मध्यमवर्गको सत्तावादी सौन्दर्यशास्त्र

सम्भ्रान्तका लागि सुन्दरताको परिभाषा तिनको शक्तिद्वारा संरक्षित आवास परिसरभित्र समेटिएको हुन्छ । सामान्यजनका लागि जे आवश्यक, उपयोगी र आकांक्षाको परिधिभित्र पर्छ, त्यो नै सुन्दर हो । मध्यमवर्गको सौन्दर्य चाहनाले भने अधिशासकीय सोचलाई प्रवर्द्धन गर्ने रहेछ ।

वैशाख १६, २०८३

सीके लाल

The authoritarian aesthetics of the middle class

What you should know

उहिले–उहिले नेपाली समाजमा ‘देउता बोल्दैनन्, राजा सुन्दैनन्’ भन्ने उखान प्रचलित थियो । अहिले एक तिहाइ मतदाताले प्रतिनिधिसभामा झन्डै दुईतिहाइ बहुमतका साथ निर्वाचित गरेका जनताका जनार्दनको सत्ता छ । निर्वाचित अधिशासक छन्, त्यसैले उनी बोल्नु र सुन्नुभन्दा पनि आफ्ना कुरा (अ)सामाजिक सञ्जालमा लेख्न लगाउँछन् ।

सामान्यजन सुरक्षा बलहरूको निरन्तर निगरानीमा रहेकाले एक त तौलेर लेख्नु र बोल्नुपर्ने समय छ, त्यसमा झन् ‘कम बोल्ने’ सँग जोगिएर बस्नुपर्छ भन्ने मान्यता छ । पहिले ‘सरकारको जय होस्’ भन्दै बिन्ती बिसाइन्थ्यो, आजभोलि ‘रिसानी माफ’ भनेर आफ्ना कुरा राख्नुपर्ने भएको छ ।

सन् २०२५ सेप्टेम्बरको हरितपीत विद्रोहपश्चात् नेपालको वैधानिक अधिशासक बन्न सफल वालेन्द्र शाहलाई विलम्बित जन्मदिनको शुभकामना । काठमाडौंको ‘महामेयर’ हुँदा अधुरो रहेको आफ्नो सबैभन्दा महत्त्वपूर्ण काम प्रधानमन्त्रीका रूपमा आफ्नै जन्मोत्सवको छेको पारेर सम्पन्न गरेकामा एक निर्धो स्तम्भकारका तर्फबाट यो करबद्ध बधाई सँगसँगै थातथलो उजाडिएर गाँस, बास गुमाएकाहरूलाई दिइएको आफ्नो लिखितम् प्रतिबद्धतामा कायम रहेर तिनको पुनःस्थापनामा छिटोभन्दा छिटो सफलता हासिल होस् भन्ने शुभकामना ।

सम्भ्रान्तका लागि सुन्दरताको परिभाषा तिनको शक्तिद्वारा संरक्षित आवास परिसरभित्र समेटिएको हुन्छ । सामान्यजनका लागि जे आवश्यक, उपयोगी र आकांक्षाको परिधिभित्र पर्छ, त्यो नै सुन्दर हो । मध्यमवर्गको सौन्दर्य चाहनाले भने अधिशासकीय सोचलाई प्रवर्द्धन गर्ने रहेछ ।तत्काललाई त उनले बर्सेनि डुबानमा पर्ने नदी किनारका बासिन्दालाई पीडाबाट मुक्त गरेको जस्तो देखिन्छ तर त्यस्तो ढाडस चिकित्साशास्त्रमा प्रचलित व्यंग्य– ‘शल्यक्रिया सफल, बिरामीलाई जोगाउन सकिएन’ जस्तो नठहरियोस् । त्यति कुरा भनिसकेपछि शाह सरकारलाई मंगलकामना गर्दागर्दै मनमा लागेका केही शंका–उपशंका अभिव्यक्त गर्न सायद अर्घेल्याइँ ठहर्‍याइँदैन होला ।

