यात्रा सुरक्षित बनाउने सकारात्मक पहल

चालकको व्यवहार, थकान र असावधानीजन्य गतिविधिसमेत रेकर्ड हुनुपर्ने गरी उपकरण जडान गर्नुपर्ने पनि भनिएको छ । मस्यौदामा रहेको यो प्रावधानले निर्देशिकामा अन्तिम रूप पाएमा दुर्घटनाको दरलाई समेत कम गर्न सहयोग पुग्नेछ ।

वैशाख १७, २०८३

सम्पादकीय

Positive initiatives to make travel safer

What you should know

सार्वजनिक यातायातमा यात्रा गर्नु असाध्यै सकसको काम हो । सबैजसो यात्रुले भीडभाड, सवारीसाधन पक्षको रुखो व्यवहार, अन्य यात्रुबाट हुने अभद्र व्यवहार (विशेष महिलामाथि), चोरी, भाडामा असमझदारी, मैला सिट जस्ता पक्षमा हैरानी खेप्नुपरेको हुन्छ । यद्यपि, दैनिक लाखौं मानिसका लागि सार्वजनिक सवारीसाधनमार्फत यात्रा गर्नु बाध्यता हुने गर्छ । ठगिएर, हेपिएर, चेपिएर र दुर्व्यवहार सहेरै भए पनि छोटा वा लामा यात्रा गरेर मानिसले आफ्नो रोजगारी र व्यक्तिगत तथा पारिवारिक काम सम्पन्न गर्नुपरेको हुन्छ ।

दैनिक लाखौं मानिसको सरोकारका विषय रहेको सार्वजनिक यातायातमा सुधारमा भने खासै काम भएको वा चासो राखिएको पाइँदैन । जसले गर्दा विकृति निरन्तर रहिआएको छ । यद्यपि, यातायात व्यवस्था विभागले हालै ‘सार्वजनिक सवारीसाधनलाई प्रविधि जडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउनेसम्बन्धी निर्देशिका, २०८२’ को मस्यौदा तयार पारेको छ । निर्देशिकाको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै धेरै विकृति अन्त्य हुने अपेक्षा गरिएको छ ।

सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने दुर्व्यवहार र हिंसाका अनेकौं घटना सार्वजनिक हुने गरेका छन् । यद्यपि, यस्तो घटना कमै मात्र बाहिर आउने गर्छन् र कमै मात्र दोषीलाई कारबाहीको पहल गरिन्छ । तर निर्देशिकाको मस्यौदामा सबै सार्वजनिक सवारीसाधनमा दुई वा सोभन्दा बढी सीसीटीभी अनिवार्य रूपमा जडान गर्नुपर्ने भनिएको छ । साथै, सवारीसाधनभित्रका सम्पूर्ण गतिविधिको अभिलेख हुने गरी जडान गर्नुपर्ने र यस्तो सूचना यात्रु सबैले देख्ने गरी टाँस्नुपर्ने पनि भनिएको छ ।

सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने दुर्व्यवहार र हिंसाका अनेकौं घटना सार्वजनिक हुने गरेका छन् । यद्यपि, यस्तो घटना कमै मात्र बाहिर आउने गर्छन् र कमै मात्र दोषीलाई कारबाहीको पहल गरिन्छ । तर निर्देशिकाको मस्यौदामा सबै सार्वजनिक सवारीसाधनमा दुई वा सोभन्दा बढी सीसीटीभी अनिवार्य रूपमा जडान गर्नुपर्ने भनिएको छ । खासगरी, त्यस्ता उपकरण सवारीसाधनभित्र यात्रु संख्या गणना, यात्रुको अनुहार पहिचान गर्न सक्ने एआई प्रविधिमा आधारित हुनुपर्नेछ । सीसीटीभीको तथ्यांक पनि कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नुपर्ने दायित्व सवारी व्यवस्थापक, त्यसको धनी र चालकको हुने जनाइएको छ । यस्तो प्रबन्धले सवारीसाधनभित्र हुने अभद्र गतिविधि, विशेषतः महिलामाथि हुने दुर्व्यवहारमा न्यूनीकरण हुने विश्वास गर्न सकिन्छ । सुरक्षाका लागि सवारीसाधनमा अग्नि नियन्त्रक उपकरण, प्राथमिक उपचार किट, सवारीसाधनमा अब खतरा आइपरेमा विभागको केन्द्रीय प्रणालीमा लोकेसनसहित चेतावनीमूलक सूचना जाने ‘एसओएस’ बटम जडानको विषयलाई पनि अनिवार्य गरिएको छ ।

