निम्न वर्गीय, निम्न मध्यम वर्गीय, मध्यम वर्गीय र सुकुमवासीहरूको मनोविज्ञान बलियो बनाउने खालका, उनीहरूका मस्तिष्कलाई पनि सिर्जनात्मक र वैज्ञानिक बनाउने सोच यो सरकारले ठोस रूपमै ल्याउला भन्ने अपेक्षा छ ।
स्वामी योगानन्द ओशो तपोवनमा नाचिरहेको भिडियो हेर्दा लाग्छ– जिन्दगी यस्तो पो हुनुपर्छ । तर के सबै मानिसलाई योगी बनेर विन्दास नाच्न सम्भव छ ? मनोवैज्ञानिकहरू भन्छन्– नेपालमा त वास्तवमा मानसिक स्वास्थ्यमा सबैभन्दा बढी लगानी गर्नुपर्ने देखिन्छ । नेपालका धेरै पुस्ता मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् । यहाँका मानिस प्राकृतिक प्रकोप, विभिन्न संस्कृति, द्वन्द्व, जात प्रथालगायतका समस्याबाट कुनै न कुनै तवरबाट प्रभावित भइरहेका हुन्छन् । के योग शिविर अनि भजन मण्डलीले नै मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई ठीक पार्छ ? योग र भजन मण्डलीले कुनै एक–दुई वटा धर्म संस्कृतिलाई मान्यता देला, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा । तर ती आध्यात्मिक मन र तन सुधार केन्द्रहरूमा समाजका भुइँ तहका समुदायले पनि सजिलै सहभागिता जनाउन पाउलान् त ?
पूर्व र वर्तमान सरकारका प्रतिनिधिहरूलाई कार्यालयमै योग तथा ध्यान गराइरहेका भाइरल भिडियोहरूको अर्थ पक्कै पनि मानिस मानसिक रूपमा पनि स्वस्थ हुनुपर्छ भन्ने नै त होला । प्रश्नचाहिँ यहाँनिर आएर उब्जन्छ कि सरकार, पहुँचवाला मात्रै स्वस्थ, युवा, फूर्तिलो हुनुपर्ने हो कि समाजको जरैदेखिका मानिस पनि शारीरिक र मानसिक रूपले स्वस्थ हुनुपर्ने हो ? स्वास्थ अवस्था नाजुक भएर औषधोपचार गर्दागर्दा आर्थिक अवस्था पनि जर्जर भएकाहरूको मानसिक स्वास्थ्य पनि जीर्ण भएका छन् । त्यस्तै केही व्यवसाय गरेर आर्थिक उन्नति गर्छु भन्ने कैयौं युवा व्यवसाय घाटामा गएर मानसिक स्वास्थ्य कमजोर भएर विचलित भएका छन् । यसका बारेमा पनि सरोकारवालाले सोचेका होलान् कि नहोलान् ?
मानसिक स्वास्थ्यका लागि राज्यको लगानी साह्रै न्यून छ । खासमा नेपालमा शिक्षाको क्षेत्रमा परिवर्तन गर्नुपर्ने एउटा विषय मानसिक स्वास्थ्यलाई कसरी सकारात्मक बनाउने भन्ने पनि हो । विषयहरू एकातिर अनि नीति र योजना अर्कातिर भइरहेका छन् । अहिले नैतिक शिक्षालाई विद्यालयस्तरमै पढाउनेतर्फ नयाँ सरकारको मनसुवा रहेको समाचार सार्वजनिक भएका छन् । शिक्षा आफैंमा नैतिक विषय हो, त्यो विज्ञान विषय होस् वा सामाजिक वा गणित वा भूगोल । व्यक्ति, परिवार, समाज सबै नैतिक हुनुपर्छ । त्यो भनेको अनुशासित र आफैंसँग इमानदार हुनु हो ।
विश्व कहाँबाट कहाँ पुगिसक्यो तर यही विश्वमा युद्ध छ, गरिबी छ, पछौटेपन छ । नेपाल जस्तो विकासोन्मुख राष्ट्र, जहाँका जनता निर्वाहमुखी जनजीवनमा पनि छन् । कतिपय मध्यम वर्गीय र सम्भ्रान्त वर्गका पनि छन् । गरिखाने उमेरका जनतालाई उत्पादनसँग जोड्ने कुनै मापदण्ड, उद्योग कलकारखाना या आधुनिक कृषि प्रणाली भने छैन ।
पहाडी खोरिया र बचेखुचेका बारी, टारहरूले बढ्दो परिवार धान्न नसकेर तराई झरेका, सुकुमवासी भएर ज्याला, मजदुरी गरेका, आफ्नो स्वामित्वमा जमिनको टुक्रो नभएका कैयौंको पूरा जीवन नै हातमुख जोर्ने उपक्रममा बित्ने गरेको छ । त्यस्ता परिवारका छोराछोरीले कहाँबाट सिर्जनात्मक शिक्षा, अर्थात् नैतिक शिक्षा पाउन सक्नु ?
कुकुर, बिराला र कसै–कसैले सुँगुरलगायतका पशुपन्छीहरूलाई पनि आफ्नै परिवारकै सदस्य जस्तो गरी पाल्ने गर्छन् । हालै सरकारले सुकुमवासी बस्ती हटाउँदा बालबालिकाले तिनलाई च्यापेर रोएको दृश्य भावनात्मक मात्र होइन । अब बिस्तारै ती बालबालिकामा कस्तो भावनात्मक समस्या होला, उनीहरूको मानसिक अवस्थाले कस्ता पुस्ताको जन्म होला ? के राज्यले समुदायलाई नै दीर्घकालीन असर पर्ने घटनाबारे ध्यान दिएको छ ?
सहरलाई चिटिक्क बनाउन मन पर्ने शासक त आएका छन् । उनीहरूले जनताको बहुमत पनि प्राप्त गरेका छन् । यसो भनिरहँदा जनतालाई ‘सहमत’ गराएर बस्ती खाली गराएको भए पक्कै पनि सरकारको सकारात्मक कुरा पनि गरिन्थ्यो होला । सुकुमवासी भनेर भनाउन आफैंमा बस्तीमा बस्नेहरूलाई हीनताबोध नै हुन्छ होला । तर बाँच्नका लागि नजिकका नम्बरी समाजले लगाउने लाञ्छनाहरू पचाएर बसेका वास्तविक सुकुमवासीको मानसिक स्वास्थ्यबारे सोच्ने फुर्सद छ होला त सरकारलाई ? हुन त लोकप्रिय कार्य गरेर छिटो–छिटो वाहवाही बटुल्न थालेको नयाँ सरकारले युरोप, अमेरिकातिरको जस्तो सफा सहर र चिल्ला बाटो त बनाउलान् तर मानवीय पक्षमा कामचाहिँ गर्लान् वा नगर्लान्, सन्देह छ । सरकारको सुकुमवासी बस्ती खाली गर्न दिएको तीव्रताले सिर्जना गरेका दबाबका बीच दुई जनाको ज्यान नै गएको छ । जीवन गुजाराकै क्रममा पहिल्यै संघर्षशील परिवारमा रहेका परिवारका सदस्यले मृत्यु रोजेपछि बाँकी सदस्यको मानसिक स्वास्थ्य कस्तो हुने होला ?
बाल अधिकार महासन्धिमा हस्ताक्षर गरेर बालबालिकाको क्षेत्रमा बर्सेनि संयुक्त राष्ट्रसंघमा बाल अधिकारको रिपोर्टिङ गरिरहेको नेपालले सीमान्तकृत, सुकुमवासी, भूमिहीन, दलित बालबालिकाको वृद्धि विकास र मानसिक स्वास्थ्यका बारेमा साँच्चै बहस पैरवी गर्ला कि ?
