भगवान् बुद्धले राजमाता महाप्रजापति गौतमीका साथै पाँच सय शाक्य कुमारीलाई भिक्षुणी प्रवज्या दिलाएका थिए । यसरी इतिहासमा पहिलोचोटि बुद्ध शासनमा महिलाले भिक्षुणी बन्ने अवसर पाएका थिए ।
What you should know
कपिलवस्तु दरबारको पूर्वी द्वारबाट वयोवृद्ध तर तन्दुरुस्त देखिने, कपाल खौरिएकी र काषायवस्त्र धारण गरेकी नारी बाहिरिँदै थिइन् । जसका पछाडि विभिन्न उमेर समूहका करिब पाँच सय नारी पछि लागेका थिए । खाली खुट्टा हिँडिरहेका उनीहरूको नेतृत्व अरू कसैले होइन, समृद्धशाली राज्य कपिलवस्तुका राजा शुद्धोदनकी कान्छी महारानी, देवदह नगरकी सुपुत्री महाप्रजापति गौतमीले गरिरहेकी थिइन् । गौतमी अर्थात् शाक्यमुनि बुद्धकी सानीआमा । उनी नेपालकी सुपुत्री हुन्, जसले सर्वप्रथम भिक्षुणी संघको स्थापना गरेकी थिइन् ।
वैशाख पूर्णिमाको दिन लुम्बिनी वनमा सिद्धार्थ कुमारको जन्म भयो । जन्मिएको सातौं दिनमा नै जन्मदाता आमा महामाया देवीको देहावसानपछि सानीआमा महाप्रजापति गौतमीले बालक सिद्धार्थलाई आफ्नै स्तनपान गराई पालनपोषण गरिन् । २९ वर्षको उमेरमा गृहत्याग गरी ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेर उनै सिद्धार्थ बुद्ध बनेका थिए ।
सम्यक सम्बोधि ज्ञान प्राप्तिपछि उनै भगवान् बुद्धले गृहनगर कपिलवस्तु आई पिता राजा शुद्धोदन, माता महाप्रजापति गौतमी, यशोधरा आदिलाई ज्ञानको मार्गमा प्रतिष्ठित गरेका थिए । यतिन्जेल नन्दकुमार, राहुल कुमारसहित अन्य पाँच सय शाक्य कुमार पनि प्रवज्या ग्रहण गरी भिक्षु बनेका थिए । पछि राजा शुद्धोदन अरहत फल प्राप्त गरी परिनिर्वाण भए । समय बित्दै जाँदा महारानी महाप्रजापति गौतमीलाई वैराग्य भाव उत्पन्न भयो । आफू पनि गृहत्याग गरी प्रवज्जित हुने संकल्प गरिन् । दुईपल्टसम्म गौतमी महारानीले भगवान् बुद्धसँग भिक्षुणी हुने अनुमति मागेकी थिइन् तर अनुमति पाइनन् ।
पाँच सय शाक्य कुमारका पत्नीहरू पनि त्यस्तै मनसाय लिई दरबारमा महाप्रजापति गौतमीसँग अनुरोध गर्न आए । त्यतिबेलासम्म बुद्ध शासनमा भिक्षुणी संघ बनेको थिएन । तत्कालीन समाजमा महिलाहरू शोषित थिए । जतिसुकै शारीरिक, मानसिक कष्ट भोग्नुपरे पनि शान्तिको मार्ग अपनाउन हिम्मत थिएन । तैपनि गौतमीले पुरुषहरूले जन्म–मरण चक्रबाट मुक्ति हुने ज्ञान हासिल गर्न सक्छन् भने महिलाले पनि अवश्य सक्छन् भन्ने दृढ निश्चय गरी दरबार त्यागी जाने अठोट गरिन् । फलस्वरूप पाँच सय शाक्यकुमारी सबैले आ–आफ्नो केश मुण्डन गरी काषायवस्त्र धारण गरी राजदरबार तिलौराकोट कपिलवस्तुको पूर्वी ढोकाबाट खाली खुट्टा पैदल हिँडे । त्यहाँबाट उनीहरू २३ सय किमि हिँडेर भगवान् बुद्ध विराजमान भएको वैशालीस्थित कुटागर विहारसम्म पुगे । भगवान् बुद्धले राजमाता गौतमीका साथै पाँच सय शाक्य कुमारीलाई त्यहीँ भिक्षुणी प्रवज्या दिलाए । यसरी इतिहासमा पहिलोचोटि बुद्ध शासनमा महिलाले भिक्षुणी बन्ने अवसर पाएका थिए ।
