रास्वपाको धर्मसंकट 

के यो पार्टी रवि–वालेन्द्रको व्यक्तित्वभन्दा माथि उठेर संस्था बन्न सक्छ ? कि व्यक्तित्वकै ओभरलोडले थिचिन्छ ? वा ‘उलार’ भएर एकै जनाको प्रभुत्वमा पार्टी सीमित हुन्छ ? यही रास्वपाको धर्मसंकट हो ।

वैशाख १७, २०८३

चन्द्रकिशोर

RSP's religious crisis

What you should know

सुप्रसिद्ध कवि रवीन्द्रनाथ ठाकुरको बंगाली कविता ‘शेई काले’ (त्यो समय) मा एक पंक्ति छ, ‘जदि आमार जनम होती कालीदासेर काले, दैवे होतो दशम रत्न नव रत्न माझे ।’ आशय हो– यदि मेरो जन्म कालीदासको समयमा भएको भए म पनि नवरत्नहरूमध्ये दसौं रत्न हुन्थें । आजको नेपाली राजनीतिक सन्दर्भमा पुराना दलहरूमा उच्च हैसियतमा रहिसकेका कतिपय नेताहरूको मनोविज्ञान केही यस्तै देखिन्छ, यदि यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लडेका भए आज वालेन्द्र दरबारका एक ‘वजीर’ हुन्थे होलान् ।

यो केवल काव्यात्मक कल्पना होइन, शक्ति र मान्यताको मनोविज्ञान हो । आजको नेपाली राजनीतिमा यही मनोविज्ञान नयाँ रूपले प्रकट भइरहेको छ– रास्वपाको उदयसँगै । यस्ता अभिव्यक्तिले रास्वपाप्रति आकर्षणको तीव्रता मात्रै देखाउँदैन, आगामी प्रदेश–पालिका निर्वाचनका लागि यसभित्र ‘सेटिङ’ मिलाउन आतुर मानसिकता पनि उजागर गर्छ । चुनावी राजनीतिमा यस्तो मनोविज्ञानले कुनै जादुयी मन्त्र जस्तै काम गर्छ । छिटो सफलता दिलाउने ‘सिद्धिदातृ सूत्र’ ।

‘राजनीति’ शब्दको जुन शाब्दिक अर्थ छ, त्यो स्वयं निकै व्यापक छ । यसलाई संकुचित अर्थमा बुझ्नु युक्तिसंगत हुँदैन । राजनीति समाजको जीवन हो, उत्थान र पतनको दुवै साधन । राजनीति उन्नत हुँदा समाज उन्नत हुन्छ, पतन हुँदा समाज पनि पतित हुन्छ । पार्टी भनेको केही ध्येयनिष्ठ व्यक्तिहरूको तपोनिधि हो । एक गतिशील, अनुशासित र जवाफदेह पार्टी–जीवन विकसित हुनु देश, काल, परिस्थितिअनुसारको सुसंगत आविष्कार हो ।

तर, रास्वपाको सन्दर्भमा समस्या यही छ । बहस र चर्चा प्रधानमन्त्री र पार्टी अध्यक्षमा केन्द्रित छ, जबकि पार्टी संरचना ओझेल परेको छ । आलोचना केवल सरकार र पार्टीका शीर्षको नै भइरहने हो भने बाँकी पार्टी पंक्ति ‘इनभिजिबल शिल्ड’ बन्न पुग्छ । यसले सामूहिक जिम्मेवारीलाई कमजोर बनाउँछ । लोकतन्त्रमा असली जवाफदेही सामूहिक हुनुपर्छ । किनभने नीतिहरू पार्टीका नाममा लागू हुन्छ, कुनै व्यक्तिका नाममा होइन ।

रास्वपालाई पार्टी कसरी भन्ने ? आलोचकहरू भन्छन्– यो एक प्रकारको ‘छद्म गठबन्धन’ को उत्पादन हो । रवि लामिछाने र वालेन्द्र शाहबीचको सहकार्य आवश्यकताबाट जन्मिएको हो वा त्यस्तो बनाइएको हो । फेरि एक गठबन्धन अस्तित्वमा आयो, केही बुँदा सम्झौताका नाममा । रास्वपालाई पार्टी नभन्ने कसरी ? यो निर्वाचन आयोगबाट मान्यता प्राप्त छ, मतपत्रबाट अनुमोदित छ । चुनावी राजनीतिमार्फत रास्वपाले ल्याएको परिवर्तनको सन्देश व्यापक, गहन र दूरगामी छ । त्यो समग्र विमर्श नै फेरिएको छ, जो छयालिसको समयमा बहुदलीयता महाप्रबल भएपश्चात् स्थापित भएको थियो । रास्वपालाई पार्टी कसरी भन्ने ? आलोचकहरू भन्छन्– यो एक प्रकारको ‘छद्म गठबन्धन’ को उत्पादन हो । रवि लामिछाने र वालेन्द्र शाहबीचको सहकार्य आवश्यकताबाट जन्मिएको हो वा त्यस्तो बनाइएको हो । फेरि एक गठबन्धन अस्तित्वमा आयो, केही बुँदा सम्झौताका नाममा । हिन्द महासागर र प्रशान्त महासागर अलास्काको खाडीमा भेटिन्छ, तर तिनको पानी मिसिएर पनि नमिसिए जस्तो देखिन्छ । पानीको प्रवाह रङले नै छुटिन्छ । वालेन्द्र राजकाजमा यति व्यस्त देखिन्छन् कि ‘मेरो एक पार्टी पनि छ’ भन्ने चेत हराएजस्तो लाग्छ । उता रवि लामिछाने अभिभावकीय भूमिकामा सन्तुलन मिलाउँदै हिँडेका छन् । आज पनि त्यस्तै प्रश्न छ– यो सहकार्य निर्देशित हो कि संरचनागत ?