शारीरिक, मानसिक अनेक कष्टका बाबजुद पनि तरकारी बेचेर आफ्नो एक छोरो हुर्काउँदै किशोरावस्थासम्म पुर्याएको तर अझै पहिलेभन्दा बढी तनाव पो झेल्नुपर्ने हो कि भन्दै चिन्ता बोकेर बसेकी एक महिलाको कथा पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन सक्छ ।
घरबाट निकालिएकी, निक्लिएकी मनमाया आफ्नो रक्सीको अम्मली लोग्नेलाई छोडेर एक छोरा लिएर एक्लै जीविकोपार्जन गर्दै आएको पनि पन्ध्र वर्ष नाघिसक्यो । उनी एक्ली र हातमुख जोड्नकै लागि दिनरात संघर्ष गर्दागर्दै अनेक शारीरिक र मानसिक समस्यासँग जुध्दै, भिड्दै छिन् भन्ने विषय हामी जस्ता उनका तरकारी ग्राहकले भेउ पाइहालिन्छ । ग्यास्टिक, बाथलगायतका रोगहरूसँग लड्न उनले धामी–झाँक्रीको सहारा लिएकी छन् । जनजाति समुदायकी उनले माछा, मासु खान छोडेको पनि दसौं वर्ष भइसक्यो । उनीकहाँ तरकारी किन्न आउने महिलासँगको अनौपचारिक कुरामा यो वा त्यो देवीको भाकल गर, फलाना मन्दिरमा जाऊ, यस्तो राम्रो हुन्छ भन्दै सरसल्लाह पनि दिइरहेकी हुन्छिन् । उनले त्यही तरकारी बेच्ने व्यवसाय गरेरै बिहान–बेलुकाको छाक टार्ने र छोरालाई प्लस टुसम्म पढाउने काम पनि सकिएको छ । छोराले अब ब्याचलर पढ्नुपर्ने हो तर उनले त्यही व्यवसायबाट छोरालाई उच्च शिक्षा पढाउन सकेकी छैनन् र छोरा पनि आमालाई सहयोग गरौं भन्ने खालको भएनन् । ग्राहकमध्येकै कतिपयले छोरा खोइ भन्छन् ? विदेश पठाइदिन भन्छन् । तर उनी भने मान्छेले छोराका विषयमा गर्ने टिप्पणी र छोरा स्वयंको निष्क्रिय जीवनले गर्दा असाध्यै चिढिने स्वभावकी भएकी छन् । यस्तै प्रसंगमा एक दिन उनले झोक्किँदै जवाफ फर्काइन्– मैले मेरो यो तरकारी बेचेको पैसाले बिहान–बेलुकाको छाक टार्ने कि छोरालाई विदेश पठाउने ? बरु यौन पेसा गरेको भए अलि धेरै रकम कमाउँथें होला ।
उनले आफ्नो कथा र जीवन अनुभव थप्दै गइन् । आफूले बालकैदेखि दुःख गरेको र हालसम्म पनि संघर्षमै दिन बितेको बताइन् । आफ्नो छोरालाई सहरमा राखेर सहरी जीवनशैली दिएको, बोर्डिङमा पढाएको, प्लस टु सकाएको तर आफू बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म तरकारी बेचेर कोठामा फर्कंदा छोराले पानी पनि तताएर नखाएको उनको गुनासो छ । छोराले चिया बनाउन नजान्ने, कपडा धुन नजान्ने उनी बताउँछिन् ।
सिर्जनात्मक र व्यावहारिक शिक्षा, सीमान्त समुदायको पनि सहजै पहुँच, विद्यार्थीका रुचिअनुसारका पढाइ, अभिभावक चेतना जस्ता पक्षलाई अहिलेसम्म पनि शिक्षा क्षेत्रले समेट्न सकेको छैन । विज्ञान र प्रविधि, विज्ञानमुखी चेतना कसरी अभिवृद्धि गर्ने भन्ने बारेमा चाहिँ शैक्षिक विज्ञहरूको ध्यान मोडिनुपर्नेमा उही पुरानै संस्कृत, वेद, पुराणलाई सघाउने खालका नैतिक शिक्षाको कुरो सतहमा आउनुले राज्यले साँच्चै अहिलेका बालबालिकालाई भविष्यका चेतनशील नागरिक बनाउला भन्न सकिन्न । मनमाया, उनको रक्स्याहा लोग्ने अनि युवावयमा टेकेको तर कर्मतिर मन नलागेको छोराको परिवारको मानसिक स्वास्थ्यलाई बलियो बनाउने खालका केही योजना बन्लान् त ? यो त एक उदाहरण मात्रै हो । यस्ता कैयौं कथा बोकेका परिवार छन्, जो अति तनावपूर्ण दैनिकीका बीच जिन्दगीको गर्जो टार्ने ध्याउन्नमै हुन्छन् ।
यतिबेला मुलुक नयाँ युगमा प्रवेश गरेको छ । उच्च पठित व्यक्ति पनि सरकारमा सहभागी छन् । निम्न वर्गीय, निम्न मध्यम वर्गीय, मध्यम वर्गीय र सुकुमवासीहरूको मनोविज्ञान बलियो बनाउने खालका, उनीहरूका मस्तिष्कलाई पनि सिर्जनात्मक र वैज्ञानिक बनाउने सोच यो सरकारले ठोस रूपमै ल्याउला भन्ने अपेक्षा छ ।