सार्वजनिक यातायातमा यात्रुको मर्यादालाई समेत सम्मान गरिँदैन । प्रायः यात्रुसँग चालक तथा सहचालकसँगका नमीठा अनुभव हुने गर्छ । उनीहरूले अभद्रपूर्वक व्यवहार गर्छन् । बढी भाडा लिन खोज्ने, फिर्ता नदिने, अशिष्ट बोल्ने, हतारो देखाउँदै राम्रोसँग नरोकिएको गाडीबाट ओर्लन भन्ने, अर्को गाडीसँग प्रतिस्पर्धा चलेका बेला रोक्नुपर्ने ठाउँमा नरोक्ने जस्ता व्यवहार देखाउँछन् । वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिलाई सकेसम्म चढाउन खोज्दैनन् । गाडीभित्रका यात्रुलाई जतिसुकै असजिलो भइसकेको भए पनि थप यात्रु कोच्ने गर्छन् । आफूलाई असहज भएका विषय उठाउँदा ‘निजी गाडीमा हिँड्नुपर्छ’ वा ’ट्याक्सीमा हिँड्नुपर्छ’ भन्ने ओठे जवाफ दिइने गर्छ । हुन त कतिपय यात्रुबाट चालक तथा सहचालकले पनि नराम्रो व्यवहार खेपेका हुन सक्छन्, तर बढीजसो यात्रु नै पीडित हुन्छन् ।

सुरक्षित यात्राका साथसाथै मर्यादाको सम्मान पनि अपरिहार्य विषय हो । उल्लिखित धेरै पक्षलाई निर्देशिकाले समेटेको छ । अब टिकट काट्नुपर्ने, सवारीसाधनमा महिलामैत्री वातावरण हुनुपर्ने, चालक र सहचालकले शिष्ट भाषामा कुराकानी गर्नुपर्ने जस्ता प्रावधान पनि छन् । यसले सार्वजनिक सवारीसाधनलाई यात्रुमैत्री बनाउन योगदान पुर्‍याउँछ ।

लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई जना चालक राखिनुपर्ने व्यवस्था गरिए पनि कार्यान्वयन हुने गरेको पाइँदैन । यद्यपि, दुर्घटनाको सम्भावनालाई कम गर्न यस्तो अभ्यास उपयोगी मानिन्छ । निर्देशिकामा २ सय ५० किलोमिटरभन्दा बढीको बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य व्यवस्था गर्नुपर्नेछ भनिएको छ । त्यस्तै चालकको व्यवहार, थकान र असावधानीजन्य गतिविधिसमेत रेकर्ड हुनुपर्ने गरी उपकरण जडान गर्नुपर्ने पनि भनिएको छ । मस्यौदामा रहेको यो प्रावधानले निर्देशिकामा अन्तिम रूप पाएमा दुर्घटनाको दरलाई समेत कम गर्न सहयोग पुग्नेछ ।

लाखौं मानिसको सरोकारका विषय भएको र व्यापक सुधारको आवश्यकता रहेको सार्वजनिक यातायातमा सुधारका विषय सधैंभर बेवास्तामा पर्ने गरेको थियो । सरकारले निर्देशिकाको मस्यौदा तयार गरेर सुधारको प्रयत्न गरेको छ । यद्यपि, अहिले मस्यौदा मात्रै तयार भएको र अन्तिम रूपमा पाउँदा थप समृद्ध हुने विश्वास गर्न सकिन्छ । समग्रमा भने यो पहलले यात्रुले भोग्नुपर्ने खराब अनुभवलाई न्यूनीकरण गर्नेछ । यसबाट देशभरका लाखौं यात्रुलाई एकैसाथ सकारात्मक प्रभाव पर्नेछ ।

व्यवहारमै यसका राम्रो अनुभूति प्राप्त गर्नका लागि भने उपकरण जडान मात्रै होइन, गुणस्तरीय उपकरण जडान र त्यसको दुरुस्त प्रयोग अनिवार्य हुनुपर्छ । अनुगमन बलियो हुनुपर्छ । निर्देशिकामा उपकरण र प्रविधिका विषय मात्रै उल्लेख छैन । चालक, सहचालक तथा यात्रुको प्रवृत्तिमा सुधारका विषय पनि छन् । सबै पक्षले आफूमा सुधार ल्याउँदै जानुपर्छ । निर्देशिकामा छिद्र खोज्नेभन्दा पनि यसले बोक्ने मर्मलाई ख्याल गर्नुपर्छ । र, सकारात्मक उपलब्धिका लागि प्रयत्न गर्नुपर्छ । त्यसपछि मात्रै हामीले निर्धक्कसाथ भन्न र अनुभूति गर्न सक्नेछौं– नेपालमा सार्वजनिक सवारीसाधनको यात्रा सुरक्षित छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully