प्रधानमन्त्रीले बोल्नुपर्छ कि पर्दैन ?

यदि प्रधानमन्त्रीले नबोलेरै काम चलाउने हो भने नागरिक र सरकारबीचको सम्बन्ध बन्छ कसरी ? आलोचना र समर्थनको सिलसिला स्थापित हुन्छ कसरी ? जवाफदेहिता बढ्छ कसरी ? सायद, त्यसपछि सत्ता ‘अनुमान’ मा चल्न थाल्छ ।

जेष्ठ ५, २०८३

केशव दाहाल

Should the Prime Minister speak or not?

What you should know

 

यदि तपाईं प्रधानमन्त्री वालेन्द्र शाहको समर्थक हुनुहुन्छ भने सुरुमा नै स्पष्ट गर्छु, यो उनका नाममा लेखिएको लेख होइन । यदि तपाईं वालेन्द्र शाहको गुनगान वा स्तुति मात्र सुन्न चाहनुहुन्छ भने तपाईंलाई भनिहालौं, यो लेखले तपाईंलाई निराश बनाउनेछ । र, कतै तपाईंलाई वालेन्द्र शाहको मात्र आलोचना पढ्दा स्वाद आउँछ भने तपाईंलाई पनि भनिहालौं, यो लेख तपाईंका लागि स्वादिलो छैन । अवश्य नै, यो लेखको केन्द्रीय प्रश्न वालेन्द्र शाहबाट सुरु हुन्छ ।

यद्यपि, यहाँ कुरा गरिएको छ, प्रधानमन्त्री पदको । किनभने, यो लेख प्रधानमन्त्रीले बोल्नुपर्छ (संसद्मा) कि पर्दैन, कति बोल्नुपर्छ वा नबोल्दा के हुन्छ भन्ने प्रश्नमा केन्द्रित छ । यसर्थ नै, यहाँ आउने वालेन्द्र प्रसंगका एक पात्र मात्र हुन् । खासमा यो लेखले उठाउन खोजेको सैद्धान्तिक प्रश्न हो, लोकतान्त्रिक मान्यता र शासकीय उत्तरदायित्वको । जो प्रधानमन्त्रीले बोल्ने कि नबोल्ने वा कहाँ बोल्ने र कति बोल्ने भन्ने कुरासँग सिधा जोडिएर आउँछ ।

यस सन्दर्भको उत्पत्ति कसरी भयो जगजाहेर छ । यद्यपि, स्मरण गराउँ, अहिले हामीकहाँ दुइटा रोचक बहसका केन्द्रहरूबीच सवाल–जवाफ जारी छन् । एउटा बहसको केन्द्रले भन्छ, प्रधानमन्त्रीले संसद्मा बोल्नुपर्छ । र, अर्कोले भन्छ, प्रधानमन्त्रीले बोलिरहन आवश्यक छैन, चुपचाप काम गरे पुग्छ । प्रधानमन्त्री बोल्नुपर्छ भन्नेहरू ठान्छन्, संसद्मा बोल्नु प्रधानमन्त्रीको नैतिक जिम्मेवारी मात्र होइन, निर्वाचित जनप्रतिनिधिहरूको सम्मान र प्रश्नहरूप्रतिको जवाफदेहिता हो । यो लोकतन्त्रको आत्मासँग जोडिएको प्रश्न हो । तर यसको विपरीत धारणा राख्नेहरू ठान्छन्, ‘किन बोल्नुपर्‍यो ? काम गरे भइहाल्यो ।’ खासमा पहिलेका प्रधानमन्त्रीहरू धेरै बोलेर कुरा बिग्रिएको ठान्नेहरूलाई लाग्छ, नयाँ प्रधानमन्त्रीले धेरै बोल्ने परम्परा तोड्नुपर्छ ।

यहाँ जसले प्रधानमन्त्री बोल्नुपर्छ भनिरहेका छन्, उनीहरूको धारणा छ, बोल्नु भनेको बकबक गर्नु, हल्ला गर्नु, चुट्किला भन्नु वा काम रोकेर बोलिरहनु भनेको होइन । अवश्य नै, यहाँ जिम्मेवारीका साथ बोल्नुपर्छ भनिएको हो । किनभने धेरै बोल्नुको विकल्प बोल्दै नबोल्नु होइन, ठिक्क बोल्नु हो । र, यहाँ बोल्नु भनेको न त उडन्ते कुरा गर्नु हो, न त गैरजिम्मेवार हुनु हो । वस्तुतः यहाँ बोल्नु भनेको निरर्थक भाषण गर्नु, फोस्रा कुरा गर्नु वा सार्वजनिक खपतमा रमाउनु भनेको पनि होइन । यहाँ प्रधानमन्त्री बोल्नुपर्छ भनेर मानिसहरू जे भनिरहेका छन्, त्यसको अर्थ उत्तरदायी हुनु हो ।