तत्कालीन राजा ज्ञानेन्द्रले मावली र ससुरालीमार्फत ज्वाइँ नाता पर्ने पदासीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभा भंग गर्न लगाएर सन् २००२ अक्टोबरदेखि क्रमिक शाही–सैनिक सत्ता कब्जा (क्रिपिङ कू) सुरु गर्दा हाल प्रधानमन्त्री पदमा विराजमान रहेका शाह सायद मेधावी तर पुलपुलिएको स्कुले छात्र थिए । उनले राल्फाली समूहका रामेश र रायन सिर्जित ‘गरिबको चमेली, बोली दिने कोही छैन’ गीतको बोल तिनताक नै टिपेको हुनुपर्छ ।

शब्दको मार्मिकताले उनलाई छोयो होला तर भाव समात्न सक्ने क्षमता सामान्यतः बाल्यावस्था र किशोरावस्थाको बीचको ‘प्रि–टिन’ वयमा विकसित भइसकेको हुँदैन । सम्पन्न परिवारका थिए, त्यसैले उबेला उनका लागि गरिब भनेका घरमा काम गर्ने सहायक, सवारी चालक वा छरछिमेकमा नांगा खुट्टा खेलिरहेका केटाकेटी रहेको हुन सक्छन् । गीतका रचनाकारले कल्पना गरेको जोगाउने काँडाविहीन नरम र सुगन्धित चमेलीको फूल जस्तो निरीह र निःसहाय पात्रको बिम्ब पनि उनले पछि मात्रै ठम्याएका होलान् ।

तर, काठमाडौंको सहरिया मध्यमवर्गले राजा र सेनालाई शंकाको लाभ दिएको कुरा उनले पटक–पटक सुनेका होलान् । दलहरूले नसकेको काम राजाले गर्छन् र सेनाले माओवादी सिध्याउँछ भन्ने भाष्य सन् २००३ सम्म काठमाडौंमा बलियोसँग स्थापित भइरहेको थियो ।

सेनाको सहयोगमा निर्वाचन गराएर शाही नातेदारले नेपाली कांग्रेस (प्रजातान्त्रिक) दललाई दुईतिहाइ मतका साथ ‘पुरानो कांग्रेस’ समर्थकहरूलाई समाप्त गर्ने कुरा देउवाका अन्तरंग सहयोगीहरू धम्कीको भाषामा सुनाउने गर्थे । तिनका नजरमा संसद् पुनःस्थापनाको मागमा अडिग जति जम्मै ‘सहरिया माओवादी’ थिए– आजभोलि भारततिर हिन्दुत्व राजनीतिका अतिवादीहरूले ‘अर्बन नक्सल’ भनेर होच्याउने गरेको प्रबुद्ध समूह जस्ता । प्रधानमन्त्री शाहलाई नेपाली सेनाबाहेक पुराना दललगायत सबै राज्य संयन्त्र मक्किएको लागेर ती जम्मैप्रतिको अनास्था उनी काठमाडौंको मेयर बनिसकेपछि जन्मिएको होइन ।

किशोरावस्था प्रवेश गर्नु अगाडिदेखि बनेको विचारबाट मुक्त हुनका लागि चाहिने राजनीतिक समाजशास्त्रको गहिरो अध्ययन गर्ने अवसर पाउनुभन्दा पहिले नै उनी नेपालको राजनीतिका प्रभावशाली खेलाडी भइसकेका थिए । उनलाई लाठी खानु परेन, जेल जानु परेन, निर्वासन भोग्नु परेन, भोक र तिरस्कार खेप्नु परेन र उनी ‘र्‍याप’ गर्दागर्दै राजधानीका ‘महामेयर’ भए । उनको अध्ययन र अनुभवको सीमितता जगजाहेर छ ।

सन् २००५ मा राजा ज्ञानेन्द्रले पूर्ण सत्ता कब्जा गरेर मन्त्रिमण्डलको अध्यक्षता ग्रहण गर्ने बेलासम्म उनी आफ्ना अभिभावकहरूको छायाबाट बाहिर निस्केर आफ्नै निर्णय गर्न चाहने अन्य किशोरकिशोरीहरू (टिनएजर) जस्तै अलि अडियल देखिन थालेका हुन सक्छन् । हुन त यो दाबी केही सरलीकृत सुनिन सक्छ तर केही अध्येताहरूका अनुसार किशोरावस्थामा विवेकपूर्ण निर्णय लिने, आवेग नियन्त्रण गर्ने र योजना बनाउने मस्तिष्कको अगाडिको भाग (प्रिफ्रन्टल कोर्टेक्स) अझै पूर्ण रूपमा विकसित भइसकेको हुँदैन ।

त्यस उमेरमा समवयी साथीहरूको प्रभाव बढी देखिन सक्छ र कहिलेकाहीँ अरूको सल्लाह कम सुन्ने प्रवृत्ति पनि देखापर्न सक्छ । त्यस्ता अनुभवका कतिपय प्रभाव दीर्घकालीन ठहरिन्छ । किशोर वालेन्द्रले राजालाई काम गर्न नदिइएको, माओवादीले देश खाएको, राष्ट्रिय सेनाको हुर्मत लिइएको, अदालतले शाही आयोग खारेज गरेर भ्रष्टाचार नियन्त्रणमा अवरोध खडा गरेको जस्ता सहरिया मध्यमवर्गका चासोहरूलाई आत्मसात् गरेको कुरा अड्कल काट्न सकिन्छ ।

उनी किशोरावस्थाबाट युवातर्फ बढ्दासम्म देशमा गणतन्त्र आइसकेको थियो । त्यसपछिको उनको अध्ययन इन्जिनियरिङ विधामा केन्द्रित भयो, जहाँ ‘सेतो’ र ‘कालो’ बीचको ‘खैरो’ प्राविधिक अनिश्चिततालाई रचनात्मक कल्पना शक्ति र सक्षम गणनाको सहायताले सकेसम्म घटाएर स्पष्ट समाधानतर्फ पुग्ने अभ्यास गर्न सिकाइन्छ । तर सामाजिक र राजनीतिक मुद्दाहरू भने प्रायः त्यस्तो ‘खैरो’ नै रहिरहने हुँदा इन्जिनियरिङको निश्चयात्मक सोच त्यहाँ समाधानभन्दा समस्या बन्न पनि सक्छ ।

भनिन्छ, करिब २५ वर्षतिर पुग्दासम्म बनेका जीवन र जगत्सम्बन्धी अवधारणाहरू त्यसपछि सजिलै बदलिँदैनन् । तर विशद अध्ययन, गहिरो अनुभव, कहिलेकाहीँ आघात वा प्रभावकारी मार्गदर्शनजस्ता बलिया कारकले ती अवधारणाहरू परिवर्तन हुन सक्छन् । हुन त चेतनशील प्राणीको सोचमा परिवर्तन जीवनभर भइरहने प्रक्रिया हो ।

सामुदायिक निष्क्रियता, उदासीनता एवं जडता दर्शाउने अवतार सिंह सन्धु ‘पाश’ को बहुउद्धृत ‘सबसे खतरनाक’ कवितांशले भन्छ– ‘सबसे खतरनाक होता है/मुर्दा शांति से भर जाना/न होना तडप का/सब सहन कर जाना’ ।प्रधानमन्त्री शाहका प्राथमिकता, आस्था, काम गर्ने शैली एवं सोच उनको व्यक्तिगत मात्र नभएर सहरिया मध्यमवर्गमध्ये एउटा यस्तो ‘ड्युड र ब्रो’ उमेर समूह र सामाजिक प्रवर्गको प्रतिनिधिमूलक चरित्र हो, जसलाई लाग्दछ कि ‘सुनको टुक्राजस्तो नेपाल’ लाई बहुदलीय राजनीतिले ध्वस्त बनाइदिएको छ र ‘कडा शासन’ बेगर कुनै सुधार सम्भव छैन । सांस्कृतिक, आर्थिक, सामाजिक एवं राजनीतिक अनुदारवादी पाकाहरूको एउटा ठूलो जमात पनि त्यस्तो निष्कर्षसँग सहमत देखिन्छ ।

क्षतिपूर्तिबेगर अनधिकृत संरचना भत्काउने, अतिक्रमण हटाउने नाउँमा निःसहायको उठिबास गराउने, अनौपचारिक व्यवसाय वा व्यापारलाई बल प्रयोग गरेर निषेध गर्ने, सुविधा र समावेशिताभन्दा सौन्दर्यीकरणलाई प्राथमिकता दिने वा ‘गरिबको चमेली’ का लागि बोलिदिनेहरूको आवाज सुन्न नचाहने सत्तावादी सौन्दर्यशास्त्र (अथोरिटेरियन एस्थेटिक्स) प्रायशः सर्वसत्तावादतिर उन्मुख हुने भएकाले नागरिक निगरानी महत्त्वपूर्ण बन्न पुग्छ । समसामयिक राजनीतिको विडम्बना के हो भने नागरिक निगरानीलाई सुरक्षा संयन्त्रले नागरिकको निगरानी गर्ने चेतावनीद्वारा निस्तेज बनाउन थालिएको छ ।

सडक सफा देखिनु, फुटपाथमा पसल नहुनु, नेवाः शैलीका बस बिसौनीहरू बनाइनु, नदी किनारमा सुन्दर बगैंचाभित्र रंगीचंगी फूलका बोटहरू र हरियो दूबोका बीच फलैंचा–चिटिक्क परेको सहर कसलाई मन पर्दैन र, तर त्यस किसिमको ‘स्मार्ट सिटी’ बनाउन दक्षिण एसियाको दोस्रो सबैभन्दा निर्धन देशमा गरिबको जीविकोपार्जन खोसिँदा र कमजोरको आवाज दबाउन सुरक्षा संयन्त्रको व्यापक प्रयोग भइरहँदा व्याप्त सामाजिक चुप्पी भने अत्यासलाग्दो देखिन थालेको छ ।

सामुदायिक निष्क्रियता, उदासीनता एवं जडता दर्शाउने अवतार सिंह सन्धु ‘पाश’ को बहुउद्धृत ‘सबसे खतरनाक’ कवितांशले भन्छ– ‘सबसे खतरनाक होता है/मुर्दा शांति से भर जाना/न होना तडप का/सब सहन कर जाना’ । शान्तिपूर्वक नदी किनारका ‘अनधिकृत’ बस्तीहरू उजाडिएका छन्, अरे । बुद्धिजीवी, पत्रकार, सरकारी कर्मचारी र केही राजनीतिकर्मीहरूसमेतले त्यसो भनेपछि पक्कै पनि त्यसै भएको होला ।

संरचनागत मानमर्दन

नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन एवं नेपाली सेनाको ‘अनौपचारिक’ निगरानीमा उठिबास गराउँदासमेत समाजको सबैभन्दा दुर्बल तप्काका रैतीजस्ता जनताले आफ्ना सुस्केरा लुकाएर जीउज्यान जोगाउने प्रयत्न गरेको पनि हुन सक्छ । एकातिर सत्येतर अर्थराजनीतिका यथार्थहरूलाई परख गर्न सजिलो हुँदैन भने अर्कोतिर सत्ताले निर्माण गरेका भाष्यहरू पत्याइएन भने जीवन कठिन हुन पुग्छ ।

एकातिर सत्येतर अर्थराजनीतिका यथार्थहरूलाई परख गर्न सजिलो हुँदैन भने अर्कोतिर सत्ताले निर्माण गरेका भाष्यहरू पत्याइएन भने जीवन कठिन हुन पुग्छ ।सायद त्यही कुरा मनन गरेर सन् २००५ को शाही–सैनिक ‘कू’ पछि यस अखबारको सहप्रकाशन ‘द काठमाडौं पोस्ट’ अंग्रेजी दैनिकले सब कुरा पन्छाएर ‘मोजाको महत्त्व’ बारे सम्पादकीय लेख्न थालेको थियो । अंग्रेजीमा एउटा प्रचलित उक्ति छ– ‘इतिहास दोहोरिँदैन तर लय भने मिल्न सक्छ ।’ आजभोलि सार्वजनिक वृत्तमा व्याप्त अभिव्यक्तिहरूलाई आत्मनियन्त्रण (सेल्फ–सेन्सरसिप) नै भनिहाल्न अलि हतारो हुनेछ तर स्व–अनुशासनको अभ्यास भने सहजै महसुस गर्न सकिन्छ ।

