ मा ‘सफ्ट पावर एन्ड ग्रेट पावर कम्पिटिसन’ भन्ने पुस्तक लेख्न लगाउँछ र जुन पुस्तकमा नाईले चीनको सौम्य शक्तिका बारेमा आलोचना पनि गरेका छन् । हो, यस्तै सौम्य शक्तिले आजको चीन निर्माण भएको छ ।

सौम्य शक्तिलाई बुझ्न पहिला त्यसको अर्को ध्रुवमा रहेको कठोर शक्ति अर्थात् ‘हार्ड पावर’ बुझ्नु आवश्यक हुन्छ । रोवर्ट डाहलले भनेको शक्ति धेरै हदसम्म ‘हार्ड पावर’ हो । सैन्य वा आर्थिक फाइदा (भुक्तानी), लोभ, प्रलोभनमा पारेर अर्को पक्षलाई करकाप वा धम्कीपूर्ण तरिकाले आफ्नो पक्षमा वकालत वा व्यवहार गर्न लगाउने क्षमतालाई ‘हार्ड पावर’ भनिन्छ । सौम्य शक्ति सम्बन्धित देशको मन जितेर आफ्नो पक्षमा नतिजा ल्याउने क्षमता हो । देशहरूले आफ्नो कुनै निश्चित गुण वा विशेषताका आधारमा अन्य देशलाई आकर्षण वा सहमत गराउने क्षमता हो । अर्थात् देशहरूले आफ्ना निश्चित (प्राकृतिक, सांस्कृतिक, वैचारिक, प्राविधिक) गुणबाट सम्बन्धित देशलाई उक्त क्षेत्रको मुद्दा उठाउने, पैरवी गर्ने वा अन्य देशहरूलाई केही आग्रह गर्ने अधिकार राख्छ भन्ने वैधता स्थापना गर्दै अन्य देशहरूलाई आफ्नो पक्षमा ल्याउने क्षमतालाई सौम्य शक्ति भनिन्छ । यस्ता देशहरूले कुनै विशेषताका आधारमा आफूप्रतिको माया र सम्मानलाई उच्च तहमा पुर्‍याएका हुन्छन् । सम्बन्धित देशले आफ्नो ब्रान्डिङ गर्न खोजेको क्षेत्रको व्यवस्थापनको मोडलहरू अन्य धेरै देशहरूले पनि अनुकरण गर्न खोजिरहेका हुन्छन् । सौम्य शक्तिमा अब्बल देशहरूले त्यस्ता सफल क्षेत्रहरूलाई केन्द्रबिन्दुमा राखेर अन्तर्राष्ट्रिय आदानप्रदान र अन्तरक्रियाहरू गर्छन्, जसको सकारात्मक प्रभाव अन्य क्षेत्रमा समेत पर्न जान्छ ।

सफलताका लागि अनिवार्य प्रश्नहरू

हामी यहाँ नेपाल राज्यले आफ्नो एक शक्तिलाई सशक्त रूपमा परिचालन गर्ने घोषणा गरेको विषयमा चर्चा गरिरहेका छौं । कुनै पनि शक्तिको निर्माण हुने आफ्नै प्रक्रिया हुन्छ । त्यस्तो शक्ति कहिले, कसलाई, कसरी प्रयोग गर्दा उच्च नतिजा हासिल गर्ने पनि आफ्नै विधि हुन्छ । हामीले शक्ति प्रयोग गर्दा अर्को पक्षको प्रतिक्रिया पनि शक्तिको नतिजामा निर्णायक नै हुन्छ । यी सबै आधारभूत आयामहरूका बारेमा विस्तृत र घनीभूत छलफल गर्दै भविष्यमा आउने सक्ने समस्याहरूलाई पहिचान गर्दै अगाडि बढ्नु राष्ट्रिय जिम्मेवारी हो । यो महान् अभियानलाई सहजीकरण गर्न तलका केही प्रश्नहरू सहयोगी हुन् सक्छन् ।

पहिलो, यो समयमा सौम्य शक्ति परिचालनमा नै उच्च प्राथमिकता किन ? यदि हामीले हाम्रा छिमेकीहरू धेरै बलिया भएकाले ‘हार्ड पावर’ मा नेपालले गर्न सक्ने केही छैन, त्यसैले सौम्य शक्ति मात्रै विकल्प हो भन्ने गैरजिम्मेवार उत्तरलाई केन्द्रमा राखेर छलफल सुरु गर्‍यौं भने त्यो अल्पज्ञान मात्रै होइन, देशको भविष्यप्रति पनि खतराजनक अभिव्यक्ति हुन्छ । विश्व इतिहासले प्रमाणित गरे जस्तै सौम्य शक्ति अन्ततः ‘हार्ड पावर’ आर्जनको माध्यम हो । रणनीतिक रूपमा सौम्य शक्तिको प्रभावकारी परिचालनमार्फत हामी पनि कसरी ‘हार्ड पावर’ लाई बलियो बनाउने मार्गमा छौं, प्रस्ट हुनुपर्छ । अर्थात्, यी दुई शक्तिहरूको सम्बन्ध नङ र मासुको जस्तै छ, हामीले हाम्रो बुझाइलाई प्रस्ट पार्नुपर्छ ।

सरकारले नीति तथा कार्यक्रमको आफ्नो भाषालाई परिष्करण गर्दै बजेटका सिद्धान्त र प्राथमिकतामा (११ औं बुँदा) मा ‘आर्थिक समुन्नतिका लागि सौम्य शक्ति’ भनेर प्रस्ट उद्घोष गरिसकेको छ । यो प्रमुख आयाम हुन सक्छ । तर कुनै पनि शक्तिलाई आर्थिक दृष्टिकोणबाट मात्रै परिभाषित गरेर पुग्दैन । शक्तिको राजनीतिक परिभाषा अपरिहार्य हुन्छ । हामीले विकसित गर्न खोजेको सौम्य शक्ति परिचालन गर्दैगर्दा अन्य देशसँग राख्दै आएको राजनीतिक सम्बन्धमा पार्न खोजेको प्रभाव के हो ? यो विषयलाई नदीसँग तुलना गरेर सजिलो बनाऔं । अहिले हाम्रो सम्बन्ध एकातर्फ बगिरहेको छ । हामीले त्यहाँ एउटा शक्तिलाई थप परिचालन गर्ने भयौं । अब सम्बन्ध सोही दिशामा उच्च गतिका साथ बग्छ वा बहाव फेरिन्छ ? हाम्रो अपरिपक्व जलवायु कूटनीतिलाई ऐना सम्झेर यो विषयमा राष्ट्रिय चिन्तन गर्नुपर्छ ।

नेपालले सौम्य शक्तिको विवेकपूर्ण परिचालनमार्फत खोजिरहेको दुई राजनीतिक सम्बन्धका नतिजाहरू प्रस्ट छन् । एकातर्फ हामीलाई दुई छिमेकीसहित प्रमुख शक्ति राष्ट्रभित्र नेपालको पक्षमा, नेपाली जनताको पक्षमा र नेपालको राष्ट्रिय हितको पक्षमा वकालत गरिदिने एलिट र एलिट समूहको मात्रात्मक एवं गुणात्मक वृद्धि आवश्यक छ । अर्कोतर्फ, विगत दुई दशकदेखि मध्यम शक्ति राष्ट्रहरूबाट झन्–झन् टाढा पुग्दै शक्ति राष्ट्रहरूको चेपुवामा धकेलिएको तितो वास्तविकताको अन्त्य पनि अपरिहार्य छ । हाम्रो सौम्य शक्ति यस्तै–यस्तै राजनीतिक कोर्स करेक्सनमा केन्द्रित हुनुपर्छ । अर्थात्, आर्थिक समृद्धि र परराष्ट्र सम्बन्धको विविधीकरण हाम्रो सौम्य शक्तिको दुई आधारभूत खम्बा हुनुपर्छ । निश्चित रूपमा तिनीहरूबीचको तादात्म्यताको व्यावसायिकता हाम्रो सौम्य शक्तिको सफलताको कडी हुनेछन् । 

दोस्रो, सरकारले उद्घोष गरेको आर्थिक समुन्नतिका लागि सौम्य शक्तिका आयामहरू के–के हुन् ? सन् २०२६ को मार्चमा विश्वकै चर्चित कोरियाली पप ब्यान्ड बीटीएसले दक्षिण कोरियाको राजधानी सोलस्थित ‘ग्वाङह्वामुन स्क्वायर’ मा एउटा सार्वजनिक कन्सर्ट गर्‍यो । त्यसको आर्थिक प्रभाव करिब २७ अर्ब २५ करोड नेपाली रुपैयाँ रहेको अनुमान गरिएका धेरै प्रतिवेदनहरू सार्वजनिक भएका छन् । हामीले हाम्रा जात्रा र पर्वहरूलाई त्यस्तै संसारभरका नागरिकहरूले हेर्न आउने विश्वको जीवन्त संस्कृतिका रूपमा विकसित गर्ने भनिएको हो ?

हाम्रा सौम्य शक्तिका छलफलमा धेरै विषयलाई एकै पटक चर्चा गर्ने र प्राथमिकीकरण नगर्ने जटिल समस्या पहिचान भएका छन् । आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रमको ८७ औं बुँदा त्यसको ज्वलन्त उदाहरण हो । जहाँ भनिएको छ– ‘नेपालको मौलिक पहिचान, भाषा, कला र सम्पदालाई विश्वमञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गरिनेछ ।’ तर, हामीले तत्काल गर्न सकिने के हो ? त्यसको तत्कालको हितसँगै दीर्घकालीन हितहरू के हुन् ? जस्ता विषयमा ठोस निचोड निकाल्ने संवाद र चिन्तनको कमी देखिन्छ ।

संसारभर सौम्य शक्तिलाई आर्थिक वृद्धिको नयाँ इन्जिन बनाउने प्रतिस्पर्धा नै रहेको छ । त्यस्ता सफल देशहरूलाई नजिकबाट हेर्‍यौं भने कुनै एक–दुई क्षेत्रमा ठूलो परिमाणमा दीर्घकालीन लगानीमार्फत सौम्य शक्तिलाई रणनीतिक उद्योग क्षेत्रका रूपमा विकास गरेको प्रस्ट देखिन्छ । तिनीहरूलाई मूलतः सात क्षेत्रमा वर्गीकरण गर्न सकिन्छः सांस्कृतिक उद्योग, पर्यटन उद्योग, वैदेशिक लगानी आकर्षणमार्फत निर्यातकेन्द्रित उत्पादन उद्योग, खेलकुद, उच्च शिक्षा एवं खोज अनुसन्धान, विज्ञान, सूचना र प्रविधिमा आधारित नवप्रवर्तन, नागरिक केन्द्रित शासन प्रणाली र हरित अर्थतन्त्रको मोडल निर्माण । 

हो, नेपालसँग अद्वितीय सम्पदाहरू छन् । जता हेर्‍यो, त्यतै सम्भावना नै सम्भावना भएको जस्तो लाग्छ । सशक्त युवा जनशक्ति छ । छिमेकमा हुँदै गरेको आर्थिक छलाङका कारण हामी पनि छोटो समयमा अतुलनीय आर्थिक एवं सामाजिक रूपान्तरण गर्न सकिन्छ, गर्नुपर्छ भन्ने उच्च मनोबल रहेको छ । संसारका कुना–कुनामा चामत्कारिक नतिजा प्राप्त गर्दै गरेका नेपालीका समाचारले हाम्रो आत्मविश्वास बढेको छ । तर सुरु कहाँबाट गर्ने भन्ने जटिल प्रश्न फेरि ज्युँका त्युँ छ ।

हाल सरकारले धेरै देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । पक्कै पनि निकट भविष्यमा सबैमा राजदूतहरू नियुक्त हुन्छन् । तेस्रो, जब हामी क्षेत्र निर्धारण गर्छौं, सो क्षेत्रमा कुन देशमा कुन क्षेत्रका व्यक्तिहरूलाई प्रभाव पार्न हाम्रो सौम्य शक्ति परिचालन गर्ने भन्ने गहन प्रश्न खडा हुन्छ । जस्तै पर्यटन हेरौं । झन्डै आधा शताब्दीसम्म हिमालको आसपासमा लामो समय बिताउन आउने विदेशी पर्यटकहरू हाम्रा प्रमुख पाहुना रहे । कोरोना, आर्थिक संकट जस्ता बाह्य कारणले नेपालमा आउने पर्यटकको बस्ने रात र खर्चमा कमी आएको छ । तर पनि पर्यटन हाम्रो आर्थिक सम्भावनाको क्षेत्र हो भन्नेमा शंका छैन । अब, पर्यटन क्षेत्रमा हामीले सौम्य शक्ति परिचालन गर्दै गर्दा कुन देशबाट कस्ता पर्यटकहरूलाई आकर्षण गर्न खोजेको हो ? उनीहरूलाई कसरी आकर्षण गर्न खोजेको हो ? यस्ता विषयमा प्रस्ट रणनीतिबिना हामीले खोजेको अपेक्षित नतिजा हासिल गर्न मुस्किल हुन्छ ।

चौथो र सबैभन्दा जटिल विषय भनेको जब हामीले कुनै क्षेत्रलाई सौम्य शक्तिको आधार क्षेत्र घोषणा गर्छौं, त्यसको राष्ट्रिय तयारी कसरी गर्दै छौं ? के हाम्रो संघीय, प्रादेशिक र स्थानीय बजेट र स्रोत त्यसैमा केन्द्रित हुँदै छ ? कि हिजो जस्तै एक–दुई नारा दिने र त्यसैमा कनिका छरे जस्तो बजेट छर्ने काम हुँदै छ ? सौम्य शक्तिकेन्द्रित राष्ट्रिय आर्थिक वृद्धि सबै देशहरूको चासो भएकाले अब सो क्षेत्रलाई प्रतिस्पर्धी उद्योगका रूपमा विकसित गर्न राष्ट्रिय ध्यानकेन्द्रित गर्न सकिएन भने त्यसले सौम्य शक्तिको नतिजा हासिल गर्न सक्दैन ।

फेरि पनि नेपालका अद्वितीय सम्पदा र संस्कृति हेरौं । काठमाडौं उपत्यका छ्यांग खुलेर चारैतिर राम्रा पहाड र हिमाल देखिएको दिन कुनै एक विदेशी पर्यटकले ऊ त्यो हिमाल कुन हो भनेर बाटोमा हिँडेको नेपालीलाई सोध्यो भने उत्तर दिन सक्ने काठमाडौं उपत्यकामा बसोबास गर्ने कति छौं ? अर्थात् जुन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र एवं सौम्य शक्तिको केन्द्र बनाउँदै छौं, त्यस क्षेत्रमा पर्याप्त विश्वस्तरका जनशक्ति, पूर्वाधार, नागरिक चेतना छ ? हामीलाई स्मार्ट कृषिका बारेमा इजरायल वा नेदरल्यान्डका व्यक्तिहरूले व्याख्या गर्दा धेरै विश्वास लाग्छ, किन ? जुन क्षेत्रका बारेमा त्यहाँका नागरिकले सफल अभ्यास गरेका छन्, त्यसबाट नतिजा निकालेका छन् । त्यस्ता क्षेत्रले मात्रै सम्बन्धित देशको सौम्य शक्तिको रणनीतिक सफलता दिन सक्छन् । 

कुरा प्रस्ट छ, हाल सरकारले धेरै देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । पक्कै पनि निकट भविष्यमा सबैमा राजदूतहरू नियुक्त हुन्छन् । उनीहरूले नेपाललाई प्रतिनिधित्व गर्ने देशका प्रमुख विश्वविद्यालयको ठूलो हलमा उभिएर नेपाल र नेपाली यस्ता क्षेत्रमा काबिल छन् भनेर व्याख्या गर्दा हलमा रहेका विदेशीले सबैले उठेर ताली बजाउँछन्, त्यही क्षेत्र नै नेपालको सौम्य शक्ति हो र हुनेछ ।

सौम्य शक्तिको रणनीतिक परिचालन घोषणा गरेको सरकारले त्यस्तो क्षेत्रको पहिचान, प्राथमिकता निर्धारण, कुन देशका कुन–कुन समूहमार्फत नेपालका त्यस्ता क्षेत्रको प्रचारप्रसार गर्दै तत्कालको आर्थिक नतिजा हासिल गर्ने, उक्त देशमा नेपाल र नेपालीप्रतिको सम्मान र आकर्षण वृद्धि गर्ने, जसले कालान्तरमा त्यहाँका नीति निर्मातामाझ पनि नेपाल र नेपाली हाम्रा असल मित्र बनाउन पाए फाइदै हुन्थ्यो भन्ने वातावरण बनाउन सक्छौं, त्यस दिन हामीले अनुभूति गर्नेछौं– सौम्य शक्ति ।

त्यस्तै, भगवान् गौतम बौद्ध नेपालमा जन्मनुभएको थियो, तथ्य हो, इतिहास हो । हामीले उहाँको दर्शनलाई अवलम्बन गर्दा त्यो सौम्य शक्ति हुन्छ । सगरमाथा नेपालमा छ, त्यो गर्वको विषय हो । नेपाल हिमाल सफा राख्नमा अब्बल छ भन्ने विश्वास गर्दा, त्यो हाम्रो सौम्य शक्ति हुन्छ ।

सन्जिब हुमागाईं त्रिभुवन विश्वविद्यालय एवं नेपाल खुल्ला विश्वविद्यालयमा राजनीतिशास्त्र एवं अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त प्राध्यापन गर्छन्।

Link copied successfully