कम्युनिस्ट पार्टीको दुःखान्त

जसको मुक्तिको एजेण्डामा कम्युनिस्ट पार्टी बने, तिनकै मागलाई खारेज गर्ने कम्युनिस्ट पार्टीलाई जनताले साथ दिनुको औचित्य रहँदैन ।

जेष्ठ १, २०८३

जेबी विश्वकर्मा

The tragedy of the Communist Party

What you should know

वामपन्थी शक्ति कुनै निश्चित कम्युनिस्ट पार्टीका प्रमाणपत्र प्राप्त व्यक्ति मात्रै होइनन्, समाजको अग्रगामी रुपान्तरण वा यथास्थितिवादको अन्त्य गर्दै प्रगतिशील आर्थिक–राजनीतिक र सामाजिक रुपान्तरण गर्ने शक्ति हुन् । वामपन्थी शक्तिलाई बुझ्दा आर्थिक–सामाजिक रुपान्तरण चाहने सबै कम्युनिष्ट वामपन्थी हुन सक्छन् तर सबै वामपन्थी कम्युनिस्ट नहुन पनि सक्छन् । नेपाली राज्य, अर्थतन्त्र र समाजको आमूल परिवर्तनका पक्षधर वामपन्थी शक्ति ठूलै छ । राजनीतिक व्यवस्था, अर्थतन्त्र, सामाजिक–सांस्कृतिक क्षेत्रको द्वन्द्वात्मक अन्तरसम्बन्धको विश्लेषण गरी आमूल परिवर्तनबाट जनतालाई बलियो बनाउनु वामपन्थी राजनीतिको मूल चरित्र हो । सैद्धान्तिकरुपमा वामपन्थी विचारले आधारभूत वर्गको पक्षपोषण गर्छ र वर्गीय विभेदको अन्त्यका लागि संघर्ष गर्छ । सामाजिक समावेशीकरण र सामाजिक न्यायमा आधारित अग्रगामी सामाजिक–आर्थिक रुपान्तरण वामपन्थी राजनीतिक आधारभूत वैचारिकी हो । यो वैचारिकीले राज्यका सबै अवयवका साथै राजनीतिक पार्टी वा सामाजिक संगठनमा सामाजिक विविधताको अर्थपूर्ण प्रतिनिधित्वको सुनिश्चितता खोज्छ भने जातजाति, लिङ्ग, भाषा, धर्म, समुदाय र संस्कृतिका आधारमा हुने सबै किसिमको विभेद, बहिस्करण, हिंसा र अन्यायको अन्त्यका लागि संघर्ष गर्छ । यो शक्ति राष्ट्रिय स्वाधीनताका पक्षमा दृढतापूर्वक लड्छ भने साम्राज्यवादी प्रभुत्व र पुँजीवादी उत्पीडनको खिलाफमा संघर्ष गर्छ भन्ने विश्वास गरिन्छ । तर, यस्ता सैद्धान्तिक दृष्टिकोण व्यवहारमा अभ्यास भएन भने त्यसले खासै अर्थ राख्दैन । 

नेपालको निरङ्कुश र सामन्ती व्यवस्थाको अन्त्य गर्न बिगतमा वामपन्थी शक्तिको भूमिका प्रभावकारी रह्यो । जहानीयाँ राणा शासनको अन्त्यदेखि राजतन्त्रको अन्त्यसम्म अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा वामपन्थी राजनीतिक शक्तिका साथै लोकतान्त्रिक शक्तिको उत्तिकै महत्वपूर्ण भूमिका रह्यो । अझ नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राज्यको पुनर्संरचना गर्ने कामको वैचारिक जग बसाल्ने, संघर्ष गर्ने र संस्थागत गर्ने कामको वैचारिक नेतृत्व कम्युनिस्ट पार्टीले पनि गरेको देखिन्छ । राजनीतिक व्यवस्था परिवर्तन भए पनि नेपाली समाजमा आर्थिक असमानताको खाडल गहिरिँदैछ । धनी झन–झन धनी हुने र गरिब झन–झन गरिबीको दुष्चक्रमा धकेलिँदै गइरहेका छन् । देशको शासन व्यवस्था दक्षिणपन्थी गतिमा बेगवान हुँदैछ । जनताको आवाजको सुन्नेभन्दा शासकको मनोमानी र तजबिजीका निर्णय लागू गर्ने प्रयत्न भइरहेको छ । सरकारले शासकीय सुधारका प्रयत्न गर्ला तर देशले आमूल सामाजिक–आर्थिक रुपान्तरणको मुद्दा यो सरकारको प्राथमिकतामा छैन । आधारभूत वर्ग, महिला, श्रमजीवि र सीमान्तीकृत समुदायका सवालप्रति सरकारलाई कुनै चासो देखिँदैन । सरकारको नीति तथा कार्यक्रमले पनि यो विषय स्पष्ट पारिसकेको छ । यस्तो परिवेशमा प्रगतिशील वामपन्थी शक्तिलाई मैनता साँध्ने छुट छैन ।

कम्युनिस्ट पार्टीको हविगत 
नेपालका वामपन्थी कम्युनिस्ट पार्टीहरुलाई जनताले लामो समयदेखि साथ दिँदै आएका हुन् । देशको राजनीतिक व्यवस्था परिवर्तनदेखि संसदीय निर्वाचनमा पनि जनताले कम्युनिस्ट पार्टीलाई साथ दिए । बिगतका निर्वाचन परिणामसँग तुलना गर्ने हो भने कम्युनिस्ट पार्टीले अहिले जति जनताको विश्वास कहिल्यै गुमाएका थिएनन् । संसदीय राजनीतिमा अंकगणितको महत्वपूर्ण अर्थ रहन्छ तर संसदमा कम्युनिस्ट पार्टीको प्रतिनिधित्वको रफ्तार अत्यन्तै तीब्र बेगमा घटिरहेको छ । २०७४ मा संसदमा कम्युनिस्ट नामका पार्टीको झण्डै ६३ प्रतिशत प्रतिनिधित्व थियो भने २०७९ मा घटेर ४४ प्रतिशतमा पुग्यो । २०८३ को निर्वाचनमा त करिब १५ प्रतिशतमा खुम्चिन पुगेको छ । करिब एकदशकमा कम्युनिस्ट पार्टीले किन यति रफ्तारमा जनमत गुमाउन पुगे ? के नेपालको संसदीय राजनीतिमा कम्युनिस्ट पार्टीको औचित्य समाप्तीको दिशातिर गएको हो ? वा कम्युनिस्ट पार्टीले जनताका एजेण्डा छोडेका कारण वा जनताका सपनामाथि गरिएको धोकाधडीको बदला पाएका हुन् ? वा, समयसापेक्ष विचार, दृष्टिकोण, नीति र कार्यक्रमको विकास गर्न र नयाँ आर्थिक–राजनीतिक र सामाजिक परिवेशअनुसार नयाँ विचार र नेतृत्व स्थापित गर्न नसकेका हुन् ? कम्युनिस्ट पार्टीको यस्तो हबिगत हुँदा पनि अझै पार्टीहरु विचार, दृष्टिकोण, नेतृत्व, नीति र कार्यक्रमबारे समीक्षा गर्न र रुपान्तरित हुन तयार देखिँदैनन् । यसले नेपालको वामपन्थी राजनीतिलाई मात्रै कमजोर बनाएको छैन, आधारभूत वर्गको मुक्तिको अभिलासामाथि पनि धोका भएको छ ।

सिद्धान्ततः वामपन्थी पार्टीले सडक, संसद् वा सत्तामा रहँदा देशको प्रगतिशील आर्थिक–सामाजिक रुपान्तरणमा काम गर्नुपर्छ । तर, नेपालका वामपन्थी दलहरु सत्ताबाहिर रहँदा वामपन्थीजस्ता देखिने तर उनीहरूले नै सत्तामा रहँदा भने कुनै पनि प्रगतिशील रुपान्तरणको काम गर्न सकेनन् । भूमिहीन, गरिब, सुकुम्बासीको मुक्तिको मुद्दा वामपन्थीले सधैंभरि उठाए । तर, सत्तामा पुगेपछि ती समस्या हल गर्ने कुनै पनि कार्यक्रम बनाएनन् । सामन्ती शोषण र दमनबाट बिक्षिप्त बनेका गरिबको आर्थिक जीवनमा रुपान्तरण गर्ने कुनै नीति बनेन । बरु पुँजीपतिसँगको साँठगाँठमा बिचौलिया मौलाउने र धनीलाई मनमौजी गर्ने वातावरण बनाउन सरकारी कम्युनिस्ट दलहरु नै उद्दत रहे । वर्गीय मुक्तिका लागि लड्ने नेतृत्व र कार्यकर्ताको वर्ग उत्थान भयो, तर दिनको १२ घण्टा काम गर्दा पनि महिनामा १० हजार पारिश्रमिक नपाउने श्रमिकको वर्ग रुपान्तरणको दिशातिर एकरति काम गरेनन् । भूमिहीन, सुकुम्बासी र कमजार आर्थिक अवस्थामा जीवन बाँच्न विवश हलिया, हरवा, चरवा, पूर्व कमैया र अनौपचारिक क्षेत्रका श्रमजीविको वर्गीय समस्या हल गर्नु नीति, कार्यक्रम र योजना कहिल्यै ल्याएनन् । अहिले पनि लाखौंका संख्यामा श्रमजीवि जनता पुँजीपति शोषणको शिकार भइरहेका छन् । देशभित्र मात्रै होइन, वैदेशिक रोजगारीमा गएका लाखौंका संख्यामा रहेका आप्रवासी श्रमिकमाथि राज्य, व्यावसायी, विचौलिया र विदेशी कम्पनीहरुले चरम लुट मच्चाइरहेका छन् । तर, श्रमजीविको हितमा काम गर्छु भन्ने कम्युनिस्ट पार्टीहरुका लागि ती मुद्दाले कुनै सरोकार राखेनन् ।

बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि सुकुम्बासी, श्रमजीवि र गरिब वर्गमाथि चरम दमनको श्रृङ्खला सुरु भएको छ । सरकारले गरिब र सुकुम्बासीलाई आशु बगाउन बाध्य बनाएको छ । सत्ताले बन्दुक देखाएर सुकुम्बासीमाथि गरेको डोजर आतंकलाई कम्युनिस्ट नामधारी पार्टीहरु टुलुटुलु हेरिरहेका छन् । कम्युनिस्ट आन्दोलनमा जीवन बलिदानी गर्न तयार श्रमजीवि वर्गले अपमानित जीवन बाँचिरहादा वा राज्य आतंकका कारण आँशुको आहालमा डुबिरहँदा कम्युनिस्ट पार्टीहरु रमिते बनिरहेका छन् । जसको मुक्तिको एजेण्डामा कम्युनिस्ट पार्टी बने, तिनकै मागलाई खारेज गर्ने कम्युनिस्ट पार्टीलाई जनताले साथ दिनुको औचित्य रहँदैन । संसदीय कम्युनिस्ट पार्टीले यी मुद्दामा गम्भीरतापूर्वक समीक्षा नगर्ने हो भने उनीहरूले प्रगतिशील सामाजिक–आर्थिक रुपान्तरणको अभिष्ट पूरा गर्न सक्दैनन् । 

नेपालका वामपन्थी दलहरु सत्ताबाहिर रहँदा वामपन्थीजस्ता देखिने तर उनीहरूले नै सत्तामा रहँदा भने कुनै पनि प्रगतिशील रुपान्तरणको काम गर्न सकेनन् । कम्युनिस्ट पार्टी नेतृत्वको सबैभन्दा ठूलो कमजोरी जनताबाट आर्जित शक्तिलाई सत्ता स्वार्थमा दुरुपयोग गर्नु नै हो । गठबन्धन, तिकडम, जालझेल जे गरेर भए पनि सत्तामा पुग्ने र पार्टीको निश्चित सिन्डिकेटमा रहेका व्यक्तिलाई पटक–पटक अवसर दिने प्रवृत्तिले पनि संसदीय कम्युनिस्ट पार्टीको यो हविगत बनाएको हो । स्वाभाविकरुपमा उत्पीडित समुदायको संघर्ष र माओवादी जनयुद्धले नेपालमा समानुपातिक समावेशी प्रतिनिधित्वको एजेण्डालाई राजनीतिकरुपमा उठायो । तर, तिनै पार्टीको मुख्य निर्णायक पदमा अहिले पनि एउटै जातजाति, वर्ग र लिंगको दबदबा छ । पार्टीको हेडक्वार्टरमा दलित, महिला, मधेसी, आदिवासी जनजाति, थारु र मुस्लिम आदिको भौतिक प्रतिनिधित्व नगन्य मात्रामा छ । यति मात्रै होइन, राज्यसत्तामा पुग्ने अवसरमा पनि उत्पीडित वर्ग, समुदाय र लिंगलाई सधैं उपेक्षा गरिएको छ । अर्कोतर्फ पटक–पटक असफल भइसकेका सीमित व्यक्तिलाई निरन्तर अवसर दिने गरिएको छ । न त कम्युनिस्ट पार्टीमा समावेशी नेतृत्व स्थापित हुन सकेका छ, न त विचार र दृष्टिकोणमा नै । 

नेपाली समाज सामाजिक अपराधको भण्डार हो । सबैजसो समाजमा पितृसत्ताको दबदबा कायमै छ, जसकारण महिलामाथिको हिंसा, विभेद र अन्याय कायम छ । जातजाति र समुदायमाथि प्रभुत्वशाली दमनले निरन्तरता पाइरहेको छ । गरिब, दलित, मजदुर र सीमान्तीकृत समुदायमाथिको विभेद, अन्याय र अपराधका घटना दिनदिनै सार्वजनिक भइरहेका छन् । हत्या, हिंसा, बलात्कार र विभेदजन्य अपराधका घटनामा सामाजिक न्यायका पक्षपाती दाबी कम्युनिस्ट पार्टीहरु मौनता साँधिरहेका छन् । राजनीतिक पार्टी, नेतृत्व र संगठन अन्यायको विरुद्ध संघर्षमा आउन चाहँदैनन् । यस्ता पार्टीलाई उत्पीडित जनताले किन साथ दिने ? यस्ता प्रश्नको जवाफ कम्युनिस्ट दाबी गर्ने पार्टी र नेतृत्वले दिनु पर्दैन ? तर, दिने हिम्मत गर्दैनन्, किनकि जनताका सरोकार ती पार्टीको प्राथमिक मुद्दा बन्न सकेनन् । 

सैद्धान्तिकरुपमा कम्युनिस्ट पार्टीहरु सामूहिक विचार, दृष्टिकोण र नीतिअनुरुप चल्छन् । तर, नेपालका संसदीय कम्युनिस्ट पार्टीभित्र सामाजिक–आर्थिक अन्तरविरोधका सन्दर्भमा वैचारिक विमर्श गर्ने, विचारको विकास गर्ने र नयाँ परिवेशअनुरुप विकसित नयाँ संकटलाई हल गर्ने दृष्टिकोण निर्माण हुन सकेको छैन । कम्युनिष्ट पार्टी नेतृत्वमा सर्वसत्तावाद हाबी हुँदा प्रश्नहरुलाई नै बञ्चित गरिँदै आइएको छ । नेतृत्वको तजबिजी नै विचार बन्न पुगेको छ भने पार्टीका नेता कार्यकर्ता सामूहिक विचार र दृष्टिकोण निर्माणमा होइन, नेतृत्वको आदेशपालक बन्न विवश पारिएका छन् । कम्युनिस्ट पार्टीले आफ्नो यस्तो हबिगतबारे गम्भीरतापूर्वक समीक्षा गर्न, बिगतका कमजोरीप्रति आलोचित हुन, नयाँ परिवेशअनुरुपको विचार निर्माण गर्न गर्न सकेनन् भने संसदीय कम्युनिस्ट पार्टीको समाप्तीतर्फको बेगबान यात्रा रोकिन कठिन छ ।

संकटउन्मुख राष्ट्रिय राजनीति र कम्युनिस्ट
बालेन नेतृत्वको सरकारले सबैभन्दा पहिलो प्रहार सुकुम्बासी, गरिब र सीमान्तीकृत समुदायमाथि गरेका छन् । विधि, प्रक्रिया र बिकल्पको ठोस योजना नबनाइ बस्तीमा डोजर चलाउने काम देशव्यापीरुपमा अगाडि बढ्दैछ । सरकारको रवैया हेर्दा यो सरकार गरिब, श्रमजीवि, मजदुर र सीमान्तीकृत समुदायको अधिकार रक्षाको पक्षमा देखिँदैन । यस्तो अवस्थामा प्रगतिशील, वामपन्थी र कम्युनिस्ट पार्टीले आफ्नो वर्ग र समुदायको पक्षमा संघर्ष गर्न आवश्यक छ । तर, नेपालका मुख्य कम्युनिस्ट पार्टीहरु यो वर्गका पक्षमा दृढतापूवर्कक लाग्ने संकेत देखिएको छैन । कम्तीमा आमूल परिवर्तनका पक्षमा वकालत गर्ने सैद्धान्तिक उत्तरदायित्व बोकेका कम्युनिस्ट पार्टीले यो वर्ग र समुदायको पक्षमा दृढतापूर्वक उभिन जरुरी छ । सीमान्तीकृत वर्ग र समुदायमाथि धावा बोल्ने राज्यको रवैयाविरुद्ध कम्युनिस्ट पार्टीहरुले कस्तो अडान लिन्छन् भन्ने विषयले महत्व राख्नेछ ।

वैश्विक अर्थतन्त्रलाई हेर्ने हो भने निश्चित धनीले ठूलो संख्यामा स्रोतसाधनमाथि कब्जा जमाइरहेका छन् । जुनसुकै अवसर वा संकटबाट पुँजीपतिले फाइदा लिइरहेका छन् । अर्कोतर्फ गरिब झन्–झन् ठूलो गरिबीको दुष्चक्रममा फस्दैछ । मिटरव्याज पीडित हुन् वा लघुवित्तको वित्तीय शोषणमा हुन्, अनौपचारिक क्षेत्रका श्रमिक हुन् वा आप्रवासी मजदुर सबै तीब्र महंगीको मार भोग्न बाध्य छन् । दैनिक जीविका संकटमा परिरहेका छन् । महंगी गरिबीको दुष्चक्रबाट श्रमजीवि, सीमान्तीकृत वर्ग र समुदायलाई बचाउन कम्युनिस्ट पार्टीहरु संघर्ष गर्छन् कि गर्दैनन् भन्ने कुरा महत्वपूर्ण रहन्छ । 

बिगतमा कम्युनिस्ट र लोकतान्त्रिक राजनीतिक शक्तिको बलबाट राज्यको पुनःर्संरचनासहितको नयाँ संविधान भयो । सरकार संविधान संशोधनको पहलमा छ । ऐन र नियमावली संशोधन भइरहेका छन् । तर, उत्पीडित जातजाति, वर्ग, समुदाय र उत्पीडित समुदायको मुक्तिसहित सवाललाई संविधान संशोधनले सम्बोधन गर्न सक्छ कि सक्दैन ? राज्यको अग्रगामी र प्रगतिशील रुपान्तरण हुन्छ कि अधिकार खुम्च्याइन्छ ? जातीय, भाषिक, सांस्कृतिक स्वायत्तताको सवाललाई कसरी सम्बोधन हुन्छ ? उत्पीडित समुदायको अधिकार कटौती हुने परिवेश बन्यो भने त्यसको प्रतिरोध गर्ने दायित्व प्रगतिशील र वामपन्थी शक्तिको हो ।  

सरकारको रवैया हेर्दा सरकार श्रमिक, मजदुर र उत्पीडित समुदायसँग छलफल र परामर्शमा गर्न तयार देखिँदैन । यतिसम्म कि रास्वपाकै नेतृत्व र सांसदसँग पनि सरकारले खासै परामर्श गर्ने देखिएको छैन । प्रधानमन्त्रीको एकांकी प्रवृत्तिले देशलाई दक्षिणपन्थी भासतिर लैजाने खतरा सिर्जना गरेको देखिन्छ । दक्षिणपन्थी राजनीतिक यही रफ्तारमा अगाडि बढ्यो भने यसको सबैभन्दा धेरै असर गरिब, श्रमजीवि र उत्पीडित समुदायलाई पर्ने देखिन्छ । त्यसैले सम्भावित दक्षिणपन्थी राजनीतिक दुर्घटनालाई रोक्ने जिम्मेवारी पनि मूलतः वामपन्थी र लोकतान्त्रिक शक्तिको जिम्मेवारी हो । समयमै गम्भीरतापूर्व समीक्षासहित नयाँ विचार, दृष्टिकोण र कार्ययोजना भएन भने कम्युनिस्ट पार्टीको औचित्यमाथि उठेको प्रश्नका व्यवहारिक जवाफ दिन सक्दैन ।  

जेबी विश्वकर्मा लेखक एवं अनुसन्धाता हुन्। उनले नेपाली मिडिया, सामाजिक समावेशीकरण, जात व्यवस्था, लैंगिक समानता र उत्पीडित तथा सीमान्तीकृत समुदायका सामाजिक-राजनीति सवालमा लेखन र अनुसन्धान गरेका छन्।

Link copied successfully