यही कारण आज पनि विश्वका भिक्षुणीहरूले २६ सय वर्षअगाडिको यस घटनालाई अत्यन्त श्रद्धापूर्वक मनन गरी बुद्धमाता गौतमीलाई बुद्ध शासनमा भिक्षुणी बन्नका लागि द्वार खुलाइदिने आदिमाताका रूपमा पूजा र सम्मान गरिरहेका छन् । यति मात्र होइन, प्रजापति गौतमीले प्रवज्या ग्रहण गरेको मधु पूर्णिमाको दिनलाई ‘इन्टरनेसनल भिक्खुनी डे’ भनेर विश्वका भिक्षुणीहरूले मनाउँदै आइरहेका छन् ।
यसै सन्दर्भमा विश्वका भिक्षुणीहरूको एक समूहले गत २०२५ को डिसेम्बरमा फुटस्टेप्स अफ महाप्रजापति गौतमी अनरिन्ग वुमन इन धम्मचारिका शीर्षकको कार्यक्रम आयोजना गर्यो, जसमा विश्वका १३ मुलुकका भिक्षुणीहरू यस ऐतिहासिक कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए ।
भिक्षुणी धम्मवती गुरुमा उनै हुन्, जसले नेपालमा सर्वप्रथम भिक्षुणी गौतमीको मूर्ति प्रचारमा ल्याइन् । गौतमी भिक्षुणी बनेको दिन मधु पूर्णिमा (येद्या पुन्ही) लाई भिक्षुणी दिवस मनाउने चलन सुरु भयो । नेपालको ललितपुरमा बनेको भिक्षुणी गौतमीको मूर्ति आज धेरै विहारमा स्थापना भइसकेको छ । यसबारेमा जानकारी पाएपछि ती १३ देशका भिक्षुणीहरूले आ–आफ्नो देशमा प्रतिष्ठापन गर्न भनी भिक्षुणी गौतमीको मूर्ति अर्डर गरेर गएको रोचक कुरा पनि यहाँ उल्लेखनीय छ ।
भिक्षुणी धम्मवती गुरुमा उनै हुन्, जसले नेपालमा सर्वप्रथम भिक्षुणी गौतमीको मूर्ति प्रचारमा ल्याइन् । गौतमी भिक्षुणी बनेको दिन मधु पूर्णिमा (येद्या पुन्ही) लाई भिक्षुणी दिवस मनाउने चलन सुरु भयो । नेपालको ललितपुरमा बनेको भिक्षुणी गौतमीको मूर्ति आज धेरै विहारमा स्थापना भइसकेको छ । यसरी नेपालको कलाकृतिले विदेशीको मनमा ठाउँ लिने अवस्था सिर्जना भएको छ । श्रद्धेय धम्मावती गुरुमाको दर्शन गर्न आउने भिक्षुणीहरूलाई गुरुमाले अन्तर्राष्ट्रिय युनाइटेड भिक्षुणी संघलाई माटोको एउटा र फाइबरको एउटा मूर्ति उपहारस्वरूप दिएको र अरू १३ देशका प्रतिनिधि भिक्षुणीहरूले आ–आफ्नो देशका लागि फाइबरका मूर्ति लिएर गएका थिए । यहाँदेखि भिक्षुणी गौतमी चारिकाका लागि पवित्र अस्थिधातुसँगै नेपालमा बनेको गौतमी भिक्षुणीको मूर्ति पनि सँगसँगै लिएर गएका थिए ।
भिक्षुणीहरूको यस टोलीको काठमाडौं आउनुको अर्को उद्देश्य ऐतिहासिक पात्र भिक्षुणी चारुमतीद्वारा निर्मित चारुमती चैत्यको दर्शन र पूजा गर्नु पनि थियो । वंशावलीअनुसार चाबहिलमा चारुमती चैत्य भारतीय सम्राट अशोक महाराजाकी कान्छी छोरी चारुमतीले निर्माण गरेकी थिइन् । राजकुमारी चारुमतीले नेपालका राजकुमार देवपालसँग विवाह गरेर राजकाज सम्हालेको र राजकुमार देवपालको देहावसानपछि मात्र भिक्षुणी भएको उल्लेख छ ।
विसं २०५९ देखि २०६१ को स्तूप जीर्णोद्धारका क्रममा उत्खनन गरेको समय त्यहाँ दुईवटा अत्यन्तै महत्त्वपूर्ण इँटा भेटिएका थिए, जहाँ स्तूपकै भूबनावट प्राप्त भएको थियो । एउटा इँटामा माथि धर्मचक्र र तल ब्राम्ही लिपिमा चारुवती थुप शब्द लेखिएको र त्यसको मुनि भुजिंमोल लिपिमा चारुवती थुप अनि धन्दे हे तु प्र भा लेखिएको पाइयो । पालि भाषामा चारुवती थुपको अर्थ चारुमती स्तूप हुन आउँछ । यसरी यो अभिलेखले चारुमती चैत्य अशोककालीन भएको र ईपूृ तेस्रो शताब्दीको भनी ठहर भएर हाल राष्ट्रिय संग्रहालय, छाउनीको बौद्ध कला कक्षमा सुरक्षित छ ।
ऐतिहासिक, पुरातात्त्विक प्रमाण भेटिएको यस भिक्षुणी चारुमतीले निर्माण गरेको चारुमती विहार विश्वका भिक्षुणीहरूका लागि महत्त्वपूर्ण दर्शनीय स्थान बनेको छ । यही कारणले चारिकामा आएका भिक्षुणीहरूले चारुमती स्तूप पनि दर्शन गर्न मन पराउँछन् ।
लुम्बिनीमा धम्मवती गुरुमाको अगुवाइमा निर्माण भएको गौतमी भिक्षुणी विहारको छुट्टै महत्त्व छ । यो विहार श्रद्धेय धम्मवती गुरुमाको नेतृत्वमा जनस्तरबाट बनेको विहार हो । अद्वितीय नारी नेतृ धम्मवती गुरुमाको परिकल्पनाअनुसार यहाँ भगवान् बुद्धको मात्र मूर्ति नभई सिद्धार्थ कुमार, जन्मदाता रानी महामाया देवी, सानीआमा रानी प्रजापति गौतमीको समेत मूर्ति छन् । हाल आएर समस्त नारी जातिलाई शान्दपद निर्वाण हासिल गर्नेका लागि गृहत्याग गरी भिक्षुणी बन्ने मार्ग दिलाएकी भिक्षुणी प्रजापतिको पनि मूर्ति प्रतिस्थापन गरी विहारको गरिमा बढाइएको छ ।
महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेल कार्यक्रमका कोअर्डिनेटर तथा अध्येता दीपक आनन्द र नेपालका पर्यटन व्यवसायी विक्रम पाँडेकाजीले लामो समय अध्ययन गरेर अहिले तिलौराकोट कपिलवस्तुदेखि भारतको वैशालीसम्म पदमार्ग पत्ता लगाएको र तिलौराकोट दरबार परिसरमा पूजा गरी त्यहाँको पूर्वी ढोकाबाट प्रजापति गौतमीले अभिनिष्क्रमण सुरु गरेकै स्थानबाट १३ देशका प्रतिनिधि भिक्षुणीहरूले पदयात्रा अभियान सुरु गरेका थिए ।
यही पदमार्ग हुँदै उनीहरू निग्रोधाराम, रामग्राम हुँदै अनोमाघाट पुगेका थिए । त्यहाँ बुद्धपूजा गरी भिक्षुणी पातिमोक्ख पाठ गरे । त्यहाँबाट भारतको वाल्मीकि नगर, नन्दनगढ, लौरिया केसरिया हुँदै वैशाली पुगे । दैनिक ६/७ किमि पैदल र बसमा गरी चारिका पूरा गरे । सर्वप्रथम गौतमीद्वारा भिक्षुणी संघ स्थापना भएको स्थान दर्शनपछि वैशालीमा परिनिब्बान क्षेत्र पुगेर सामूहिक पूजापाठ गरे । वैशालीको उत्तरतिर वीरपुरमा परिनिब्बान क्षेत्र रहेको छ, जहाँ गौतमीसहित अन्य पाँच सय भिक्षुणीले परिनिर्वाण प्राप्त गरेका थिए ।
यो महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेन ट्रेलले विश्वका महिलावर्गमा एउटा विशेष ऊर्जा दिएको छ । विश्व प्रसिद्ध नेपालका वरिष्ठ भिक्षुणी धम्मवती गुरुमाप्रति उनीहरूको श्रद्धा, शाक्य भिक्षुणीप्रति श्रद्धाले बौद्ध जगत्मा नेपालप्रतिको दृष्टिकोण स्पष्ट छ ।
अहिलेका यी भिक्षुणीहरूले गौतमीको पदचाप स्पर्श गरेर पछ्याएको मात्र होइनन् । अवश्य पनि अर्हत्व प्राप्त गर्न गौतमीको मार्ग खोज गरेका हुन् । अर्को वर्ष बुद्धकालीन समयमा जस्तै पाँच सय भिक्षुणीहरू तयार गर्ने सोचमा छ । यस आयामले गर्दा वर्तमान विश्वका महिलाहरूको बौद्धिक, प्राज्ञिक तथा आध्यात्मिक स्तर उच्च शिखरमा पुग्ने आशा लिन सकिन्छ ।