रवि–वालेन्द्र सुपरहिट जोडीको गर्भनाल कहाँ हो ? मल्टीस्टार फिल्मबाट कुलमान घिसिङजस्ता पात्रहरू किन पाखा लाग्छन् ? रास्वपाको यो घमासान एक पार्टीको आन्तरिक मामिला हो कि एक सार्वजनिक राजनीतिक प्रश्न ? यदि रास्वपा एक लोकतान्त्रिक राजनीतिक पार्टी हो भने यो केवल पार्टीको होइन, सम्पूर्ण समाजको सरोकार हो । त्यसैले यसमाथि खुला बहस हुनुपर्छ । यही बहसले यसको लोकतान्त्रिक चरित्र तय गर्छ । रास्वपा प्रतिनिधिसभाको सर्वाधिक ठूलो पार्टी मात्र होइन, उसकै शब्दमा– लोकतान्त्रिक व्यवस्थामा शुद्धीकरण गर्ने संकल्प लिएर आएको पार्टी हो । यसको आन्तरिक जीवन लोकतान्त्रिक रहिरहनुबाटै संवैधानिक लोकतन्त्रको सत्व र जीवन शक्ति मिल्छ । तर, यो पार्टीभित्र केवल चुनावी जितका आधारमा आफ्नो निर्णय सही ठहर्‍याउने मनोविज्ञान जो व्याप्त छ ।

रास्वपाको उदय र तिनका अस्तित्व बुझ्न ‘सर्कुलर टाइम’ को अवधारणा अत्यन्त उपयोगी हुन सक्छ । सर्कुलर टाइमले यो बताउँछ– इतिहास सरल रेखामा अगाडि बढ्दैन, त्यो चक्रमा घुम्छ । हरेक चक्रले पुराना आकांक्षा, निराशा र विद्रोह नयाँ रूपमा सामुन्ने आउँछ । रास्वपाको उदय पुरानो असन्तोषको नयाँ संस्करण हो । तर, सवाल केवल उदय, स्थापित र सत्तारोहणको होइन । यसले त्यो चक्र तोड्ने क्षमता राख्छ कि राख्दैन ? के रास्वपा पुराना असन्तोषको नयाँ संस्करण हो ? प्रत्येक नयाँ चेहरा यदि त्यही पुरानो ढाँचामा काम गर्छ भने त्यो स्वयं त्यही ढाँचाको हिस्सा बन्न पुग्छ ।

रास्वपाको धर्मसंकट यही हो कि यो त्यही रहन्छ, जो यो हो । वा, यो त्यही बन्न पुग्छ, जोसँग यो लड्दै आएको हो । सत्ता केवल अवसर होइन, एक संरचना पनि हो । र, संरचनाले व्यक्तिलाई बदल्ने अद्भुत क्षमता राख्छ । के यो रास्वपा ती नैतिक आदर्शहरूमा अडिग रहन्छ, जो उसले आफ्ना दस्ताबेजमा लेखेको छ, भलै राजनीतिक नोक्सानी नै बेहोर्नु परोस् ? कि व्यावहारिक बन्ने, भलै नैतिक छवि धूमिल हुँदै जाओस् ? रास्वपा सत्तारूढ भएको छोटो अवधिमै यस प्रकारको धर्मसंकटमा प्रवेश गरिरहेको छ । अर्को प्रश्न, के यो पार्टी रवि–वालेन्द्रको व्यक्तित्वभन्दा माथि उठेर संस्था बन्न सक्छ ? कि  व्यक्तित्वकै ओभरलोडले थिचिन्छ ? वा ‘उलार’ भएर एकै जनाको प्रभुत्वमा पार्टी सीमित हुन्छ ? यही रास्वपाको धर्मसंकट छ ।