फिर्ता बोलाउने अधिकारको फितलो हवाला दिएर एउटा मधेशी मन्त्री पदमुक्त गरिन्छन् । वर्तमान स्वरूपको नेपाल राज्य निर्माणपछि निरंकुश राणा र शाह शासनकालमा समेत नरोकिएको नेपाल–भारत सिमानामा एक सय रुपैयाँभन्दा बढीका दैनिक उपभोगका सरसामानसमेत ल्याउन नपाइने नियमलाई कडाइका साथ लागू गरेर सीमाञ्चलका बासिन्दाहरूको हुर्मत लिइन्छ ।

विद्यार्थी राजनीति प्रजातान्त्रिक नागरिकशास्त्रको प्रयोगशाला हो भन्ने सामान्य मान्यतालाई तिरस्कार गरेर विकृति रोक्ने बहानामा तिनलाई पूरै निषेध गर्ने उपक्रम सुरु हुन्छ– रोगको उपचार खोज्नुको साटो रोगीलाई सिध्याउने कर्म हतार मात्र नभएर शिक्षालय नियन्त्रण गर्ने योजनाबद्ध औजार हुन सक्छ । कामदारहरूको संगठित हुन पाउने विश्वव्यापी अधिकार ठूलो संघर्षबाट हासिल भएको हो ।

प्रजातान्त्रिक व्यवस्थामा अत्यावश्यक सेवा, संकटकालीन अवस्था, सुरक्षा संयन्त्र वा व्यवस्थापकीय जिम्मेवारीमा रहेकाहरूबाहेक निजामती सेवाका कर्मचारीहरूलाई पनि त्यस अधिकारबाट सामान्यतः वञ्चित गर्न पाइँदैन ।प्रजातान्त्रिक व्यवस्थामा अत्यावश्यक सेवा, संकटकालीन अवस्था, सुरक्षा संयन्त्र वा व्यवस्थापकीय जिम्मेवारीमा रहेकाहरूबाहेक निजामती सेवाका कर्मचारीहरूलाई पनि त्यस अधिकारबाट सामान्यतः वञ्चित गर्न पाइँदैन । हुन सक्छ, ‘काशी, कश्मीर अजब नेपाल’ देशको गजब ताललाई थप विस्मयकारी बनाउन शाह सरकार कुनै कमी हुन दिन चाहँदैन । के त्यस्ता सबै घटनाहरू संयोग मात्रै हुन् ? शाह सरकारका कतिपय कदमहरू बाहिरबाट हेर्दा अराजक वा आवेगपूर्ण देखिए पनि ती उन्मादभित्रको विधि (मेथड इन म्याडनेस) बाट निर्देशित छन् एवं तिनमा निश्चित उद्देश्य, दाउपेच वा योजना लुकेको हुन सक्छ भन्ने तर्क अतिशयोक्ति लाग्दैन ।

कुनै पनि सत्ता जनाधारको शून्यतामा टिक्न सक्दैन । भारतमा आन्तरिक संकटकाल (सन् १९७५–१९७७) इन्दिरा गान्धीको सत्तामा रहिरहने माध्यमका रूपमा लगाइएको भए तापनि उनले मध्यमवर्गको थिति, अनुशासन र सुनिश्चितताप्रतिको आसक्तिलाई सम्बोधन गरेर त्यस्तो सर्वसत्तावादी प्रयोगको महत्त्व सावित गर्ने प्रयत्न गरेकी थिइन् । त्यस जमातको चाहनालाई सम्बोधन गर्न तत्कालीन समयका ‘प्रजातान्त्रिक युवराज’ सञ्जय गान्धीले जामा मस्जिद छेउछाउका ‘अव्यवस्थित बस्ती’ लाई डोजर लगाएर ‘सफा गर्न’ लगाएका थिए ।