आम रूपमा उठेका प्रश्नहरूको जवाफ दिनु, आफ्ना नीति र कार्यक्रममा देखिएका संशय निर्मूल गर्नु र सार्वजनिक आशंकालाई सम्बोधन गर्नु हो । यहाँ, जसले प्रधानमन्त्री बोल्नुपर्छ भनिरहेका छन्, उनीहरूको तर्क छ, प्रधानमन्त्रीले आफ्नो प्रयोजन बताउनुपर्छ । आफ्नो सपना बताउनुपर्छ । किनभने त्यसपछि मात्र मानिसमा निहित दुविधाहरू हट्छन्, प्रश्न सकिन्छन् र आशा जागृत हुन्छन् । यहाँ प्रधानमन्त्रीले संसद्मा बोल्नुपर्छ भन्नुको अर्थ संस्थाप्रतिको सम्मान हो । यस्तो संस्था, जसलाई जनताको प्रतिनिधिका रूपमा स्थापित गरिएको छ । 

स्पष्ट गरौं, यहाँ प्रधानमन्त्रीलाई ‘प्रभु, केही त बोलिदेऊ’ भनेर बिन्ती बिसाउन खोजिएको होइन । यहाँ प्रधानमन्त्रीलाई ‘महोदय, तपाईंको मुखारविन्दबाट केही पवित्र शब्दहरू सुन्न सारा प्रजाजन आतुर छन्’ भनेर याचना गर्न खोजिएको होइन । यहाँ उनको भाषण रोचक हुन्छ र त्यसले नेपाली राजनीतिलाई नवीन दिशा दिन्छ, त्यसैले महोदय कृपया बोलिदेऊ भनेर भाउ दिन खोजिएको पनि होइन । र, यहाँ बोल्नु भनेको काम नगरी बोली बस्नु भनेको पनि होइन । यहाँ बोल्नु भनेको जवाफ दिनु भनेको हो ।

संसदीय लोकतन्त्रमा प्रधानमन्त्री सधैं संसद्प्रति उत्तरदायी हुन्छ । अतः संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनु प्रत्येक कार्यकारीको जिम्मेवारी हो । अन्यथा, कुनै प्रधानमन्त्री आफूलाई संसद्भन्दा माथि ठान्छ भने त्यो अहंकार हो । त्यो नागरिक अभिमतप्रति अपमान हो । त्यो सर्वसत्तावाद हो । र, भ्रमवश नै सही, यदि कुनै प्रधानमन्त्री संसदीय दायित्वबाट भाग्छ भने त्यो पतनको प्रारम्भ हो । जसले स्पष्ट गर्छ, ऊभित्र थोरै पनि लोकतान्त्रिक चरित्र र जिम्मेवारीबोध छैन । यसर्थ नै प्रधानमन्त्रीले संसद्बाट भाग्न वा त्यसलाई छल्न मिल्दैन । त्यसो गरियो भने त्यसबाट जनप्रतिनिधिमूलक संस्थाको अपहेलना र मानमर्दन हुन्छ । यसले कार्यकारीलाई मैमत्त बनाउँछ । यो शक्ति पृथकीकरणको सिद्धान्त बाहिरको कुरा हो । र, हो खतरनाक, अलोकतान्त्रिक र गैरजिम्मेवार अवस्था ।

जहाँसम्म ‘काम गरे भइहाल्यो’ भन्ने तर्क छ, अवश्य नै सतहमा हेर्दा यो तर्क आकर्षक देखिन्छ । तर यो विचारभित्र निहित छन् अन्योल, असमझदारी र पूर्वाग्रहहरू । जस्तो, पहिलो कुरा त कामलाई कसरी परिभाषित गर्ने ? अथवा, यहाँ काम भनेर के भन्न खोजिएको हो ? किनभने एउटा प्रधानमन्त्री संसद्प्रति (मतदाताप्रति) जवाफदेही हुने कुरा आफैंमा काम होइन र ? दोस्रो, कामको औचित्य कसरी पुष्टि हुन्छ ? कामको कुनै योजनाबद्ध सिलसिला हुन्छ कि यो मात्र प्रधानमन्त्रीले सनकमा गर्ने कुरा हो ? तेस्रो, काम कसरी भइरहेको छ, त्यसको पारदर्शिता सुनिश्चित गर्न आवश्यक हुँदैन ? चौथो र मुख्य कुरा, यदि कामप्रति नै प्रश्न उठ्यो भने त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ कि पर्दैन ? त्यसैले यहाँ ‘काम गरे भइहाल्यो’ भन्ने तर्क उत्तरदायित्वविहीन तर्क हो । किनभने काम जति नै महत्त्वपूर्ण हुन्छ, काममाथि गर्नुपर्ने संवाद । अझ यसो भन्न सकिन्छ कि, कहिलेकाहीं बोल्नु पनि काम हो । र, यहाँनेर प्रधानमन्त्रीबाट त्यही कामको अपेक्षा गरिएको हो ।