नेपाली राजनीतिमा दलहरू बन्ने परिस्थितिको अध्ययन गर्दा कुनै पार्टी विचारबाट, कोही संघर्षबाट त कोही माहोलले बन्ने गरेको छ । रास्वपा एक यस्तो रासायनिक यौगिक (केमिकल कम्पाउन्ड) हो, जो अचानक बन्यो र तेज गतिले प्रतिक्रिया देखायो । रास्वपा निर्माणलाई एक रासायनिक प्रक्रियाका रूपमा हेर्नुपर्छ– जहाँ अलग–अलग तत्त्व, विभिन्न परिस्थिति र उत्प्रेरक मिलेर एक संयोजन बनाउँछ । कुनै पनि यौगिकको स्थायित्व यसको ‘बौन्ड्स’ (बन्धन) माथि निर्भर गर्छ । रास्वपाको बौन्ड्स के हो ? के यो साझा विचारधारा हो ? के यो संगठनात्मक अनुशासन हो ? वा, केवल सत्तासम्म पुग्ने साझा आकांक्षा ? रास्वपा के नयाँ राजनीतिक संस्कृति हो ? के यो पुरानै ढाँचाको नयाँ प्याकेजिङ हो ? 

रास्वपामा संगठन पछि झल्किन्छ, चेहरा पहिला । रास्वपाभित्रको यो द्वन्द्व मूलतः अस्तित्व र संरचनाको संघर्ष हो । के एक व्यक्तिले सामूहिक चेतनाको प्रतिनिधित्व गर्न सक्छ ? के पार्टीभित्र  ‘म’ निकै ठूलो भयो, ‘हामी’ चेपुवामा परिरहेको छ ? रास्वपामा ‘म’ ठूलो हुँदै छ, ‘हामी’ सानो । यो संकेत राम्रो होइन । लोकतन्त्रमा पार्टी बलियो हुन्छ, व्यक्ति होइन । जब व्यक्ति पार्टीभन्दा ठूलो हुन्छ, त्यहाँबाट संस्थागत क्षय सुरु हुन्छ । रास्वपा नेतृत्वको सरकार सन्दर्भमा अधिनायकवादी प्रवृत्तिका संकेतबारे प्रश्न उठिरहेका छन् । भुइँ तहमा अनेकौं संशय फिँजिएको छ । सरकार जसरी अघि बढिरहेको छ, संसद्को नेताको जुन तौरतरिका छ, यसबारे रास्वपा चुप छ । संसदीय अभ्यासका केही प्रक्रिया, मान्यता र अभीष्ट हुन्छन् । आशा र भ्रमबीचको यो मसिनो रेखा नै रास्वपाको असली परीक्षा हो ।

रास्वपाबारे व्याख्या गरिन्छ– ‘आइडोलोजी–ड्राइवेन’ भन्दा बढी ‘एंगर–ड्राइवेन’ पोलिटिकल फोर्मेसन हो । यो जनताको निराशाको संस्थागत रूप हो । तर, यसको संस्थागत संरचना कमजोर छ । विचारधारामा अस्पष्टता छ । हामी पुराना दलजस्तो होइनौं तर स्पष्ट वैचारिक ढाँचा छैन । पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर छ भनेर सूचनाहरू चुहिँदै छ । निर्वाचित प्रतिनिधिहरू निरीह भइयो भनेर गुनासो राख्दै छन् । आखिर रास्वपा कुन रिक्ततालाई पुर्ने दावा गरिरहेको छ ? कतै जवाफको खोजीमा हिँडेको दाबी गर्ने रास्वपा आफैंमा प्रश्न ज्यादा, उत्तर कम हुँदै गएको त  होइन ?

रोटी होस् कि सत्ता– सधैं उलटपुलट गरिराख्नुपर्छ । रोटी नपल्टाउँदा जल्छ र सत्ता भ्रष्टाचारी हुन जान्छ । यी मान्यतालाई रास्वपाले बलियोसँग स्थापित गर्‍यो । एन्टी–इस्टाब्लिसमेन्ट ऊर्जालाई संस्थागत बनायो । युवा र नयाँ वर्गको भागीदारी बढायो । बहसलाई ‘पर्फर्मेन्स’ तर्फ सिफ्ट गरायो । तर, उसले आन्तरिक लोकतन्त्र, संस्थागत प्रक्रिया, मानवीय संवेदना र जवाफदेहीलाई प्राथमिकता दिनुको साटो ‘जुगाड’ लगाएर प्रयोजन सिद्धमा लाग्ने हुने ? रास्वपा आफ्नो सरकारमार्फत संस्थागत न्यायका लागि अग्रसर छ कि प्रतिशोधलाई नै न्यायको नाम दिँदै छ ? बहुमतको रापतापमा पञ्चायत २ः० ल्याउने हुन कि ? रास्वपा राजनीतिको असली धर्मसंकट यो होइन कि बाटो कुन हो ? बरु यो हो कि बाटो छनोट गरिराख्दा के गुमाउन तयार हो ? स्थायी सत्तासँग सम्झौता गरेर शक्तिमा टिकिरहने कि टर्बुलेन्समा फसेर पनि आफ्नो शुद्धता बचाउने ? 