सन् १९७७ पछि गठित शाह कमिसनको प्रतिवेदनअनुसार आपत्कालभित्र राजधानी दिल्लीमा मात्रै ७ लाखभन्दा बढी जनसंख्या प्रभावित हुने गरी १ लाख ५० हजारजति संरचना ध्वस्त गरिएको थियो । सायद उनकै सिको गर्दै उत्तर प्रदेशमा मुख्यमन्त्री आदित्यनाथले डोजरलाई ‘राज्य आतंक’ को प्रतीक चिह्न बनाएको आक्षेप लाग्न थालेको छ ।

सन् १९७६ ताका नै सौन्दर्यीकरणका नाममा फिलिपिन्समा राष्ट्रपति फर्डिनान्ड ई मार्कोसकी पत्नी इमेल्डा आर मार्कोसले राजधानी मनिलाको टोन्डो सुकुमवासी क्षेत्र र त्यस आसपासका ४ सयभन्दा बढी परिवारहरूलाई जबर्जस्ती निष्कासन गराएकी थिइन् ।

सम्भ्रान्तका लागि सुन्दरताको परिभाषा तिनको शक्तिद्वारा संरक्षित आवास परिसरभित्र समेटिएको हुन्छ । सामान्यजनका लागि जे आवश्यक, उपयोगी र आकांक्षाको परिधिभित्र पर्छ, त्यो नै सुन्दर हो । मध्यमवर्गको सौन्दर्य चाहनाले भने अधिशासकीय सोचलाई प्रवर्द्धन गर्ने रहेछ ।

‘शिव नै सत्य र सुन्दर हो’ भन्ने भावले शक्तिको सर्वोच्चतालाई मान्यता दिन्छ । मध्यमवर्ग आफूभन्दा माथिल्लो सम्भ्रान्तलाई आफ्नै तहमा ओराल्न चाहन्छ तर सामान्यजनलाई भने आफूसरहको स्तरसम्म उक्लिनबाट रोक्न विभिन्न उपाय अवलम्बन गर्न उत्तिकै कटिबद्ध हुन्छ ।

सार्वजनिक स्थानमाथिको नियन्त्रण, फराकिला सडक, सिधा रेखामा उभिएका भवन र खाली पारिएका गल्लीहरू अनुशासन कायम राख्ने सहरी योजनाका उपकरणहरू हुन् । सुन्धारा नजिकको सेतो स्तम्भ, दरबारमार्गको फुटपाथमा ओछ्याइएको ग्रेनाइट वा पोखराको भव्य तर खाली विमानस्थललाई शक्ति प्रदर्शनको सौन्दर्यशास्त्रका रूपमा पनि बुझ्न सकिन्छ ।

अनुशासनको अभ्यास गराउने गरी सफाइ अभियान, हरियाली कार्यक्रम र पोसाक एवं व्यवहारमा एकरूपता अंगीकार गर्न लगाएर सभ्यता दर्शाउने निर्देशनमार्फत अधिशासकहरू सौन्दर्यलाई नैतिकताको मानकमा रूपान्तरित गरेर अप्रत्यक्ष नियन्त्रण कसिलो बनाउँछन्– गराउन चाहेको काम नागरिकले स्वस्फूर्त गर्न चाहनुजत्तिको सफल कार्यनीति अरू केही हुन सक्दैन ।

निर्धाहरूको विस्थापन जस्तो कठोर कर्मलाई शृंगारिक भाषा दिएर सुधार, आधुनिकीकरण, व्यवस्थितीकरण एवं सौन्दर्यीकरण जस्ता नरम शब्दहरूले व्याख्या गर्नु मानक बदलेर व्यवहार बदल्ने रणनीतिभित्र नै पर्छ । सौन्दर्यीकरणले तत्काल उपलब्धि पनि देखाउँछ । दिगो संरचना निर्माण, सामाजिक न्यायको सुनिश्चितता, आर्थिक सुधार तथा संस्थागत परिवर्तन जस्ता काम गर्न समय लाग्छ ।

मध्यमवर्गले सामाजिक स्विकार्यता स्थापित गरेको सत्तालाई फगत मतद्वारा हल्लाउन कठिन हुने देखेर नै हरितपीत विद्रोहका योजनाकारहरूले ‘विध्वंसको सौन्दर्यशास्त्र’ निर्माण गरेका पनि हुन सक्छन् ।तर रङ पोतिएका पर्खाल, नयाँ पार्क, चौडा सडक, उज्याला सडक बत्ती एवं चिल्ला फुटपाथ देखेर मध्यमवर्ग मक्ख पर्छ र भन्छ– ‘हेर, सहर कति बदलियो, बालेन जिन्दावाद ∕’ मध्यमवर्गको विस्मित प्रतिक्रिया अधिशासकका लागि वैधताको स्रोत बन्ने कुरा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालले देखाइसकेको छ ।

सन् १९६० को दशकपछि भारत आन्तरिक र बाह्य तवरले अहिले जत्तिको कमजोर कहिल्यै थिएन तर सत्ता भने लोकप्रिय ठहरिएको छ । त्यो किनभने मन्दिर बनेको छ, सडक चौडा भएका छन् र भत्काउने डोजर जताततै क्रियाशील छन् । मध्यमवर्गले सामाजिक स्विकार्यता स्थापित गरेको सत्तालाई फगत मतद्वारा हल्लाउन कठिन हुने देखेर नै हरितपीत विद्रोहका योजनाकारहरूले ‘विध्वंसको सौन्दर्यशास्त्र’ निर्माण गरेका पनि हुन सक्छन् ।

असहमतहरूको मानमर्दनबेगर अधिशासकको औचित्य सिद्ध नहुने कुरा राजा महेन्द्रले अभ्यासले नै देखाएका थिए– उनलाई दुईतिहाइ मताधार भएको प्रधानमन्त्रीलाई न्यायिक प्रक्रियाबेगर जेलमा हाल्नुले नपुगेर राजनीतिमा सबैभन्दा ठूलो कलंक मानिने ‘अराष्ट्रिय तत्त्व’ को निराधार आक्षेप पनि लगाउनुपरेको थियो । विचार र संरचना जर्ज ओरवेलको प्रसिद्ध उपन्यास ‘१९८४’ बाट लिइएको हो, संक्षेपीकरण भने पंक्तिकारको हो । उपन्यासमा एक पात्र ओ’ब्रायनले विन्स्टनको सोधपुछका क्रममा पार्टीको शक्ति र पीडाको दर्शन स्पष्ट रूपमा प्रस्तुत गर्छन् ।

उनको वक्तव्यलाई भाषान्तर गर्दा शक्ति–राजनीतिको स्वरूप यस प्रकार उजागर हुन्छ– ‘पार्टीले पूर्ण रूपमा आफ्नै स्वार्थका लागि सत्ता खोज्छ । हामी केवल शक्तिमा मात्र रुचि राख्छौं– धन, विलासिता, दीर्घायु वा सुखमा होइन । केवल शक्ति, शुद्ध शक्ति । शक्तिको प्रदर्शन कसरी हुन्छ ? अरूलाई पीडा दिएर ∕ आज्ञाकारिता मात्र पर्याप्त हुँदैन । जबसम्म लक्षित पात्र पीडामा हुँदैन, ऊ तपाईंको इच्छाअनुसार चलिरहेको हो कि आफ्नै इच्छाअनुसार भन्ने कसरी निश्चित गर्न सकिन्छ ? शक्ति भनेको त सास्ती र अपमान थोपर्नु हो ।’ र, त्यति भइरहँदा पनि नबोल्ने निरपेक्ष जनता आ–आफ्नो पालो कुरेर बसिरहेका हुन्छन् । ‘सबका नम्बर आएगा’ मृत्युदर्शन मात्र नभएर जीवितहरूका लागि चेतावनी पनि हो ।