अन्यथा, लोकतान्त्रिक व्यवस्थामा पनि तानाशाहीमा झैं प्रधानमन्त्रीको मुड हेरेर उनी के सोचिरहेका छन् अनुमान लगाउनुपर्ने समय आयो भने त्योभन्दा चुत्थो, अराजनीतिक र अलोकतान्त्रिक समय अरू के हुन्छ ? यसैकारण भनिएको हो कि प्रधानमन्त्रीले आफ्ना नीति, प्राथमिकता र कार्यक्रमबारे संसद्मार्फत नागरिकलाई जानकारी दिनुपर्छ । आवश्यकता अनुसार, सञ्चारमाध्यमसँग समय–समयमा संवाद गर्नुपर्छ । किनभने यसले केवल सूचना मात्र प्रवाह गर्दैन, सरकार र नागरिकबीच विश्वासको सेतु पनि निर्माण गर्छ । कतिपय अवस्थामा सिर्जना हुने संशयहरू मेटिन्छन् र मानिसमा अपार आशाहरू जागृत गर्छ ।

प्रश्न उठ्छ, यदि प्रधानमन्त्री मौन बस्छन् भने के हुन्छ ? कतिपय मानिसहरू जो प्रधानमन्त्रीलाई अन्धविश्वासका साथ समर्थन गर्छन्, उनीहरू ठान्छन्, ठिकै हुन्छ । उनीहरू भक्तिभावसाथ भन्न सक्छन्, प्रधानमन्त्री गल्ती गर्दैनन्, त्यसैले उनले जवाफ दिन आवश्यक हुँदैन । कतिपय सेवकहरूलाई लाग्न सक्छ, प्रधानमन्त्री सर्वाधिक योग्य छन्, त्यसैले उनले आफ्नो योग्यता बोलेर प्रमाणित गरिरहन पर्दैन । यस्तो सोच त चाकडी भयो । यो त अन्धविश्वास भयो । अन्धविश्वासले न त राज्य चल्छ, न त राजनीति ।

विचार गरौं, त यदि प्रधानमन्त्रीले नबोलेरै काम चलाउने हो भने नागरिक र सरकारबीचको सम्बन्ध बन्छ कसरी ? आलोचना र समर्थनको सिलसिला स्थापित हुन्छ कसरी ? जवाफदेहिता बढ्छ कसरी ? सायद, त्यसपछि सत्ता ‘अनुमान’ मा चल्न थाल्छ । जब सरकार के गर्दै छ भन्ने कुरा अनुमान गर्नुपर्ने हुन्छ, तब बिस्तारै लोकतान्त्रिक मूल्यहरू क्षय हुन थाल्छन् । त्यसैले नै भनिएको हो कि संसद्मा उपस्थित नहुनु, प्रश्नहरूको जवाफ नदिनु वा संवादबाट टाढा रहनु प्रधानमन्त्रीका लागि अवाञ्छित कुरा हो । यसलाई कसैको व्यक्तिगत शैली भनेर पन्छाउन मिल्दैन, यो लोकतान्त्रिक राजनीतिको पतनको प्रारम्भ हो । यसलाई कसैगरी क्षमा दिन वा स्वीकार गर्न सकिँदैन ।

बुझ्नुपर्ने कुरा के हो भने लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीले ‘बोल्नु’ केवल औपचारिकता मात्र होइन, यो हो उसको नैतिक र संस्थागत विश्वसनीयताको आधार । विश्वका विभिन्न अनुभवहरूले देखाउँछन् कि नेतृत्वको बोलीले धेरै कुराको समाधान गर्छ । जस्तो भनिन्छ, कुनै बेला आन्तरिक द्वन्द्वले क्षतविक्षत दक्षिण अफ्रिकामा जब रंगभेदविरोधी क्रान्ति सम्पन्न भयो, गोराहरूमाथि प्रतिशोध साँधिने ठूलो जोखिम थियो । तर, राष्ट्रपतिका रूपमा नेल्सन मण्डेलाले जब सबैका लागि न्याय, शान्ति र समृद्धिको मन्तव्य दिए, सारा कुरा सम्हालिएर गयो ।

बोल्नु किन आवश्यक छ भन्ने कुराको यो निकै सशक्त दृष्टान्त हो । त्यसैगरी, सन् २०१९ मार्चमा न्युजिल्यान्डमा भएको गोलीकाण्डपछि त्यहाँकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले दिएको सार्वजनिक सम्बोधनलाई पनि बोलीको शक्तिका रूपमा मानिसहरूले चर्चा गर्दछन् । आतंकवादी हमलापछि न्युजिल्यान्डमा त्रास, द्वन्द्व र अराजकता बढेका बेला तत्कालीन प्रधानमन्त्री जेसिन्डा आर्डर्नले जे बोलिन् त्यो केवल एउटा मन्तव्य थिएन, त्यो तत्कालीन अवस्थाका लागि सरकार र नागरिकबीचको भावनात्मक एकता, धार्मिक सहिष्णुता र नैतिक दायित्वको सन्देश थियो ।

संसद्मा प्रश्न–उत्तर किन आवश्यक छ भन्ने बुझ्न बेलायतको अभ्यास निकै रोचक हुन सक्छ । त्यहाँ प्रधानमन्त्री प्रत्येक हप्ता संसद्मा गएर सदस्यका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिनुपर्छ । यो कार्यक्रम हरेक बुधबार दिउँसो १२ बजे हाउस अफ कमन्समा बैठक भइरहेका बेला सञ्चालन हुन्छ । औपचारिक रूपमा यसको समय ३० मिनेटका लागि तय गरिएको भए पनि आवश्यकता र स्पिकरको निर्णय अनुसार यो समय लम्बिन सक्छ । हुन्छ के भने प्रश्न–उत्तर सत्र प्रारम्भ हुनासाथ प्रधानमन्त्रीलाई पहिलो प्रश्न गरिन्छ, ‘तपाईंका आजका कार्यक्रमहरू के–के छन् ?’

प्रधानमन्त्रीको व्यस्तता र कामका आधारमा त्यसपछि प्रश्न–उत्तर प्रारम्भ हुन्छ । र, तत्कालीन, संवेदनशील वा विवादास्पद राजनीतिक विषयहरू प्रश्न–उत्तरको क्रममा उठ्छन् । त्यहाँ विपक्षी दलका नेताले सामान्यतया लगातार केही प्रश्नहरू सोध्ने मौका पाउँछन् र प्रधानमन्त्रीलाई चुनौती दिन सक्छन् । यो अभ्यासको महत्त्वपूर्ण सन्देश के भने लोकतन्त्रमा प्रधानमन्त्री केवल कार्यकारी प्रमुख मात्र होइन, ऊ संसद्प्रति प्रत्यक्ष रूपमा जवाफदेही अधिकारी हो ।

यी त केही उदाहरणहरू मात्र हुन्, जसले स्पष्ट गर्छन्, प्रधानमन्त्रीले संसद्मा बोल्नुपर्छ भन्नु याचना होइन, आवश्यकता हो । अझ नयाँ नेता, जसले पहिलो पटक सत्ता सञ्चालन गर्छ, उसले त झन् धेरै प्रश्नहरूको सामना गर्नुपर्छ र जवाफ दिनुपर्छ । जसले गर्दा जनताबीच उसको परिचय स्थापित होस् र मतदाताहरू आश्वस्त हुन सकून् । त्यसैले यहाँ प्रश्न ‘प्रधानमन्त्री किन बोल्ने ?’ होइन, बरु ‘प्रधानमन्त्री कहिले, कसरी र किन नबोल्ने ?’ भन्ने हो । 

यद्यपि, यो सबै भन्नुको अर्थ प्रधानमन्त्रीले अनावश्यक वक्तव्य, प्रचारमुखी भाषण वा निरन्तर सार्वजनिक खपतका लागि बोल्न आवश्यक छैन । तर खास समय, स्थान र सन्दर्भमा प्रधानमन्त्रीले स्पष्ट, जिम्मेवार र तथ्यपरक भई बोल्नैपर्छ । यहाँनेर स्पष्ट गरौं, ‘कम बोल्ने तर ठीक समयमा सही कुरा बोल्ने’ शैली नै योग्यतम् प्रधानमन्त्रीको आदर्श चरित्र हो । अन्यथा प्रधानमन्त्री संसद्मा पनि नबोल्ने हो भने व्यवस्थापिकालाई कार्यपालिकाले हेपेको ठहरिन्छ । जनप्रतिनिधिमूलक व्यवस्थापिकालाई कार्यकारीले हेप्नु सर्वाधिक अलोकतान्त्रिक र असभ्य कुरा हो । यो स्वीकार्न सकिने कुरा होइन ।

केशव केशव दाहाल राजनीतिक-सामाजिक अभियान र लेखनमा सक्रिय छन् । राजनीतिक विश्लेषक र साहित्यकार दाहालकाे उपन्यास मोक्षभूमिले पद्मश्री साहित्य पुरस्कार पाएकाे थियाे ।

Link copied successfully