देशको नेतृत्व सीमित राजनीतिक पार्टीका सीमित व्यक्तिको हातमा अल्झिरहँदा विकासको गतिले तीव्रता पाउन सकेन । त्यसैले जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारको रि–ब्रान्डिङ आवश्यक छ ।
What you should know
कुनै पनि वस्तु तथा सेवा, संस्था, सरकारी निकाय वा कम्पनीको स्थापित पहिचानलाई परिवर्तन गर्ने प्रक्रिया नै रि–ब्रान्डिङ हो । रि–ब्रान्डिङ मुख्यतया विश्वास जित्न र समय सापेक्ष बन्न गरिन्छ । यसको वास्तविक अर्थ वस्तु तथा सेवाको गुणस्तर, प्याकेजिङ शैली, प्रविधि र सरोकारवाला संस्थासँगको सम्बन्धमा आमूल परिवर्तन ल्याउनु हो । अनि हो– सरकार र नागरिकबीचको दूरी घटाउनु । पुरानो धारणा र शैलीलाई नयाँ, आधुनिक, सरल, सहज र जनमुखी बनाउने प्रक्रिया पनि हो यो ।
रि–ब्रान्डिङको प्रसंग विषयान्तर गर्दैगर्दा नेपालमा लामो समयसम्म सरकार सञ्चालनको शैली उस्तै प्रकृतिबाट हुँदै आयो । परिवर्तित समयमा विश्व परिवेश भिन्न अवस्थाबाट परिवर्तन भइरहँदा हाम्रो देशमा भने त्यसको खासै प्रभाव पर्न सकेको थिएन । विभिन्न कालखण्डका परिवर्तनले राजनीतिक परिवर्तनमा ठूलै फड्को मार्न सफल भएको मानिए पनि आर्थिक रूपमा परिवर्तनको महसुस जनतामा आउन सकेन । यसो भनिरहँदा सामाजिक, सांस्कृतिक, धार्मिक रूपान्तरणलगायत विकासका काम हुँदै नभएका होइनन् । तर, सर्वसाधारण जनतासँग सिधै सरोकार राख्ने विषय (शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन) सधैं ओझेलमा पर्न गयो ।
देशको नेतृत्व सीमित राजनीतिक पार्टीका सीमित व्यक्तिको हातमा अल्झिरहँदा विकासको गतिले तीव्रता पाउन सकेन । र, जेन–जी आन्दोलनपछि बनेको अबको नयाँ सरकारको रि–ब्रान्डिङ आवश्यक छ । सरकारलाई रि–ब्रान्डिङ यसरी गर्न सकिन्छ ।
राजनीतिज्ञको व्यवहार
राजनीतिज्ञको व्यवहारलाई सरल र सहज बनाउन आवश्यक छ । राजनीतिज्ञमा राजनीतिक संस्कारको विकास हुनु जरुरी छ । राजनीति राज्य सञ्चालनको प्रमुख संयन्त्र भएकाले त्यससँग जोडिने व्यक्तित्वको व्यवहार सरल, सहज र पारदर्शी हुन जरुरी छ ।
कार्यशैलीमा परिवर्तन
लामो समयसम्म एकै प्रकृतिको कार्यशैलीले जनतामा चरम निराशाको अवस्था सिर्जना हुन पुग्यो, जसले परिवर्तनको आशास्वरूप आजको यो सरकार स्थापना भएको छ । हिजोको जस्तै कार्यशैलीले आजको सरकार पनि चल्न थाल्यो भने परिवर्तनको आभास गर्न सकिँदैन । समयसँगै राजनीतिमा भएको परिवर्तनले अब समग्र सरोकारवालाको कार्यशैली पनि परिवर्तन हुनु जरुरी छ ।
वान डोर पोलिसीको अवधारणा
कुनै पनि काम सम्पन्न गर्न विभिन्न ठाउँ धाउनुपर्ने स्थितिले सर्वसाधारण तथा सेवाग्राहीले चुस्त–दुरुस्त सेवा पाउन सकिरहेका छैनन् । यसले काममा ढिलासुस्ती, सेवाको गुणस्तरमा ह्रास, उत्पादकत्वमा कमी र सेवाप्रदायक संस्थाको सेवामा प्रभावकारिता हुन सकिरहेको छैन र उत्पादकत्वमा वृद्धि पनि हुन सकिरहेको छैन । काममा सहजता, सरलता नै अबको आवश्यकता हो ।
सरकारको कार्यशैलीमा सुधार
‘सरकारको काम कहिले जाला घाम’ भन्ने पुरानो उखान गलत साबित गर्न सरकारको कार्यशैलीमा सुधार अपरिहार्य छ । कर्मचारीले तलब र सुविधा लिएर सेवामा समर्पित भएपछि आफ्नो भूमिकालाई कर्तव्य सम्झेर काम गर्न सक्नुपर्छ ।
युवा पुस्तामा जोडिन सक्नु
लामो समय जकडिएको शासन प्रणाली परिवर्तनको जस आजको युवा पिँढीमा गएको छ । परिवर्तनको जस दिन युवा पुस्तालाई राष्ट्रिय राजनीति तथा विकासका माध्यममा नजोडीकन आर्थिक समृद्धिको बाटो सफल हुन सक्दैन । त्यसैले युवा पिँढीलाई जोड्ने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।
प्रविधियुक्त आधुनिक सेवा
सरकारले आधुनिक सेवालाई प्रविधिमा जोड्नु आजको आवश्यकता हो । प्रविधिले कामको प्रक्रिया र गतिलाई सहज र तीव्र बनाउने हुनाले सरकारले प्राथमिकतामा राखेर काम गर्न खोजेको विषय सराहनीय छ । यसले निरन्तरता पाउनेछ र अझ सक्रियता बढ्नेछ भन्ने अपेक्षा राख्न सकिन्छ ।
आत्मनिर्भर अर्थतन्त्रको बाटो
देश समृद्ध बन्न आत्मनिर्भर हुनु आवश्यक छ । परनिर्भरताले समृद्ध देशको परिकल्पना गर्न सकिँदैन । त्यसैले परनिर्भरताको बाटोलाई कम गरी आत्मनिर्भर बन्ने बाटोतर्फ सोच बनाएर अगाडि बढ्नुको विकल्प छैन । परनिर्भरताले देशभित्रैदेखि कमजोर बन्छ । सरकारले आत्मनिर्भर अर्थतन्त्रको बाटोको नक्सांकन गरी अगाडि बढ्नुपर्छ ।
नेपाली जनतामा रहेको दृष्टि थकानपछि परिवर्तित वातावरणस्वरूप बनेको वर्तमान सरकार जनताको आशाको केन्द्र बनेको छ । यसका जिम्मेवारी ज्यादै महत्त्वपूर्ण र संवेदनशील छ । परिवर्तनको यो जिम्मेवारीलाई सहज रूपमा अवतरण गर्न वर्तमान सरकारलाई निकै ठूला चुनौती सँगसँगै अवसर पनि छ । सरकार यो समयलाई सही सदुपयोग गर्दै जनताको आशा र भरोसालाई नजरअन्दाज नगरी पूरा गर्न लागिपर्नेछ भन्ने अपेक्षा सरकारवाला सबैको छ ।
नेपाली जनताको अभिमतको कदर गर्दै जिम्मेवारी पूरा गर्न वर्तमान सरकारले दिन दुई गुना, रात चौगुना काम गर्नुपर्ने समय आएको छ । यस्तो महत्त्वपूर्ण समयमा सबैको साथ–सहयोगबाट मात्रै यो काम सम्भव हुन्छ । त्यसैले यसतर्फ सबैको सकारात्मक भूमिका रहनुपर्छ । कुनै पनि परिवर्तनले निश्चित समय लिएर आएको हुन्छ । चाहे त्यो सकारात्मक परिवर्तन होस् चाहे नकारात्मक । जुन समयले आजको यो स्थिति ल्याउन मलजल गर्यो, त्यो परिवर्तन गर्न पनि अर्को निश्चित समय लाग्छ । त्यसैले आजको भोलि जादुको छडीझैं परिवर्तन हुने अपेक्षा राख्नु पनि हुँदैन ।
काम कसरी र कहाँबाट सुरु भएको छ ? यो विषय बढी महत्त्वपूर्ण हुने हुनाले यसतर्फ सकारात्मक सुझाव दिँदै सरोकारवाला सबैको साथ र सहयोगको माध्यमबाटै समृद्ध समाज निर्माणमा वर्तमान सरकारले आफूलाई रि–ब्रान्डिङ गर्नुपर्छ ।