सौन्दर्यको सत्ता

सौन्दर्यलाई परिभाषित गर्न सहज छैन । सामान्यतः जुन वस्तु, व्यक्ति वा प्रक्रियाले मनमा सुखद अनुभूति उत्पन्न गराउँछ, त्यसलाई सुन्दर भनिन्छ । वस्तुपरक सौन्दर्य पनि नहुने होइन तर मूलतः सौन्दर्य आत्मपरक हुने भएकाले सौन्दर्यको सत्ता वस्तुगत नभएर भावनात्मक हुने रहेछ । अधिशासकहरूले त्यो कुरा बुझेका हुन्छन्, त्यसैले ती तथ्य र तर्कभन्दा भावनात्मक उत्तेजनामा खेल्छन् ।

सामान्यजनलाई एकरूपतामा सौन्दर्यबोध (एस्थेटिक सेन्स) भएको सिकाइन्छ । अनिश्चितताले अराजकता निम्त्याउन सक्ने भएकाले सौन्दर्यानुभूति (एस्थेटिक एक्सपिरियन्स) सुनिश्चित गर्न अपेक्षित दृश्यता र पूर्वाग्रह पुष्टि गर्ने यथार्थ उत्पादन गरेर भए पनि बारम्बार देखाइराख्नुपर्ने हुन्छ । त्यसपछि जे सुन्दर छ– जस्तो कि कालो बादलभित्र चाँदीको घेरा– त्यो भ्रम पनि हुन सक्छ भन्ने शंका समाप्त हुन्छ ।

सर्वसत्तावादी चरित्रलाई मिहिन ढंगले अध्ययन गरेकी हन्ना आरेन्ट लेख्छिन्– ‘सर्वसत्तावादी शासनका लागि आदर्श पात्र भनेका समर्पित नाजी वा कम्युनिस्टहरू होइनन्, बरु ती मानिसहरू हुन् जसका लागि तथ्य र कल्पनाबीचको भिन्नता नै समाप्त भइसकेको हुन्छ ।’

अधिशासकको मुख्य ध्येय सामान्यजनलाई कुनै विचारमा विश्वस्त तुल्याउनु नभई, उनीहरूको सही र गलत छुट्याउन सक्ने निर्णय–क्षमता नै ध्वस्त पारिदिनु हो । जब निरन्तरको मिथ्या भाष्यमार्फत जनमानसको यथार्थबोध गर्ने शक्ति क्षीण हुन्छ, तब समाजमा एउटा यस्तो उदासीन भीड तयार हुन्छ जसलाई सत्ताले आफ्नो इच्छाअनुसार सहजै सञ्चालन गर्न सक्छ । त्यसपछि सत्तावाद (अथोरिटेरियनिज्म) कसैले थाहै नपाई सुस्तरी सर्वसत्तावाद (टोटलिटेरियनिज्म) तिर उन्मुख हुन पुग्छ ।

सत्तालाई उत्तरदायी बनाउन नागरिक अग्रसरताका संगठनहरूको महत्त्व त हुन्छ नै, सँगसँगै स्वतन्त्र व्यक्तिहरूले पनि सुन्दरताको शाश्वत परिभाषा– अन्त्योदयसहित सर्वजन हिताय, सर्वजन सुखाय–जीवित राख्न योगदान गर्न सक्छन् । प्रचारतन्त्रद्वारा निर्मित सत्याभास (इलुजन अफ ट्रुथ) चिर्न प्रबोधन युगका जर्मन दार्शनिक इमानुएल कान्टको प्रसिद्ध ल्याटिन उक्ति ‘सापेरे औडे’ अर्थात् ‘आफ्नै बुझाइ प्रयोग गर्ने आँट गर’, उपयोगी ठहरिन सक्छ ।

सीके राजनीतिक विश्लेषक लाल कान्तिपुरका नियमित स्तम्भकार हुन् । उनकाे नेपालीय हुनलाई‍‍ ..., ह्युमन राइट्स, डेमोक्रेसी एण्ड गभर्न्यान्स लगायतका पुस्तक प्रकाशित छन् । कान्तिपुरका अलवा विभिन्न प्राज्ञिक जर्नल तथा पुस्तकमा उनका लेखहरु प्रकाशित छन् ।

Link copied successfully