बौद्धिक : विवेकको रक्षक कि सत्ताको ढाल ?

आलोचना गर्दा किनारीकृत भइने तर शासकको भजन गाउँदा सल्लाहकार, राजदूत वा विभिन्न प्रतिष्ठानको नेतृत्व पाइने लोभले उनीहरूको आलोचनात्मक चेतलाई भुत्ते बनाइदिन्छ ।

जेष्ठ ७, २०८३

शुभशंकर कँडेल

Intellectual: Protector of conscience or shield of power?

What you should know

समाजमा बुद्धिजीवी, लेखक र विश्लेषकहरूलाई ‘विवेकको रक्षक’ मानिन्छ । उनीहरूबाट नागरिकले सत्ताको निरन्तर खबरदारी, आलोचनात्मक चेत र निष्पक्ष दृष्टिकोणको अपेक्षा गरेका हुन्छन् । तर इतिहासदेखि वर्तमानसम्मको अनुभवले भने कतिपय प्रखर बौद्धिकहरू एकाएक आफ्ना उदार तथा प्रगतिशील मूल्यमान्यता त्यागेर सत्ताको ‘चरणवन्दना’ मा लीन हुन पुगेको देखिन्छ । विशेषतः लोकतान्त्रिक मूल्य र संस्थागत सबलीकरणको वकालत गर्नेहरू नै रातारात पपुलिस्ट नेताका दक्षिणपन्थी वा उग्रपन्थी कदमको बचाउमा नग्न प्रदर्शन गर्छन् । यो प्रवृत्तिलाई राजनीतिशास्त्र र मनोविज्ञानमा ‘बौद्धिक दिवालियापन’ भन्ने गरिन्छ । यस लेखमा यसबारे संक्षिप्त विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

इतिहासमा हरेक अधिनायकवादी शासनको उदयसँगै एक विशेष घटनाका रूपमा एक पटक सत्यको पक्षमा उभिएका विचारक, लेखक र विश्लेषकहरू क्रमशः शासकको प्रशंसामा निर्लिप्त हुनु केवल संयोगात्मक घटनाक्रम होइनन् । यसका पछाडि व्यवस्थित मनोवैज्ञानिक र सामाजिक प्रक्रिया अन्तरनिहित छ । पोलिस लेखक जेस्ट मिटोजले आफ्नो कालजयी कृति ‘द क्यापचर माइन्ड (१९५३)’ मा सटीक रूपले देखाएका छन्– ‘बुद्धिजीवीको पतन एकै पटक हुँदैन, यो एक–एक सम्झौताको शृंखला हो, जसमा हरेकचोटि आफ्नै विवेकलाई धोका दिइन्छ ।’

दिवालियापनका सामाजिक कारणहरू

संज्ञानात्मक विसंगति : जब कुनै बुद्धिजीवीले समाजमा आफ्नो प्रभाव गुम्दै गएको महसुस गर्छ वा स्थापित राजनीतिक प्रणाली असफल भएको देख्छ, तब उसको मनमा द्वन्द्व पैदा हुन्छ । यो मानसिक तनावबाट बच्न उसले आफ्नो विचारधारा नै बदलेर शक्तिशाली (उदीयमान) धारसँग सम्झौता गर्छ, जसले गर्दा उसलाई आफ्नो निर्णय सही लागेर आत्मसन्तुष्टि मिलोस् ।

पहुँचको भोक : फ्रान्सेली दार्शनिक रेमो अराँका अनुसार धेरै बुद्धिजीवीहरू ‘सत्ताको नजिक हुने’ रोगबाट ग्रसित हुन्छन् । आलोचना गर्दा किनारीकृत भइने तर शासकको भजन गाउँदा सल्लाहकार, राजदूत वा विभिन्न प्रतिष्ठानको नेतृत्व पाइने लोभले उनीहरूको आलोचनात्मक चेतलाई भुत्ते बनाइदिन्छ ।

व्यान्डवागन इफेक्ट : जब समाजमा कुनै पपुलिस्ट लहर चल्छ, तब त्यो लहरको विपरीत उभिन अलिक बलियै साहस चाहिन्छ । भीडभन्दा फरक देखिँदा ‘आउटडेटेड’ भइने र सान्दर्भिकता गुम्ने डरले बौद्धिकहरू कथित मौजुदा लहरमै लहसिन्छन् ।

मेगालोमेनिया : कतिपय विश्लेषकहरूमा ‘मैले जे लेख्छु, त्यसले व्यवस्था बदल्नुपर्छ’ भन्ने अहंकार हुन्छ । जब लोकतान्त्रिक संस्थाहरूले बिस्तारै तर नियमसंगत काम गर्छन्, उनीहरूलाई ‘ढिलो’ भइरहेको लाग्छ । तुरुन्त परिणाम चाहिनेहरू संस्था भत्काउने ‘स्ट्रङम्यान’ (बलियो शासक) को अधिनायकवादी शैलीको प्रशंसक बन्न पुग्छन् ।

मनोवैज्ञानिक कारणहरू

लिओन फेस्टिङ्गरको संज्ञानात्मक असंगति सिद्धान्त (१९५७) अनुसार, मानव मस्तिष्कले विरोधाभासी विश्वासहरू एकसाथ बोक्न असक्षम हुन्छ । जब एक बुद्धिजीवी शासकसँग सम्बन्धित कुनै लाभ (पद, प्रतिष्ठा, आर्थिक सुरक्षा) स्वीकार गर्छ, तब उसको मस्तिष्कले आफ्नो पूर्ववत् आलोचनात्मक धारणासँग तालमेल मिलाउन शासकको गुण खोज्ने ‘र्‍यासनलाइजेसन’ मा पुर्‍याउँछ । ‘कग्नेटिभ डिसोनेन्स’का रूपमा विरोधाभासी विश्वासबाट बच्न शासकको गुण खोज्ने प्रवृत्तिलाई ‘साइकोफ्यान्ट ड्रिफ्ट’ भनिन्छ । 

मनोविद् रोबर्ट सियाल्डिनीको ‘इन्फ्युलेन्सको कमिटमेन्ट एन्ड कन्सिस्टेन्सी’ सिद्धान्त अनुसार, एक आलोचकले पहिलो पटक शासकमा ‘केही सकारात्मक पक्ष छ’ भन्दा मात्र पनि, पछि त्यही धारणालाई विस्तार गर्न मनोवैज्ञानिक दबाब पर्छ । समाजशास्त्री हन्ना आरेन्ड्टले अधिनायकवादको उत्पत्ति (१९५१) कृतिमार्फत देखाएकी छन्– अधिनायकवादी व्यवस्थामा बुद्धिजीवीको विचार–परिवर्तन प्रायः जैविक जीवनरक्षाको आवश्यकतासँग जोडिएको हुन्छ । विडम्बना त, स्वतन्त्र समाजमा पनि यस्तो प्रवृत्ति देखिन्छ- जहाँ शारीरिक खतरा त हुँदैन, तर सामाजिक र व्यावसायिक अस्तित्वको भय हुन्छ ।

अन्तर्राष्ट्रिय उदाहरणहरू

बीसौं शताब्दीका महान् दार्शनिकमध्ये सबैभन्दा प्रभावशाली जर्मन दार्शनिक हाइडेगर सन् १९३३ मा एडोल्फ हिटलरको नाजी पार्टीमा प्रवेश गरेर फ्राइबर्ग विश्वविद्यालयको रेक्टर बने । उनले नाजीवादको औचित्य पुष्टि गर्न आफ्ना दार्शनिक तर्कहरू प्रयोग गरेको सन्दर्भ आजसम्मको ठूलो बौद्धिक कलंकका साथै दर्शनको इतिहासमा सबैभन्दा लज्जास्पद बौद्धिक दिवालियापनको उदाहरण मानिन्छ ।

फ्रान्सेली दार्शनिक जाँ–पाँल सार्त्र र कतिपय युरोपेली बुद्धिजीवीहरूले सुरुवाती चरणमा सोभियत संघमा स्टालिनको क्रूर दमन र श्रम शिविर (गुलाग) को यथार्थलाई बेवास्ता गर्दै स्टालिनवादी निरंकुशताको बचाउ गरे । यतिसम्म कि म्याक्सिम गोर्कीजस्ता लेखकहरूले समाजवादी यथार्थवादको नाममा कला र साहित्यलाई राज्यको प्रचार–उपकरण बनाएको आरोपलाई केवल आरोप मात्र मान्न सकिँदैन । १९२०–३० दशकमा युरोपका बुद्धिजीवीहरूले मुसोलिनीलाई ‘ट्रेन समयमा चल्छ’ भन्दै प्रशंसा गरेको सन्दर्भ उल्लेखनीय छ । अर्कोतिर स्टालिनको सोभियत सत्ताभित्रको अनिकाललाई बेवास्ता गर्दै जर्ज बर्नार्ड शा, वाल्टर डुरान्टी जस्ता लेखकहरूले समेत आदर्श बनाएको घटना समकालीन सञ्जालको बबाललाई समेत झस्काउने घटना मान्न सकिन्छ ।

हंगेरीमा भिक्टर अर्वानको उदयपछि धेरै उदारवादी प्राध्यापक, पत्रकार र बुद्धिजीवीहरू क्रमशः उनको कथित राष्ट्रवादी एजेन्डाको समर्थकमा परिणत भए । राजनीतिशास्त्री इभान क्रास्तेभले यसखाले प्रवृत्तिलाई ‘अनुदारवादी बौद्धिक कब्जा’ नाम दिएका छन् । 

सद्दाम हुसेनविरुद्धको इराक युद्ध (२००३) को औचित्य पुष्टि गर्न फ्रान्सिस फुकुयामा (सुरुवाती चरणमा) र क्रिस्टोफर हिचेन्स जस्ता प्रखर बौद्धिकहरूले ‘आम विनाशकारी हतियार’ को झूटो भाष्यलाई आफ्नो बौद्धिक लेपन दिएर युद्धको वकालत गरेको घटनाले अमेरिकी बौद्धिक समुदायलाई लज्जित बनाउने घटना धेरै पुरानो भएको छैन । 

अमेरिकामा ट्रम्प, भारतमा मोदी र टर्कीमा अर्दोआनको उदयसँगै हिजोसम्म उदारवादी लोकतन्त्र र संस्थागत मर्यादाको वकालत गर्ने कैयौं पत्रकार र प्राज्ञहरू रातारात उनीहरूको ‘अन्ध–भक्त’ वा ‘उग्र–राष्ट्रवादी’ भाष्यको संवाहक बनेका दृष्टान्त अब नेपालमा दोहिरिन थाल्दै छन् । २०१६ पछि अमेरिकाका धेरै रुढीवादी टिप्पणीकार र विश्लेषकहरूले पहिले ट्रम्पको लोकरञ्जना र संस्थागत अनादरको आलोचना गर्दथे, तर क्रमशः त्यस्ता कतिपय बौद्धिकहरू ट्रम्पको ‘मागा’ समर्थकमा परिणत हुन पुगे । पत्रकार अन्ने एप्पलबामले ‘ट्विलाइट अफ डेमोक्रेसी (२०२०)’ मार्फत बौद्धिक दिवालियापनलाई उजिल्याएर निकै ठूलो वैचारिक गुन लगाएकी छन् ।

जब बुद्धिजीवीले राजनीतिक पक्षपात र राष्ट्रवादको सेवामा आफ्नो बौद्धिक क्षमता लगाउँछन्, त्यो ‘विश्वासघात’ हो ।फ्रान्सेली दार्शनिक जुलियन बेन्डाको बौद्धिकहरूको विश्वासघात (१९२७) कृति आजपर्यन्त बौद्धिक दिवालियापनको कालजयी रचना मानिन्छ । बेन्डाका शब्दमा बुद्धिजीवीको मूल कर्तव्य शाश्वत सत्य र न्यायको पक्षमा उभिनु हो- नकि राजनीतिक शक्तिको । जब बुद्धिजीवीले राजनीतिक पक्षपात र राष्ट्रवादको सेवामा आफ्नो बौद्धिक क्षमता लगाउँछन्, त्यो ‘विश्वासघात’ हो ।

‘बुद्धिजीवी भनेको समाजको ‘आउटसाइडर’ (बाहिरिया) हो, जो कहिल्यै सत्ताको अंग बन्न सक्दैन । बुद्धिजीवीको काम नै ‘सत्ताको अगाडि सत्य ओकल्नु’ हो । जो सत्ताको भाषा बोल्छ, त्यो बुद्धिजीवी नै होइन, त्यो केवल एउटा प्रोपागान्डिस्ट हो’ भन्ने समकालीन राजनीतिशास्त्री एडवर्ड सइदको ‘रिप्रेजेन्टेसन्स अफ द इन्टेलेक्चुअल्स’ निकै उपायोगी हुन सक्छ । यसै सन्दर्भमा अमेरिकी भाषाशास्त्री नोम चोम्स्कीले आधुनिक सञ्चारमाध्यम र बौद्धिकहरूले कसरी कर्पोरेट र राजनीतिक सत्ताको सेवामा ‘सहमति निर्माण’ गर्दछन् भन्ने सन्दर्भसहित ऐतिहासिक शिक्षा दिएका छन्– ‘धेरैजसो स्थापित बुद्धिजीवीहरू सत्ताको वैधानिकता टिकाउने ‘वैचारिक एजेन्ट’ मात्र हुन् ।’

मिसेल फुकोले ‘सत्ता–ज्ञान’को अवधारणा अघि सारेका छन् । बुद्धिजीवीको विचार परिवर्तन केवल व्यक्तिगत नैतिक कमजोरी मात्र होइन, बरु सत्ता संरचनाले ज्ञान–उत्पादनलाई नै नियन्त्रण गर्छ । जो विचार शासकको हितमा छ, त्यो नै ‘सत्य’ का रूपमा स्थापित बनाउने कुकर्म हुन पुग्छ । अहिले नेपालमा केही बौद्धिकहरूको छटपटी यही दिशाको उछलकुद हो भन्दा अन्यथा हुनेछैन । नव–मार्क्सवादी आरोपित दार्शनिक अन्तेनियो ग्राम्सीले अघि सारेको सांस्कृतिक हेजेमोनीको अवधारणा आजपर्यन्त सबैभन्दा बढी सन्दर्भ हुने वैचारिकी बुझ्ने आँखीझ्याल बनेको छ । शासक वर्गले केवल बल प्रयोगले होइन, बरु बुद्धिजीवीहरूमार्फत सांस्कृतिक सम्मति निर्माण गरेर शासन गर्छ ।

संस्थागत विरोधीलाई ‘पुराना’ देखाउने रणनीति

लोकतान्त्रिक संस्थाहरू (न्यायपालिका, प्रेस, निर्वाचन आयोग, विश्वविद्यालय आदि) को पक्षमा उभिनेहरूलाई ‘पुराना’, ‘एलिट’ वा ‘जनताविरोधी’ हुँदै वाम र मार्क्सवादीसम्मका शब्दको दुरुपयोग गरेर लल्कार्ने रणनीति पपुलिस्ट वैचारिकीको झुसिलो डकार हो । यसलाई राजनीतिशास्त्री जान वारेन मुलरले भनेजस्तै ‘पुरानो व्यवस्थाको भत्काइ’ (रप्चर) का रूपमा फ्रेम गरेर लोकतान्त्रिक पक्षधरहरूलाई ‘यथास्थितिको रक्षक’ वा ‘प्रगतिविरोधी’ का रूपमा बदनाम अभियान चलाउनु कुनै अनौठो कुरा होइन । यस हिसाबले हेर्दा राजनीतिक संस्थाहरूको सबलीकरणका बारेमा वकालत गरेर लोकतन्त्रलाई सुदृढीकरण गर्नुपर्ने सिद्धान्तकार तथा नोबेल पुरस्कृत प्रभावशाली विद्वान् जोसेफ स्टिग्स्लिजहरू पनि यथास्थितिवादी बन्न पुगेमा कुनै अनौठो हुनेछैन ।

किन बुद्धिजीवीहरूलाई यस्तो स्थितिमा पुग्न बाध्य बनाउँछ त ? नयाँ व्यवस्थामा सान्दर्भिकता खोज्ने चाहनाले उनीहरूलाई वैचारिक विमर्शकर्ताबाट ‘बौद्धिक व्यवसायी’ बनाउन पुगेको मान्नुपर्छ । पम्परागत उदारवादी सहमतिप्रति साँच्चिकै वा बनावटी असन्तुष्टि प्रकट गर्नु यस्ता व्यवसायीहरूको दैनिकी बन्न पुग्छ । उनीहरू पपुलिस्ट आन्दोलनको ‘ऊर्जा’ र ‘जनसमर्थन’ देखेर त्यसलाई नै ऐतिहासिक अनिवार्यता ठान्न पुग्छन् । यसो भएपछि व्यक्तिगत महत्त्वाकांक्षा र पद–प्राप्तिको अपेक्षा त स्वाभाविक नै भयो । 

हार्वर्डका राजनीतिशास्त्री स्टेभन लेभिटिस्की र डेनिअल जिब्लाट्ले ‘हाउ डेमोक्रेसी डाइ (२०१८)’ कृतिको निष्कर्षका रूपमा भन्छन्– लोकतन्त्र प्रायः बाहिरी आक्रमणबाट होइन, भित्रैबाट मर्छ र यस प्रक्रियामा बुद्धिजीवीहरूको मौनता वा सक्रिय सहयोग (उछलकुद) निर्णायक हुन्छ । जब बुद्धिजीवी वर्गले संस्थाहरूको क्षयलाई ‘आवश्यक परिवर्तन’ का रूपमा स्वीकार गर्छ, त्यो लोकतन्त्रको अन्त्यको सुरुआत हो ।

येल विश्वविद्यालयका इतिहासकार टिमोटी स्नाइडरले अधिनायकवाद (२०१७) मा बीसौं शताब्दीका अधिनायकवादी शासनहरूको ऐतिहासिक सार खिच्दै लेखेको वाक्य ठ्याक्कै हालैका नेपाली सन्दर्भकै लागि जस्तो प्रतित हुन्छ– ‘अधिनायकवाद सफल हुने मुख्य कारण भनेको बुद्धिजीवीहरूले कुनै आदेश नआउँदै आफैं शासकको इच्छा अनुमान गरेर पालना गर्छन् ।’ स्ट्यानफोर्डको प्रसिद्ध ‘जेल प्रयोग’ गरेका फिलिप जिम्वार्डो र जोन जस्टको ‘सिस्टम जस्टिफिकेसन थ्योरी’ अनुसार, मानिसहरूमा (विशेषगरी जो प्रभावशाली व्यवस्थाको अंग छन्) विद्यमान शक्ति संरचनालाई न्यायोचित ठान्ने मनोवैज्ञानिक प्रवृत्ति हुन्छ । यस्तै स्थिति नेपालमा पनि देखिएको छ । यसलाई धेरै सान्दर्भिक रूपमा पुत्लिजर पुरस्कार विजेता अन्ने एप्पलबामले ‘ट्विलाइट अफ डेमोक्रेसी (२०२०)’ मा आफ्नै पूर्वमित्रहरूको बौद्धिक पतनको चिरफार हाम्रा सन्दर्भमा ठ्याक्कै मिल्ने गरी केदार शर्मा, सनित्य कालिका र सुजित महतहरूले सम्हालेको देखिनु एक सुखद संयोग हो । एप्पलबाम भन्छिन्– पपुलिस्ट आन्दोलनमा सामेल बुद्धिजीवीहरू प्रायः ती व्यक्ति हुन्, जो उदार लोकतन्त्रवादी संस्थापनमा आफूले अपेक्षित स्थान नपाएको महसुस गर्छन् । त्यसकै झोंक फेर्न उनीहरू भुइँ न भाडाका पपुलिस्टहरूबाट पुरस्कृत हुने अपेक्षा गर्दछन् ।

नेपालको राजनीतिक इतिहासमा यस्तो प्रवृत्ति कुनै नयाँ परिघटना भने अवश्य नै होइन । पञ्चायतकालमा आलोचनात्मक भूमिका खेलेका अनेक साहित्यकार तथा पत्रकारहरूले कालान्तरमा निरंकुशताको गुणगानमा स्खलित भएका घटनाहरूको कमी छैन । लोकतान्त्रिक कालखण्डमा (माओवादी युद्धकालदेखि संक्रमणकालसम्म) बुद्धिजीवी वर्गमा यस किसिमको वैचारिक स्खलनको तमासा बारम्बार प्रहसन हुँदै आएको छ । समकालीन नेपालमा संस्थागत लोकतन्त्र र कानुनको शासनको पक्षमा उभिनेहरूलाई ‘डिपार्चरबाट तर्सेको परम्परावादी वृत’ भन्दै दुत्कारेर पपुलिस्ट राजनीतिलाई ‘परिवर्तन’को मसिहा देखाउने प्रवृत्ति वास्तवमा लोकतान्त्रिक प्रणाली र संस्थाहरूमाथि नै प्रहार गरेर निजी तुष्टीकरण गर्ने मनसुवाभन्दा बढी केही हुन सक्दैन भन्ने स्पष्ट छ । 

बौद्धिक दिवालियापन एक क्रमिक प्रक्रिया हो, जसमा स–साना सम्झौताहरू जम्मा भएर गम्भीर बौद्धिक पतन हुन्छ । समाजशास्त्री कार्ल पपरले भनेझैं ‘बौद्धिक स्वतन्त्रताको मूल्य पनि निरन्तर आत्म–सचेतता हो ।’ हामीले हेक्का राख्नुपर्ने के हो भने संस्थाहरूको आलोचना गर्नु र संस्थाहरूलाई नष्ट गर्ने शक्तिको साथ दिनु, वास्तवमै दुई भिन्न आयाम हुन् । यो भेद नबुझ्नु वा बुझेर पनि बेवास्ता गर्नु नै बौद्धिक दिवालियापनको सबैभन्दा कमजोर अभिव्यक्ति हो ।

वैचारिक दिवालियापनले पुर्‍याउने क्षतिले व्यक्तिको विचार बदलिने मात्र नभएर समाजको चेतना र विवेकको जग पनि भत्काउँछ । जब लेखक, विश्लेषक र बुद्धिजीवीहरू सत्यको खोजी र सत्ताको आलोचना गर्नुको साटो सत्तासीनहरूको स्वार्थ रक्षाको ‘ढाल’ बन्छन्, तब समाज वैचारिक रूपमा अनाथ बन्न पुग्छ भन्ने मानिन्छ । पपुलिस्ट नेताहरूप्रतिको लहरलाई ‘युगान्तकारी परिवर्तन’ देख्नु र स्थापित लोकतान्त्रिक संस्थाको चिरहरणमा ताली पड्काउनु बौद्धिक बेइमानी हो । साँच्चिकैको बौद्धिक त्यो हो, जो समयको भेलसँगै बग्दैन, बरु मूल्य र मान्यताको पहरेदारीका लागि कुँडाकर्कटपूर्ण खहरे विपरीत धारमा पनि दृढतापूर्वक उभिइरहन्छ । नेपाल जस्ता संक्रमणकालीन समाजमा यही महामारीको ठूलो खतरा छ, किनकि सत्ता परिवर्तनले धेरैलाई ‘नयाँ युग’ को सपना देखाएको हुन सक्छ । तर सच्चा बुद्धिजीवीको पहिचान सत्य खोज्ने र सत्ताको सामु नझुक्ने गुण हो ।

शुभशंकर नेपाल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका पत्रकार शुभशंकर कँडेल समसामयिक बिषयमा लेख्छन् ।

Link copied successfully