प्रधानमन्त्री बालेनको समय

प्रधानमन्त्रीका हरेक क्रोध र आवेशका अर्थहरू होलान् । तर, ती अर्थहरूको पनि खासमा कुनै अर्थ छैन । उहाँले रवि लामिछाने नेतृत्वको रास्वपालाई बहुमत दिलाउनुभयो । त्यो अभिमानले उहाँलाई थिचेको छ ।

जेष्ठ ९, २०८३

किशोर नेपाल

Prime Minister Balen's time

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रधानमन्त्री बालेन बाहिरिनुभयो । निश्चय पनि, त्यो घटना संसदीय परम्पराप्रति आक्रोशको अभिव्यक्ति थियो, गैरसंसदीय र गैरलोकतान्त्रिक अभिव्यक्ति । त्यसपछिका दिनहरूमा पनि उहाँले संसदीय परम्पराको पालना गर्नु भएको छैन ।  अविकसित समाजमा लोकतन्त्रको अवसानका लागि कुनै ठूलो कारण चाहिँदैन । लोकतन्त्रको स्थापना जति सहज ढंगले हुन्छ, त्यत्ति नै सहज ढंगले यसको अवसान पनि हुने गर्छ । संसारका सबै लोकतन्त्रवादीका लागि यो रोचक र महत्त्वपूर्ण प्रश्न हो । सधैं जनताको पक्षमा रहने ‘लोकतन्त्र’ दूरदृष्टिबिनाको शासन र समाजको असक्षम राजनीतिक व्यवस्थापनका कारण बेला–बेलामा चर्मराउने गर्छ । लोकतान्त्रिक व्यवस्थालाई समय–समयमा अद्यावधिक नगरी सबैभन्दा तल्लो तहका जनतासम्म विकास र सुधारका प्रतिफलहरू पुर्‍याउन सकिँदैन । यो शाश्वत मान्यता हो । मानव समाजमा यस्तो मान्यता राख्ने समाजशास्त्रीहरूको कुनै कमी छैन । संसारमा लोकतन्त्र नै एकमात्र लोकप्रिय राजनीतिक व्यवस्था हो भन्ने स्थापित तथ्य हो । तर, महत्त्वाकांक्षी राजनीतिक व्यक्तिले संसारभरि नै लोकतान्त्रिक व्यवस्थाको व्याख्या आ–आफ्नो स्वार्थअनुसार गर्ने गरेका छन् । लोकतन्त्रका स्थापित मान्यताहरूको पालना गर्न नचाहने राजनीतिज्ञहरूको चिन्तन प्रक्रियाले लोकतन्त्रलाई आफू अनुकूल बनाउन खोजेका छन् । यसले गर्दा लोकतन्त्रको जग भत्किएर देशहरू तानाशाही व्यवस्थाको पासोमा परेका थुप्रै उदाहरण छन् । लोकतन्त्रको अन्त्य कसरी हुने गरेको छ ? यो सन्दर्भमा विद्वान्हरूले विभिन्न देशमा भएका घटनाहरूको गहन अध्ययन गरेका छन् । लोकतन्त्रको अन्त्यका लागि कि त सैनिक ‘कु’ माध्यम बनेका छन्, कि लोकतान्त्रिक व्यवस्थाका शासकहरूले कुशासनको ‘स्लो पोइजन’ प्रयोग गरेर त्यसको अन्त्य गरेका छन् । कुनै पनि देशमा निर्वाचनका माध्यमद्वारा तानाशाह प्रवृत्ति भएको नेतृत्व सत्तामा आयो भने उसले जनताका नाममा आफ्नो सत्ता र शक्तिको दुरुपयोग गर्न सुरु गर्छ र प्रतिपक्षको दमन गर्न थाल्छ । हार्वर्ड विश्वविद्यालयका प्राध्यापक स्टेभेन लेभित्स्की र डेनियल जिब्लाटका अनुसार, सरकारका शक्तिहरूको अतिशय दुरुपयोग नै लोकतन्त्रको अन्त्यको कारण हो ।

यस सन्दर्भमा, दुवै अमेरिकी प्राध्यापकहरूले पेरुका अल्बर्ट फुजिमोरीको उदाहरण दिँदै भनेका छन्– फुजिमोरीले आफू देशको तानाशाह शासक बन्ने आकांक्षा राखेका थिएनन् । उनी स्थानीय विश्वविद्यालयमा रेक्टर थिए । सन् १९९० मा उनमा सिनेटको चुनाव लडेर ‘सिनेटर’ बन्ने धुन सवार भयो । तर, त्यसका लागि कुनै पनि पार्टीले उनलाई टिकट दिएनन् । त्यसपछि उनले आफ्नै पार्टी खोले । उनीसँग चुनाव लड्नका लागि आवश्यक धन पनि थिएन । त्यो समयमा अतिशय मुद्रास्फीतिका कारण पेरुको अर्थतन्त्र मृत्युशय्यामा थियो । माओवादी छापामारहरूको संगठन ‘दि साइनिङ पाथ’ ले भड्काएको हिंसाको चपेटामा परेर हजारौं मानिसले ज्यान गुमाएका थिए । स्थापित पार्टीहरूको आचरण र व्यवहारका कारण जनता दिक्क भएका थिए । त्यही दिग्दारीमा उनीहरूले पेरुको राजनीतिमा कुनै हैसियत नभएका फुजिमोरीलाई साथ दिए । फुजिमोरीको नारा थियो– म तपाईंहरू समान राष्ट्रपति । 

नेपालमा भएको जेन–जी विद्रोहको विध्वंसकारी परिणामपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले गत २१ फागुनमा गराएको चुनावले नेपाललाई अनौठो मोडमा पुर्‍याएको छ । चुनाव परिणामले स्थापित राजनीतिक दलहरूको अस्तित्व र गर्वलाई क्षत–विक्षत मात्रै तुल्याएको छैन, जनताको मनमा एक प्रकारको भय र त्रास पनि सिर्जना गरेको छ । यसको परिणामलाई पुरातनपन्थीहरूले आफ्नो विजयका रूपमा हेर्न थालेका छन् । जेन–जी विद्रोहले न त तन्नेरी पुस्ताका सपनाहरूको सम्बोधन गर्न सकेको छ, न त देशको विकराल आर्थिक अवस्थामा सुधार ल्याउने सम्भावनाको ढोका नै खोल्न सकेको छ । जनताको बोल्ने अधिकार कुण्ठित भएको छ । जेन–जी विद्रोहले नेपालमा सुरु भएको संघीय गणतान्त्रिक राजनीतिलाई अस्तव्यस्त मात्र बनाएको छैन, नेपालमा २०४६ पछि प्रारम्भ भएको लोकतान्त्रिक राजनीतिलाई नै अनौठो घुम्तीमा पुर्‍याएको छ । 

२१ फागुनको संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) तेस्रो तहमा ओर्लिएको छ । चुनावमा दोस्रो तहमा ओर्लिएको नेपाली कांग्रेसको अवस्था पनि ठीक देखिँदैन । नेपाली कांग्रेस आन्तरिक विवाद र अन्तरद्वन्द्वमा फसेको छ । पार्टीमा नेतृत्वको झगडा चर्किंदै गएको छ । क्षेत्रीय दलहरूमा मधेश प्रदेशमा केन्द्रित मधेशवादी दलहरू सबैभन्दा बढी घाटामा परेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताको हैसियतले चुनावी अभियानमा सक्रिय रहेका वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने कुरा त जगजाहेर भइसकेकै थियो । सोहीअनुसार प्रधानमन्त्रीका रूपमा शाहको चयन भयो । किनभने, रास्वपामा शाहको विकल्पमा उभिन सक्ने अर्को कुनै व्यक्ति नै थिएन । नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि संसद्को बैठक बोलाइयो । शपथ ग्रहणपछि संसद्को बैठक स्थगित भयो । समयको छोटो अन्तरालपछि संसद्को बैठक फेरि बस्यो । राष्ट्रपति रामचन्द्र पौडेल बालेन सरकारको नीति र कार्यक्रमको वाचन गर्न संसद्मा आउनुभयो । संसद्का लागि यो एउटा अनिवार्य काम थियो । संसद्मा प्रधानमन्त्री बालेन शाह, रास्वपा र अन्य राजनीतिक दलका सांसदहरू बडो गम्भीर मुद्रामा राष्ट्रपतिको वाचन सुन्दै थिए । सुन्दासुन्दै, प्रधानमन्त्री बालेन अचानक आफ्नो स्थानबाट उठेर संसद् भवनबाट बाहिरिनुभयो । सम्भवतः सांसदहरूको मनमा चिसो पस्यो । उनीहरूको मनमा आशंका जन्मियो– देशमा कुनै ठूलो घटना भयो कि के हो ? प्रधानमन्त्री एकाएक किन सदनबाट बाहिरिनुभयो ?

कुनै भयानक सिनेमाको भयानक दृश्य जस्तो घटना थियो त्यो । तर, भएको केही थिएन । त्यो प्रधानमन्त्री बालेनको असन्तुष्टि थियो । उहाँको मनमा तर्कना आयो होला– म प्रधानमन्त्रीले तयार पारेको नीति र कार्यक्रमलाई राष्ट्रपतिले पढ्ने ? निश्चय पनि, त्यो प्रधानमन्त्री बालेनको संसदीय परम्पराप्रति आक्रोशको अभिव्यक्ति थियो । गैरसंसदीय र गैरलोकतान्त्रिक अभिव्यक्ति । त्यसपछिका दिनहरूमा पनि प्रधानमन्त्री बालेनले संसदीय परम्पराको पालना गर्नुभएको छैन । 

उहाँ संसद्मा रमाउन सक्नुहुन्न । प्रधानमन्त्रीको क्याबिनमा आराम गर्न चाहनुहुन्छ । ‘यदि’ र ‘तर’ को कुरै छैन । देशको प्रधानमन्त्री जस्तो व्यक्तित्वलाई सम्झाउने पनि कोही छैन । पार्टीका लागि त्यति ठूलो विजयश्री हासिल गर्ने नेतालाई सम्झाउने पनि कोही छैन । 

सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनलाई पछ्याउने अनुगामीको संख्या लाखौंलाख छ । उहाँ ती अनुगामीहरूकै अनुरोधमा, उनीहरूकै खुसीका लागि प्रधानमन्त्री बन्नुभएको हो । सामान्य जनताले उहाँको यो भावनाको कदर गर्नु राम्रो हुनेछ । उहाँका हरेक क्रोध र आवेशका अर्थहरू होलान् । तर, ती अर्थहरूको पनि खासमा कुनै अर्थ छैन । उहाँले रवि लामिछाने नेतृत्वको रास्वपालाई बहुमत दिलाउनुभयो । त्यो अभिमानले उहाँलाई थिचेको छ । प्रधानमन्त्री बालेनको चित्तवृत्ति ठीक ठाउँमा टिकेको छैन । प्रधानमन्त्रीका रूपमा उहाँले केही दिन सक्नुहोला भन्ने भरोसा छैन । 

अधिनायकवादी मानसिकता राख्ने व्यक्तिहरू सत्ताको शीर्ष स्थानमा पुगेपछि लोकतान्त्रिक संस्थाहरूको हुर्मत लिन खोज्छन् । प्रधानमन्त्री बालेनले त्यो प्रवृत्तिको प्रदर्शन गरिसक्नुभएको छ । प्रधानमन्त्री बालेनले लोकतन्त्रमाथि प्रहार सुरु गरिसक्नुभएको छ । प्रधानमन्त्री बालेनले अहिले देखाउनुभएको व्यवहार प्रारम्भिक मात्रै हो । सामाजिक सञ्जालमा जो–जो पनि उहाँका अनुगामी छन्, ती प्रसन्न होलान् । तर, प्रधानमन्त्रीले अहिले जे गर्न चाहनुभएको छ, उहाँलाई त्यो गर्न दिनुपर्छ । चुनाव जितेर आएका प्रधानमन्त्रीका समर्थकहरूलाई ताली बजाउन पनि दिनुपर्छ । यतिबेला देशमा प्रधानमन्त्री बालेनका नाममा ताली बजाउनेहरूको कमी छैन । राजनीतिक अवस्था प्रधानमन्त्रीकै पक्षमा छ । उहाँलाई सामान्य जनताले ‘तारणहार’ मानेको अहिलेको अवस्थामा कसैले पनि विमति जनाउनु उचित हुँदैन । प्रधानमन्त्रीले शासन चलाउने आफ्नै शैलीमा हो । उहाँभन्दा अघिका दर्जनौं प्रधानमन्त्रीहरूले आफ्नै तरिकाले शासन चलाएका हुन् । पञ्चायतकालका प्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, कीर्तिनिधि बिष्ट, लोकेन्द्रबहादुर चन्द र मरीचमान सिंहले पनि आफ्नै तरिकाले शासन चलाएका थिए । फरक यति हो कि, पञ्चायतकालका प्रधानमन्त्रीहरू राजाको आज्ञाको पालना गर्थे । अहिलेका प्रधानमन्त्रीहरू कसैप्रति उत्तरदायी देखिएका छैनन् ।

नेपालमा अहिले गणतान्त्रिक राजनीतिक व्यवस्था आएको छ । यो हिजोको व्यवस्था होइन । यो त गणतन्त्र हो । लौ त, यसलाई कसले औंला ठड्याउँछ हेरूँ त π भन्ने भावमा नेताहरू कुर्लिएको देखिन्छ । तर, सरकारलाई एउटै महामारीले हाराबारा खेलाएको छ । प्रधानमन्त्रीको मुखबाट अर्थ न बर्थका वाणीहरू प्रकट भइरहेका छन् । उसले काम गर्न नसकेको हो । हामी काम गर्न सक्छौं । भर्खरै प्रधानमन्त्री बन्नुभएका बालेनका लागि मेरा शब्दहरू अलिकति कटु सुनिएका होलान् । तर, प्रधानमन्त्री बालेनले समस्याहरू केलाउन सक्नुपर्छ । अहिले दक्षिण एसियाको वातावरण सहज छैन । सरकारले यो असहज परिस्थितिलाई नियन्त्रणमा लिन सकेन भने देश अहिलेको भन्दा पनि खराब अवस्थामा पुग्नेछ । यो कटु सत्यलाई प्रधानमन्त्री बालेनले बुझ्नुपर्छ ।

किशोर किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully