नेपालले फिर्ता ल्याउन सक्छ विदेशिएको अवैध सम्पत्ति ? 

नेपालबाट अवैध रूपमा विदेशिएको सम्पत्ति फिर्ता गर्ने प्रक्रिया असाध्यै जटिल छ । यसमा संरचनागत तथा संस्थागत चुनौतीका चाङ छन् । पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिहरूको अभाव छ । नेपालमा विदेशिएको सम्पत्ति खोजी र पुनःप्राप्तिको आधारभूत प्रक्रियाको सुरुवात भएकै छैन ।

वैशाख २७, २०८३

दिपेश घिमिरे

Can Nepal bring back illegal assets taken abroad?

What you should know

गत चैत २५ गते निवर्तमान गृहमन्त्री सुधन गुरुङले नेपालस्थित स्विट्जरल्यान्डका राजदूत डेनएल मैवलीलाई भेटे । त्यसक्रममा नेपालीले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखेकोबारे अनुसन्धानमा सहयोग गर्न गुरुङले मैवलीलाई आग्रह गरेका थिए । भेटमा गुरुङले राजदूतसमक्ष अनुरोध गरेका थिए– नेपालीले स्वीस बैंकमा जम्मा गरेका पैसा फिर्ताका लागि आवश्यक पहल गरिदिनुस् । 

यसैगरी नेपाल सरकारले यही वैशाख २ गते गठन गरेको सम्पत्ति छानबिन आयोगको काम, कर्तव्य र अधिकारमा विदेशमा लुकाएको वा पठाएको सम्पत्तिको विषयमा समेत अनुसन्धान गर्ने जिम्मेवारी तोकिएको छ । साथै विदेशमा लुकाएको शंकास्पद सम्पत्तिको छानबिन गर्दा प्रचलित कानुनको अधीनमा रही विदेशस्थित नेपाली कूटनीतिक नियोग, इन्टरपोल तथा अन्य अनुसन्धानकारी निकायसँग सम्पर्क र समन्वय गर्न सक्ने उल्लेख छ । यससँगै अवैध रूपमा विदेशिएको पुँजीका सम्बन्धमा बहस तीव्र बनिरहेको छ । यद्यपि कतिपयले अवैध रूपमा विदेशिएको सम्पत्ति फिर्ता ल्याउने विषयलाई सरल रूपमा लिने गरेको देखिन्छ । कतिपयचाहिँ कूटनीतिक भेटघाटका माध्यमबाटै अवैध रूपमा विदेश पुर्‍याइएको सम्पत्ति फिर्ता ल्याउन सकिन्छ भन्ने बुझाइमा रहेका देखिन्छन् । वास्तवमा, विद्यमान कानुनी संरचना र अन्तर्राष्ट्रिय अनुभवलाई मिहिन अध्ययन गर्ने हो भने अवैध रूपमा विदेशिएको सम्पत्ति पुनः प्राप्तिको प्रक्रिया अत्यन्तै जटिल छ । 

विदेशका अनुभव

विदेशिएको अवैध सम्पत्ति फिर्ता ल्याउने विषय राजनीतिक नारा वा लोकप्रिय एजेन्डा मात्रै होइन । यो राज्यको समग्र संस्थागत क्षमता, कानुनी विश्वसनीयता र अन्तर्राष्ट्रिय सहकार्य क्षमताको परीक्षण हो ।अवैध रूपमा विदेश पुर्‍याइएको सम्पत्ति फिर्ता ल्याउने सन्दर्भमा नेपालले बंगलादेश, फिलिपिन्स तथा इन्डोनेसियाका अनुभवबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छ । सन् २०२४ अगस्टमा बंगलादेशमा उठेको सडक आन्दोलनले डेढ दशक लामो शेख हसिनाको सरकार ढाल्यो । त्यसपछि मोहम्मद युनुसको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले हसिनाको शासनकालमा उनी निकटका व्यक्तिले अवैध रूपमा अर्बौं डलर विदेश पुर्‍याएको तथ्य फेला पार्‍यो । यसपछि सरकारले केन्द्रीय बैंकका गभर्नर डा. अहसन एच मन्सुरलाई हसिना शासनमा अवैध रूपमा विदेश पुर्‍याएको सम्पत्ति खोजी गर्ने जिम्मेवारी दियो । त्यस अनुसन्धान कार्यमा सहयोग गर्न ११ वटा समूह गठन गरिएको थियो । समूहले एक वर्ष लगाएर अनुसन्धान गर्‍यो । त्यसले हसिना शासनकालमा ११ कुलीन परिवारले अवैध रूपमा विदेश लगेको पैसाको डरलाग्दो तस्बिर देखाएको थियो । एउटा परिवारले मात्रै बंगलादेशबाट १५ अर्ब डलरभन्दा बढी रकम अवैध रूपमा विदेश पुर्‍याएको पाइएको थियो । छानबिनका लागि गभर्नर मन्सुर आफैं सन् २०२५ को मार्चमा बेलायत गए । र, बंगलादेशबाट अवैध रूपमा गएको करिब २५ अर्ब डलरको पहिचान गरे । त्यसपछि त्यो जफत गर्न बेलायती विदेश मन्त्रालय तथा विज्ञहरूसँग समन्वय र छलफल पनि गरे । 

सम्पत्ति खोजी गर्ने समूहले बंगलादेशबाट त्यहाँको बैंकिङ प्रणालीमार्फत अवैध रूपमा विदेशिएको सम्पत्ति पछ्याउने काम गरिरहेको छ । अनुसन्धानका क्रममा बंगलादेशका तत्कालीन भूमिमन्त्री फैफुज्जमान चौधरीले दुबई र लन्डनमा ५० करोड डलरभन्दा बढीको घरजग्गा किनेको पत्ता लागेको थियो । यद्यपि यस्तो रकम फिर्ता ल्याउन सकेको छैन । बंगलादेशले नै गरेको एक अध्ययनअनुसार, विदेशिएको अवैध रकम फिर्ता गर्ने कार्य जटिल हुन्छ । र, त्यस्तो रकम पुनः प्राप्त गर्न कम्तीमा पनि पाँच वर्ष लाग्ने अनुसन्धानले देखाएको छ । 

यसैगरी फिलिपिन्समा पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसद्वारा अवैध रूपमा विदेश पुर्‍याएको सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया विश्वकै चर्चित उदाहरणमध्ये एक हो । सन् १९८६ मा तानाशाह मार्कोस शासन पतन भयो । त्यसपछि फिलिपिन्स सरकारले उनको शासनकालमा भ्रष्टाचार गरी विदेशिएको सम्पत्तिको खोजी र पुनः प्राप्तिको उद्देश्यले प्रेसिडेन्सियल कमिसन अन गुड गभर्मेन्ट (पीसीजीजी) गठन गरेको थियो । उक्त निकायको मुख्य उद्देश्य थियो– मार्कोस र उनी निकटका व्यक्तिले अवैध रूपमा विदेश पुर्‍याई लुकाएको सम्पत्तिको पहिचान तथा पुनःप्राप्ति गर्नु ।  

यसरी विदेशिएको रकम फिर्ता गर्ने क्रममा पीसीजीजीले विशेषगरी स्विट्जरल्यान्डका बैंकहरूमा राखिएको सम्पत्तिलक्षित अनुसन्धान गरेको थियो । स्वीस बैंकिङ गोपनीयता कानुन अत्यन्तै कडा भए पनि फिलिपिन्सले द्विपक्षीय कानुनी सहायता सम्झौताको जगमा स्वीस अदालतहरूमा मुद्दा दायर गरेको थियो । यस सन्दर्भमा सन् १९९७ मा स्वीस संघीय सर्वोच्च अदालतले फिलिपिन्सको पक्षमा फैसला गर्‍यो । त्यसपछि फिलिपिन्सले ६०० मिलियन अमेरिकी डलरभन्दा बढी रकम देशमा फिर्ता ल्याउन सफल भयो । यो सफलता तत्कालै प्राप्त भएको थिएन । त्यसका लागि फिलिपिन्स सरकारले एक दशक लामो संघर्ष गर्नुपरेको थियो । 

त्यो घटनाले अवैध रूपमा विदेशिएको सम्पत्ति पुनः प्राप्ति गर्ने कार्य अत्यन्तै जटिल र लामो समय लाग्ने देखाउँछ । विश्व बैंक तथा संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालयले प्रकाशित गरेको एक अध्ययनअनुसार, विदेशिएको अवैध रकम स्वदेश फर्काउने कार्य एक दीर्घकालीन तथा कानुनी रूपमा अत्यन्तै जटिल प्रक्रिया हो । अन्तर्राष्ट्रिय सहकार्य, प्रमाणको यथेष्ट संकलन, बलियो घरेलु कानुन र राजनीतिक इच्छाशक्तिको संयोजनबिना विदेशिएको सम्पत्ति फिर्ता गर्न सम्भव छैन । 

Can Nepal bring back illegal assets taken abroad?

इन्डोनेसियामा सन् १९६७ मार्चदेखि १९९८ मेसम्म शासन गरेका तानाशाह सुहार्तो संसारकै सबैभन्दा भ्रष्ट शासकका रूपमा चिनिन्छन् । उनले आफ्नो शासन अवधिमा १० विलियन अमेरिकी डलरभन्दा बढी रकम भ्रष्टाचार गरेको बताइन्छ । उनको शासन पतनपछि इन्डोनेसियन सरकारले उक्त अवधिमा अवैध रूपमा विदेशिएको सम्पत्ति फिर्ता ल्याउने प्रयास गरेको थियो । इन्डोनेसियाले विशेष रूपमा विश्व बैंक र संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालयको संयुक्त पहल ‘स्टोलन एसेट रिकभरी इनिसिएटिभ’ सँग सहकार्य गरेको थियो । 

इन्डोनेसियाले संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धिलगायतका विभिन्न अन्तर्राष्ट्रिय सन्धिको प्रावधान प्रयोग गर्दै सम्पत्ति पुनःप्राप्तिको प्रयास गरेको थियो । यसक्रममा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग, अनुसन्धान क्षमता विकास र वित्तीय निगरानी प्रणाली सुदृढीकरणमा इन्डोनेसियन सरकारले जोड दिएको थियो । यद्यपि, फिलिपिन्सको तुलनामा इन्डोनेसियाले सफलता पाउन सकेन । केभिन स्टिफनसन तथा अन्यले लेखेको एक पुस्तक ‘बेरियर्स टु एसेट रिकभरी’ का अनुसार, यसको प्रमुख कारणमा कमजोर प्रमाण व्यवस्थापन, अन्तर्राष्ट्रिय कानुनी प्रक्रियाको जटिलता र घरेलु राजनीतिक हस्तक्षेप थिए । बंगलादेश, फिलिपिन्स तथा इन्डोनेसियाका उदाहरणले देखाउँछ– अवैध सम्पत्ति पुनःप्राप्ति आजको भोलि नै हुन सक्दैन । 

अवैध रूपमा विदेशिएको पैसा फिर्ताका केही उदाहरण

क्र.सं. प्राप्त गर्ने देश फिर्ता गर्ने देश फिर्ता भएको मिति फिर्ता भएको रकम 

१ नाइजेरिया स्विट्जरल्यान्ड सन् २००५ देखि सन् २०२० कम्तीमा ४३ अर्ब डलर 

२ फिलिपिन्स स्विट्जरल्यान्ड सन् २००३ कम्तीमा ६०० मिलियन डलर 

३ मलेसिया अमेरिका सन् २०१९ देखि २०२१ कम्तीमा १.२ अर्ब डलर

४ पेरु स्विट्जरल्यान्ड र अमेरिका सन् २००१ देखि २००२ कम्तीमा १७० मिलियन डलर 

५ कजाकिस्तान अमेरिका र स्विट्जरल्यान्ड सन् २००७ देखि २०१५ कम्तीमा ११५ मिलियन डलर 

६ उज्वेकिस्तान स्विट्जरल्यान्ड सन् २०१९ देखि प्रक्रिया जारी हालसम्म कम्तीमा १३१ मिलयन डलर 

७ इक्वेडर अमेरिका २०२१ कम्तीमा १८.९ मिलयन डलर 

स्रोतः विभिन्न सन्दर्भ सामग्रीको अध्ययन 

सम्पत्ति पुनःप्राप्तिका पूर्वसर्तहरू 

अवैध रूपमा विदेशिएको सम्पत्ति फिर्ता ल्याउने कार्यको पहिलो र आधारभूत पूर्वसर्त हो– राजनीतिक इच्छाशक्ति । कुनै पनि देशले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र विदेशमा रहेको अवैध सम्पत्ति फिर्ता ल्याउने औपचारिक निर्णय नगरेसम्म प्रक्रिया नै सुरु हुँदैन । तर, केवल इच्छाशक्तिले परिणाम भने सुनिश्चित गर्दैन । कूटनीतिक भेटघाटमार्फत गरिने पहलले द्विपक्षीय संवादको वातावरण तयार पार्न सक्छ, तर सम्पत्ति पुनःप्राप्ति गर्न सकिँदैन । विशेषगरी स्विट्जरल्यान्डजस्ता देशका बैंकहरूले ठोस कानुनी आधार, प्रमाण र अदालतको आदेशबिना खातासम्बन्धी विवरण सार्वजनिक गर्दैनन् । बसेल इन्स्टिच्युट अन गभर्नेन्सको एक अध्ययनअनुसार, बैंकिङ गोपनीयता कानुनहरूले अवैध सम्पत्ति ट्र्याकिङ प्रक्रियालाई जटिल बनाइरहेको छ । 

दोस्रो, पारस्परिक कानुनी सहायता सम्झौता र न्यायिक प्रमाणीकरणसहितको बलियो कानुनी संयन्त्र हो । अवैध रूपमा विदेशिएको सम्पत्ति पुनःप्राप्तिको केन्द्रमा पारस्परिक कानुनी सहायता प्रणाली रहन्छ । दुई देशबीच हुने यस्ता सहायतासम्बन्धी सन्धिहरूले प्रमाण संकलन, बैंक विवरण आदानप्रदान, अनुसन्धान सहयोग र सम्पत्ति जफत वा फिर्ता प्रक्रियालाई कानुनी मान्यता प्रदान गर्छन् । संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालयका अनुसार यस्ता पारस्परिक कानुनी सहायता सम्झौताबिना अन्तर्राष्ट्रियस्तरमा वित्तीय अपराध अनुसन्धान प्रभावकारी सञ्चालन गर्न सम्भव हुँदैन । जबसम्म कानुनी रूपमा प्रमाणित आधार तयार हुँदैन, तबसम्म कुनै पनि विदेशी निकायले यस कार्यमा सहयोग गर्न सक्दैनन् । 

तेस्रो, घरेलु कानुनी प्रणालीको प्रभावकारिता, अनुसन्धान क्षमताको स्तर र न्यायिक विश्वसनीयतामा निर्भर हुन्छ । नेपालको सन्दर्भमा यिनै सवालमा महत्त्वपूर्ण कार्य गर्नुपर्ने देखिन्छ, जसमा विदेशिएको रकम भ्रष्टाचार, कर छली वा अन्य आपराधिक गतिविधिबाट उक्त सम्पत्ति आर्जित भएको ठोस प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ । यसलाई न्यायिक फैसलाबाट प्रमाणित गर्नुपर्छ । नेपालकै अदालतले यसरी विदेशिएको सम्पत्तिलाई अवैध घोषणा नगरेसम्म सम्पत्ति पुनः प्राप्तिको अन्तर्राष्ट्रिय प्रक्रिया अघि बढ्न सक्दैन । यस्ता सवालमा दोहोरो फौजदारीको सिद्धान्त लागू हुन्छ । त्यसअनुसार, जुन कार्य नेपालमा अपराध मानिन्छ, त्यो सम्बन्धित विदेशी देशमा पनि अपराध मानिने नियम लागू भएको हुनुपर्छ । कतिपय अध्ययनले भन्छन्– दोहोरो फौजदारीको अभावमा धेरै काण्ड अन्तर्राष्ट्रियस्तरमा असफल हुने गरेका छन् । 

चौथो, अन्तर्राष्ट्रिय कानुनी आधार हो । भ्रष्टाचारविरुद्ध संयुक्त महासंघीय महासन्धिले पहिलो पटक सम्पत्ति पुनःप्राप्तिलाई अन्तर्राष्ट्रिय कानुनी दायित्वका रूपमा स्थापित गरेको छ । सन् २००४ मा जारी भएको यस महासन्धिले सदस्य राष्ट्रहरूलाई भ्रष्टाचारबाट आर्जित सम्पत्ति फिर्ता गराउने सम्बन्धमा स्पष्ट मार्गनिर्देश गर्छ । महासन्धिको धारा ५१ ले उल्लेख गरेको छ– सदस्य राष्ट्रहरूले अवैध सम्पत्ति फिर्ताका लागि सहयोग गर्नु अनिवार्य दायित्व हो । यसैगरी, धारा ५३ ले पीडित राष्ट्रलाई विदेशी अदालतहरूमा मुद्दा दायर गर्ने अधिकार दिएको छ भने धारा ५७ ले जफत गरिएको सम्पत्ति मूल देशलाई फिर्ता गरिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । महासन्धिका यी प्रावधानले अन्तर्राष्ट्रियस्तरमा सम्पत्ति पुनःप्राप्तिलाई संस्थागत र कानुनी रूपमा सुदृढ बनाएका छन् ।

यद्यपि, महासन्धिले कानुनी ढाँचा मात्रै प्रदान गर्छ । यसको प्रभावकारी कार्यान्वयन भने प्रत्येक देशको राष्ट्रिय कानुनी, प्राविधिक र संस्थागत क्षमतामा निर्भर हुन्छ । सम्बन्धित देशमा पर्याप्त अनुसन्धान क्षमता, दक्ष अभियोजन प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य व्यवस्थापन गर्न सक्ने संस्थागत संरचना नभएसम्म महासन्धिका प्रावधानहरू व्यवहारमा कार्यान्वयनमा आउँदैनन् । 

नेपालका चुनौतीहरू

नेपालबाट अवैध रूपमा विदेशिएको सम्पत्ति फिर्ता गर्ने प्रक्रिया निकै जटिल छ । यसका पछाडि संरचनागत तथा संस्थागत चुनौती छन् । पहिलो, पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिहरूको अभाव छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा वित्तीय अपराध अनुसन्धान तथा सम्पत्ति पुनःप्राप्तिका लागि यस्ता द्विपक्षीय सन्धिहरू गरेको छैन । त्यसैले प्रमाण आदानप्रदान, बैंकिङ सूचना प्राप्ति र अनुसन्धान सहकार्य जस्ता सवालमा जटिलता छन् । अझै पनि विदेशिएको सम्पत्ति खोजी र पुनःप्राप्तिको आधारभूत प्रक्रिया नै सुरुवात भएको छैन । 

दोस्रो, नेपालको अवैध आर्जनसम्बन्धी अनुसन्धान क्षमता कमजोर छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा अन्य निकायमा वित्तीय अपराधको जटिल प्रकृतिसँग जुध्न आवश्यक प्राविधिक दक्षता, डिजिटल फरेन्सिक उपकरण र विशेषज्ञ जनशक्तिको कमी छ । आधुनिक वित्तीय अपराधहरू प्रायः बहुराष्ट्रिय र बहुस्तरीय हुने भएकाले तिनको अनुसन्धानका लागि आधुनिक प्रविधि र विश्लेषणात्मक क्षमता आवश्यक पर्छ, जुन नेपालसँग छैन वा कमजोर अवस्थामा छ । 

तेस्रो, न्यायिक ढिलाइ पनि गम्भीर चुनौती हो । नेपालमा भ्रष्टाचारसम्बन्धी मुद्दाहरू वर्षौंसम्म लम्बिने प्रवृत्ति छ । यस किसिमको राष्ट्रिय प्रवृत्तिले विदेशिएको सम्पत्ति पुनःप्राप्ति प्रक्रियामाथि प्रभाव पार्छ । स्वदेशको अदालतबाट अन्तिम फैसला नआएसम्म उक्त सम्पत्ति छानबिनको सुरुवात नै हुन सक्दैन । ट्रान्सपरेन्सी इन्टरनेसनलको एक अध्ययनअनुसार न्यायिक ढिलाइले अवैध रूपमा विदेशिएको सम्पत्ति फिर्ता प्रक्रियामा गम्भीर अवरोध सिर्जना गर्ने देखाएको छ । 

