विद्यालयमै पढाऔं मानसिक स्वास्थ्य  

मानसिक स्वास्थ्य के हो ? लक्षण के–के हुन् ? मानसिक समस्या देखिए कस्तो परामर्श चाहिन्छ ? विद्यालय तहदेखि नै यस्ता विषयमा शिक्षा दिनु अत्यन्तै महत्त्वपूर्ण छ ।

वैशाख २९, २०८३

सम्झना देउजा

Let's teach mental health in schools.

What you should know

नेपाली समाजमा मानसिक रोगलाई अझै हास्यको विषय बनाइन्छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई ‘दिमाग खुस्केको’, ‘बौलाहा’, ‘पागल’ जस्ता अपमानजनक शब्दले सम्बोधन गरिन्छ । यस प्रकारको नामकरणले बिरामीलाई अझै मानसिक तनाव दिनुका साथै सामाजिक रूपमा अलग्याउँछ । मानसिक रोगबाट पीडित व्यक्तिले रोगभन्दा पनि समाजबाट पाउने अपहेलना, हेपाइ र भेदभाव बढी सहनुपरेको हुन्छ ।

पछिल्ला वर्षमा चिन्ता (एन्जाइटी) र डिप्रेसन विश्वव्यापी रूपमा बढ्दो समस्या बनेको छ । कामको दबाब, आर्थिक समस्या, पारिवारिक कलह, सामाजिक अपेक्षा र भविष्यप्रतिको अनिश्चितताले मानिसको मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ । तर, नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने कार्यक्रम पर्याप्त छैनन् । ग्रामीण क्षेत्रहरूमा त मानसिक स्वास्थ्य सेवा र जानकारी झनै सीमित छ  ।

मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण हो भन्ने विषय सबैले बुझ्नु जरुरी छ । मानसिक रोग कुनै कमजोरी वा पागलपन होइन, यो उपचार र सहयोग आवश्यक पर्ने एक स्वास्थ्य समस्या हो । त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी खुला संवाद, सही जानकारी, सहानुभूति र सहयोगको वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो ।

आजका युवा शैक्षिक प्रतिस्पर्धा, बेरोजगारी, सामाजिक सञ्जालमा हुने तुलना र भविष्यप्रतिको अनिश्चितताका कारण मानसिक रूपमा गम्भीर दबाबमा छन्  । यस्ता चुनौतीले युवाको आत्मविश्वास, भावनात्मक सन्तुलन र निर्णय क्षमतामा नकारात्मक असर पारिरहेको छ । तर दुःखको कुरा, विद्यालय र कलेजस्तरमा मानसिक स्वास्थ्य सहयोग प्रणाली अझै कमजोर अवस्थामै छ ।

मानसिक स्वास्थ्य के हो ? यसका लक्षण के–के हुन् ? यदि मानसिक समस्या देखिए कस्तो परामर्श (काउन्सेलिङ) आवश्यक पर्छ ? विद्यालय तहदेखि नै यस्ता विषयमा शिक्षा दिनु आवश्यक छ । बाल्यकाल र किशोरावस्था मानसिक विकासको संवेदनशील चरण भएकाले यही समयमा सही जानकारी र सहयोग पाए भविष्यमा गम्भीर समस्याबाट बच्न सकिन्छ ।

हामीले आज आत्महत्याका घटना, आफ्नै बाबुले छोरीको हत्या गरेको वा आमाले आफ्नै सन्तानलाई हानि पुर्‍याएको जस्ता पीडादायी घटना सुन्ने गरेका छौं । यस्ता घटना अचानक हुने होइनन् । यस्ता व्यक्ति प्रायः लामो समयदेखि मानसिक स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका हुन्छन् र समयमै उचित परामर्श अनि उपचार नपाएको सम्भावना उच्च हुन्छ । यी बढ्दो घटनाक्रमले नेपाली समाजमा मानसिक स्वास्थ्य कति आवश्यक र गम्भीर विषय हो भन्ने स्पष्ट हुन्छ । 

मानसिक स्वास्थ्य समस्या कुनै अपराध, कमजोरी वा लाजको विषय होइन । जसरी शारीरिक चोट वा रोग लाग्दा हामी औषधि खान्छौं, अस्पताल जान्छौं–  मानसिक समस्या देखिँदा मनोपरामर्श वा आवश्यक मनोचिकित्सकीय औषधि लिनु उपचारको सामान्य प्रक्रिया हो । 

दुर्भाग्यवश, हाम्रो समाजमा अझै पनि ‘काउन्सेलिङ लिनु भनेको पागल हुनु हो’ भन्ने गलत धारणा विद्यमान छ । साथै, परामर्श (काउन्सेलिङ) पछि नियमित रूपमा मानसिक औषधि लिनुपरे त्यसलाई अत्यन्तै ठूलो र नकारात्मक रूपमा हेरिने गरिन्छ । यस्ता गलत धारणाका कारण धेरै मानिसले समयमै आवश्यक उपचार लिन सक्दैनन्, जसकारण उनीहरूको मानसिक समस्या झन् गम्भीर बन्दै जान्छ ।

त्यसैले आजको आवश्यकता विद्यालयदेखि समाजस्तरसम्मै मानसिक स्वास्थ्यसम्बन्धी शिक्षा, जनचेतना कार्यक्रम, परामर्श सेवा अनि उपचारलाई सहज, स्वीकार्य बनाउनु हो । मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह सामान्य, आवश्यक र सम्मानजनक रूपमा बुझ्ने संस्कार विकास गर्न सके मात्रै स्वस्थ, सुरक्षित र मानवीय नेपाली समाज निर्माण सम्भव हुनेछ । हामी जुन समाजबाट आएका छौं, त्यही समाजमा यस्ता विषयलाई सामान्य रूपमा स्वीकार गर्दै उपचार खोज्ने संस्कार विकास हुन अझै केही समय लाग्ने देखिन्छ ।

हाम्रा हजुरबुबा–हजुरआमाको पुस्तामा नेपाली समाज प्रायः संयुक्त परिवार प्रणालीमा आधारित थियो । त्यतिबेला मोबाइल, टेलिभिजन जस्ता आधुनिक प्रविधिको प्रभाव कम थियो । परिवारका सदस्यबीच आपसी मेलमिलाप, सहकार्य र प्रत्यक्ष सामाजिक सम्बन्ध बढी हुने भएकाले मानिस तुलनात्मक रूपमा एक्लोपनबाट कम प्रभावित हुने गर्थे भन्ने धारणा छ । त्यस समयमा चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्या कम देखिएको बताइन्छ । 

तर, आजको नेपाली समाज तीव्र रूपमा परिवर्तन हुँदै गएको छ । राजनीतिक अस्थिरता, आर्थिक चुनौती र वैदेशिक रोजगारको बढ्दो प्रवृत्तिका कारण धेरै परिवार विभाजित छन् । गाउँ र सहर मात्रै होइन, एउटै परिवारका सदस्य पनि विभिन्न देशमा बस्न बाध्य छन् । यसले पारिवारिक सम्बन्धमा दूरी मात्रै होइन, भावनात्मक एक्लोपन पनि बढाएको छ ।

युवा पुस्ता विदेशमा एक्लै बस्नुपर्ने अवस्था, सामाजिक समर्थनको कमी, नयाँ वातावरणमा अनुकूल हुनुपर्ने दबाब र भविष्यप्रतिको अनिश्चितताका कारण मानसिक तनावमा परिरहेका छन् । परिवारसँग नियमित सम्पर्क भए पनि प्रत्यक्ष साथ र भावनात्मक सहारा नपाउँदा धेरै व्यक्ति एक्लोपन महसुस गर्छन् । 

यसरी सामाजिक संरचनामा आएको परिवर्तनले आजको नेपाली समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको देखिन्छ । पहिलेको तुलनामा आज मानसिक स्वास्थ्यलाई अझ गम्भीर रूपमा बुझ्न, समयमै पहिचान गर्न र आवश्यक सहयोग तथा उपचार प्रदान गर्न अत्यन्तै आवश्यक छ ।

आर्थिक समृद्धिको दौडमा आजका नेपाली र तिनका परिवारले आर्थिक रूपमा मात्रै होइन, मानसिक रूपमा पनि ठूलो मूल्य चुकाइरहेको छ । आज मानिसहरू बाहिरी रूपमा धन सम्पन्न देखिए पनि भित्री रूपमा तनाव, चिन्ता र डिप्रेसनजस्ता मानसिक समस्याले प्रभावित हुँदै छन् ।

यदि तपाईंको घरपरिवार, छरछिमेक वा आफन्तजनमध्ये कोही पनि मानसिक रूपमा समस्यामा हुनुहुन्छ भने उहाँलाई हाँसोको पात्र नबनाऔं । बरु माया, साथ र सहयोगका साथ परामर्श (काउन्सेलिङ) लिन प्रेरित गरौं । यसले गर्दा पीडित व्यक्तिले नयाँ जीवन पाउनेछन् र एउटा परिवार फेरि खुसी बन्न सक्नेछ । यसै प्रकारको सकारात्मक सोच र व्यवहारले स्वस्थ अनि समृद्ध समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । सकारात्मक सोच र व्यवहारले व्यक्तिको जीवनमा वास्तवमै ठूलो परिवर्तन ल्याउन सक्छ । यसले पीडित व्यक्तिलाई आत्मविश्वासी बनाउनुका साथै समाजमा पनि सकारात्मक ऊर्जा फैलाउँछ । यसरी सकारात्मक सोच र व्यवहारले सकारात्मक समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । 

अर्को महत्त्वपूर्ण विषय, कुनै व्यक्तिले मानसिक पीडाबाट गुज्रिएर सही परामर्श 

(काउन्सेलिङ) र औषधि सेवनपछि पूर्ण रूपमा स्वास्थ्य लाभ गरिसकेको भए पनि हाम्रो समाजमा अझै उनीहरूलाई फरक दृष्टिले हेर्ने चलन रहेको छ । यस्तो दृष्टिकोणले व्यक्तिको आत्मसम्मानमा चोट पुर्‍याउनुका साथै समाजभित्र पनि अनावश्यक भेदभाव र दूरी सिर्जना गर्छ ।

वास्तवमा मानसिक स्वास्थ्य समस्या पनि अन्य शारीरिक रोगजस्तै सामान्य हो । र, समयमै उपचार गरे पूर्ण रूपमा निको हुन सक्छ । त्यसैले निको भइसकेका व्यक्तिलाई पुनः सामान्य रूपमा स्वीकार गर्नु, उनीहरूलाई सम्मान र समान व्यवहार गर्नु अत्यन्तै आवश्यक छ । 

त्यसो भए मात्रै आपसी समझदारी, विश्वास र एक सकारात्मक तथा स्वस्थ समाज निर्माण गर्न मद्दत पुग्नेछ । 

सम्झना

Link copied successfully