राजनीतिक रूपान्तरण प्रायः दुई तरिकाले हुन्छ । भित्रबाट (कनविक्सन) वा बाहिरको दबाबबाट 

रास्वपाबारे व्याख्या गरिन्छ– ‘आइडोलोजी–ड्राइवेन’ भन्दा बढी ‘एंगर–ड्राइवेन’ पोलिटिकल फोर्मेसन हो । यो जनताको निराशाको संस्थागत रूप हो । तर, यसको संस्थागत संरचना कमजोर छ । विचारधारामा अस्पष्टता छ ।(कम्पल्सन) । रास्वपाको यात्रा कुन दिशातर्फ जान्छ ? यदि यसको लोकतान्त्रिक निष्ठा केवल ‘इमेज’ हो भने त्यो चाँडै भत्किन्छ । यदि त्यो आन्तरिक चेतनाबाट आएको हो भने त्यो संरचनालाई पनि बदल्न सक्छ । तर, यहाँ धर्मसंकट गहिरो छ । उसले स्थायी सत्ताको बढ्दो महत्त्वाकांक्षालाई कसरी सामसुम पार्छ ? स्थायी सत्ता दोधारे तरबार हो । यसले बनाउँछ पनि, भत्काउँछ पनि । रास्वपा अहिले चौराहामा छ । 

स्थायी सत्तालाई नियमन गर्न यसले पुराना दलसँग एक समझदारी बनाउनै पर्छ । या त यसले चक्र तोड्छ वा आफैं चक्रको हिस्सा बन्छ ? निर्णय यसैको हातमा छ । तर, परिणाम सम्पूर्ण लोकतन्त्रले भोग्नेछ ।

कहिलेकाहीँ समाजले कुनै संगठन वा व्यक्तिमाथि यति गहिरो आस्था राख्न पुग्छ तब आफ्नो झूटोलाई पनि सत्य देखाउने दबाब सिर्जना हुन्छ । ६० वर्षअघि एक हिन्दी फिल्म ‘गाइड’ आएको थियो । यो फिल्मले यही प्रश्न उठाउँछ, ‘हामी जो देखिन्छौं, के हामी त्यही हौं ?’ यसका पात्र राजुको परिवर्तन भित्रबाट स्वयं स्फूर्त हुँदैन । बरु समाजद्वारा निर्मित दबाब र अपेक्षाको परिणामले हुन्छ । इरभिंग गोफमैनका ‘ड्रामैच्युर्गी’ सिद्धान्तअनुसार समाजले हामीलाई ‘भूमिकाहरू’ दिन्छ र हामी ती भूमिका निर्वाह गर्छौं । राजु पहिले ‘अभिनय’ गर्छ तर बिस्तारै–बिस्तारै त्यही अभिनय उसको वास्तविकता बन्न पुग्छ । राजुको भित्र ‘गिल्ट’ र ‘रेस्पोन्सबिलिटी’ पैदा हुन्छ । उसले बुझ्न थाल्छ कि उसको ‘झूटो’ ले अब अरूको जिन्दगी प्रभावित गरिरहेको छ । र, यही विन्दु ऊभित्र परिवर्तनको सुरुआत हुन्छ । 

चार्ल्स होर्टन कुलेको भनाइ छ– हामी स्वयंलाई त्यसरी नै देख्न थाल्छौं जस्तो कि समाजले हामीलाई देखिरहेको हुन्छ । राजुलाई जब लगातार ‘महात्मा’ भनिन थालिन्छ, तब उसले आफूलाई त्यही नजरले हेर्न थाल्छ । बाहिरी छवि बिस्तारै–बिस्तारै उसको आन्तरिक पहिचानमा अनूदित हुन्छ । जब समाजले उसलाई एक नैतिक प्रतीक बनाइदिन्छ, तब राजुले आफ्नो जीवनलाई पुनर्गठित गर्ने कोसिस गर्छ । त्यसले गर्दा ऊ ‘परफर्मर’ बाट ‘विलिवर’ बन्छ । जनआस्थाको दबाबले उसलाई त्यो विन्दुसम्म लैजान्छ, जहाँ उसले स्वयंलाई रूपान्तरित गर्छ वा यसरी भनौं बदलिन बाध्य भइहाल्छ । रास्वपाको कथा पनि यही मोडमा छ । जनताको आस्था यसका लागि अवसर मात्र होइन, परीक्षा पनि हो ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully