बदलिँदो विश्वमा ईयू–नेपाल सहकार्य कसरी ?

‘युरोप दिवस’ ले पुनःस्मरण गराउँछ– शान्तिलाई कहिल्यै हलुका रूपमा लिनु हुँदैन । यस दिवसमा हामी ‘प्रतिकूल परिस्थितिमा पनि सहकार्य सम्भव छ’ भन्ने विचारको उत्सव मनाउँछौँ । नेपालसँग मिलेर चुनौतीलाई साझा समाधानमा रूपान्तरण गर्दै छौं । 

वैशाख २४, २०८३

भेरोनिक लोरेन्जो

How is EU-Nepal cooperation in a changing world?

What you should know

युरोपको जग सन् १९५० को मे ९ मा दोस्रो विश्वयुद्धपश्चात् खण्डहरमा खडा भयो । तत्कालीन फ्रान्सका विदेशमन्त्री रोबेर सुमानको अस्वाभाविक प्रस्ताव थियो– पूर्ववत् एकअर्काका शत्रु देशहरू फ्रान्स र जर्मनीले कोइला र स्टिल उद्योगलाई साझा नियन्त्रणमा रहने गरी गाभ्ने । यो सहकार्यले यी दुई देशबीच युद्धको सम्भावना ‘सोच्नै नसकिने मात्रै होइन, यथार्थमै असम्भव’ सावित गरिदियो । युरोपियन युनियनको जग खडा गर्ने यो प्रयास समयक्रममा सुमान–घोषणापत्रका रूपमा परिचित भयो । भोलि अर्थात् मे ९ यही दिनको वार्षिकोत्सव हो । 

युरोपियनहरू यस दिनलाई ‘युरोप दिवस’ का रूपमा स्मरण गरेर मनाउँछन् । ७६ वर्षपश्चात् युरोपियन युनियनमा आज २७ सदस्य राष्ट्रहरू आबद्ध छन् । र, ४ सय ५० मिलियन नागरिकले अतुलनीय शान्ति, स्थिरता अनि समृद्धिको अनुभूति गरिरहेका छन् । 

यद्यपि यी आधारभूत मूल्य मान्यता र तिनलाई प्रवर्धन गर्ने बहुराष्ट्रिय प्रणाली अहिले खतरामा छन्– युद्ध र अन्तर्राष्ट्रिय कानुनहरूको खुलमखुला उल्लंघन घटनाका कारण । रुसले युक्रेनविरुद्ध अकारण युद्ध सुरु गरेको पाँचौं वर्ष चलिरहेको छ । यो युद्ध युक्रेनको भौगोलिक अक्षुण्णताविरुद्धको आक्रमण मात्रै होइन, हामीले मिहिनेतसाथ निर्माण गरेको अन्तर्राष्ट्रिय मापदण्डमाथिको खतरा पनि हो । यदि विश्व पुनः ‘शक्तिले सत्य निर्धारण गर्छ’ भन्ने मापदण्डमा फर्कियो भने चाहे ठूला वा साना, कुनै पनि देश आफ्नो सीमाभित्र सुरक्षित रहँदैनन् । युरोपियन युनियनको अडान स्पष्ट छ– हामी न्यायपूर्ण र दिगो शान्ति स्थापनाका लागि आवश्यक परेसम्म युक्रेनकै पक्षमा उभिने छौं । युरोपियन युनियनले हालै घोषणा गरेको ९० अर्ब युरो सहायता प्याकेजको प्रतिबद्धताले युक्रेनलाई भूमिको रक्षा, नागरिक सुरक्षा र रुसले ध्वस्त पारेका महत्त्वपूर्ण पूर्वाधार तथा संरचनाहरू पुनर्निर्माण गर्न सहयोग पुग्नेछ । योसँगै हामीले हालै अवलम्बन गरेको रुसविरुद्धको प्रतिबन्धहरूको २० औं प्याकेज युद्ध संयन्त्रलाई कमजोर बनाउने उद्देश्यसहित निरन्तर रहनेछ ।

क्षेत्रीय समायोजनमा सफलता, मुख्य राजनीतिक अनि आर्थिक शक्तिका रूपमा ‘ईयू’ को उदय लोकतन्त्र, मानवअधिकार र विधिको शासनप्रति हाम्रो मूल्य मान्यताको प्रवर्धनले सम्भव तुल्याएको हो । यी मूल्य मान्यता र विधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डप्रतिको सम्मानले नेपालसहित अन्य मित्रराष्ट्र र साझेदारमाझ हाम्रो विश्वास आर्जन भएको छ ।

चुनौतीपूर्ण वर्षहरूको सामना गर्दैगर्दासमेत नेपालले यी मूल्य मान्यताको प्रवर्धन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन नियाल्न पाउनु नेपालमा राजदूतका रूपमा मेरो कार्यकालको एउटा अभिन्न पाटो रहिरहनेछ । शान्तिपूर्ण र व्यवस्थित निर्वाचनका दिनमा म सबैभन्दा प्रभावित भएको थिएँ– सबै उमेर समूहका मतदाताको गतिशील सहभागिता अनि नेपालको लोकतन्त्रप्रति उनीहरूको विश्वास देखेर । निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक जिम्मेवारी दिएको छ । यसले परिवर्तन र नागरिकका लागि काम गर्ने सरकारप्रतिको नेपालीको चाहनाको संकेतसमेत उजागर गरेको छ । 

नयाँ सरकारले यो जनमतलाई कार्यान्वयन गर्दैगर्दा नेपालको प्राथमिकताका क्षेत्रहरूमा सहयोगका लागि तयार छ– युरोपियन युनियन । ईयूका २० भन्दा धेरै सदस्य राष्ट्रका नयाँदिल्लीस्थित राजदूतहरू भौतिक रूपमै सहयोग व्यक्त गर्न यो महिनाको अन्त्यतिर नेपाल भ्रमण गर्ने जानकारी गराउन पाउँदा म खुसी छु । हामीसँग सबै विषयको समाधान त छैन, तर बलियो र समावेशी संस्था वा निकायको निर्माण, समृद्धि अभिवृद्धि र युवा सशक्तीकरणको क्षेत्रमा अनुभव छ । ५० वर्षभन्दा लामो समयदेखि युरोपियन युनियन नेपालको भरपर्दो साझेदार रहँदै आएको छ । नेपालका प्राथमिकताको सन्दर्भमा मात्रै होइन, हामी सबैलाई असर गर्ने विश्वव्यापी संकट सम्बोधनका लागि पनि नेपालसँग काम गर्न हामी भरोसायोग्य रहनेछौँ । 

यी चुनौती सम्बोधन र समृद्धिका एजेन्डालाई सहयोग गर्न ‘ग्लोबल गेटवे’ युरोपियन युनियनको मुख्य साधन बनेको छ । ईयू सदस्य राष्ट्रहरू, ईयू डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन र निजी क्षेत्रसहित ग्लोबल गेटवेले गुणस्तरीय पूर्वाधार अनि सञ्जालमा स्मार्ट, स्वच्छ तथा सुरक्षित लगानीमार्फत नेपालको प्रगतिमा सहयोगदेखि लगानीसम्ममा विद्यमान खाडल कम गर्न सहयोग गर्नेछ । यसले हरित र डिजिटल रूपान्तरणमा समेत तीव्रता ल्याउन सक्छ । 

हाल जारी ऊर्जा संकट सम्बोधन गर्न सबैभन्दा सान्दर्भिक नै हाम्रो ग्लोबल गेटवे हो, जुन नवीकरणीय ऊर्जा लगानीमा केन्द्रित छ । यसका लागि टिम युरोपले ऊर्जा उत्पादन, प्रसारण, वितरणसँगै ऊर्जा दक्षता र न्यु कार्बन प्रविधिको क्षेत्रमा अग्रणी काममा लगानीका लागि नेपाल सरकारसँग सहकार्य गर्दै छ । यसैगरी ऊर्जा बजारको क्षत्रीय समायोजनसमेत युरोपको सफल ऊर्जा रूपान्तरणको केन्द्रमा छ । हाम्रो ‘इनर्जी कनेक्टिभिटी इन साउथ एसिया’ कार्यक्रम नेपाल र यसका छिमेकी देशहरूका लागि लाभदायी हुने विश्वास हामीलाई छ ।

युवाहरूमा लगानीले समाजहरूको भविष्य तय गर्छ । यसकारण युवाहरू युरोपियन युनियनको प्राथमिकताको केन्द्रमा छन् । नेपालमा परिवर्तनको तीव्र चाहना बोकेका, डिजिटल टुलहरूको प्रयोग गर्ने सीप भएका र उन्नत नेपाल बनाउन दत्तचित्त युवा पुस्ता छन् । हामी नेपालका सबै भेग र क्षेत्रका युवायुवतीसँग निरन्तर संवाद कायम राख्न पाउँदा गौरवान्वित छौं । यस्तै खुसी छौं– युवालाई सफलताका लागि आवश्यक पर्ने सांस्कृतिक उद्यमशीलता, डिजिटल नवप्रवर्धन र खेलकुदलगायतका क्षेत्रमा नागरिक समाज समूहसँग सहकार्य गर्न पाउँदा ।

शिक्षाको क्षेत्रमा टिम युरोपका रूपमा हामी सरकारको सिकाइको नतिजा सुदृढ र शैक्षिक प्रणालीको समग्र प्रस्तुति सबलीकरण गर्ने प्रयत्नलाई सहयोगसहित बलियो साझेदारका रूपमा रहनेछौं । नेपालको युवा पुस्ता बढ्दो रूपमा एकआपसमा जोडिएका, भविष्यद्रष्टा र योगदानका लागि उत्सुक छ । युवाहरूको चाहनालाई शैक्षिक प्रणालीले सम्बोधन गर्नैपर्छ । सँगसँगै हामीले शैक्षिक गुणस्तर अभिवृद्धि, पाठ्यक्रम आधुनिकीकरण र डिजिटल अनि व्यावहारिक सीपहरू समायोजनको प्रयत्नमा पनि सहयोग गरिरहेका छौं । यसरी शिक्षाले युवाहरूलाई आजको विश्वको अवसर र चुनौतीहरू सामना गर्न तयार बनाउँछ ।

हामी शिक्षा र रोजगारी जोड्ने कामलाई सबलीकृत बनाउन केन्द्रित छौं । सीपहरूलाई भविष्यको रोजगारदाताका आवश्यकताअनुसार तयार पार्नु छ । नेपाली युवाहरूको रोजगारीको सम्भावना अनि उद्यमशीलताको अवसर अभिवृद्धिदेखि निजी क्षेत्रको सुदृढ सहभागितासम्ममा सीप आवश्यक पर्छ । 

अतिकम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नतिको विषय अझै अनिश्चित छ । मध्यपूर्वमा देखिएको संकटले ऊर्जा मूल्य र रेमिट्यान्समा परेको चापले थपेको प्रभावसहितको आर्थिक उथलपुथलले युरोपियन बजारमा ड्युटी फ्रि पहुँचको समाप्ति भएको छ । यसले नेपालमा पार्ने व्यापार घाटा र विश्व व्यापार संगठनका नियम पालनामा वैधानिक चासो खडा गरेको छ । नेपालको यो वर्ष स्तरोन्नति भए पनि वा नभए पनि आउँदा वर्षमा उसले व्यापार प्रतिस्पर्धालाई सुधारको मौकाका रूपमा उपयोग गर्नुपर्छ । अन्ततः नेपालले ईयू जेनेरलाइज्ड स्किम अफ प्रिफरेन्सेस प्लस (जीएसपी+) मा सहभागी हुन र अन्य विषयसँगै श्रमिक अधिकार र वातावरण संरक्षणका अन्तर्राष्ट्रिय मानकको पालना सुनिश्चित गर्नसमेत ईयू बजारमा निरन्तर पहुँच आवश्यक पर्छ । यस विषयमा नेपालको सहज रूपान्तरण प्रक्रिया सुनिश्चितताका लागि सहयोग गर्न युरोपियन युनियन प्रतिबद्ध रहन्छ ।

युरोप दिवसले हामीलाई पुनःस्मरण गराउँछ– शान्तिलाई कहिल्यै पनि हलुका रूपमा लिनु हुँदैन । यसैगरी यो दिन हामी प्रतिकूल परिस्थितिमा पनि सहकार्य सम्भव छ भन्ने विचारलाई उत्सवका रूपमा समेत मनाउँछौं । नेपालसँग मिलेर हामी चुनौतीलाई साझा समाधानमा रूपान्तरण गर्दै छौं । प्रत्येक दिन हामी स्वच्छ र दिगो विश्वमा समृद्ध हुन पाउने भविष्यका लागि काम गर्नेछौं ।

भेरोनिक लोरेन्जो नेपालका लागि युरोपियन युनियनका राजदूत हुन् ।

Link copied successfully