चौथो, राजनीतिक हस्तक्षेप हो । अनुसन्धान र अभियोजन प्रक्रियामा राजनीतिक प्रभाव परे निष्पक्षता र विश्वसनीयता कमजोर हुन्छ । यसले अन्तर्राष्ट्रियस्तरमा पनि देशको विश्वसनीयता घटाउँछ । संवैधानिक निकायलाई अवैध तबरबाट दबाब दिए विदेशी निकायहरू सहयोग गर्न हिच्किचाउँछन् । त्यसैले स्वदेशका भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायको स्वायत्ततालाई सुनिश्चितता प्रदान नगरेसम्म सम्पत्ति फिर्ता प्रक्रिया करिब असम्भव हुन्छ । 

पाँचौं, सम्पत्ति व्यवस्थापन प्रणालीको कमजोरी हो । जफत गरिएको सम्पत्तिको संरक्षण, उपयोग र व्यवस्थापनका लागि नेपालमा सुदृढ कानुनी तथा संस्थागत संरचना छैन । यसले आर्थिक नोक्सानी निम्त्याउँछ र सम्पत्ति पुनःप्राप्तिको समग्र विश्वसनीयतामा असर पार्छ । नेपालमा अहिलेसम्म यस्तो कानुनी र संस्थागत प्रबन्ध छैन । 

अबको बाटो 

नेपालबाट अवैध रूपमा विदेशिएको सम्पत्ति फिर्ता ल्याउने हो भने वर्तमान सरकारले आवश्यक नीतिगत, कानुनी र संस्थागत तहमा सुधार गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिले सिंगापुर, स्विट्जरल्यान्ड, दुबई, भारतलगायत नेपालका प्रमुख वित्तीय कारोबार हुने देशसँग तत्काल पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि गर्नुपर्छ । 

दोस्रो, संस्थागत सुदृढीकरणमा काम गर्नुपर्छ । अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंकलगायतका निकायलाई प्राविधिक रूपमा सक्षम, स्रोत तथा साधनले सम्पन्न र कार्यगत रूपमा स्वतन्त्र बनाउनुपर्छ । डिजिटल फरेन्सिक, डेटा विश्लेषण र अन्तर्राष्ट्रिय वित्तीय ट्र्याकिङ प्रणालीमा दक्षता विकास गर्नुपर्छ । 

तेस्रो, भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको छिटो, निष्पक्ष र विश्वसनीय निरूपण सुनिश्चित गर्न विशेष अदालत तथा सर्वोच्च अदालतलाई सुदृढ बनाउने, भ्रष्टाचारका मुद्दा फैसलाको प्रक्रिया सरलीकरण गर्ने र यसको समयसीमा निर्धारण गर्नुपर्छ । 

चौथो, नेपालले अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण गर्नुपर्छ । विभिन्न अन्तर्राष्ट्रिय वित्तीय गुप्तचर निकायसँगको समन्वय र सहकार्यलाई सक्रिय बनाउँदै वित्तीय सूचना आदानप्रदानको गति बढाउनुपर्छ । इन्टरपोल तथा ‘स्टोलन एसेट रिकभरी इनिसिएटिभ्स’ जस्ता निकायसँग सहकार्य बढाउँदै अन्तर्राष्ट्रिय अनुभव, प्राविधिक सहयोग र क्षमता विकासका अवसर उपयोग गर्नुपर्छ । 

विदेशिएको अवैध सम्पत्ति फिर्ता ल्याउने विषय राजनीतिक नारा वा लोकप्रिय एजेन्डा मात्रै होइन । यो राज्यको समग्र संस्थागत क्षमता, कानुनी विश्वसनीयता र अन्तर्राष्ट्रिय सहकार्य क्षमताको परीक्षण हो । त्यसैले वर्तमान सरकारले यदि अवैध रूपमा विदेशिएको सम्पत्ति फिर्ता गर्न चाहन्छ भने कानुनी संरचना सुदृढीकरण, अनुसन्धान क्षमताको विकास, न्यायिक सुधार र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा सक्रियतापूर्वक काम गर्नुपर्छ ।

दिपेश दीपेश घिमिरे सुशासनमा विषयमा लेख्छन, अनुसन्धान गर्छन् । उनकाे रिफ्लेक्सनस् अन नेपलिज सोसाइटीः अर्काइभ अफ सोसियोलोजिकल एस्सेज र शासन र शासक जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully