प्रत्येक क्षत–विक्षत दल समाप्त नै हुन्छन् भन्ने छैन । कतिपय दल फर्किन्छन्– अझ विनम्र, वैचारिक र संगठित भएर । तर, त्यसका लागि तिनले आफ्नै मिथक भत्काउनुपर्छ । पुराना दलको सबैभन्दा ठूलो संकट संसद्मा कति सिट गुमाए भन्ने होइन, आफ्नो आत्मा गुमाए कि गुमाएनन् भन्ने हो ।
चन्द्रकिशोर — ‘पुराना दलहरू अचानक कसरी थला परे ? यत्रो लाभार्थी सञ्जाल, त्यत्रो चुरीफुरी, वडासम्मको पहुँच–प्रभाव हुँदाहुँदै पनि किन यति निरीह देखिए ?’ भदौरे चट्याङपछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता पुराना दलको अवस्थाबारे यस्ता प्रश्न उठिरहेका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी धक्का दिनुभन्दा धेरै अघिदेखि यी दलहरू भित्रभित्रै मक्किइसकेका थिए ।
तिनीहरू अचानक शरशय्यामा पुर्याइएका होइनन् । आफैं त्यहाँसम्म हिँडेर पुगेका हुन् । पहिले यिनीहरूका वैचारिक बेचैनीमा म थियो । त्यसपछि संगठनात्मक जीवन्तता अनि कार्यकर्ताको आत्मविश्वास । दलहरू बाँकी रहे तर अस्थिपञ्जरझैं । अन्ततः यिनीहरूमाथि जनताले आशा पनि गुमाए ।
गत भदौ २३ सम्म यी दलहरू नै अनिवार्य राजनीतिक शक्ति मानिन्थ्यो । देशैभर झन्डा फरफराइरहेको थियो, शीर्ष नेतृत्वका दिव्यवाणीप्रति भक्तिभाव प्रदर्शन गर्ने झुन्ड थिए, प्रतिकारका दस्ताहरू थिए, प्रवक्ताहरू गफ चुटिरहेका थिए । तर, मसिनोसँग नियाल्दा दलहरूभित्रको प्राणतत्त्व क्षीण हुँदै गएको देखिन्थ्यो । यी दलहरू र तिनका दलपतिहरूले स्वयंलाई इतिहासको स्वाभाविक केन्द्र ठान्न थालेका थिए ।
सत्ता आफ्नो अधिकार हो, जनता स्थायी आधार । र, संगठन अभेद्य पर्खाल । उनीहरूको मनोविज्ञान यही थियो । नागरिक र राज्यबीच पार्टी स्थायी मध्यस्थ बनिसकेको थियो । राज्यका लगभग सबै अंगमा दलगत अनुहारकै आधारमा पहुँच र पहिचान तय हुन्थ्यो ।
यराज्यमा प्रभुत्व बढ्दै जाँदा मालिक फेरिए तर ग्राहक उही रहे । काउन्टर उही रह्यो, केवल साइनबोर्ड फेरियो । लाभजीवी कार्यकर्ता एक दलबाट अर्को दलमा, एक गुटबाट अर्को गुटमा टाँसिँदै गए । त्यसले सिंगो राजनीतिक वृत्तलाई भुइँ तहसम्मै प्रदूषित र दुर्गन्धित बनायो । यो स्थिति दलगत सत्ता–संरचनाको संक्षिप्त समाजशास्त्र हो ।२०४६ पछि परिस्थिति यस्तो बन्यो कि आममान्छे संरक्षणका लागि दलको ओत लाग्न विवश भए । कांग्रेसपछि एमाले, त्यसपछि माओवादी– रूपरंग फेरिँदै सबैले ‘फ्रेंचाइज राजनीति’ लाई विस्तार गरे । फ्रेंचाइज राजनीति भनेको यस्तो राजनीतिक संरचना हो, यहाँ विचार, नीति र जनउत्तरदायित्वभन्दा बढी दलगत ब्रान्ड, पहुँच, संरक्षण र लाभको सञ्जाल स्थानीय तहसम्मै विस्तार गरिन्छ ।
राज्यमा प्रभुत्व बढ्दै जाँदा मालिक फेरिए तर ग्राहक उही रहे, काउन्टर उही रह्यो, केवल साइनबोर्ड फेरियो । लाभजीवी कार्यकर्ता एक दलबाट अर्को दलमा, एक गुटबाट अर्को गुटमा टाँसिँदै गए । त्यसले सिंगो राजनीतिक वृत्तलाई भुइँ तहसम्मै प्रदूषित र दुर्गन्धित बनायो । यो स्थिति दलगत सत्ता–संरचनाको संक्षिप्त समाजशास्त्र हो । पतनको बीउ यहीँ रोपिएको थियो ।
यी पुराना दलहरू नेपाली जनसंघर्षका प्रतीक थिए । यो विषय आजको सत्तारूढ दलले पनि स्वीकार गर्छ । तर, आन्दोलनबाट जन्मिएका राजनीतिक शक्ति बिस्तारै व्यवस्थापकमा रूपान्तरित भए । विचारधाराको ठाउँ पहुँचले लियो, संघर्षको ठाउँ सुविधाले, संवादको ठाउँ उर्दीले र राजनीतिक प्रशिक्षणको ठाउँ अवसरवादले । कार्यकर्ता ‘कारण’ का लागि होइन, ‘कनेक्सन’ का लागि जोडिन थाले । संगठन बाहिरबाट तन्दुरुस्त देखिए पनि भित्रभित्रै कुहिँदै गइरहेको थियो ।
लामो समयसम्म सत्तामा रहँदा यी दलहरू अवसर, सुरक्षा, पहुँच, संरक्षण र लाभको नेटवर्कमा परिणत भए । कार्यकर्तालाई सत्ता–समीपताले ‘फेविकोल’ को काम गर्छ । तर, चुनावी पराजयपछि संरक्षणतन्त्र कमजोर हुन्छ । संरक्षणको प्रत्याभूति हराएपछि आत्मविश्वास डगमगाउन थाल्छ । त्यसैले हिजोसम्म आफ्ना नेता र दलको आक्रामक बचाउ गर्नेहरू आज मौन वा तटस्थ छन् ।
प्रसिद्ध सामाजिक चिन्तक अल्वर्ट ओ हिर्समनको ‘एक्जिट, भ्वाइस एन्ड लोयालिटी’ सिद्धान्तअनुसार, संकटका बेला कार्यकर्तासामु तीन बाटा हुन्छन्– भ्वाइस (खुलेर पक्ष लिनु), लोयालिटी (मौन रहेर सँगै बस्नु) र एक्जिट (बिस्तारै दूरी बनाउनु) । जब कार्यकर्तालाई ‘नेतृत्वले अब संरक्षण गर्न सक्दैन’ भन्ने लाग्न थाल्छ तब ‘भ्वाइस’ कम हुँदै जान्छ र ‘एक्जिट’ बाक्लिन थाल्छ । जो कार्यकर्ता हिजोसम्म टेलिभिजन डिबेट, सामाजिक सञ्जाल र सडक–चौतारीमा जुध्न तयार थिए, तिनै आज मौन र शिथिल छन् ।
राजनीतिको निर्मम सत्य के हो भने प्रत्येक उदाउँदो सत्ता आफ्ना पूर्ववर्तीलाई अप्रासंगिक बनाउन चाहन्छ । नयाँ शक्तिलाई थाहा हुन्छ– यदि पुराना दलहरूले संसाधन, नैतिक प्रभाव र मनोवैज्ञानिक उपस्थिति जोगाइरहे भने पुनरुत्थान सम्भव छ । त्यसैले तिनलाई अभाव, दबाब र प्रभावको चक्रव्यूहमा राख्ने रणनीति बनाइन्छ । पुराना दलहरूको ऐतिहासिक योगदानलाई ओझेलमा पार्दै केवल विफलताको आख्यान दोहोर्याइन्छ । नेताहरूलाई ‘कालरात्रिका अवशेष’ का रूपमा चित्रित गरिन्छ । यो मूलतः वैधता र स्मृतिमाथिको संघर्ष हो । यो गरेर नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजी मारेको छ ।
समकालीन राजनीतिमा विपक्षलाई हराउने सबैभन्दा प्रभावकारी तरिका उसलाई बाहिरबाट होइन, भित्रबाट अस्थिर बनाउनु हो । त्यसैले पुराना दलहरूमा देखिने गृहकलह कहिलेकाहीँ केवल स्वाभाविक सत्ता संघर्ष हुँदैन । त्यो व्यापक रणनीतिको हिस्सा पनि हुन सक्छ, जहाँ सत्तारूढ शक्ति प्रतिद्वन्द्वी दललाई भित्रबाटै अस्थिर, विभाजित र मनोवैज्ञानिक रूपमा निर्बल बनाइराख्ने प्रयास गर्छ । लोकतन्त्रमा प्रतिद्वन्द्वी दललाई चुनावमा हराउनु मात्रै पर्याप्त हुँदैन । यदि पुरानो दल संगठनात्मक, वैचारिक वा भावनात्मक रूपमा जीवित रहिरह्यो भने त्यसले फेरि पुनरुत्थान गर्न सक्छ । त्यसैले ती संस्थाहरूलाई कमजोर बनाइन्छ, जसले पुनर्जीवन दिन सक्छन् । ट्रेड युनियन, विद्यार्थी संगठनहरू खारेजी गर्ने, सुकुमवासी बस्तीमा डोजर चलाउने जस्ता सरकारी उपक्रम यस्तै सोच र रणनीतिको परिणाम हो ।
अहिलेको नयाँ सत्ताले भरमग्दुर कोसिस गर्छ, गरिरहेको छ कि पुराना दलहरू ‘संगठन’ नरहेर गुटहरूको ‘जमात’ बनोस् । पुराना दलहरूभित्रको नेतृत्व विवाद, पिँढीगत संघर्ष, वैचारिक अस्पष्टता, पद बाँडफाँट विवाद वा सार्वजनिक आरोप–प्रत्यारोपलाई अझ बढाइचढाइ प्रस्तुत गरिन्छ । यद्यपि प्रत्येक गृहकलह कृत्रिम नै हुन्छ भन्ने होइन ।
मिशेल फूको सत्ता, ज्ञान, निगरानी र संस्थागत नियन्त्रणका सम्बन्धबारे गहिरो अध्ययन गर्ने फ्रान्सेली सामाजिक चिन्तक थिए । तिनका अनुसार, सत्ता केवल दमनकारी हुँदैन । उसले सम्बन्ध र व्यवहार पनि ‘निर्माण’ गर्छ । अधिनायक सत्ता प्रतिद्वन्द्वीलाई सधैं जेलमा हालेर डराउँदैन । केहीलाई थुनछेक पनि गर्छ । उसले पुराना दलहरूमा अविश्वास र असुरक्षाको वातावरण सिर्जना गर्छ । बाहिरबाट एउटै संरचना जस्तो देखिने दलभित्र गुट–गुटबीच, शंका–उपशंका फैलिन थाल्छ । अहिलेको ‘पर्सेप्सन म्यानेजमेन्ट’ अत्यन्त महत्त्वपूर्ण बनेको छ । मिडिया आख्यान, चुहिएका सूचनाहरू, चयनात्मक अनुसन्धान र सामाजिक सञ्जालको प्रवर्द्धनमार्फत यस्तो वातावरण बनाइन्छ कि विपक्षी दलहरू टुक्रिँदै छन्, तिनका नेता सकिइसके र पुराना दलहरू अब इतिहास हुन् ।
जुन नेतागणलाई हिजोसम्म ‘मेरुदण्ड’ मानिन्थ्यो, अचानक ती अनिवार्य परित्यागका पात्र ठहर्याइन्छन् । यस्तो पनि देखिन थालेको छ– पुराना दलहरू स्वयं ‘स्वाभाविक गृहकलह’ मा अल्झिएको भन्ने भ्रममा छन् । जबकि तिनीहरू एक दबाबतन्त्रभित्र काम गरिरहेका छन् । बिस्तारै दलको ऊर्जा जनताका प्रश्नहरूबाट टाढिँदै आन्तरिक विवादमा खर्चिन थालेको छ । फलस्वरूप पुराना दलले जनताका लागि विकल्प होइन, बरु ‘समस्याग्रस्त संस्था’ को छवि बनाउँदै छ । यतिखेरको प्रतिस्पर्धा सिद्धान्त, संगठन वा समर्पित कार्यकर्ताको नभई ‘नैरेटिव कन्ट्रोल’ को लडाइँ हो । यहाँ यसैको बलबुतामा पुराना दलहरूलाई ‘अप्रासंगिक’ सिद्ध गर्ने सारा खेल चलिरहेको छ ।
यस्तो वातावरणमा पुराना दलहरू रक्षात्मक बनेका छन् । तिनका नेतृत्व पंक्ति आक्रामक राजनीतिको ठाउँमा सफाइ दिन व्यस्त छन् । कार्यकर्ता प्रतिवाद गर्नुको सट्टा मौन बस्न थालेका छन् । हिजोसम्म जो कार्यकर्ता हरेक मञ्चमा नेतृत्व र दलको पक्षमा निर्भीक बोल्दै थिए, तिनीहरू आज डराएका छन् । यो केवल भय होइन, यो मनोवैज्ञानिक पराजय हो । उनीहरूलाई लाग्न थालेको छ– इतिहासको दिशा फेरिइसकेको छ । र, आफूहरू पराजित समयका प्रतिनिधि बनेका छन् । यही मनोदशाबाट कतिपयमा रास्वपातर्फ आकर्षक बढिरहेको छ । पालिका–प्रदेशको चुनाव घोषणा भएपछि पुराना दलहरूमा भागदौड मच्चिन सक्छ । यहीँबाट ‘क्षत–विक्षत दल’ को नियति सुरु हुन्छ ।
तर, एउटा विषय स्पष्ट हुनुपर्छ, क्षत–विक्षत दल भनेको चुनाव हार्ने दल मात्रै होइन । लोकतन्त्रमा हार सामान्य हो । वास्तविक संकट त्यहाँ सुरु भयो, जब दलले आफ्नो हारको वैचारिक अर्थ बुझ्ने क्षमता गुमाउँछ, आत्मसमीक्षालाई अनावश्यक ठान्छ, जनताको क्रन्दन सुन्नुको सट्टा षड्यन्त्र खोज्दै हिँड्छ, पार्टीभित्र प्रश्न गर्नेहरूलाई शत्रु ठान्छ । त्यसपछि दल जीवित संस्था होइन, राजनीतिक अवशेष बन्छ ।
यद्यपि प्रत्येक क्षत–विक्षत दल समाप्त नै हुन्छन् भन्ने छैन । कतिपय दल फर्किन्छन्– अझ विनम्र, अझ वैचारिक र अझ संगठित भएर । तर, यसका लागि आफ्नै मिथक भत्काउनुपर्छ । तिनले यो स्वीकार गर्नुपर्छ– जनताले केवल इतिहासका आधारमा कुनै दलविशेषलाई अनन्तकालसम्म वैधता दिइरहँदैनन् । लोकतन्त्रमा जनता अन्ततः जीवित ऊर्जाको पक्षमा उभिन्छन् । त्यसैले पुराना दलहरूको सबैभन्दा ठूलो संकट संसद्मा कति सिट गुमाए भन्ने होइन, बरु आफ्नो आत्मा गुमाए कि गुमाएनन् भन्ने हो । किनकि कुनै दल बाहिरबाट भत्किन थालेको देखिनुअघि ऊ भित्रैबाट मक्किसकेको हुन्छ ।
दलहरूमा ‘भित्रैदेखि मक्किनु’ अनेक रूपमा प्रकट हुन्छ– कार्यकर्ता केवल लाभका लागि टिकिरहनु, नेतृत्वमाथि देखावटी विश्वास हुनु, विचारधाराको ठाउँमा व्यक्तिपूजा स्थापित हुनु, आन्तरिक संवाद कमजोर हुनु, असहमतिलाई किनारामा पुर्याइनु, जनतासँग भावनात्मक दूरी बढ्दै जानु र पार्टीको संघर्षशील चरित्र समाप्त हुनु । तर, जबसम्म सत्ता, स्रोत, भय र चुनावी सफलता कायम रहन्छ तबसम्म पार्टी संरचनामा रहेका प्वालहरू देखिँदैनन् । सबै विषय ‘सामान्य’ लागिरहन्छ । मानिसहरू मजबुरी, अवसर वा उम्मिदसँग साथ रहिरहन्छन् । जुन पार्टीले आफूलाई सत्ताको अजेय अंशियार मान्न थाल्छ, उसले आफूभित्र कृत्रिम स्थायित्व विकसित गरिहाल्छ । उसलाई लाग्छ, जनताको समर्थन स्थायी हो, कार्यकर्ता स्वाभाविक रूपले बफादार छ र सत्ता उसका प्राकृतिक अधिकार । यहीँबाट पतन टुसाउँछ ।
पुराना दलहरू केवल बाह्य शक्ति देखिरहेका छन्– भित्रको ‘सडान्ध’ होइन । राजनीतिमा सबैभन्दा खतरनाक क्षण पराजयको हुँदैन । बरु त्यो समय हुन्छ, जब कुनै दलले आफूलाई ‘अपरिहार्य’ ठान्न थाल्छ । किनकि यहीँबाट आत्मसमीक्षा समाप्त हुन थाल्छ । फेरि कुनै चट्याङ, कुनै चुनावी हार, भ्रष्टाचारको खुलासा, नेतृत्व संकट वा स्थायी सत्ताको व्यूहरचनाले भित्रको सडान्ध एकाएक उजागर गरिदिन्छ । अनि लाग्छ, यत्रो दल एउटै झट्कामा कसरी थला पर्यो ?
यतिखेर भ्रष्टाचारको आख्यान, अतीतका विफलताहरूको पुनरावृत्ति, ‘पुराना भर्सेज नयाँ’ को विमर्श र भयको चाबुकको उपयोग गर्दै नयाँ सत्ता एक नयाँ अभिजन वर्ग निर्माण गर्न व्यस्त देखिन्छ । राजनीतिमा अभिजन (एलिट) स्थायी हुँदैनन् । उदाउँदो नव अभिजनले पुराना अभिजनलाई बिस्तारै बिस्तारै शक्ति, स्रोत, प्रतिष्ठा र संस्थागत पहुँचबाट विस्थापित गर्दै जान्छ । संसद् स्थगन गरेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्तिलाई यही सन्दर्भमा हेर्न सकिन्छ ।
नेपालको ‘स्थायी सत्ता’ ले धेरै पटक कमजोर राजनीतिक दललाई आफ्नो अनुकूल मान्ने गरेको देखिन्छ । यस्तो अवस्थामा निर्वाचित राजनीतिभन्दा ‘अनिर्वाचित शक्ति’ प्रभावशाली बन्न थाल्छ । पुराना दलहरू कमजोर हुँदा तत्काल असर ‘राजनीतिक मध्यस्थता’ माथि पर्छ ।
लोकतन्त्रमा दल केवल चुनाव लड्ने मेसिन होइन, ती राज्य र नागरिकबीचका पुल हुन् । यी दलहरू कमजोर भएपछि जनता प्रत्यक्ष रूपमा संस्थाभन्दा व्यक्तित्व, भीड वा आकस्मिक उग्रतामाथि निर्भर हुन थाल्छन् । संघीय लोकतान्त्रिक गणतन्त्र विशेषतः बलियो राजनीतिक दलमाथि टिकेको व्यवस्था हो ।
केवल एउटै दल वटवृक्ष जस्तै रहे भने संघीय संरचना समन्वयभन्दा अविश्वासको अखडा बन्न सक्छ । त्यसपछि अर्को प्रक्रिया सुरु हुन सक्छ ‘राजनीतिक शून्य’ । पुराना दल कमजोर बन्दै जान्छन् तर नयाँ दलहरू अझै संस्थागत भइसकेका हुँदैनन् । तब राज्यभित्रका गैरनिर्वाचित शक्ति केन्द्रहरू सक्रिय बन्छन् । उनीहरूले स्थिरता, राष्ट्र हित, सुशासन वा अराजकता नियन्त्रणको भाषामा लोकतान्त्रिक प्रक्रियामाथि नै अविश्वास निर्माण गर्न सक्छन् । इतिहासमा धेरै देशमा लोकतन्त्र यसरी नै कमजोर भएको देखिन्छ । एकैचोटि होइन बिस्तारै, दलहरूलाई अविश्वसनीय बनाउँदै । त्यसैले पुराना दलहरूको आलोचना आवश्यक भए पनि तिनको पूर्ण संस्थागत पतन अहिलेका लागि संघीय लोकतान्त्रिक गणतन्त्रकै लागि जोखिमपूर्ण हुन सक्छ । किनकि खाली ठाउँ कहिल्यै खाली रहँदैन । त्यो या त नयाँ लोकतान्त्रिक शक्तिले भरिन्छ या अदृश्य स्थायी शक्तिले ।
बेलगाम वालेन्द्र शाहमाथि लोकतान्त्रिक नियन्त्रण कायम गर्न पुराना दलहरू एक ठाउँमा उभिनै पर्छ । र, वर्तमान सरकारको गति र मतिबारे साझा राजनीतिक दृष्टिकोण निर्माण गर्नै पर्छ । तर, विडम्बना ! यतिखेरको यही अनिवार्य कार्यभारप्रति उनीहरू आँखा चिम्लिरहेका छन् । आँखा बन्द गर्दैमा आँधीहुरीको ताण्डव रोकिन्न । राणा र राजासँग जुधेर आएका दलहरू आज किन यति भयभीत देखिन्छन् ?
